एमालेको राजनीतिमा सक्रिय हुन खोजिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोसी प्रदेशमा ज्यादा केन्द्रित देखिन्छिन्। कतिपयले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु नहुने धारणा राखेका छन् भने केहीले आउँदा फरक नपर्ने बताउने गरेका छन्।
पछिल्लो एक हप्ताको कार्यक्रम तालिकालाई हेर्दा उनी कार्यकर्ता भेटघाटमा बढी केन्द्रित देखिन्छिन्। यही सन्दर्भमा केन्द्रित रहेर नेपालखबरले राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेको छ :
पूर्वराष्ट्रपतिको पछिल्लो सक्रियतालाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ?
यसलाई मुलुकको आवश्यकताको रूपमा लिएको छु। मुलुकको राजनीति सही लयमा हिँडिरहेको भए पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रियता देखाउनु त्यति राम्रो हुन्थेन। तर मुलुकको राजनीति सही ढङ्गले अगाडि बढेको देखिँदैन। यो अवस्थामा यसलाई रेस्क्यु गर्नको लागि जसले जे प्रयास गरेर आउन सक्छ, त्यो प्रयास गर्नुपर्छ। राष्ट्रपति भइसकेको व्यक्तिले पनि आफ्नो ठाउँबाट त्यो प्रयास गर्दा केही बिग्रिन्छ जस्तो लाग्दैन।
मुलुकमा राजनीतिक दलहरूको ध्रुवीकरण वा गठबन्धन भनेको विचार र सिद्धान्त या कार्यक्रमको आधारमा हुन्छ तर केन्द्रबाट दक्षिण र केन्द्रबाट उत्तर हुनेहरूको गठबन्धन भनेको असाध्यै तल्लो स्तरको स्वार्थले भएको देखिन्छ। राजनीतिक सिद्धान्त, विचार र कार्यक्रमको आधारमा ध्रुवीकरण होस् भन्ने आम नागरिकको अपेक्षा हो।
पूर्वराष्ट्रपति आएर केन्द्रबाट देब्रे समाजवादी अथवा वामपन्थीको एउटा पक्ष बन्छ र कांग्रेसको नेतृत्वमा अर्को पक्ष बन्यो भने मात्रै मुलुकले एउटा दिशा लिन र लय समाउन सक्छ। त्यसो भयो भने पूर्वराष्ट्रपतिको भूमिका स्वागतयोग्य हुन्छ।
पूर्वराष्ट्रपतिको भूमिकाले समाजवादी-वामपन्थी पक्ष र कांग्रेसको नेतृत्वमा अर्को पक्ष बन्न सम्भव छ?
सामान्यतया अहिले एमालेको नेतृत्वमा जो हुनुहुन्छ, उहाँका कारणले वामपन्थीहरू एक ठाउँमा नभएको अवस्था हो नि। नत्र त वामपन्थीहरूको एउटा हुन्थ्यो, नेपाली कांग्रेससँग मिलेर अरूको एउटा हुन्थ्यो। अहिले दुई दलीय शासन हुनुपर्छ भनेर रोइकराइ गर्दै छन् एमालेका महासचिव, त्यसरी गए त भइहाल्थ्यो नि। कसैलाई तोड्न, फोड्न, आफ्नोलाई मिलाउनको लागि दस किसिमका दाउपेच गर्नै पर्दैन थियो।
कम्युनिस्ट वा समाजवादीलाई समेटेर लैजान सहज होला त?
एउटा कुरा के हो भने विशुद्ध कम्युनिस्टको कुरा चाहिँ अब छोडिदिनुस्। अब कुरा के हो भन्दा केन्द्रबाट देब्रे अर्थात् अलिकति समाजवादी, अलिकति वामपन्थी एजेन्डा बोक्ने शक्तिहरू एक ठाउँ भए भने नेपाली कांग्रेसले पनि त्यस्तै शक्तिहरूको एउटा गठबन्धन बनाउँछ। त्यसो भएपछि कि एउटाको बहुमत हुन्छ, क अर्कोको। अनि भइहाल्यो नि।
कामको आधारमा जनताले मूल्याङ्कन गर्छन्। हरेकलाई चुनौती हुन्छ, हामीले राम्रो काम गर्यौँ भने मात्रै अर्को पटक हामीलाई जनताले पत्याउँछन् । अनि पो काममा केन्द्रित हुन्छन्। अहिले त कुर्सी कसरी जोगाउने भन्ने मात्रै चिन्ता देखिन्छ। हरेक दिन प्रधानमन्त्रीदेखि सबैले हाम्रो सत्ता ढल्दैन भनेर किन भनिरहनु परेको छ? जबकि आफूसँग झन्डै २ तिहाइकै बहुमतको सरकार छ भने काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, आफू खुरुखुरु काम गर्दै जानु नि। सरकार ढलोस् भनेर विपक्षीले त भन्छ, भन्ने काम हो, उसले भन्छ।
भनिन्छ नि, बाटोमा हिँडेको कुकुरलाई तपाईँ ढुङ्गा हान्न थाल्नुभयो भने तपाईँ लक्ष्यमा पुग्नुहुन्न। लक्ष्यमा पुग्न तपाईँ खुरुखुरु हिँड्नुस् न। कसले के बोल्छन्, के छ त्यो मतलब भएन। काम गर्नुस् । अहिलेको समस्या भनेको सेवा डेलिभरी गराउन नसकेको त हो नि। मुखले सब कुरा बोल्या छ, काम चैँ सिन्को भाँच्या छैन। अरू धेरै हेर्नै पर्दैन, अहिलेको सामाजिक सञ्जाल नियमन गर्ने विधेयकलाई नै हेर्दा पुग्छ। त्यत्रो निरङ्कुश विधेयक जरुरी छ? त्यत्रो जरिवाना, त्यत्रो जेल जरुरी छ? अहिलेको विधेयकले विरोधका स्वरलाई बन्द गर्न खोजेको जस्तो भयो नि त।
पूर्वराष्ट्रपतिले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा युवा रोजगारका जुन एजेन्डा उठाउन थाल्नुभएछ नि!
हाम्रो आवश्यकता नै त्यही हो। नागरिकका आवश्यकतालाई उहाँले उठाएको देखिन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा युवा रोजगारका विषयहरूलाई सम्बोधन हुनेबित्तिकै धेरै समस्या हल भएर जान्छ। युवा पलायन रोक्नु भनेको देशमा रोजगारी हुनु पर्यो। स्वास्थ्यको राम्रो व्यवस्था भयो भने अहिले पलायन हुँदै गएका नर्सहरू बाहिर जानु त पर्दैन। यत्रो खर्च गरेर पढेका नर्सहरू बाहिर किन गइरहेका छन्, उनीहरू मात्रै हैन, धेरै सीप भएका पढेलेखेका युवाहरू बाहिर जानुको कारण भनेको यहाँ रोजगार छैन। उनीहरूलाई रोक्ने भनेको राम्रो शिक्षा हो। रोजगारीको अवसरले मानिसलाई निरन्तर शिक्षासँग पनि जोड्छ। काम गर्दै पढ्ने खालको वातावरण हामीले बनाउन नै सकेका छैनौँ। पढाइलाई कामसँग जोड्न सक्नु पर्छ।
त्यो भनेको के हो भन्दा उद्योगधन्दा, कलकारखाना लगायत जसले रोजगारी दिन्छ, त्यसले हाम्रो आर्थिक अवस्था बलियो पार्छ। फोकस गरेर गयो भनेँ त यहीँ पनि त हुन्छ नि पढ्दै काम गर्दै। हो अहिले उहाँले जे कुरालाई फोकस गर्दै हुनुहुन्छ, सही रूपमा केन्द्रित हुनु भएको छ।
तपाईँले भनेको जस्तो पूर्वराष्ट्रपतिको सक्रियताले वामपन्थी-समाजवादी गठबन्धन बन्यो भने राजनीतिक स्थायित्व आउँछ?
हाम्रा नेताहरू अस्थिरता आफूमा छ, दोष चाहिँ सिस्टमलाई दिइरहेका छन्। एउटै उदाहरण हेरौँ न, झन्डै दुई तिहाइ बहुमत वामपन्थीको आएको होइन? त्यसलाई थाम्न नसकेको न हो।
वाम पक्षलाई एक बनाउने यो काम भनेको एक घण्टा, दुई घण्टा, एक महिना, दुई महिनाको मात्रै होइन। यो एउटा प्रोजेक्ट हो, यसले ५–६ वर्षमा एउटा साइकल पूरा गर्छ र यसले एउटा गति दिन्छ भन्ने हिसाबले गर्ने हो। यो कामले त्यहाँभित्र नेतृत्व गर्नेहरू पनि फिल्टर हुन्छन्।
के उहाँले प्रधानमन्त्री बनेर सबै मिलाउने?
पूर्वराष्ट्रपति आफैँ प्रधानमन्त्री पद लिने हिसाबले नआएर युवाहरूलाई अघि सारेर पनि यी सबै कामहरू गर्न सकिन्छ। युवाहरूलाई सबै चाँजोपाँजो मिलाइदिएर एउटा प्लाटफर्म बनाइदिने र एउटा अभिभावकको भूमिका खेलेर लु अब तिमिहरू चलाऊ भनेर पनि त जान सकिन्छ नि। त्यति गर्न सक्यो भने त्यो भन्दा ठूलो नेता को हुन्छ र भोलि?
आफैँले गर्नु पर्छ भन्ने होइन। एमालेभित्र अहिलेको प्रधानमन्त्रीले जति पार्टीभित्रको आन्तरिक लोकतन्त्रको लागि लडाइँ कसैले लडेको छैन। तर उहाँ आउनेबित्तिकै समाप्त भयो त्यो लोकतन्त्र।
हिटलरले चुनाव नलडुञ्जेल सबैभन्दा लोकतान्त्रिक संविधान भन्थे जर्मनीको संविधानलाई। त्यही लोकतान्त्रिक संविधान भएको कारणले हिटलरजस्ता नाजी पनि जितेर आएका थिए। ऊ जितेर आएपछि चुनाव भएन। त्यस्तै आन्तरिक लोकतन्त्रको लागि लड्यो, लड्यो, आफू आउनेबित्तिकै बाटो बन्द गर्ने त्यस्तो खालको निसास्सिएको जुन अवस्था छ, त्यो अवस्थालाई पार लगाउनु पर्छ।
एकीकृत समाजवादी, माओवादीहरूको एजेन्डामा कति फरक छ र? एक्काइसौँ शताब्दीको जनवाद भन्नु र जनताको बहुदलीय जनवाद भन्नु भनेको नाक सिधा समाउने कि घुमाएर समाउने भनेको त हो नि। समाउने नाक नै हो। तिनीहरूले अलग हुनु पर्ने ठाउँ के छ, त्यो चैँ दिन सक्नु पर्यो। उहाँ (पूर्वराष्ट्रपति) ले त्यो कोसिस गर्नुभयो र त्यहाँ चाहिँ ब्रेक थ्रु भयो भने मात्रै दुई दल हाबी हुने व्यवस्था आउन सक्छ। दुई दलीय भनेको होइन, दुई पार्टी बलियो हुने सिस्टम भनेको। त्यहाँ अरू पार्टीहरू पनि हुन्छन् तर डोमिनेन्ट चाहिँ दुई वटा पार्टी हुन्छन्।
जापान, बेलायत लगायत कतिपय मुलुकहरू टु पार्टी डोमिनेन्ट सिस्टम हो। त्यहाँ अरू पार्टी पनि छ, कहिलेकाहीँ तेस्रो पार्टीसँग मिलेर पनि सरकार बनाउँछन् तर त्यहाँको सिस्टम भनेको टु पार्टी डोमिनेन्ट नै हो। त्यो खालको यहाँ पनि साना दलहरू रहन्छन्, नरहने भन्ने हुँदैन, तर प्रभावशाली चाहिँ दुइटा दल भए भने त्यसले राजनीतिक स्थायित्व दिन्छ। हामीलाई राजनीति स्थायित्वबाट आर्थिक स्थिरता र नीतिगत स्थिरता चाहिएको हो। नेतृत्वमा त (क) बसे पनि (ख) बसे पनि एउटै कानुन कानुन कार्यान्वयन गर्न थाल्यो भने त भइगयो नि।
Shares

प्रतिक्रिया