अन्तर्वार्ता


एन्जिलाको घर त फिल्म नचलेको भए पनि बनाउँथेँ : प्रेमकुमार श्रेष्ठ (अन्तर्वार्ता)

एन्जिलाको घर त फिल्म नचलेको भए पनि बनाउँथेँ : प्रेमकुमार श्रेष्ठ (अन्तर्वार्ता)

स्पोर्ट्सकै कथामा फिल्म बनाउन चाहन्छन् निर्माता तथा एन्जिलाका ‘गडफादर’ प्रेम। तस्बिर : विशाल कार्की


लक्ष्मी बलायर
चैत १७, २०८१ आइतबार १६:१४, काठमाडौँ

फागुन २९ गतेबाट रिलिज भएको फिल्म ‘अञ्जिला’को चर्चा अझै सेलाएको छैन।  १० करोड ग्रस कलेक्सन गरिसकेको फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। जसमा उनको बाल्यकालदेखि खेल जीवनको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ।

बायोपिक, त्यसमाथि स्वयं एन्जिलाकै अभिनय। पर्दामा एन्जिलाको जीवन देखेर दर्शकहरू आँखा भिजाइरहेका छन्। मिलन चाम्स निर्देशित यस फिल्ममा प्रेमकुमार श्रेष्ठले लगानी गरेका हुन्। प्रेम तिनै व्यक्ति हुन्, जसले १५ वर्षदेखि एन्जिलाको अभिभावकत्व सम्हाल्दै आइरहेका छन्। जसकारण एन्जिला प्रेमलाई गडफादर मान्छिन्।

उसो त प्रेमसँग खेलकुद क्षेत्रमा काम गरेको अनुभव छ। एपीएफ क्रिकेट क्लबका संस्थापक हुन् उनी। जहाँ उनले १० वर्ष क्लब इन्चार्जको भूमिका निर्वाह गरे। श्रेष्ठकै पहलमा नेपालको सशस्त्र बलको सांस्कृतिक शाखा सिंगापुरको कार्यक्रम र जापानको अन्तर्राष्ट्रिय फिल्म अवार्डमा समेत सहभागी भएको थियो। साथै खेलकुद विधामा नेपालमा पहिलो बायोपिक बनाउने श्रेय पनि प्रेमलाई जान्छ। उनै निर्माता प्रेमकुमार श्रेष्ठसँग गरिएको कुराकानी :

तपाईंले पहिलोपल्ट लगानी गरेको फिल्म अञ्जिलाले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ, कस्तो लागिरहेको छ?
कन्टेन्ट तयार गर्दा नै लगभग मुभी राम्रो हुन्छ भन्नेमा आशावादी थियौँ। निर्देशक मिलन चाम्सले हुन्छ भनेपछि झनै कन्फिडेन्स आयो। सम्पादन गर्दा पनि राम्रो भयो भन्नेमा विश्वस्त थियौँ। तर, यो किसिमको चर्चा, लोकप्रियता र दर्शकहरूको सकारात्मक प्रतिक्रिया भन्ने सोचेको पनि थिएन।

हाम्रोमा बायोपिक फिल्म बनाउन र चल्न कठिन छ भन्ने थियो। हामीले जोखिम लिएर गरेको हो। तर, दर्शकहरूले एकदमै मन पराइदिनुभयो। त्यसमा निकै खुसी लागिरहेको छ।

तपाईं फरक क्षेत्रको मान्छे, जोखिम लाग्दा पनि किन फिल्म निर्माणमा हाम फाल्नुभयो?
हरेक चिजमा खत्रा जोखिम लिएर काम गर्ने मेरो स्वभाव छ। यदि यो फिल्म सफल भयो भने हामी खुसी हुनेछौँ। असफल भए पनि यो खालको जनरामा फिल्म बन्न सुरू भयो, इतिहास हुन्छ भन्ने लागेको थियो। र, एउटा रेकर्डको लागि खुसी हुनुपर्छ भनेर जोखिम लिएको हुँ।

मैले आफ्नो जिन्दगी खेलकुद क्षेत्रमै बिताएँ। अब मैले यसक्षेत्रको लागि के गर्न सक्छु त? क्लब खोल्न सक्दिनँ, फुटबल टिम पनि बनाउन सक्दिनँ। किनकि त्यसमा ठूलो लागत लाग्छ।

क्लब खोल्न नसकेपछि मैले स्पोर्ट्सलाई योगदान दिन सक्ने फिल्म बनाएर इतिहास राखौँ भन्ने लाग्यो। म पहिल्यैदेखि सोच्थेँ, खेल क्षेत्रलाई सघाउनुपर्छ, चलचित्र पनि बनाउनुपर्छ। खासमा मैले एकैपटक दुइटा काम गर्न खोजेको हो। किनभने स्पोर्ट्स मुभी बनाउँदा नेपाली खेल क्षेत्रको क्रेज अझै बन्छ। अनि चलचित्र क्षेत्रमा नेपालमा पहिलोपल्ट खेलाडीको बायोपिक बन्ने भयो। जसले मलाई आत्मसन्तुष्टि हुन्छ।

एन्जिलामाथि फिल्म बनाउनु पर्छ भन्ने कुनबेला लाग्यो?
म प्राय: सत्य घटनामा आधारित मुभी मन पराउँछु। हलिउडदेखि बलिउड र साउथका फिल्महरु बढी हेर्छु। फिल्म बनाउँछु भन्दा पनि रूचिका कारण हेर्थे।

फुटबलमा बनेको हलिउड गोल्ड युट्युबमा हेरेको थिएँ। जुन निकै मन परेको थियो। त्यस्तै, भारतका पनि जोन अब्राहमको फुटबलसम्बन्धी हेरेको थिएँ। मेरी कोम, एमएस धोनी, दंगल लगायतका फिल्महरु पनि हेरेँ। जसमध्ये पानसिंह तोमार सबैभन्दा मनपरेको बायोपिक हो।

विदेशका धेरै फिल्म हेरेपछि म जहिल्यै पनि हाम्रोमा त त्यो भन्दा खत्रा स्टोरीहरु छन् भन्ने सोच्थेँ। जब भारतमा लगातार बायोपिक बन्न थाल्यो, त्यसमा दंगल निकै चलेको थियो। यो भन्दा बिना सपोर्ट सफल भएकी एन्जिलाकै कथा दमदार छ भनेर क्लिक भयो।

कहिलेबाट यस फिल्मको तयारीमा लाग्नुभयो नि?  
पाँच वर्षपहिले मैले यस फिल्मको तयारी सुरु गरेको थिएँ। एन्जिलाको बायोपिक बनाउने भनेपछि सुरुमा निर्देशक मिलन चाम्ससँग कुराकानी गरेँ। किनकि उहाँले बायोपिक बबी बनाइसक्नुभएको थियो। जसमा रियल पात्र खेलाउनुभएको थियो। जसले मलाई हिन्ट गरेको थियो। हुन पनि स्पोर्ट्सको कथामा एक्टरले त्यो पोजिसन खेल्न सक्दैन। मुभी बनाउने र एन्जिलालाई नै खेलाउने भन्ने हिसाबले सुरु गरेका थियौँ। त्यसपछि फिल्मको कथा तयार पार्न लाग्यौँ।

रियल स्टोरीलाई फिल्ममा देखाउँदा धेरैकुरा सोच्नुपर्ने हुन्छ, केही बिग्रेला भन्ने डर चाहिँ कत्तिको लाग्यो?
बायोपिक बनाउने सोच आएपछि सुरूमा हामीले एन्जिलालाई सोधेका थियौँ। उनले आफ्नो तर्फबाट ओके भए पनि एकचोटि परिवारसँग कुरा गर्छु भनिन्। परिवारको सहमति लिनुपर्छ भनेपछि हामी इलाम गयौँ। स्टोरीमा रियल कुरा नै आउँछ भन्ने हिसाबले एन्जिलाको परिवारसँग कुरा गरेका थियौँ। उहाँहरु सबैजनाले सहमति जनाउनुभयो।

यसमा एन्जिलाको बुवाको नेगेटिभ रोल छ। तर, उहाँले सहजै मान्नुभयो। पहिले गर्न नसकेकोले उहाँले यसैबेला हो गर्ने भन्ने भावको कुरा गर्नुभयो। छोरीलाई राम्रो हुन्छ भने मलाई केही छैन भन्नुभयो। परिवारको सबैजनाको सहमतिमै फिल्म बनेको हो।

पहिलोचोटि फिल्मक्षेत्रमा आउँदा कस्ता चुनौती भोग्नुपर्दो रहेछ?
यो फिल्म बनाउँदा नेपालमा किन बायोपिक फिल्म बन्दैन भन्ने कुरा महसुस गरेँ। यस्तो फिल्म बनाउन धेरै कठिन हुँदो रहेछ। किनकि रियलस्टिक फिल्म बनाएपछि सत्य नै राख्नुपर्छ। एञ्जिला मात्रै नभई अरु खेलाडीको टिम नै ल्याउनुपर्छ। आर्मी र पुलिससँग स्वीकृति लिएर हामीले टिम नै ल्यायौँ। रंगशालामा १० दिनसम्म पूरै टिम ल्याएर सुटिङ गरेका थियौँ। साथै हामीले धेरै मान्छेसँग सहयोग लिनुपर्ने अवस्था आयो।

अझ सुटिङ गर्दा रियल मोमेन्ट र इमोसन देखाउनुपर्ने हुँदा धेरै गाह्रो भयो। गोल हान्दा पनि जुन किसिमको उत्साह हुनुपर्ने हो, त्यो नभइदिने। सबै ननएक्टर त्यसमाथि रियल गोल भए पो इमोसन आउँछ। जसले धेरैपटक टेक दिनुपरेको थियो। कुनैबेला त सकिँदैन कि भन्ने समेत लागेको थियो।

टिकटकदेखि सामाजिक सञ्जालमा अन्जिलाको चर्चा छ, के कारणले दर्शकहरुले मन पराइदिनुभयो जस्तो लाग्छ?
वास्तविक कथा भएर नै हो। रियल स्टोरीमा वास्तविक प्लेयर खेलाएर पनि दर्शकहरुले मन पराउनुभएको हो जस्तो लाग्छ। किनकि यो स्टोरी हेर्दा दर्शकहरुलाई एउटा रियल फिल हुन्छ। साथै सबै कलाकारहरुले पनि राम्रो अभिनय गर्नुभएको छ। यसले पनि दर्शकहरुले कथामा आफूलाई रिलेट गरे। अहिले फिल्म हेरेर रोएको भिडिओ समेत भाइरल भइरहेको छ। गीतले पनि चर्चा थप्ने काम गर्‍यो।

त्यस्तै, यो फिल्म प्रेरणादायी पनि छ, संघर्ष गर्न सिकाउँछ। अहिले बालबच्चाहरुले म पनि फुटबल खेल्छु भन्नुहुन्छ। हरेक अभिभावकले आफ्नो सन्तानलाई यो फिल्म देखाउनुपर्छ। किनकि कुनैपनि काम गरिसकेपछि कहिल्यै हार मान्नुहुन्न। मेहनतसहित निरन्तरता दिनुपर्छ अनि मात्रै सफल भइन्छ भन्ने यस फिल्मले सिकाउँछ।

फिल्म खेल्न एन्जिलालाई कसरी मनाउनु भयो?
एउटा कुरा, राम्रो कामको लागि ज्यान दिने मान्छे हो एन्जिला। मैले तिमीले खेल्नुपर्छ भन्दा उनले सहजै मानिन्। त्यो मान्नु नै उनको ट्यालेन्ट हो। मेरो लागि भनेको हो भनेर जुन जजमेन्ट गर्ने क्वालिटी छ, त्यसलाई मान्छु। त्यसैले पनि उनी यहाँसम्म आइपुगेकी हुन्।

२ महिनाजति बिहान मण्डला पुगेर एन्जिलाले अभिनय सिकेकी थिइन्। दयाहाङ राईदेखि सिर्जना सुब्बा लगायतका कलाकारहरूबाट सिक्ने मौका पाइन्। साथै १५ दिनको वर्कसप पनि भएको थियो। तर, उनले एकहप्ता पनि लगाइनन्। इलाम गइसकेपछि झनै राम्रो गरिन्। सबैको एक्टिङ हेर्न पाएपछि उनमा झन आत्मविश्वास थपियो। निर्देशक चाम्सले पनि फोन गरेर एन्जिलाले फाँडिन् नि भन्नुहुन्थ्यो।

धेरैजसो रहरले फिल्मक्षेत्रमा आएको देखिन्छ, तपाईं पनि रहरमै आउनुभएको कि निरन्तरता पनि दिनुहुन्छ?
कतिपय कुरा म व्यक्त गरेर हिँड्दिन। कहिलेकाहीँ यसैमा टिक्छु भन्दा पनि हुँदैन, कतिपय बेला यो अन्तिम मुभी हो अब बनाउँदिनँ भने पनि हुँदैन। यो फिल्म तयार नहुँदा पनि साथीहरुले अर्को फिल्म बनाउँदा सम्झिन्छु है, यसमा बनाउन कुरा गरिदिनु है भन्नुहुन्छ। जसकारण मैले बनाउँदिनँ भन्न नि पाउँदिनँ होला। मलाई अब खेलकुदकै स्किल छ। यसै विधामा केन्द्रित रहेर विभिन्न खेलका फिल्म बनाउँछु। कसको फिल्म बनाउँदा ठिक होला भनेर सोच्छु।

रिलिजअघि फिल्मबाट उठेको पैसाले एन्जिलाको घर बनाउँछु भनेर घोषणा गर्नुभएको थियो? के साँच्चै घर बनाउनुहुन्छ त?
धेरैजनाले मलाई चिन्नुभएको छैन, यो फिल्मले चिनाएको हो। तर, यसको श्रेय म एन्जिला र मिलन सरलाई नै दिन्छु। किनभने एन्जिलाले स्टोरी दिएर परिवारलाई कन्भिन्स गराएर मिलन सरलाई ओके भनेकै कारणले म यहाँ छु। नत्र प्रेम श्रेष्ठले यस्तो काम गर्छ भन्ने धेरैलाई थाहा छैन। एन्जिला र मेरो चिनजान धेरैअघिको हो। म बोलेको कुरा पूरा गर्छु। त्यो योजना नबनाइकन म बोल्दिनँ। चल्यो भने बनाउँछु। चलेन भने पनि यो तरिकाले बनाउँछु भन्ने योजना थियो।

अब यो फिल्म विदेशका १७ देशहरुमा रिलिज हुँदैछ, के हिट भएपछि माग बढेको हो?
पहिले यस्तो माग थिएन। पहिले मैले धेरैकुरा जानेको रहेनछु। यस फिल्मले मलाई लाइफमा धेरै कुरा सिकायो। किनभने मैले फिल्म बनाउँदा पार्टनर प्रोड्युसर खोजिनँ कि, ब्यानर खोजिनँ कि, विदेशमा साथी सपोर्ट खोजिनँ! तर सुरुवातमा साथ नहुँदो रहेछ। किनकि फिल्ममाथि विश्वास भएन नि। एक नम्बरमा बायोपिक फिल्म, प्लेयरले नै खेलेको र म पनि नयाँ निर्माता। जसकारण नप्रत्याउनु पनि स्वाभाविक नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad