ad ad

अन्तर्वार्ता


सत्तामा फर्किन कांग्रेसले सकेको गर्छ : किशोरसिंह राठौर (अन्तर्वार्ता)

‘यो सरकारलाई विश्वासको मत पुर्‍याउने जिम्मा प्रचण्ड र ओलीको हो।’
सत्तामा फर्किन कांग्रेसले सकेको गर्छ : किशोरसिंह राठौर (अन्तर्वार्ता)

केशव सावद
पुस २३, २०७९ शनिबार १२:४६, काठमाडौँ

किशोरसिंह राठौर नेपाली कांग्रेसका सहमहामन्त्री हुन्, जो पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। निर्वाचनमा पहिलो पार्टी भएर सरकार गठनको तयारीमा रहेको कांग्रेस अप्रत्यासित रुपमा सत्ताबाहिर बस्नु पर्ने अवस्था आएपछि विवद चुलिएको छ। सत्ताबाट कांग्रेसको बहिर्गमन र नयाँ गठबन्धन निर्माणसँगै कांग्रेसको नयाँ रणनीतिबारे राठौरसँग नेपालखबरले गरेको कुराकानीः

पुस २२ गतेका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमिति बैठक सारेर संस्थापन पक्षले इतर समूहको आलोचना छल्न खोजेको हो?
होइन। २५ गते हाउस बोलाएको हुनाले २३ गते संसदीय दलको बैठक राख्नुपर्ने भयो। केन्द्रीय समितिमा समीक्षा गर्ने भएपछि लामो जाने भयो। लामो बैठक हुने भएकाले २३ गते दलको बैठक, २५ गते हाउस बोलाएको छ, २६ गते विश्वासको मत लिने भन्ने कुराहरु पनि आइराखेको छ। यी सबै कुरा सिद्धिएपछि राम्रोसँग बृहत रुपमा छलफल गरौँ भनेर २२ गतेको बैठक २८ गते सारिएको हो। 

सत्ताबाट बाहिरिएपछि तपाईंहरुले अहिलेको अवस्था किन आयो भनेर आन्तरिकसमीक्षा गर्नुभएको छ कि छैन?

आन्तरिक रुपमा त हामी सबैले आफूआफू समीक्षा गरिनै राखेका छौं। यसको बारेमा बृहत् छलफल केन्द्रीय कार्यसमितिमा हुन्छ। यो कुरा के हो भने हिजो कार्यसम्पादन समितिले निर्णय गर्दा नै गठबन्धनमा रहेका दललगायत अरुसँग पनि सरकार गठनको पहल गर्ने भनेर जुन किसिमले लेखिएको छ, त्यसले गर्दा पनि यो समस्या आएको जस्तो हामीलाई लाग्छ। 

५ दलीय गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई धोका दिनुभएको कि सभापति देउवाले अध्यक्ष प्रचण्डलाई धोका दिनुभएको हो?
गठबन्धनलाई धोका त प्रचण्डजीले दिनुभएको हो। नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको हुनाले पहिलो ‘राउन्ड’ मा सरकारको नेतृत्व कांग्रेसलाई दिँदा अलि स्वाभाविक पनि देखिन्छ। त्यसैले पहिलो चरणमा कांग्रेसलाई दिनुपर्छ भन्ने हाम्रो भनाइ हो। प्रचण्डले हिजो दुई तिहाइको सरकार बनाउनुभयो, पार्टी फुटाएर यहाँसम्म ल्याउनुभयो र, अहिले फेरि त्यहीँ पुर्याउनुभयो। भनेपछि हाम्रो हिजोको ५ वर्ष त खेर गयो नि। हिजो किन पार्टी फुटाएको? नेकपाभित्रको विवाद चर्किएर पार्टी टुक्रिएपछि माधव नेपाल र प्रचण्डजी अलग भएपछि त्यतिबेला शेरबहादुर देउवाले निर्वाचनमा जानुपर्छ भन्नुभएको थियो। 

तर, उहाँहरु त्यतिबेला संसद् जोगाउनुपर्यो, संविधान जोगाउनुपर्यो भनेर जसरी गठबन्धन गर्न आउनुभयो। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्न आउनुभएको बेला हामी निर्वाचनमा गएको भए कांग्रेसको अहिलेको भन्दा राम्रो ‘पोजिसन’ हुन्थ्यो। शेरबहादुर देउवा पनि निर्वाचनमै जान चाहनुहुन्थ्यो। 

तर, हामीले संसद् जोगाउन र संविधान जोगाउनलाई गठबन्धन गरेर स्थानीयदेखि संघीय निर्वाचनसम्म गयौँ। हिजो निर्वाचनको बेला जुन किसिमले प्रचण्डजीले बोल्नुभयो त्यसले गर्दा हामीले बढी विश्वास–भरोसा गरेको जस्तो पनि भयो। नेतृत्वदेखि सबैलाई यो परिस्थिति आउँछ भन्ने लागेको थिएन। 

गठबन्धनभित्र छलफल त हुन्छ नि। आज कुरा नमिले भोलि मिल्छ। मिलाउन सकिन्छ नि त। प्रधानमन्त्री नहुने भइसकेपछि गठबन्धन तोडेर उहाँ जानुभएको हो। हामी गएका त छैनौँ। हामीले दाबी गर्नु त स्वाभाविक हो। हिजो राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेले लिएको थियो। हामीले दाबी गर्नु त उचितै हो भन्ने मलाई लाग्छ। 

यो गठबन्धन २० वर्ष जान्छ भनिरहनुभएको थियो। दुई वर्ष नपुग्दै तपाईंहरुको गठबन्धन टुट्न पुग्यो। अहिले त कांग्रेस एक्लो भयो नि?
नेपाली कांग्रेस एक्लो भयो भन्ने कुरा ठूलो कुरा होइन। हिजोका दिनमा कांग्रेस एक्लैले राणा शासन फालेको हो। हाम्रै नेतृत्वमा पञ्चायत गयो। छरिएर रहेका कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएर गणेशमानजीले पञ्चायती व्यवस्था फाल्नुभयो। माओवादीसँग १२ बुँदे सम्झौता गरेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६२–०६३ को आन्दोलन गरेर हामीले राजतन्त्र फालेको हो।  

व्यवस्था परिवर्तन गर्दा पछिल्लो समय कम्युनिस्टहरुसँग मिलेर जानु पर्यो। हुन त बीपी कोइरालाको भनाइ कम्युनिस्टहरुसँग मिलेर जानु हुन्न भन्ने थियो। ०४६ सालको आन्दोलनमा पनि गिरिजाप्रसाद कोइरालाको पनि कम्युनिस्टसँग मिलेर जान हुन्न भन्ने भनाइ थियो। तर, पछि पार्टीले निर्णय गरेपछि उहाँ पनि त्यो आन्दोलनमा समाहित हुनुभयो। उनै गिरिजाप्रसाद कोइरालाले ०६२–०६३ को आन्दोलन कम्युनिस्टहरुसँग मिलेर माओवादीसँग १२ बुँदे समझदारी गरेर देशमा गणतन्त्र ल्याउनुभयो। 

त्यसैले के हो भने हामी एक्लै भयौँ कि भएनौं भन्ने कुरा ठूलो हो भन्ने मलाई लाग्दैन। हामीले विश्वास तोडेका छौँ कि छैनौँ? हामीले हिजो झुठो बोल्यौं कि बोलेनौं? ढाँट्यौं कि ढाँटेनौं? यो कुरा महत्वपूर्ण हो। 

म प्रचण्डलाई भन्न चाहन्छु, हिजोका दिनमा जसरी ५ वर्ष खेर गयो, भोलिका दिनमा त्यो परिस्थिति निर्माण नहोस्। देश प्रमुख हो, जनता प्रमुख हो। सत्ता प्रमुख होइन। अहिले राजनीतिक दलहरुले सत्तालाई प्रमुख देखाएका छन्। जनतामा निराशा छाएको छ, त्यो चाहिँ नहोस्। समय खेर नजाओस्। हिजो ५ वर्ष जसरी खेर गयो, त्यसरी भोलिका दिनमा पनि सत्तामा जाने कुराले देशको समय, जनताको समय बर्बाद नहोस्। 

निर्वाचनको समयमा कांग्रेसले माओवादीलाई भोट नदिए कारबाही गर्छौं भनेर उर्दी नै जारी गर्यो। केही नेता–कार्यकर्ताहरु कारबाहीमा पनि पर्नुभयो। अहिले गठबन्धन त टुटिसक्यो। अब ती नेता–कार्यकर्तामाथि गरिएको कारबाही के हुन्छ? 
त्यो विषयमा केन्द्रीय कार्यसमिति बैठकमा बृहत रुपमा छलफल हुन्छ। हिजोका दिनमा गठबन्धन सफल बनाउनका लागि हामीले त्यो निर्णय गरेका हौं। नेताहरुले त्यो भनेका हुन्। त्यतिबेला त्यो गलत थिएन। तर, एउटा कुरा के हो भने गठबन्धन गर्दाखेरीको कुरा मात्र होइन। पार्टीभित्र जुन किसिमका विकृतिहरु छन्, एकले अर्कालाई नमान्ने अनुशासनहीनता जसरी विकसित भएको छ, यो अहिलेको कुरा होइन। 

कृष्णप्रसाद भट्टराई उपनिर्वाचन लड्दा जसरी पार्टीभित्र केन्द्रदेखि तलसम्म घात–अन्तर्घात सुरु भयो त्यसले परकाष्ठा नाघ्यो। यदि हामीले पार्टीलाई अनुशासित बनाउन सकेनौँ भने भोलि कसैले पनि पार्टी चलाउन सक्ने अवस्था रहँदैन। त्यसैले म सम्पूर्ण पार्टीका साधारण सदस्य, क्रियाशील सदस्यदेखि केन्द्रीय तहका नेताहरुलाई के भन्न चाहन्छु भने पार्टीलाई अनुशासित बनाउने कुरामा सबै लाग्न जरुरी छ। अनुशासन भएन भने घर चल्दैन। पार्टीमा अनुशासन भएन भने, त्याग, तपस्या भए भने, बलिदान भएन भने पार्टी चल्दैन। 

अहिले पार्टीको साधारण सदस्य लिनासाथ उसलाई टिकट चाहियो। हामीले के कुरा बुझाउन सकेनौं भने सबै साधारण सदस्य क्रियाशील सदस्य हुँदैनन्। सबै क्रियाशील सदस्यले वडा सदस्यको टिकट पाउँदैन। सबै वडा सदस्यले वडाध्यक्षको टिकट पाउँदैन। सबै वडाध्यक्षले मेयरको टिकट पाउँदैन। सबै मेयर माननीय हुँदैन। सबै माननीय मन्त्री हुँदैन। सबै मन्त्री प्रधानमन्त्री हुँदैन भन्ने कुराको चेत हामीले पार्टीभित्र विकास गर्न सक्यौं भने मात्रै हामीले चाहेको जस्तो पार्टी बन्न सक्छ। होइन भने जसरी भए पनि म हुनुपर्यो, पार्टी जहाँ सुकै जाओस् म चाहिँ हुनुपर्यो भन्ने जुन किसिमको संस्कार पार्टीभित्र विकसित भएको छ, विशेष गरी युवापंक्तिमा, त्यसले पार्टीलाई बचाएर लैजान धेरै गाह्रो छ। 

मन्त्री हुँदैमा प्रधानमन्त्री हुँदैन भनेर सभापति देउवासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापालाई इंगित गर्नुभएको हो?
मैले एक जना व्यक्तिलाई भनेको होइन। तर, यो कुरा उहाँलाई पनि लाग्छ। उहाँले के बुझ्नु भएको छ, त्यो उहाँसँग सोध्नु होला। मैले बुझेको राजनीति भनेको के हो भने दिनका लागि गर्ने हो। देशका लागि, जनताका लागि, पार्टीका लागि दिन राजनीति गर्ने हो। जब हामी दिन थाल्छौं झगडा कम हुन्छ। पार्टीमा लागेर लिने कुरालाई बढी महत्व दिएका कारणले गर्दा मै हुनुपर्छ भन्ने किसिमको सोचले गर्दा पार्टीभित्र धेरै ठूलो संकट आउँदै छ। 

यसलाई कसरी साम्य बनाउने भन्ने कुरा कांग्रेसभित्र ठूलो चुनौती छ। कांग्रेसको भोलिको नेतृत्व गर्छु भन्नेहरुलाई झन् ठूलो चुनौती छ। अहिलेका युवा त कुर्न चाहँदै चाहँदैनन्। तपाईं देखिरहनुभएको छ त रवि लामिछानेजीले अस्ति भर्खर पार्टी खोल्नुभयो। उहाँलाई मन्त्री भएर पुगेन, उहाँले उपप्रधानमन्त्री म बन्दिनँ, मन्त्री भए पुगिहाल्छ काम गर्नलाई भनेको भए पनि त हुन्थ्यो नि। उहाँले गर्दा कति वटा उपप्रधानमन्त्री बन्दैछन्? यसले देशलाई फाइदा गर्छ? 

उहाँ मन्त्री हुनहुन्थ्यो वा हुनहुन्नथ्यो, त्यो फेरि अर्को छलफलको विषय छ। तर, व्यक्तिगत रुपमा उहाँले गृहमन्त्री बनेर काम गर्छु भनेको भए पनि त हुन्थ्यो नि। किन उपप्रधानमन्त्री चाहियो? सब चिज हामीलाई चाहियो भन्ने सोचले पार्टी बन्दैन। हिजो गणेशमानजीले आफूले पाएको प्रधानमन्त्री आफ्नो साथीलाई दिनुभएको हो नि त। त्यो पार्टी हो नि नेपाली कांग्रेस। त्यसैले दिन सिक्नु पर्यो। छाड्न सिक्नु पर्यो। छोड्न सिक्यो भने मेलमिलापको कुरा आउँछ। अरुले मात्र छोडिदिनुपर्ने, आफूले केही पनि छोड्नु नपर्ने? युवाहरुले छाडेर दोखाउनु पर्यो नि त। कुन बेला कहाँ के छाड्नुभयो भन्ने कुरा देखिनु पर्यो नि। 

पुस १० गते विकसित नयाँ राजनीतिक घटनाक्रमपछि सभापति घेराबन्दीमा हुनुहुन्छ। यसको सहज अवतरण कसरी हुन्छ?
मिडियामा बोलेका कारणले तपाईंहरुलाई घेराबन्दी जस्तो लागेको हो। पार्टीभित्र त्यस्तो केही घेराबन्दी छैन। केन्द्रीय समितिको बैठक हुँदैछ। तपाईं देखिहाल्नुहुन्छ कति घेराबन्दी हुन्छ भनेर। केन्द्रीय समितिले हिजो गठबन्धन गरेर जाने भन्ने कुरा पनि सर्वसम्मत पास गरेको हो। भोलि जे काम हुन्छ सर्वसम्मत हुन्छ। असहमति राख्नेले राखे भैहाल्यो नि। त्यसैले यो मिडियाबाजी धेरै गरेर के–के न आकास खस्न लागेको छ भन्ने कुरा केही पनि होइन। केही समस्या छैन। 

गठबन्धन किन टुट्यो, हिजो गठबन्धन गर्नु ठीक थियो कि थिएन, अहिले गठबन्धन टुटाउनु ठीक थियो कि थिएन, पार्टीलाई कसरी लिएर जाने, भ्रातृ संगठनहरुलाई कसरी लिएर जाने, नीति अधिवेशन कहिले गर्ने, कसरी गर्ने, पार्टीलाई अगाडि बढाउने कुरामा व्यापक छलफल हुन्छ। सबैले आफ्नो कुराहरु राख्नुहुन्छ। त्यसमा के समस्या छ? 

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत नै पुग्न नदिने रणनीति बनाएको चर्चा व्यापक छ। के एक महिनामै नयाँ गठबन्धन फेल हुन्छ? 
बजारमा के चर्चा छ, त्यो मलाई थाहा भएन। विश्वासको मत पुर्याउने जिम्मेवारी प्रचण्डजीको हो। केपी ओलीको हो। उहाँहरुले पुर्याउने हो। पु¥याए भइहाल्यो नि। हामीलाई अहिले नै सत्ता ढाल्नुपर्ने केही छैन। हामी त आफ्नो ठाउँमा अडिग छौं। आफ्नो ठाउँमा बसेका छौं। हामी धेरै आत्तिनु पर्ने छैन। 

नेपाली कांग्रेसले संघमा नसकिए पनि केही प्रदेशहरुमा सत्तामा फर्किने प्रयासका लागि संवाद गरिरहेको छ भनिन्छ। के यो सम्भव छ?
नेपाली कांग्रेस संघमा पनि सत्तामा आउने कोसिस गर्छ। प्रदेशमा पनि गर्छ। त्यो त हामीले सकेको गर्छौं नि। हामीले हात खडा गरेको त होइन नि। तर, कुरा के हो भने टुट्न नपर्ने गठबन्धन टुट्यो। यो टुटाउने अधिकार न प्रचण्डजीलाई थियो, न शेरबहादुर देउवालाई थियो, न माधव नेपाललाई थियो। 

प्रचण्डजीले चुनाव जित्नुमा त कांग्रेसको पनि भोट परेको छ नि। मैले चुनाव जिते, मलाई माओवादीको पनि भोट परेको थियो नि त। यो गठबन्धन टुट्नु हुन्थेन भन्ने कुरा हो। 

पाँच दलीय गठबन्धन टुटेपछि नेपाली कांग्रेससँगै नेकपा एकीकृत समाजवादी पनि बिलखबन्दमा परेको जस्तो देखिन्छ नि?
उहाँहरुले सोचिराख्नुभएको होला नि। आफ्नो पार्टीलाई कसरी अगाडि लिएर जाने भन्ने कुरा सोच्नुभएको होला। 

यसपालि नेपाली कांग्रेस कति समय बस्छ त प्रतिपक्षमा?
हामी पाँचै वर्ष पनि प्रतिपक्षमा बस्न सक्छौं। हिजो पनि हामी प्रतिपक्षमै बसिराखेका थियौं। २३ सिट थियो। प्रतिपक्षमै बस्न चाहन्थ्यौं। पार्टीभित्र पनि प्रेसर पर्यो, रामचन्द्र दाइदेखि पार्टीका पदाधिकारीहरुले, नेताहरुले पनि प्रेसर गर्नुभयो, प्रचण्डजी र माधव नेपालजीले तपाईं प्रधानमन्त्री नभएसम्म संविधानै नजोगिने भयो भनेर आउनुभयो। हामी सरकारमा गयौं। 

शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले एकैचोटि स्थानीय निर्वाचन गरेको छ, एकैचोटि शान्तिपूर्ण ढंगले प्रदेश र संघको निर्वाचन गरेको छ। यो उपलब्धि होइन? सुशील कोइरालाले जारी गरेको संविधान केपी ओली प्रधानमन्त्री बनेपछि अगाडि बढ्न सकेन, कार्यान्वयन हुन सकेन। पछि शेरबहादुर देउवाले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएर संविधान कार्यान्वयन गर्ने बाटोमा गएको होइन? 

मधेशमा आगो बलिरहेको थियो। मधेश प्रदेशमा निर्वाचन हुन सकिरहेको थिएन। पछि उहाँ (देउवा) प्रधानमन्त्री भएर मधेश प्रदेशको स्थानीय निर्वाचन गराउनुभयो। प्रदेश र संघको निर्वाचन गराउनुभयो। राष्ट्रिय सभाको निर्वाचन गराउनुभयो। संविधानलाई कार्यान्वयन गराउनुभयो। 

नेपालका कम्युनिस्टहरुले दुई तिहाइको सरकारको नेतृत्व गर्न पाएको बेला संविधानलाई अगाडि बढाए? संविधानमा भएका कमिकमजोरीलाई हटाउने, संविधानमा नपुगेका कुरालाई थप्ने अवसर हिजो केपी ओलीको हातमा थियो नि। प्रचण्डजीलाई त्यो अवसर थियो। तर, उहाँहरुले झगडा गरेर पार्टी फुटाउनुभयो। बिगार्नुभयो। सबै भताभुंग गर्नुभयो। 

त्यसकारण यो देशको जिम्मेवार पार्टी भनेको नेपाली कांग्रेस हो। जनताप्रति उत्तरदायी पार्टी भनेको नेपाली कांग्रेस हो। हामीले जहिले जिम्मेवारी पाएका छौं, जनताले जहिले पनि हामीलाई जिम्मेवारी दिएका छन्, त्यो जिम्मेवारी हामीले पुरा गरेका छौं। त्यसमा हामीलाई गौरव छ। 

संघदेखि प्रदेशसम्म अहिले नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु पर्ने परिस्थिति निर्माण भएको छ। तपाईंहरुको अबको ‘मुभ’ के हुन्छ? 
आगामी ‘मुभ’ के हुन्छ भन्नका लागि केन्द्रीय कार्यसमिति बैठकको बैठक हुँदैछ नि त। बैठकमा बृहत रुपमा छलफल हुन्छ। मैले अहिले यो हुन्छ भन्यो भने मैले बोलेको कुरा कार्यान्वयन हुने होइन। त्यस्तै अरु नेताहरुले बोल्दैमा कार्यान्वयन हुने होइन। केन्द्रीय समितिले के कुरालाई पारित गर्छ? केन्द्रीय समिति कसरी जान्छ? त्यही अनुसार हाम्रो ‘मुभ’ हुन्छ। अगामी रणनीति हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .