पार्टी राजनीतिमा फर्कन एमालेभित्रबाट आएको सुझाव र सक्रियताका कारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चर्चा राष्ट्रिय राजनीतिमा चुलिएको छ।
पूर्वराष्ट्राध्यक्षका रूपमा दुई वर्षे ‘कुलिङ पिरियड’पछि उनी थप सक्रिय हुने योजनामा छिन्। तर, प्रस्ट योजना भने अझै बनाइसकेकी छैनन्। उनका आगामी योजनाबारे नेपालखबरले पूर्वराष्ट्रपति भण्डारीसँग बिहीबार (२८ चैत २०८१) गरेको वार्ता :
पछिल्लो समय निकटस्थहरूसँगको कुराकानीमा तपाईंको चिन्ता र सरोकार मुलुकको आर्थिक अवनति–उन्नतिप्रति केन्द्रित भएजस्तो देखिन्छ। मुलुकको आर्थिक उन्नतिका लागि के गर्नुपर्ला भन्ने लाग्छ?
आर्थिक विषय अहिले मात्र बुझेँ र उठाउन थालेको हुँ कि भन्ने तपाईंको जिज्ञासा रहेजस्तो लाग्यो। यस प्रसङ्गमा म तपाईंलाई त्यो बेलाको नेपालको स्थिति कस्तो थियो भन्ने कुराको स्मरण गराउन चाहन्छु।
म ८–१० वर्षको थिएँ। त्यो बेला हामी जुन जिल्ला (भोजपुर) को जुन भूभागमा बसेका थियौँ, त्यो साह्रै विकट थियो। नजिकबाट हेर्दा मैले समाजमा चारवटा समस्या देखेँ।
पछि सचेत भएपछि त्यो व्यवहार ‘भेदभाव’ थियो कि भन्नु बेग्लै कुरा हो। तर, सानो छँदा मैले आफ्नो घरभित्र त्यस्तो भेदभाव महसुस गरिनँ।
तर मैले समाजमा आर्थिक अभाव देखेँ, यसलाई म भेदभाव भन्दिनँ। वर्षभरि श्रम गरेर पनि खान नपाउने अवस्था त्यहाँ थियो। यो कुरा मैले नजिकबाट महसुस गरेँ, देखेँ।
शिक्षाको समस्या पनि देखेँ। त्यतिबेला हाम्रो जिल्लासहित देशभरि हाइस्कुलहरू धमाधम खुलिरहेका थिए। हाइस्कुलको प्रधानाध्यापक बन्न लायक पात्रले स्नातक पास गरेको हुनुपर्छ। हाम्रो गाउँ अलिक टाढै थियो। तर स्नातक गरेको शिक्षक नहुँदा हाम्रो बुबालाई घरबाट एकदिन टाढाको स्कुलमा प्रधानाध्यापक बनाउन लगिएको थियो। गाउँमा पढ्न नपाएर कोही धनकुटा गएको, कोही काठमाडौँ आएको पनि देखियो।
स्वास्थ्यको समस्या त्यस्तै थियो। गाउँमा अस्पताल हुनु परको कुरा, नर्स र अहेबले स्वास्थ्य सेवा दिने स्थिति पनि थिएन। मानिसहरू बिरामी हुँदा जडिबुटी घोटेर खुवाएको देखियो। उपचार नपाएर बालकदेखि ३०–४० वर्ष उमेरका मानिसहरूले समेत ज्यान गुमाउनु परेको पनि नजिकबाट देखियो।
बालककालदेखि नै यस्तो समस्या देखेकाले यो समस्याको समाधान कसरी गर्ने भन्नेमा सानैदेखि मेरो ध्यान गयो। काम गरेर सबैलाई खान–लाउन पुगोस्, सबैले पढ्न–लेख्न पाऊन्, बिरामी हुँदा उपचार सहज होस्, रोजगारीको अभाव नहोस्। यो कुराको चेतना ५५ वर्षअघि नै ममा आएको हो।
यी समस्या समाधान गर्ने सिलसिलामा कम्युनिस्ट पार्टीको नजिक पुगियो, पार्टीको सदस्य भइयो। पार्टीको विभिन्न जिम्मेवारी हुँदै देशको सर्वाेच्च जिम्मेवारीको पदमा पुग्ने अवसर पनि प्राप्त भयो।
भिडिओ :
आजसम्म आइपुग्दा तपाईंलाई के महसुस भयो– राजनीतिले मात्रै सबै समस्या समाधान गर्दाेरहेछ कि हामी अब झन् बढी आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने रहेछ?
नीतिगत समस्याको समाधान राजनीतिबाट हुन्छ। आर्थिक विकासका लागि राजनीतिक स्थिरता चाहिन्छ। स्थिर राजनीतिक प्रणालीमा गइसकेपछि आर्थिक उन्नतिका योजना र कार्यक्रम निर्माण गरिनुपर्छ। देश सुहाउँदो आर्थिक योजना अघि बढाउनुपर्छ।
देशमा धेरै समस्या छन्। यी समस्याको समाधान हाम्रो हातमा मात्र छैन। जस्तो कि, अहिले जलवायु परिवर्तनले सिर्जना गरेका समस्याको समाधान हामी एक्लैले गर्न सक्दैनौँ। तर पनि हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हामी आत्मनिर्भर हुनु जरुरी छ। आत्मनिर्भरताबाट नै हामी हाम्रो स्वाधीनता र स्वभिमानलाई उच्च र बलियो बनाउन सक्छौँ।
अहिले दिगो विकासको अवधारणा आएको छ। प्रकृतिले हामीलाई जे स्रोत–साधन दिएको छ, दिगो विकासका लागि हामीले आफूसँग भएका स्रोत–साधन प्रयोग गर्नुपर्छ। यिनको दिगो प्रयोग गरेर हाम्रो राष्ट्रिय जनजीवनलाई गौरवमय बनाउन सक्छौँ भन्ने मलाई विश्वास छ। यसका लागि राजनीतिक दलहरूबीच एजेन्डामा पनि छलफल हुनुपर्छ।
चौथो अंगका साथीहरूसँग कुरा गर्दा मैले यसअगाडि पनि भनेको थिएँ, ‘सत्ताका लागि मात्र सहमति गर्ने होइन, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विषयमा पनि छलफल र सहमति हुनुपर्यो। प्रतिस्पर्धा गर्ने भनेको आर्थिक समृद्धि गर्न मैले सक्छु कि अर्काेले सक्छ भन्ने विषयमा गर्ने हो।’
सायद अस्थिरताले ल्याएको समस्याका कारणले हो कि– हामीकहाँ समय–समयमा राजनीतिक सहमति त हुने गरेको छ। तर, देशको विकास र समृद्धिका लागि आर्थिक एजेन्डामा भने छलफल कम भएजस्तो लाग्छ। हाम्रो मौलिक आवश्यकतालाई चाहिने नीति निर्माण गर्नुपर्ने ठाउँमा ‘कपी–पेस्ट’ पो भइराखेको छ कि! यी कुरामा पनि अब छलफल हुनुपर्छ।
पानीको कमीका कारण कतिपय देशहरू पानी जोगाउने कोसिसमा छन्। तर हामीसँग पर्याप्त पानी छ। भौगोलिक रूपमा पनि हाम्रो मुलुक विविधतायुक्त छ। जडीबुटी र वनमा पनि हामी समृद्ध छौँ। हाम्रो संस्कृतिमा पनि विविधता छ। हामीकहाँ पर्यटनको प्रचुर सम्भावना छ।
समृद्धिका लागि आवश्यक पर्ने कुराहरू हामीसँग भएकाले जनताको जीवन समृद्ध होस् भन्ने कुरामा हामी मिलेर लाग्नुपर्छ। नलागेको भन्ने होइन, लागिरहेका पनि छौँ। तर अहिलेको युगअनुसार यो पर्याप्त छैन।
हो, हिजोभन्दा आज परिवर्तन भएको छ। बाटो नभएको ठाउँमा बाटो पुगेको छ। पानीको अभाव भएको ठाउँमा पानी पुर्याइएको छ। बत्ती नभएको ठाउँमा बत्ती पुगेको छ। सबै ठाउँमा हाइस्कुल पुगेका छन्। क्याम्पस र युनिभर्सिटीहरू पनि छन्।
तर यति हुँदाहुँदै पनि रोजगारीको अभाव देखिन्छ। अहिलेको आवश्यकता परिपूर्ति गर्न सकिने खालको आर्थिक अवस्था छैन। महँगी बढेको छ। उच्च प्रविधिको विकास भए पनि आर्थिक अभावका कारण त्यो प्रविधि खरिद र प्रयोग गर्न सकिने स्थिति बनिसकेको छैन। यसका लागि राष्ट्रिय अर्थतन्त्र सुदृढ हुनुपर्यो।
त्यसैले सबै नेतृत्वसँग म के कुरा राख्न चाहन्छु र राख्दै पनि आएको छु भने, राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन हामीसँग रहेका प्राकृतिक स्रोत–साधनलाई हाम्रो दिगो विकासका लागि उपयोग गर्नुपर्यो। यसका लागि सहमति बन्नुपर्यो।
सहमतिमार्फत् हामीले यी काम गर्न सक्यौँ भने, हाम्रो तीन करोड जनसंख्यालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोग गर्न सक्छौँ।

राजनीतिक पार्टीहरूका नेतृत्वसँग यो कुरा राख्दा उहाँहरू के भन्नुहुन्छ?
उहाँहरू ‘यी काम गर्नुपर्छ’ नै भन्नुहुन्छ। व्यक्तिगत कुराकानीमा सबैजना सहमत हुनुहुन्छ।
तर व्यवहारमा चाहिँ कार्यान्वयन हुनसकेको छैन। कृषि विकासका लागि मल, बिउ, सिँचाइ चाहिन्छ। कृषिमा आवश्यक पर्ने प्रविधिलाई आधुनिकीकरण र कृषि सीपलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता छ।
हामी प्राकृतिक, सांस्कृतिक लगायत हरेक हिसाबले सम्पन्न राष्ट्रका जनता हौँ। मेरो अन्तरमनदेखिको ध्यान र प्रार्थना के कुरामा छ भने यो सम्पन्नताको उपयोग वर्तमान र भावी पुस्ताले गर्न पाउनुपर्यो। त्यसअनुसार नीति–निर्माण र नीतिको कार्यान्वयन हुनुपर्यो।
यस कुरामा म पनि पार्टीहरूलाई सहयोग गर्न तयार छु।
पार्टीहरूलाई सहयोग गर्ने कि यसका लागि अब आफैले पनि नेतृत्व लिनेगरी अघि बढ्नुहुन्छ?
यसमा समय र सन्दर्भमा भर पर्छ।
‘समय’ र ‘सन्दर्भ’ को अलिक प्रस्ट व्याख्या गरिदिनुस् न!
जस्तो : कुनैबेला म रक्षामन्त्री थिएँ। रक्षामन्त्रीको जिम्मेवारीमा हुँदा रक्षा मन्त्रालयकोे कार्यक्षेत्र के हो र मन्त्रीका हैसियतमा मैले राष्ट्रको सर्वाेपरि हितका लागि के गर्नुपर्ने हो, त्यो गर्नुपर्छ।
म जनसंख्या तथा वातावरण मन्त्री पनि भएँ। त्यो बेला जनसंख्या तथा वातावरण मन्त्रालयको कार्यक्षेत्र अनुसार के गर्ने हो, त्यो गर्नुपर्यो।
राष्ट्रपति हुँदा राष्ट्रपतिले जे गर्ने हो, त्यही काम गर्नुपर्यो।
अहिले म नागरिक छु, नागरिक जीवन निर्वाह गरिरहेको छु। अब म यति स्वतन्त्र छु कि सबैलाई सल्लाह दिनसक्ने भएँ।
तपाईंले विगतमा जे–जे जिम्मेवारी सम्हाल्नुभयो, ती सबै जिम्मेवारीका सीमा थिए। तीभन्दा अझ फराकिलो जिम्मेवारी भएको कार्यकारी पद पनि छ, त्यो प्रधानमन्त्री पद हो। तपाईंको उमेर छ, काम गर्न पनि सक्नुहुन्छ, तपाईंको पूर्वपार्टी एमाले भित्रैबाट पनि तपाईं सक्रिय राजनीतिमा आइदिनुपर्यो भन्ने माग छ। त्यसैले, अब सक्रिय राजनीतिमा आउने योजना के छ?
तपाईंले नेकपा (एमाले) को नेतृत्वको विषयमा जिज्ञासा राख्नुभएको हो जस्तो मलाई लाग्यो। एमाले मेरो पनि मातृपार्टी हो। एमालेको भावी नेतृत्वका बारेमा छलफल भएको मैले पनि सुनिरहेको छु। तर पार्टीको नेतृत्व चयन गर्ने मुख्य निकाय महाधिवेशन हो। महाधिवेशनले अहिलेको नेतृत्वलाई नै निरन्तरता दिनसक्छ, नयाँ नेतृत्व चयन गर्न पनि सक्छ।
अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्ष हुनुहुन्छ। उहाँले के सोचिरहनु भएको छ, त्यसबारेमा मैले कुरा गरेको छैन। तर, उहाँको उमेर र कतिपय स्वास्थ्य अवस्थाका कारण उहाँलाई माया, सम्मान गर्ने नेता–कार्यकर्ताहरू अबको नेतृत्व के हुने भन्ने कुराले चिन्तित छन्।
यस हिसाबले एमालेपंक्ति भावी नेतृत्वको विषयमा गम्भीर छ भन्ने मलाई लाग्छ।
यस सन्दर्भमा एमालेको नेतृत्वको सम्बन्धमा मेरो नाम पनि विभिन्न ढंगले आइरहेको छ। पार्टीमा गएर काम गर्ने कि नगर्ने भन्ने विषयमा व्यक्तिगत तहमा मेरो कुराकानी चाहिँ भएको छैन।
तर, प्रधानमन्त्री ओली आफैले एमालेको एक जनसंगठनको कार्यक्रममा कार्यकर्ताहरूले यस विषयमा चिन्ता लिन जरुरी छैन, मैले नै उहाँ (भण्डारी) सँग यस विषयमा कुराकानी गरेको छु भन्नुभएको छ नि!
उहाँले ‘मास’ को जिज्ञासाको क्रममा यस्तो भन्नुभयो होला। तर, कुराकानी चाहिँ भएको छैन। महाधिवेशन कहिले हुन्छ, त्यसबारे हामीलाई पनि जिज्ञासा हुन्छ। अरुलाई पनि जिज्ञासा हुने भयो।
समयमै महाधिवेशन हुनु राम्रो हुन्छ। २०८४ मा त चुनाव आउँदैछ। चुनावअघि नै पार्टीहरूको महाधिवेशन गर्नु राम्रो हुन्छ भन्ने कुरामा हामीले सुझाव दिन सक्छौँ। दिइएको पनि छ।
तर, भावी नेतृत्वकै विषयमा भने कुराकानी भएको छैन।
तपाईं पार्टी राजनीतिमा फर्कने–नफर्कने भन्ने कुराले एमालेभित्र सिर्जना भइरहेको तरङ्ग र ध्रुवीकरण तपाईंलाई कस्तो लागिरहेको छ?
महाधिवेशनबाट नै नेतृत्व छनोट हुने भएकाले नेता–कार्यकर्ताहरूले नेतृत्वका बारेमा सोच्नु सकारात्मक कुरा हो। तर, ध्रुवीकरण हुनुपर्ने कुनै कारण छ जस्तो लाग्दैन। किनकि मेरो विषयमा आम रूपमा छलफल त भएको छ। तर औपचारिक रूपमा कुनै निर्णय भएको छैन।
अर्थात् अहिलेसम्म यो विषय कार्यकर्ताको मागको तहमा मात्र सीमित छ। सबैभन्दा माथि देश हुन्छ। देशका लागि सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्छ। आवश्यक पर्यो भने देशका लागि जीवनको बलिदान त दिनुपर्ने हुन्छ भने नागरिकको हैसियतमा श्रमदान दिन नसक्ने भन्ने कुरा आउँदैन।
पार्टीहरूले नै जनताको प्रतिनिधित्व गरेर राज्यसत्ता चलाएको अवस्था छ। यस हिसाबले पार्टीहरू मजबुत (निर्णायक) अवस्थामा छन्। देशको सार्वभौमिकता, देशको सर्वाेपरि हितमा कसले बढी चिन्तन गर्न सक्छ, देशको पक्षमा कसले लड्न सक्छ भन्ने कुरा सार्वजनिक छलफलको विषय हो। यस सन्दर्भमा मेरो नाम उठ्नुलाई म अस्वाभाविक पनि मान्दिनँ।
तर, मेरो नाम उठेको ध्रुवीकरणको लागि हो भन्ने पनि म मान्दिनँ। मेरो पनि लामो ‘लिगेसी’ छ। म युवा उमेरमै यो पार्टीमा संलग्न भएर यो ठाउँसम्म आएँ।
पारिवारिक हिसाबले पनि मदन भण्डारीज्यूसँग मेरो विवाह भयो। नेकपा (एमाले) ले अहिलेसम्म जनताको बहुदलीय जनवाद (जबज) लाई क्रान्तिको कार्यक्रम मात्र होइन, मार्गदर्शक सिद्धान्त समेत मानेर हिँडेको छ।
यस हिसाबले मेरो सम्बन्ध पार्टी पंक्तिमा मात्र होइन, सिंगो देशसँग छ। न्यायपूर्ण नेपाली जनताहरूले मदन भण्डारीलाई सम्झन्छन्, माया गर्छन्। यो ‘लिगेसी’ का अलावा म प्रत्यक्ष राजनीतिमा भएको कुरा उहाँहरूले ३०–३१ वर्षदेखि देखिरहनुभएको छ। यस हिसाबले उहाँहरूको मप्रति चासो र आकर्षण हुनुलाई गौरवको रूपमा लिएको छु। उहाँहरूको माया र सम्मान मप्रति रहेछ। उहाँहरूको माया र सम्मानअनुसार निर्वाह गर्नुपर्ने दायित्वप्रति म पनि ‘रेडी’ छु।
त्यसैले, यस प्रसङ्गमा ध्रुवीकरण भन्ने शब्दावली त्यति उपयुक्त होला जस्तो लाग्दैन।
तपाईंलाई सक्रिय राजनीति र पार्टी नेतृत्वमा ल्याउन चाहने नेता–कार्यकर्ताको राजनीतिक जीवनमा खतरा आउने सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ?
पार्टीको भावी नेतृत्वको बारेमा छलफल गर्दा कसरी कोबाट खतरा हुन्छ र? नेकपा (एमाले) मा जनताको बहुदलीय जनवाद (जबज) विरोधीहरू छन् र? बाहिरबाट खतरा हुनसक्छ, प्रतिस्पर्धीको खतरा? अथवा नेपालमा कम्युनिस्ट पार्टी, त्यसमा पनि मदन भण्डारीले जुन दर्शन–सिद्धान्त अंगीकार गरेर लिएर आउनुभयो, त्यही दर्शन–सिद्धान्त अनुसार कम्युनिस्ट पार्टी यसरी अघि बढिराखेको छ, त्यस हिसाबले कसैले चुनौतीको रूपमा हेरिरहेको छ भने त्यो बेग्लै पक्ष हो।
तर मलाई सम्मान गर्ने, मसँग सम्पर्क गर्ने, मलाई नेतृत्वमा आउनुपर्छ भनेर इच्छा व्यक्त गर्नेहरूलाई त उहाँहरूले अझ बढी कामको जिम्मेवारी दिनुपर्छ नि त!
पछिल्लो समय तपाईं विभिन्न प्रदेश–जिल्ला घुमिरहनु भएको छ। अब पनि जिल्ला भ्रमणका कार्यक्रम छन् कि!
जिल्ला जानका लागि भ्रमणको माग भइरहेको हुन्छ। साथीहरूले मदन भण्डारी फाउन्डेसन सम्बन्धी कार्यक्रम गर्न चाहनुहुन्छ। मसँग समय पनि भएकाले साथीहरूको चाहना म आइदिए हुन्थ्यो भन्ने हुन्छ। मेरा कतिपय समकालीन र सिनियर साथीहरूले मलाई ८–१० वर्ष भेट्न पाउनु भएन। उहाँहरूलाई भेट्ने इच्छा भएकाले र त्यस्ता कार्यक्रमका लागि निम्तो आउँदा म जाने गर्छु।
महिला समानताको कुरा पनि हाम्रो देशमा जोडतोडले उठेको छ। त्यो आन्दोलनमा म पनि जोडिएको छु। संसदमा हुँदा महिला समानताको विषयलाई अघि बढाउने कोसिस गरेका थियौँ, त्यसको परिणाम राम्रै आएको छ। महिला समानताको पक्षमा पूर्व–पश्चिम सबैतिर उभार आएको छ।
त्यसबाहेक जलवायु परिवर्तन सम्बन्धी कतिपय कार्यक्रमहरू हुन्छन्। खेलकुदसँग सम्बन्धित कार्यक्रम पनि हुन्छन्, कतिपय कार्यक्रम संस्कृतिसँग सम्बन्धित हुन्छ्न्। म पूर्वराष्ट्रपति पनि भएकाले आइदिए हुन्थ्यो भन्नेहरू हुनुहुन्छ।
त्यसैले, सम्भव भएका ठाउँहरू र समय मिलेसम्म म देश भ्रमण गर्छु। समय मिलाएर मलाई जान र साथीहरूसँग भेट गर्न मन छ।
राम्रो काममा सबैजना लागिरहनुहोस्– यो कुरा मैले नेकपा एमालेको सन्दर्भमा मात्र भनिरहेको छैन, समग्र नेपालमा काम गर्ने नेपालको हित चिताएर काम गर्ने सबैलाई बल पुगोस् भन्ने मेरो सोचाइ हुन्छ।
पार्टी उपाध्यक्ष हुनेबेलासम्म एकदम सक्रिय राजनीतिक जीवनमा हुनुहुन्थ्यो, राष्ट्राध्यक्ष बनेपछि त्यति सक्रिय हुन पाउनुभएन। अहिले त्यो जिम्मेवारीबाट पनि अवकाश प्राप्त गर्नुभएको छ। यो फुर्सदिलो समय बिताउन सहज–कठिन के भएको छ?
त्यस्तो कठिन केही भएको छैन। अरुहरूको अनुभव के छ, मलाई थाहा भएन। तर, अहिलेको समयको अनुभव चाहिँ मलाई एकदमै रमाइलो भएको छ।

कुन हिसाबले रमाइलो?
आफ्नै रुटिन बनाएर हिँड्न पाइयो नि त, होइन? अर्काको क्यालेन्डरमा चल्नु परेन। जिम्मेवारीको भार पनि कम भएको छ।
आफूले जेजति काम गरियो, त्यसले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा राष्ट्रलाई राम्रै काम गरेको होला भन्ने लाग्छ। यस हिसाबले पनि सहज अनुभव भएको छ, स्वतन्त्रताको महसुस त छँदैछ।
पदीय जिम्मेवारीमा गएपछि ‘भारी बोकेर उकालो’ भनेजस्तो त भइहाल्छ। स्वतन्त्र हुनु र जिम्मेवारीले थिचिनुमा फरक हुन्छ।
‘पार्टीको नेतृत्वमा विद्या भण्डारी आउनुपर्छ’ भन्ने चर्चा अहिले भइरहेको छ। तपाईंलेपनि प्रश्न त्यहाँबाट नै सुरु गर्नुभयो भन्दा फरक नपर्ला। यसबारेमा तपाईंहरूमा पनि भित्रैदेखि यस विषयमा जिज्ञासा छ जस्तो लाग्छ। तपाईंहरूलाई म सक्रिय राजनीतिमा आइदिए हुन्थ्यो भन्ने छ कि नआइदिए हुन्थ्यो भन्ने छ, त्यो तपाईंहरूकै कुरा हो। तर, यसबारेमा तपाईंहरूमा गहिरो जिज्ञासा छ, जानकारी लिने गहिरो अभिरुचि छ। यो कुराले गर्दा मलाई पनि प्रभाव त पर्ने नै भयो नि!
पूर्वराष्ट्रपति–उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्कने–नफर्कने भन्नेबारेमा बहस चलिरहेको छ। यस विषयमा भएका बहसबारे के भन्नुहुन्छ?
‘आउन हुँदैन’ भन्ने कुरा मैले सुनेको छैन। त्यसैले यो कुरै नगरौँ। ‘आउनुपर्छ’ भन्ने जुन कुरा छ, त्यसले एकप्रकारको प्रभाव चाहिँ परेको छ।
सकेसम्म त त्यहाँ भएको नेतृत्वले नै एकताबद्ध ढंगले लैजाँदा राम्रो हुन्छ, त्यसलाई हामीले सपोर्ट पनि गर्नुपर्छ। तर, कहिलेकाहीँ समय र सन्दर्भको कुरा हुन्छ। त्यसक्रममा आवश्यकता भयो, माग भयो भने जिम्मेवारी लिने कुरा हुन्छ।
त्यसैले यो कुरा सोचनीय छ। मैले एक कार्यकाल (उपाध्यक्ष) जिम्मेवारी निर्वाह गरेँ। त्यहाँबाट अर्काे जिम्मेवारी (राष्ट्रपति) मा गएँ। त्यसैले, त्यहीँ (एमालेको विद्यमान नेतृत्व) बाट भए राम्रो हुन्थ्यो। भएन भनेर कार्यकर्ताहरूले भनिरहे भने मैले पनि सोच्नुपर्ने परिस्थिति आउँछ।
तपाईंकै राष्ट्रपतित्वकालका उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी केन्द्रमा उपाध्यक्षको जिम्मेवारी पाइसक्नुभयो। त्यसपछि उहाँसँग कुराकानी भएको छ?
मलाई राष्ट्रपतिबाट बिदा गरेपछि फेरि उहाँसँग भेट भएको छैन।
७ वर्ष राष्ट्रपतिका रूपमा निर्वाह गरेको अनुभवको आधारमा राष्ट्रपतिका लागि अहिले संविधानले व्यवस्थित गरेकै भूमिका पर्याप्त छ भन्ने लाग्छ कि यो पदको गरिमा अझ बढाउन भूमिका बढाउनुपर्छ भन्ने लाग्छ?
देशको राष्ट्रपति भनेको गरिमामय पद र जिम्मेवारी हो। त्यसले समग्र राष्ट्रको भावनालाई आत्मसात गरेर आफ्नो काम अघि बढाउनुपर्छ। कार्यशैली पनि सोही अनुरूप अघि बढाउनुपर्छ।
जहाँसम्म राष्ट्रपति पदको जिम्मेवारी र सीमाको सन्दर्भ हो, यसलाई संविधानले असीमित अधिकार र जिम्मेवारी दिएको छ भन्न सकिन्छ। तर, व्यावहारिक रूपमा हेर्दा ‘खोपाको देउता’को रूपमा पनि यो जिम्मेवारीलाई लिन सकिन्छ।
आफै त्यो जिम्मेवारीमा बसेर आएको हुनाले मैले धेरै कुरा भन्न मिल्छजस्तो लाग्दैन। तर, नेपालको राष्ट्रपतिलाई कति जिम्मेवारी दिँदा ठीक हुन्छ भन्ने कुरा छलफलको विषय हो।
हाम्रोमा गणतन्त्रात्मक पद्धति सुरु भएको भर्खर दुई दशक हुँदैछ। संविधानले राष्ट्रपतिलाई सम्मानित भूमिका दिएको छ, राष्ट्रिय एकताको प्रतीकको रूपमा मानेको छ। यो राम्रै कुरा हो। संविधानको रक्षक पनि भनेको छ। तर, यो पदलाई विस्तृत रूपमा परिभाषित भने गरिएको छैन।
रामचन्द्र पौडेलपछि फेरि तपाईंलाई राष्ट्रपति बन्ने अवसर प्राप्त भयो भने स्वीकार गर्नुहुन्छ? अथवा राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारीमध्ये तपाईंको छनोट के हुन्छ?
त्यतिबेलाको आवश्यकता अनुसार निर्धारण हुन्छ।
तर, यो फेरि परिभाषाकै कुरा आउँछ। हाम्रो संविधानमा दुईपटक निर्वाचित भइसकेपछि तेस्रो पटक राष्ट्रपतिको निर्वाचन नलड्ने भन्ने प्रावधान छ। कतिपय अन्य संवैधानिक पदका सन्दर्भमा पनि यस्तो व्यवस्था छ।
मेरो जाने इच्छा त होइन। कस्तो व्यवस्था गर्दा ठीक हुन्छ भन्ने लाइनमा छलफल भयो भने म सुझाव दिनसक्छु। तर अहिले अनुमानित हिसाबले ‘तिमी के रोज्छौ?’ भनेर सोध्दैमा छलफल अगाडि बढाइहाल्नुपर्छ जस्तो लाग्दैन।
मैले केही गर्दा यो देश माथि उठ्न सक्छ भने मैले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। तर, तपाईंले भनेका कुराहरूमा ‘फोकस’ हुँदा अलिक पदीय लोभ देखाएजस्तो हुन्छ।
दलीय व्यवस्था भएकाले राजनीतिक दलकै माध्यमबाट गर्न सकिन्छ। त्यसमाथि कार्यकारी पद (प्रधानमन्त्री) मा बसेपछि चाहेको काम गर्न सकिएला नि त!
हाम्रो देशमा जहिले पनि राजनीतिलाई डोलायमान (अस्थिर) पार्ने प्रयास भइरहेको हुन्छ। यो प्रवृत्ति अन्त्य गर्ने, राजनीतिक स्थिरतामार्फत् देशलाई अगाडि बढाउने सन्दर्भमा हामीले प्राप्त गरेको अनुभवका आधारमा काम गर्नुपर्छ भन्ने भयो भने त्यसका लागि जोसुकै नागरिक तयार हुनुपर्छ।
जनतामा व्याप्त निराशालाई माध्यम बनाएर राजावादीहरू सक्रिय भएका छन्। यो बेला आफ्नो राजनीतिक सक्रियता आवश्यक छ भन्ने लाग्दैन?
प्रतिगमनको खतरा छ जस्तो मलाई लाग्दैन। हाम्रोमा वाक् स्वतन्त्रता बढी नै छ। वाक् स्वतन्त्रता भएकाले विभिन्न स्वार्थ समूहहरू सक्रिय भएका होलान्। कतै न कतै आस्था राख्ने मानिसहरू पनि यहाँ छँदैछन्। यस्तोमा केही फरक कुराहरू आउन सक्छन्।
जहाँसम्म राप्रपाले उठाएको राजतन्त्र पुनर्स्थापनाको कुरा हो, मेरो विचारमा आफ्नो भोट बढाउन उहाँहरूले यस्तो प्रयास गर्नुभएको होला।
निर्मल निवासले मौका छोपेर ‘हात लम्काएको, आँखा चम्काएको’ जस्तो लाग्दैन?
२०६४ पछि त्यो ‘च्याप्टर’ नै ‘क्लोज’ भइसक्यो। तर, स्वतन्त्रताको हक भएकाले विभिन्न दलले आफ्नो आस्था बमोजिमको कुरा गरेर आफ्नो भोट बढाउने काम गर्न सक्छन्।

तपाईंको कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको समेत नेपाल भ्रमण हुनसक्यो। यो तपाईंको पहलको परिणाम थियो कि परिस्थितिको उपज मात्र हो?
सबै सन्दर्भ जोडिएकाले सम्भव भयो जस्तो लाग्छ। हामीले पनि बारम्बार नेपाल भ्रमणमा आउन उहाँलाई अनुरोध गरेका थियौँ। उहाँको पनि इच्छा भएर भ्रमण सफल भएको हो।
चीनबाट त अलिक कमै भ्रमण हुन्छन् नि! हामीले निम्ता गरेर मात्र हुँदैन। उहाँहरूको पनि इच्छा भयो भने भ्रमण हुन्छ। राष्ट्रपति सीले पनि इच्छा गर्नुभयो। अर्थात् हाम्रो निम्तोलाई स्वीकार गरेर उहाँ आउनुभयो। यो सुखद संयोग हो।
भारतबाट पनि राष्ट्रपति (स्व.) प्रणव मुखर्जीज्यू नेपाल भ्रमणमा आउनुभयो। त्यो पनि सुखद संयोग हो। मैले पनि भारत भ्रमण गरेँ।
त्यो बेला हामी घरायसी (आन्तरिक) मामिलामा नै अल्झिरहेका थियौँ। तर, जतिबेला राष्ट्रपतिज्यूहरूको भ्रमण भयो, त्यो बेला राजनीतिक स्थिरताको स्थिति थियो।
तर बीचमा ‘परमादेश’ ले गर्दा फेरि चाँडो–चाँडो सरकारहरू परिवर्तन हुने क्रम सुरु भयो। अब भने ठूला पार्टीहरू देशलाई स्थिरता दिने भनेर लाग्नुभएको छ। सम्भवतः अब राम्रैसँग भ्रमणहरूको आदान–प्रदान हुन्छ।
तपाईंको चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्षसँग तपाईंको जुन व्यक्तिगत सम्बन्ध स्थापित भयो, त्यसलाई अहिले निरन्तरता दिनुभएको छ कि छैन?
हिजो पदमा रहँदा चीनका राष्ट्रपति लगायत सबैसँग मैले हिजोका दिनमा सम्बन्ध स्थापित गरेँ। आजका दिनमा पनि उहाँहरू सबैप्रति मेरो त्यत्तिकै सम्मान छ। त्यो बेला स्थापित सम्बन्धलाई निरन्तरता दिन आफ्नो ठाउँबाट कोसिस गरिरहेको छु।
गत साल तपाईं असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्त प्रतिपादन भएको ७० औँ वार्षिकोत्सव समारोहमा भाग लिन बेइजिङ जाने तय भएको थियो। तर, अन्तिम समयमा किन भ्रमण रद्द गर्नुभयो?
छोटो समय भयो, तयारी नै पुगेन। तर, अनुकूल समयमा भ्रमण गर्ने विचारमा छु। दुवै छिमेकी मुलुकमा मेरो सद्भावना भ्रमण हुन्छ। यसका लागि कोसिस गरिरहेको छु।
राष्ट्रपतिको पदबाट हटेपछिको दुई वर्ष ‘कुलिङ पिरियड’ जस्तो पनि थियो। अब भने भ्रमण गर्ने योजनामा छु।
पहिलो भ्रमण कता होला– चीन कि भारत?
हेरौँ।
यो मुलुकमा पहिलो, त्यो मुलुकमा दोस्रो भ्रमण गर्ने भन्ने हिसाबले जानुहुँदैन। जुन मुलुकमा जान पहिले अनुकूलता र आवश्यक हुन्छ, त्यही मुलुकमा जानुपर्छ।
म चीनको भ्रमण पनि गर्छु, भारतको भ्रमण पनि गर्छु। यी भ्रमणहरू मेरो व्यक्तिगत–निजी भ्रमण पनि हुनसक्छन्। कुनै सामाजिक–सांस्कृतिक क्षेत्रको कार्यक्रम लिएर पनि भ्रमण हुनसक्छ।
अन्तमा नेपालखबरमार्फत् केही भन्न चाहनुहुन्छ?
नेपालखबर डटकममार्फत् सम्पूर्ण आदरणीय सम्पूर्ण देशवासी दाजुभाइ, दिदीबहिनीहरूलाई नयाँवर्ष २०८२ को शुभकामना दिन चाहन्छु।
देशमा शान्ति होस्, राजनीतिक स्थिरता होस्। हाम्रो देश आर्थिक रूपले आत्मनिर्भर रहोस्। परिआउने प्राकृतिक समस्या, रोगव्याधि लगायतका समस्याहरूसँग जुध्नसक्ने क्षमता हामीमा थप विकसित होस्। हाम्रो राष्ट्रियता, स्वाभिमान, स्वाधीनता पहिलो प्राथमिकतामा भइरहोस्।
भिडिओ :
तस्बिर/भिडिओ : सरोज नेपाल र सौगात दाहाल
Shares

प्रतिक्रिया