ad ad

अन्तर्वार्ता


वाम एकता अघि बढे अहिलेको कमिटी फेरिन सक्छ : देव गुरुङ (अन्तर्वार्ता)

सबै ध्यान पार्टी संगठन नियमित र ब्यवस्थित गर्न लगाउँछु
वाम एकता अघि बढे अहिलेको कमिटी फेरिन सक्छ : देव गुरुङ (अन्तर्वार्ता)

फाइल तस्बिर


रुपक चौलागाईं
भदौ ४, २०७९ शनिबार २१:४२, काठमाडौँ

लामो रस्साकस्सीबीच सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आठौं महाधिवेशनको ९ महिनापछि पदाधिकारीको टुंगो लगाएको हो।

माओवादीले गत पुस दोस्रो साता आठौँ महाधिवेशन सम्पन्न गरेको थियो। त्यसयता नेताहरुको शक्ति संघर्षका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महासचिवसहितका पदाधिकारी चयनमा हच्किँदै आएका थिए। 

महासचिव पदका प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्मामध्ये एकलाई स्वीकार्न नसक्दा प्रचण्ड तेस्रो विकल्पमा गए। आकांक्षी व्यवस्थापन गर्न सहज नभएपछि प्रचण्डले वर्षमान र जनार्दनको विकल्पका रुपमा नेता देव गुरुङलाई महासचिव बनाएका हुन्।

प्रचण्डले वरिष्ठताका आधारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरालाई एकल उपाध्यक्ष बनाएका छन्। चौथो वरियतामा रहेका गुरुङलाई महासचिव बनाउँदा वर्षमान र जनार्दन दुवैको सहज व्यवस्थापन हुने भएपछि प्रचण्डले यो विधि अपनाएका हुन्। 

त्यसो त, कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद मानिन्छ, महासचिव। माओवादीमा देखिएको भद्दा संगठन, महिनौंसम्म अपूरो कमिटीले पूर्णता पाएपछि अब संसदीय निर्वाचन महासचिव गुरुङका लागि एउटा अग्निपरीक्षा भएको छ। उनले पार्टी संगठनलाई माथिदेखि तलसम्म परिचालन गरेर पार्टीको पक्षमा निर्वाचनको नतिजा निकाल्नुपर्नेछ।

यसैबीच शनिबार महासचिवमा चयन भएपछि गुरुङसँग नेपालखबरले कुराकानी गरेको छ। यो कुराकानीमा गुरुङले पार्टीका सबै समस्या व्यवस्थापनका लागि अधिकतम् प्रयास हुने बताए। ‘अध्यक्ष कमरेडलाई हरेक कदममा सहयोग गरेर अघि बढ्नेछु,’ उनले नेपालखबरसँगको संवादमा भने। ​गुरुङसँग गरिएको संक्षिप्त कुराकानीको अंशः

माओवादी केन्द्रको महासचिव चुनिनु भएको छ। अब संगठन सुदृढीकरणमा यहाँको भूमिका कस्तो रहन्छ? 
हाम्रो पार्टी नेकपा माओवादी केन्द्रमा स्वतः अध्यक्षको नेतृत्वमा बनेका संरचना छन्। त्यसलाई व्यवस्थित र नियमित गर्दै सुधार गरेर अघि बढ्ने प्रक्रियामा मेरो महत्वपूर्ण भूमिका रहन्छ। अध्यक्ष कमरेडलाई हरेक कदममा सहयोग गरेर अघि बढ्नेछु।

कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण पद महासचिव भनिन्छ। माओवादीमा भद्दा बन्दै गएका संरचना व्यवस्थित गर्ने तपाईंको प्रयास के हुन्छ?
निश्चय: पनि यी सबै कुरा ब्यवस्थापन गर्न मैले मेरो ठाउँबाट अधिकतम प्रयास गर्नेछु।

पार्टीका संगठन चुस्त बनाउन आगामी एक वर्षभित्र तपाईंले गर्ने मुख्य काम के हुन्छन्?
आन्दोलनको आवश्यकताअनुसार पार्टी कमिटी र अध्यक्षले अहिलेको टिमको संरचना नै अघि बढाउन उपयुक्त ठान्नु भएको छ। आजको बैठकमा पनि उहाँले आफूले प्रस्ताव गरेको टिम नै अहिले व्यवस्थित हुन्छ भनेर कुरा राख्नुभयो।

त्यसैमा सहमति र निर्णय भयो। पार्टीको निर्णयप्रति अध्यक्ष लगायत सबैमा हार्दिक आभार पनि ब्यक्त गर्दछु। आफ्नो कार्यकालमा अधिकतम् रुपमा सुधार गर्नुपर्ने पक्षहरुबारे गम्भीर हुनेछु। अहिले संगठनमा आवश्यक सुधार गर्नुपर्ने सवालमा मैले मेरो ठाउँबाट अधिकतम प्रयास गर्नेछु। पार्टी संगठनलाई सुधार गर्ने, व्यवस्थित गर्ने सवालमा मेरो भूमिका हुन्छ। 

आजको पदाधिकारी चयनलाई विशेष महाधिवेशनसम्म अस्थायी प्रबन्ध गरिएको हो भनिन्छ नि? 
पार्टीका कमिटी स्थायी त कहिल्यै पनि हुँदैन। र, दीगो पनि हुँदैनन्। आवश्यकता अनुसार बैठक त परिवर्तन हुन्छ। सम्मेलन, भेला, महाधिवेशन हुँदा स्वभाविक रुपमा पुनर्गठन भइरहन्छन्। त्यसकारण विकासको गतिको नियम नै यही हो। दोस्रो कुरा, पार्टी एकताको विषय चलिरहेको छ। बृहत्तर लेफ्ट (वाम) एकता प्रक्रियाबाट अघि बढेको खण्डमा स्वतः संरचना परिवर्तन भइहाल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .