ad ad

अन्तर्वार्ता


बागमतीका अर्थमन्त्री भन्छन्– बालेन्द्रले कुरै बुझ्नुभएन (अन्तर्वार्ता)

काठमाडौंको फोहोर बञ्चरेडाँडामा नफाल्न मुख्यमन्त्री र मन्त्रीको सुझाव
बागमतीका अर्थमन्त्री भन्छन्– बालेन्द्रले कुरै बुझ्नुभएन (अन्तर्वार्ता)

रुपक चौलागाईं
असार २, २०७९ बिहिबार ९:५१, काठमाडौँ

स्थानीय तहका जनप्रतिनिधिका लागि हेटौंडामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सोमबार राति नै कार्यक्रम छाडेर काठमाडौं फर्किए।

काठमाडौं फर्कनासाथ व्यंग्यात्मक स्टाटस लेख्दै बालेन्द्रले भने,  ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो ।’

गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ र कार्यक्रममा बस्ने औचित्य नदेखेर मेयर बालेन्द्रले कार्यक्रम बीचैमा छाडेको शाहको सचिवालयले जनाएको छ।

काठमाडौं महानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । त्यस्तै असार १० मा बजेट ल्याउने तयारी छ । यी आन्तरिक तयारीमा व्यस्त हुनुपरेकाले बालेन्द्रले अबको केही दिन बाहिरी कार्यक्रम र भेटघाटमा समय दिन नसक्ने महानगरका कर्मचारी बताउँछन् ।

आर्थिक वर्ष सकिनै लाग्दा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मिलेर बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हेटौंडामा बागमतीका नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए।

मन्त्री जम्कट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेको भन्दै कार्यक्रममा काठमाडौं महानगरपालिकाको आलोचना गरेका हुन्।

जम्कट्टेलले मात्र नभई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पनि फोहोरको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका थिए। जम्कट्टेल र पाण्डे दुवै धादिङबाट निर्वाचित जनप्रतिनिधि हुन्।

मेयर शाह भने उनीहरुको आलोचनालाई सुन्न तयार भएनन्। गाली खानु परे काठमाडौं महानगरबासीकै खान्छु भन्दै उनी कार्यक्रम बीचैमा छाडेर काठमाडौं फर्किए ।

बालेन्द्र हेटौंडाबाट काठमाडौं फर्किएपछि सामाजिक सञ्जालमा विभिन्नखाले प्रतिक्रिया आए।

यस विषयमा नेपालखबरले बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेसँग यसबारे छोटो कुराकानी गरेको छ :

प्रदेश सरकारले गाली गरेको भन्दै काठमाडौं महानगरपालिका मेयर कार्यक्रम छाडेर काठमाडौं आउनुभएछ। खासमा भएको के हो?
त्यसमा भएको ठूलो कुरा केही छैन। अहिलेको नीति, विधि र कानुनले नै एउटा स्थानीय तहको फोहोर अर्को तहमा लगेर फाल्न दिँदैन। बञ्चरेडाँडामा नै फोहोर खसालेर दीर्घकालीन हिसाबले समाधान गर्ने कुरा काठमाडौं महानगरपालिकाले गर्न हुँदैन। काठमाडौंले आफ्नो फोहोर आफ्नै भूगोलमा व्यवस्थापन गर्नुपर्छ भनेर मैले भनेको हो।

मैले यसअघि विगतदेखि भएका कुराहरु पनि आफैं संलग्न भएको कारणले स्थायीरुपले समाधान खोज्नुपर्छ, अस्थायी समाधानले हुँदैन भनेर कार्यक्रममा कुरा राखेको थिएँ।

उहाँलाई किन के भयो र कार्यक्रम छाड्नुभयो थाहा भएन। मैले बोलेका कुराहरु त मिडियामा पनि आएका छन्। मैले बोलेकै कारणले हिँडेको हो जस्तो मलाई लाग्दैन।

तर, हेटौंडाको कार्यक्रममा चाँहि तपाईं र मुख्यमन्त्रीले ‘गाली’ गरेका कारणले बालेन्द्रजी कार्यक्रममा बस्न नसकेको भन्ने चर्चा छ नि?
उहाँको कुरा उहाँले नै जान्नुहुन्छ, त्यो हामीले महानगरपालिकालाई भनेको हो, मेयर बालेन्द्रलाई भनेको होइन। सार्वजनिक ठाउँमा बोलेको छु सबैले हेरौं । उहाँले कसरी बुझ्नुहुन्छ, उहाँलाई नै छाड्ने कुरा भयो। उहाँलाई त्यति आलोचना मात्र हो ।

विगतको मन्त्री अहिले यहीँ हुनुहुन्छ मुख्यमन्त्री राजेन्द्र पाण्डे। उहाँ ०६३ सालमा स्थानीय विकास मन्त्री हुँदा फोहोरको टिपरमाथि राखेर भाषण गर्न लगाएका हौं नि पुल्चोकमा। महानगरसँगको लडाइँ ठूलो छ, यो आजदेखिको लडाईं होइन। त्यो कुरा उहाँले बुझनुभएन।

फोहोर बञ्चरेडाँडा लान पाइँदैन, काठमाडौंले आफैं व्यवस्थापन गर्नुपर्छ भन्न खोज्नुभएको हो उसो भए?
हो। अहिलेको कानुनले पनि त्यही भन्छ। एउटा स्थानीय तहले अर्को स्थानीय तहका बासिन्दालाई कुनै पनि प्रभावित पार्न पाइँदैन । फोहोर अर्को पालिकामा लान पाईंदैन भन्ने त कानुनमै व्यवस्था छ नि। उहाँले कसरी बुझ्नुभयो, मेरो केही भन्नु छैन। यो समस्या महानगरपालिकासँगको हो, उहाँसँगको व्यक्तिगत होइन। मैलेभन्दा बढी कुरा त मुख्यमन्त्रीले गर्नुभएको छ नि।

बञ्चरेडाँडाका स्थानीयसँग सहमति नै भइसक्यो । अभिमुखीकरण कार्यक्रममा बोलाएर महानगरको फोहोरलाई इस्यु किन बनाएको त?
बञ्चरेडाँडावासीसँग सहमति मात्र भएर के गर्ने? यस्ता सहमति आजबाट मात्र हो र? धेरै पहिलादेखि हुँदै आएका हुन्। त्यो लागु भयो त? किन अवरोध भइरहेको त? त्यो सहमति गरेर समाधान भएको भए ठिकै पनि हो। त्यहाँ धेरैवटा सरोकारवाला समूह छन्। त्यो समाधान भएको छैन। अहिले पनि सम्झौताले मात्र समाधान गर्दैन।

काठमाडौंको फोहोर ब्यवस्थापन गर्ने काम सजिलो छ। काठमाडौं महानगरपालिकाको नीति नभएर हो समस्या आएको। मुख्यतः काम नभएर पनि हो। अहिले म काम नगरेर फोहोर सधैं जम्मा भएको भन्ने निश्कर्षमा पुगेको छु।

काठमाडौं महानगरपालिका फोहोरको दीर्घकालीन समाधान गर्न चाहँदैन, उहाँहरुलाई यसैमा दीर्घकालीन फाइदा छ जस्तो लाग्छ मलाई।

कस्तोखालको फाइदा? फोहोर व्यवस्थापन नहुदा कहाँ–कहाँ फाइदा छ?
कहाँ–कहाँ फाइदा छ भनेर अहिले म सबै त भन्दिनँ। तर, दीर्घकालीन समाधानचाँहि सम्झौता होइन। यो तरिकाले हुँदैन पनि।

महानगरपालिकालाई त्यो व्यस्थापनका लागि सुझाव दिने काम त प्रदेश सरकारको पनि हुन्छ होला नि? केही भन्नुभएको छ?
उहाँहरुलाई हामीले फोहोरको वर्गीकरण गर्नुहोस् भनेर धेरै पहिलादेखि नै भन्दै आएका छौं। विभिन्न व्यवसाय तथा अन्य तरकारी बजारबाट निस्किने फोहोरहरुको वर्गीकरण गर्नुहोस् भनेर पहिलादेखि नै भनेको हो। कुहिने र नकुहिने छुट्याएपछि सहज हुन्छ। कुहिनेलाई फोहोरमा परिणत गर्ने र नकुहिनेलाई राम्रो व्यवस्थापन गर्नुपर्‍यो। कालिमाटीको फोहोर त तुरुन्तै किसानको खेतसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्‍यो। मैले यही कुराहरु ०६३ सालदेखि नै राख्दै आएको हुँ।

तपाईं आफैं बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, महानगरपालिकालाई मात्रै दोष दिएर उम्कन त मिलेन नि हैन र?
हामी पनि जिम्मेवार त हुने नै हो। फोहोरमैलाको व्यवस्थापनको जिम्मा अहिले स्थानीय तहको हो। अहिले हामीले एउटा नीति बनाउन लागेका छौं। फोहोरसम्बन्धी नीति बनाएर हामी कार्यान्वयनमा लान्छौं।

महानगरपालिकाले चाँहि बन्चरेडाँडामा फोहोर थुपारेर समाधान खोजिरहेको छ। फोहोर थुपारेर संसारमा समाधान कहीँ पनि भएको छैन। फोहोर थुपार्ने चिज होइन नि। कुरा गर्दा उहाँहरुले स्वीकार्नु पनि हुन्छ। तर, किन समाधान हुँदैन? फोहोरबाट ठूला ठूला कुराहरु यस्तो बनाउने, उस्तो बनाउने भनेर कुरा भइरहेको हुन्छ। मुख्य कुरा त फोहोर व्यवस्थापनको हो नि। पहिलो कुरा त फोहोर बाहिर फाल्नै नदिउँ। वडाहरुले यसको जिम्मवारी लिनपर्यो। यदि फाल्नैपर्ने हो भने पनि टोल टोलमा महानगरपालिकाले ठूला ड्रमहरुको व्यवस्था गर्नुपर्यो।

यति फोहोर व्यवस्थापन गर्न नसक्ने भन्ने हुँदैन। महानगरपालिकाले बन्चरेडाँडा र सिसडोलमा लगेर फोहोर फालेर समाधान भयो भन्ठान्नु भएन। नुवाकोट र धादिङको बीचमा बग्ने नदीमा फोहोरबाट निस्किएको लिकेजले पानी चलाउन नहुने भएको छ। बोट बिरुवाहरु मरिरहेका छन्। त्यहाँ गएर सर्वेक्षण गर्दा अवस्था भयानक छ।

त्यहाँ अस्ति दमन भएको छ। मैले त्यो दमनको विरोध गरेको हुँ।

कसले दमन गरेको, के भएको थियो र?
वडाध्यक्षलाई समेत गरेर ४/५ घन्टा भ्यानमा राखियो। मेयर र उपमेयर गएर गरिएको त्यो कुराको मैले विरोध गरेको हुँ। उहाँहरु पनि जनप्रतिनिधि हो, त्यो वडाध्यक्ष पनि जनप्रतिनिधि हो। वडाध्यसहित जो स्थानीयले विरोध गरे उनलाई धुनवेशी–१ का वडाध्यक्ष मानबहादुर तामाङसहितलाई पुलिसको भ्यानमा राखियो। ठूलो दमन भएको छ।

विभिन्न सरोकार समितिसँग सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन। महानगरपालिकाले स्कुल बनाइदिने, बाटो बनाइदिने, रोजगारी दिने लगायतका आश्वासन राखेर सम्झौता भएको धेरै हामीले नै देखेका छौं। अहिलेसम्म केही गरेकै छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .