ad ad

अन्तर्वार्ता


महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : मेयर रेनु दाहाल (भिडिओ)

महाधिवेशन गर्न एमाले चितवन आउनु गौरवको कुरा हो, विकास देखेर जानुहुन्छ : मेयर रेनु दाहाल (भिडिओ)

रेनु दाहाल (तस्बिर/भिडिओः विक्रम राई)


सागर न्यौपाने
मंसिर ८, २०७८ बुधबार २१:१८, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल महानगरको काम र पार्टीको पालिका अधिवेशनका कारण व्यस्त छिन्। आफू मेयर निर्वाचित भएपछि महानगरमा नाटकीय विकास गर्न सफल भएको उनको भनाइ छ।

१० अर्बभन्दा बढी बजेट विनियोजन गरेर महानगरका सबै वडा, स्थानमा पक्की सडक पुर्याउन सफल रहेकी उनी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोचेभन्दा बढी काम भएको दाबी गर्छिन्। उनका पिता तथा चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण यति धेरै बजेट महानगरमा ल्याउन सफल भएको उनले बताइन्। विकास निर्माणको हिसाबले आगामी चुनावमा भरतपुरमा माओवादीले नै जित्ने दाबी पनि उनले गरिन्।   

नेकपा एमालेले चितवनमै आयोजना गरेको राष्ट्रिय महाधिवेशनले भरतपुरको र आफूले गरेका विकासका कामको थप प्रचार हुने दाहाल बताउँछिन्। त्यसका लागि उनले एमालेलाई धन्यवाद समेत दिइन्। 

भरतपुर महानगरका कामकारबाही, प्रचण्डको सम्भावित उम्मेदवारीलगायतका विषयमा केन्द्रित भएर दाहालसँग नेपालखबरले भरतपुरमा गरेको कुराकानीः​

चुनाव जितेको चार वर्षमा के कति काम गर्नुभयो त?
यो चार वर्षको अवधिमा गरेको समग्र कामको समीक्षा गर्नुपर्दा चुनावमा गरेको प्रतिबद्धताभन्दा बढी काम गर्न सफल भएँ। 

केका आधारमा यस्तो दाबी गर्दै हुनुहुन्छ?
विकास निर्माणका आधारमा भन्दैछु। समृद्ध भरतपुर बनाउने, यसलाई स्मार्ट सिटी बनाउने भनेर चुनावमा हामीले जनताको बीचमा जे संकल्प, प्रतिबद्धता गरेका थियौँ, ती सबै भए। र, त्यसबेला भनेको भन्दा पनि बढी काम र योजना समेत कार्यान्वयन भइसकेका छन्। अर्काे, समृद्धि र सुशासनलाई हामीले सँगसँगै अगाडि बढाएका छौँ। यो चारवर्षमा हामीले गरेको विकासबाट जनताले सन्तोष गरेको पाएका छौँ। 

तपाईंहरूले भन्ने त स्वाभाविक भयो, मेयरसाबले कायापलट गर्नुभयो भनेका छन् त जनताले?
एकदमै। ९५ प्रतिशतभन्दा बढी जनताकै कुरा गरेको हुँ। सबैतिरबाट राम्रो भएको प्रतिक्रिया पाएका छौँ। केही विरोध गर्नेहरु पनि हुनुहुन्छ। विरोध गर्ने, खबरदारी गर्नेहरु पनि चाहिन्छ। अझै राम्रो गर्न, लक्ष्यमा पुग्न खबरदारी जरुरी छ। महानगरमा गरिएको कामबाट जनता खुसी भएर धन्यवाद दिनुभएको छ।

भिडिओ :

उसोभए चार वर्षमा बजेट ओइरै लगाउनुभयो?
मैले ७ सय ५३ वटै स्थानीय तहको अध्ययन विश्लेषण गर्दा, देशका ६ वटा महानगरमध्ये एक भरतपुर महानगरपालिका बजेट निकासामा मात्र होइन कार्यान्वयनको हिसाबले पनि पहिलो महानगर बनेको छ जस्तो लाग्छ।

यसमा सबै क्षेत्र समेटिएका छन्। सडक र पूर्वाधार बनेका छन्। कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हामीले फड्को मारेका छौँ। केही मेगा प्रोजेक्ट निर्माणको चरणमा छन्। समानुपातिक, सन्तुलित ढंगबाट हामीले महानगरलाई नयाँ विकासको मोडल बनाएर अगाडि बढेका छौँ। यहाँको विकासमा सरकार मात्र होइन, निजी क्षेत्र लगानीकर्ता सबैलाई समेटेर एउटा उदाहरण पेस गरेका छौँ। 

यहाँको जीर्ण सडक, स्वास्थ्य, शिक्षा क्षेत्र, कृषि क्षेत्रमा समस्यै समस्या थियो। अहिले ती समस्या समाधान भइसकेका छन्। 

हिजो पिच भएको सडक हेर्न सहर नै आउनुपर्थ्यो। गाउँतिरका सडक धुलाम्य थिए। तर, अहिले तपाईं घुम्न जानुस्, सडक हेर्नुस्। हामी निर्वाचित हुनेबेला एउटा पनि सडक पिच नभएका वडाहरु पनि थिए। यो चार वर्षमा एउटै वडामा कम्तीमा १५ देखि २० किलोमिटर सडक पिच भएका छन्। सिंगो भरतपुर महानगरमा यो चार वर्षमा ६ सय १० किलोमिटर सडक पिच गरेका छौँ। यो सामान्य कुरा होइन, यसरी अन्यत्र कतै भएको छैन।

महानगरको रिङरोडको ४४ किलोमिटर काम सकिएको छ। भित्री सडक, हुलाकी सडक स्तरोन्नति र विकास, बाइपासको स्तरोन्नति, मुख्य सडक विस्तार, सिटीहल निर्माण भएका छन्। केही योजना निर्माणाधीन छन्। केहीको ठेक्का प्रक्रिया अघि बढेको छ।  

भरतपुर महानगरले सडकमा मात्र होइन, सबै क्षेत्रमा विकास गरेको छ। सबै क्षेत्रमा हामीले राम्रो नतिजा ल्याएका छौँ। 

अर्काे कुरा जनसहभागितालाई हामीले प्राथमिकता दिएका छौँ। जस्तो कि महानगरपालिकामा उपभोक्ता समितिमार्फत निर्माण गरिएका सडकहरुमा २० प्रतिशत स्थानीय जनताको सहभागिता अनिवार्य गरिएको छ। 

कसरी गर्नुभयो त यी काम?
भरतपुरको विकासभन्दा दायाँबायाँ नसोची म यसमै केन्द्रित भएँ। मेरो कार्यकालमा महानगरलाई कसरी समृद्ध बनाउने, कसरी देशकै नमुना बनाउने भन्ने हुटहुटी सुरुदेखि थियो र अहिले पनि जारी छ।

अहिले चितवन जिल्लाले देशकै शीर्षस्थ नेता पाएको छ। माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, यो देशको परिवर्तनका सूत्रधार, योजनाकारले चितवनबाटै चुनाव लड्नुभयो। प्रचण्ड चितवन आइसकेपछि विकासले गति लिएको छ। विकास गर्न ठूलै नेता चाहिने रहेछ भनेर जनताले भन्न थालेका छन्। 

चितवन जिल्लामा हिजो ३० वर्षसम्म हुन नसकेका काम यही चार वर्षमा भएको छ। र, त्यसको प्रत्याभूति जनताले गरेका छन्। पहिले पनि यहाँ चुनाव भएकै थियो, उम्मेदवारले आश्वासन दिएकै थिए। तर, अहिलेको काम हेर्नुस् त।

यत्तिको काम गर्न हामीले कति हैरानी र ठक्कर खायौँ। सजिलै हुने भए अरुले पहिल्यै गर्थे। तर, प्रचण्ड समेतको पहल, हाम्रो तत्परता, लगनशीलताका कारण काम भयो। अहिले पूर्वाधारमा अर्बौँ लगानी भएको छ। हामी आएपछि खानेपानीमा मात्र साढे ३ अर्ब लगानी भयो। अब चितवनमा केही समयपछि स्वच्छ खानेपानीको समस्या हुँदैन, यी सबै हामी आएपछि भएका हुन्।

तपाईंलाई भनौँ, चौकीडाँडा वडामा खानेपानीको समस्या यतिसम्म कि मानिसहरु विस्थापित हुने अवस्थामा रहेछन्। अब त्यहाँ खानेपानी पुग्दैछ। एउटै वडामा भोडेनी र चौकीडाँडा खानेपानी आयोजना गरी दुईवटा आयोजना निर्माण अगाडि बढाएका छौँ। त्यसको काम तीव्र गतिमा भइरहेको छ।

शिक्षामा पनि यो साढे तीन वर्षको दौरानमा सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सफल भयौँ। महानगरले भौतिक संरचना निर्माण र गुणस्तर सुधारका लागि जे लगानी गर्यो, त्यसले सामुदायिक स्कुलमा विद्यार्थी बढ्ने क्रम तीव्र बनाएको छ।

हाम्रो तथ्यांकले भन्छ, यो तीन वर्षमा ६ हजार विद्यार्थी निजी छोडेर सामुदायिकमा भर्ना भएका छन्। त्यो संख्या यो वर्षभित्रमा १० हजार पुग्ने आकलन छ। पहिला सरकारी छाडेर निजीमा जान्थे, अहिले यहाँ निजी छोडेर सामुदायिकमा आएका छन्। यो भनेको गुणात्मक सुधार हो।

स्वास्थ्यको क्षेत्रमा पनि थुप्रै काम भएका छन्। भरतपुर जिल्ला अस्पताललाई स्तरोन्नति र विकास गरेर केन्द्रीय अस्पताल बनायौँ। महानगरमा एक वडा दुई स्वास्थ्य संस्था पनि निर्माण भएका छन्। यसआधारमा ४० वटा स्वास्थ्य संस्था बनेका छन्। 

पर्यटनमा एक वडा एक पार्क बनायौँ। समुद्री किनारको झल्को दिनेगरी नारायणी नदी किनारको विकास भइरहेको छ। डीपीआर तयार गरेर महानगरले लगानी पनि गरेको छ। पर्यटन विभागले पनि बजेट राखेर ठेक्का भएर काम अघि बढिसकेको छ।

चौध तल्लाको मल्टिकम्प्लेक्स भवन बन्दैछ। महानगरकै जग्गामा निजी क्षेत्रको साझेदारीमा बन्न लागेको यो भवनलाई महानगरको आइकन प्रोजेक्टका रुपमा लिएका छौँ।

कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गरेका छौंँ। धान रोप्ने, काट्ने मेसिन, दुग्ध किसानलाई तीन रुपैयाँ अनुदान, युवालाई कृषिमा ब्याज अनुदान दिएका छौँ। दिगो विकासको लक्ष्यसहित हामी अघि बढेका छौँ।

एमालेले चितवनमा महाधिवेशन गर्दैछ। के भन्नुहुन्छ?
मलाई त खुसी लागेको छ र उत्साहित पनि छु। अहिले भरतपुर महानगरपालिका सभा समारोह, प्रदर्शनी, अधिवेशन गर्न आउने ठाउँ बनेको छ। म महानगरको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद पनि दिन चाहन्छु। किनभने महानगरपालिका राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित छ भन्ने कुरा त्यसले पुष्टि गरेको छ। यहाँ हामीले काम गरेकैले सबैको रोजाइमा परेको छ।

यही ठाउँलाई रोजेर महाधिवेशन गर्नु आउनु महानगरका लागि गौरवको कुरा हो। उहाँहरु हामीले गरेको सबै विकास प्रत्यक्ष देखेर जाने हुनुभयो। महानगरका होटल व्यवसायमा केही हदसम्म सहयोग पुग्ने भयो। अन्तर्राष्ट्रिय रुपमा पनि भरतपुरको चर्चा चुलिने भयो। जुन हाम्रा लागि गर्वको कुरा हो, म खुुसी व्यक्त गर्न चाहन्छु। र, कार्यक्रम गर्ने सम्बन्धित पक्षलाई हार्दिक स्वागत पनि गर्छु।

तर, प्रचण्डलाई चुनौती दिनकै लागि महाधिवेशन चितवनमा गरिएको भन्ने चर्चा छ नि!
के को चुनौती? एउटा कार्यक्रम गरेर पहाड पल्टिने हुँदैन। गतिविधि जसको जहाँ पनि हुन सक्छ, केही ठूलो कुरा होइन। होला, यो ठाउँ रोजेर कार्यक्रम गर्न आउनुको उद्देश्यले त्यो पनि होला। अलिकति चुनौती थप्न पाए कमजोर पार्न सकिन्छ कि भन्ने होला। तर, राजनीतिमा चुनौती दिन योजना, कार्यक्रम र नीति चाहिएला नि!

अहिले त स्पष्ट देखिएको छ– को सही, को गलत भन्ने। को राष्ट्रको पक्षमा, को बिगार्ने पक्षमा भन्ने जनताले बुझेका छन्। देशको व्यवस्था र संविधान नै खतरामा पार्ने को हो र त्यसलाई जोगाउने को हो जनताले बुझेका छन्। संसद् विघटन गर्ने, जनताको मतको दुरुपयोग गर्ने को हुन् जनतालाई थाहा छ। देशको एउटै कम्युनिस्ट पार्टी बनाउने योजना कसले तुहायो, कसले ठूलो पार्टी तहसनहस पार्यो, त्यो पनि देखेकै छन्।

तर, एमालेले उद्घाटन सत्रमा पाँच लाख मान्छे उतार्ने भन्दैछ। केपी ओलीले त्यत्रो शक्ति प्रदर्शन गर्दा यहाँका मतदाता पनि त प्रभावित होलान् नि!
भाषण सुन्ने सबैले विचार मानेको भन्ने हुँदैन। अर्काे कुरा उहाँहरुले जतिसुकै स्रोत साधन खन्याएर शक्ति प्रदर्शन गर्न खोज्नुभएको छ, त्यसले जनतालाई आकर्षित गरिहाल्ने अवस्था म यहाँ चाहिँ देख्दिनँ। 

यहाँ (चितवन क्षेत्र नम्बर ३)मा कांग्रेस, एमाले र माओवादी उस्तैउस्तै पोजिसन भएका पार्टी हुन्। २०७४ को समानुपातिक मत हेर्नुभयो भने तीन वटा पार्टीमा एक दुई हजारको मात्र फरक छ। अनि चार वर्षमा माओवादीले गरेको विकास निर्माण पनि जनताले बिर्सिएका छैनन् होला नि। 

पछिल्ला दिनमा माओवादी पार्टीमै आकर्षण बढेको मैले देखेको छु। कारण हो, विकास–निर्माण र, ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएर संकट टार्न माओवादी र अध्यक्ष प्रचण्डले खेलेको भूमिका। जसका कारण अहिले ०६४ कै जस्तोगरी आम लहर देखिएको छ।

त्यसकारण अब माओवादीलाई मात्र कसैको सहारा चाहिन्छ भन्ने छैन। 

जनताले तपाईंहरुलाई नै मत दिन्छन् भन्ने आधार के त? 
माओवादीलाई नै मत हाल्ने आधार के हुन् भने अध्यक्ष कमरेड प्रचण्ड अन्यत्र जिल्लाबाट चुनाव लड्ने रे भनेर कसैले भनेकै आधारमा यहाँका जनताले मलाई भेटेरै अध्यक्षलाई यहीँबाट चुनाव उठाउनुपर्छ र जिताउने जिम्मा हाम्रो हो भन्नु भएको छ।

उहाँहरु माओवादी कार्यकर्ता होइन। तर, हामीले चार वर्षमा गरेको विकास देखेर उहाँहरु हामीतिर आकर्षित हुनुहुन्छ। कुनै पनि हालतमा प्रचण्डलाई अन्यन्त्र पठाउन हुँदैन, हामी पार्टी हेर्दैनौँ, हिजो पार्टी हेर्नसम्म हेरियो, पार्टीले टिकट दिएकैलाई भोट हालियो आखिर विकास भएन। हामीले केही पाएनौँ, अब हामी पार्टी हेदैनौँ, पार्टीभन्दा माथि उठेर हामीलाई विकास चाहिएको हो भनेर अन्य पार्टीका कार्यकर्तास्तरका साथीहरुले मलाई भन्नुभएको छ।

उहाँहरु रेनु पनि यहीँ रहनुपर्छ भन्नुहुन्छ। तर, मैले रेनु ठूलो कुरा होइन, अध्यक्ष प्रचण्ड यहाँबाट निर्वाचित हुने कुरा ठूलो हो। उहाँजस्तो नेता चितवन जिल्लाले पाउन ढिला भयो भन्ने गरेको छु। उहाँलाई जिताएर पठाउने जनताको यो सदाशयतालाई त कसरी शंका गर्न सकिन्छ र? फेरि विकास गरेपछि भोट नदिने भनेर अविश्वास पनि कसरी गर्न सकियो र? त्यसैले चितवनलाई प्रचण्ड चाहिएको छ। 

तर, प्रचण्ड नै यहाँबाट चुनावमा उठ्ने कि नउठ्ने दोधारमा हुनुहुन्छ भन्ने सुनिन्छ!
हुनुुुहुन्न। एकदमै ढुक्क हुनुस्। उहाँले अब यो निर्वाचन क्षेत्रको विकल्प सोच्नुहुन्न। किनभने यतिका समय यहाँका जनताको सेवा गर्न लाग्नुभएको छ, यो क्षेत्रको विकासमा मेहनत गर्नुभएको छ। अर्काे कुरा महानगरमा म आइसकेपछि पनि जसरी काम गरेँ, यो त बिर्सिन्छन् जस्तो लाग्दैन। कि त जनताले विकास जरुरी छैन भन्नुपर्यो। होइन विकास नै हो भने त हामीले गर्यौँ त। विकासको चाहना तीव्र राख्ने, भोट हाल्ने बेला अन्यत्र हालेर देश बनेन भन्दैनन् जनताले। मैले अध्यक्ष कमरेडलाई यसको विकल्प सोच्नुहुन्न भनेर आग्रह गरेको छु। र, उहाँ यहीँबाट उठ्नुहुन्छ।

प्रचण्डलाई टक्कर दिन यहाँ अन्य दलले गठबन्धनको तयारी गर्दैछन् भन्ने पनि चर्चा रहेछ नि?
अहिलेसम्म यो जिल्लामा प्रचण्डजत्तिकै उचाइ भएको नेता कोही छैन। मुलुकको परिवर्तनमा खेलेको भूमिका, देशको संकट समाधानमा चालेको भूमिका र गरेको विकास हेर्दा पनि त्यो उचाइ र पदीय जिम्मेवारीका आधारमा पनि प्रचण्डलाई टक्कर दिने नेता छैनन्। 

समग्र परिवर्तन नरुचाउनेहरुले ध्रुवीकरण गराउन खोज्छन् होला। तर, परिवर्तन पक्षधरले साथ दिन्छन् भन्नेमा म ढुक्क छु। यहाँका जनताले प्रचण्डलाई रुचाएका छन्। सत्य र निष्ठाको पक्षमा उभिने जनमत ठूलो छ। परिवर्तन नरुचाउनेहरुले घेराबन्दी गर्ने प्रयत्न गरे पनि त्यो सफल हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .