इजरायल र इरानबीच अघिल्लो साता झण्डै १२ दिन लामो युद्ध भयो। १३ जुन (३० जेठ) मा इजरायलले इरानमाथि आक्रमण गरेसँगै मध्यपूर्वका यी दुई शक्तिराष्ट्रबीच पहिलोपटक प्रत्यक्ष युद्ध सुरु भएको थियो। इरानविरुद्धको आक्रमणमा महाशक्ति राष्ट्र अमेरिकासमेत २१ जुन (७ असार) मा संलग्न भयो।
अमेरिकाले इरानको फोर्दो र नतान्ज आणविक केन्द्रमा सर्वाधिक शक्तिशाली गैरआणविक बम जीबीयू–५७ खसाल्यो भने इस्फहानमा तोमाहक बमवर्षा गरेको थियो। आफूसँग रहेको प्रशोधित युरेनियमलाई यी तीन परमाणु केन्द्रहरूमा थप प्रशोधनमार्फत् आणविक बम बनाउन लागेको आरोपका साथ इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए।
त्यसयता युरेनियम, यसको प्रशोधन, आणविक बम लगायतका विषय विश्व राजनीतिको एउटा मुख्य मुद्दा बनेको छ।
आफूमाथि भएको अमेरिकी आक्रमणको जवाफमा इरानले पनि कतारस्थित अमेरिकी हवाइ–सैन्य अखडामा २३ जुन (९ असार) मा आक्रमण गरेपछि इजरायल–इरानबीच युद्धविराम भएको छ। युद्धविराम भए पनि इरानले आणविक बम बनाउन सक्ने आशंकाका साथ अमेरिका–इजरायलले सो मुलुकमाथि दबाब बढाएका छन्।
युरेनियम प्रशोधन कार्यक्रम जारी राखे इरानमाथि थप आक्रमण गरिने धम्की अमेरिका–इजरायलले दिएका छन्। त्यही कारण युरेनियम भविष्यमा पनि विश्व–राजनीतिको प्रमुख मुद्दा र युद्ध–शान्तिको कारक बन्ने निश्चित छ।
युद्ध वा शान्तिको कारक भएकाले युरेनियम विश्व–राजनीतिमा चर्चाको विषय बन्नु स्वाभाविक होे। मध्यपूर्वको युद्ध र त्यसको कारक बनेको युरेनियम हामी नेपालीहरूका लागि पनि चासोको विषय हो।
यसर्थ कि, एकातिर मध्यपूर्व नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्यस्थल हो। अर्काेतिर नेपाल आफै पनि युरेनियम जस्तो संवेदनशील खनिज भएको मुलुक हो।
त्यसैले, हामीले यसपटक आणविक विषयका अनुसन्धानकर्ताद्वय बालविक्रम खत्री र देवेन्द्रराज उपाध्यायसँग युरेनियम र यसको प्रशोधन, आणविक बम निर्माण, नेपालमा रहेको युरेनियम र अमेरिकी आक्रमणबाट इरानको प्रशोधित युरेनियममा क्षति पुगे–नपुगेको लगायतका विषयमा विस्तृत कुराकानी गरेका छौँ।

खत्री र उपाध्याय दुवैजना त्रिभुवन विश्वविद्यालय अन्तर्गत अमृत क्याम्पस (ठमेल) मा न्युक्लियर फिजिक्सका उपप्राध्यापक हुन्। दुवैले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आयोजना गरेका सेमिनार र कार्यशालाहरूमा सहभागिता जनाएका छन्।
नेपालमा विभिन्न स्थानमा खनिजको रूपमा रहेको युरेनियमको अध्ययन–अनुसन्धानमा पनि उनीहरू संलग्न छन्। र, त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागबाट परमाणु सम्बन्धी विषयमा विद्यावारिधि समेत गरिरहेका छन्।
प्रस्तुत छ– उपप्राध्यापक खत्री र उपाध्यायसँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः

खासमा युरेनियम के हो, किन यो यतिबेला इजरायल–इरान–अमेरिका युद्धको कारक बन्यो?
देवेन्द्रराज उपाध्याय : जतिबेला ब्रम्हाण्डको उत्पत्ति भयो, पृथ्वी बन्यो, युरेनियम त्यतिबेला नै बनेको धेरैमध्येको एउटा खनिज पदार्थ हो। शुद्ध रूपले युरेनियम नै भेट्न त कहीँ पनि सकिँदैन। किनकि त्यसमा अरु ‘कम्पोजिसन’ समेत मिसिएर रहेका हुन्छन्। यसलाई शुद्ध बनाउन प्रशोधन नै गर्नुपर्ने हुन्छ।
जहाँसम्म युरेनियम किन यति धेरै महत्त्वको विषय बन्यो, मुलुकहरू नै किन युरेनियम उत्पादन गरिछाड्न लागेका होलान् भन्ने विषय हो, यसो हुनुको कारण यसको सानो परिमाणबाट पनि ठूलो ऊर्जा उत्पादन गर्नसक्ने क्षमता हो।
युरेनियम कति शक्तिशाली पदार्थ हो भन्ने कुरा यसको ऊर्जाशक्ति कोइलासँग तुलना गर्दा जानकारी पाउन सकिन्छ। जस्तोः एक किलोग्राम युरेनियमले जति ऊर्जा उत्पादन गर्छ, कोइलाबाट त्यति नै ऊर्जा उत्पादन गर्नुपर्यो भने १५ लाख किलोग्राम कोइला आवश्यक पर्छ।
मान्छे आखिर शक्तिको पुजारी हो। राज्यहरू पनि शक्तिकै आधारमा टिकेका हुन्छन्। युरेनियममा पनि त्यस्तै शक्ति देखियो। आइन्स्टाइनको सिद्धान्तले ‘पिण्ड ऊर्जामा परिणत हुन्छ’ भन्छ, त्यो शक्ति अन्य तत्व (पदार्थ) भन्दा ‘युरेनियम–२३८’ मा बढी देखिएको छ। यसबाट अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको आणविक (न्युक्लियर) बम समेत बनाउन सकिने भयो।
त्यहीकारण यसको रणनीतिक महत्त्व पनि रहन गयो। रणनीतिक महत्त्व भएकाले बहुमूल्य धातुमा दर्ज भयो र मानिसहरूको ध्यान केन्द्रित गर्न सक्षम भयो।

इजरायल र अमेरिकाले इरानलाई युरोनियम प्रशोधन गर्न किन नदिएका होलान्? आणविक अनुसन्धानकर्ताका हैसियतमा तपाईंहरूको मूल्याङ्कन के छ?
बालविक्रम खत्री :प्रशोधित युरेनियमलाई रचनात्मक र विध्वंसक दुवै हिसाबले प्रयोग गर्न सकिन्छ। बिजुली समेत प्रशोधित युरेनियमबाट निकाल्न सकिन्छ। यो युरेनियमको सकारात्मक प्रयोग भयो।
नकारात्मक हिसाबले हुने प्रयोग चाहिँ यसलाई बमको रूपमा प्रयोग गर्नु हो। विरोधी देशविरुद्ध प्रहार गर्ने उद्देश्यले पनि युरेनियमलाई बम बनाउन प्रयोग गर्नसक्ने खतरा रहन्छ।
कसैले शान्तिपूर्ण उद्देश्यका लागि, विद्युत् उत्पादनका लागि युरेनियम सम्बर्धन गर्छौं भन्छन् भने त्यो सकारात्मक उद्देश्य हो। त्यसमा बाधा सिर्जना गर्नु जरुरी छैन। विश्वका धेरैजसो राष्ट्रमा ऊर्जासंकट छ र उनीहरूले ऊर्जा संकट समाधानका लागि यसको प्रयोग गरेका छन्।
इरानले पनि आफ्नो आणविक कार्यक्रम अर्थात् युरेनियम प्रशोधन ऊर्जा संकट समाधान अर्थात् रचनात्मक उद्देश्यका साथ गरेको दाबी गर्दै आएको छ। तर, उसको आणविक कार्यक्रम पूर्णरूपले ऊर्जा संकट समाधानका लागि हो भन्ने विश्वास बाहिरी विश्वलाई छैन।
त्यहीकारण इरानको आणविक कार्यक्रमप्रति पश्चिमा राष्ट्रले चासो देखाएका हुन्। इरानले पनि बेला–बेला अन्य मुलुकलाई तर्साउने गरी अभिव्यक्ति दिएको देखिन्छ। इजरायल–इरानबीचको पछिल्लो युद्धको कारण पनि यही अविश्वास हो।
अन्तर्राष्ट्रिय मिडियाहरूमा आएको खबर अनुसार इरानले आफूसँग रहेको युरेनियमलाई ६० प्रतिशत सम्बर्धन (इनरिचमेन्ट) गरिसकेको छ र बम निर्माणका लागि ९० प्रतिशत सम्बर्धन गर्नुपर्ने हुन्छ। यो भनेको के हो?
उपाध्याय : युरेनियम सुरुमा खनिजको रूपमा हुन्छ। अर्थात् कच्चा पदार्थको रूपमा हुन्छ। त्यो अक्साइड कम्पोजिसनमा हुनसक्छ, हाइड्रोजन, सिलिकन, फस्फोरस र अन्य कम्पोजिसनमा पनि हुनसक्छ। त्यसैले, युरेनियमलाई शुद्ध बनाउन प्रशोधन गर्दै जानुपर्ने हुन्छ।
इरानले युरेनियम ६० प्रतिशत सम्बर्धन गरेको छ भन्नुको अर्थ हो– उसले आफूसँग रहेको युरेनियम प्रशोधन गर्दैगर्दै त्यसको शुद्धताको मात्रा ६० प्रतिशत पुर्याएको छ।
६० प्रतिशत प्रशोधन भइसकेको युरेनियमलाई अझै प्रशोधन गर्ने र शुद्धता ९० प्रतिशतसम्म पुर्याउने हो भने त्यसलाई बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। बिजुली लगायतको ऊर्जा उत्पादनका लागि पनि प्रयोग गर्न सकिन्छ।
मानौँ, युरेनियम प्रशोधन गरेर युरेनियमको शुद्धता ९० प्रतिशत पुर्याइयो। त्यसपछि यसले बम वा विद्युतीय ऊर्जाका लागि कसरी काम गर्न सक्छ?
उपाध्याय : कुनै पनि तत्व वा ‘युरेनियम–२३५’ वा ‘युरेनियम–२३८’ मा यसका पारमाणविक भार र पारमाणविक संख्या गरी दुई पक्ष हुन्छन्। यसलाई वैज्ञानिक भाषामा एटोनोमिक नम्बर र मास नम्बर पनि भनिन्छ।
युरेनियम त्यत्तिकै चुप लागेर बस्दैन। यो कुरा हरेक पदार्थमा लागू हुन्छ। हाम्रै शरीरको कुरा गरौँ– शरीरबाट कुनै काम नलाग्ने वस्तु वा ताप निस्किरहेको हुन्छ। त्यत्तिकै नबस्ने भएकाले युरेनियमले पनि विभिन्न प्रकारका शक्तिशाली तत्वहरूका साथै विकिरणहरू निकालिरहेको हुन्छ।
जस्तो : ‘युरेनियम–२३८’ ले सुरुमा ‘थोरियम–२३४’ निकाल्छ। त्यसमा निकै खतरनाक विकिरणहरू हुन्छन्, जुन शरीरभित्र गए भने क्यान्सर हुने र डीएनए नै खत्तम गर्नेसम्मका असर गर्न सक्छ।
शुद्धखालको युरेनियम हो भने त्यो थोरै भए पनि शक्तिशाली विकिरणका कारण मानवजीवन, वनस्पति लगायतमा असर पुर्याउँछ।
आणविक बमले धेरै क्षति पुर्याउने भनेको भौतिक संरचनालाई हो कि प्राणी–वनस्पति जीवनलाई हो?
खत्रीः आणविक बम विस्फोट भयो भने त्यसले धेरै पक्षमा असर पुर्याउँछ। एउटा, बम विस्फोट हुँदा अत्यधिक तापक्रम उत्पादन हुन्छ। अर्काे, यसले ‘मेकानिकल स्ट्रक्चर’लाई ध्वंस गर्छ। अर्थात् भवन लगायतका संरचना भत्काइदिन्छ। ठूलो आवाज आउने भएकाले त्यसले पनि जीवन र संरचनाहरूलाई ठूलो क्षति पुर्याउँछ।
यसको सबैभन्दा ठूलो प्रभाव भनेको विकिरणले गर्ने असर हो। विकिरणको असर निकै लामो समयसम्म हुन्छ। भत्किएका संरचनाहरू त तत्काल देखिने भयो। तर, विकिरणको प्रभाव पुस्तौँ–पुस्तासम्म असर रहिरहन्छ। त्यसको मार पुस्तौँ–पुस्ताले बेहोरिरहनुपर्छ। एउटा पुस्ताले बेहोर्यो, सिद्धियो भन्ने हुँदैन। अर्काे पुस्तासम्म पनि सर्ने हुन्छ।
त्यसले प्रकाश शक्ति, ताप शक्ति, गतिशक्ति उत्पादन गर्छ। त्यसबाहेक रेडिएसन (विकिरण) पनि उत्पादन हुन्छ, जसको प्रभाव लामो समयसम्म रहन्छ।

सन् १९४५ मा अमेरिकाले हिरोसिमामा अणुबम खसालेपछि सबैभन्दा बढी क्षति त्यसको कुन पक्षले गर्यो?
खत्रीः विकिरणले गरेको क्षति पनि उत्तिकै रह्यो। भौतिक क्षति पनि रह्यो।
उपाध्यायः अमेरिकाले बम खसालेका जापानका ती दुई सहर अहिले निकै सुन्दर भएका छन्। यसबाट देखिन्छ, बमबाट क्षति भएका संरचनाको विकास पछि पनि गर्न सकिन्छ। तर, विकिरणले मानव जीवन र वनस्पतिमा पारेको प्रभाव सजिलै टार्न सकिँदैन। त्यसको प्रभाव यति भयानक हुन्छ कि पुस्तौँपुस्तासम्मले त्यसको मार बेहोरिरहनुपर्छ।
जस्तो, त्यसको विकिरणले मानिसको डीएनएको संरचनालाई परिवर्तन गर्न सक्छ। विकिरणको प्रभावका कारण मान्छे तत्कालै मर्न पनि सक्छ। हिरोसिमा र नागासाकीमा अमेरिकाले बम प्रहार गरेपछि हजारौँ मानिस मरेकै थिए।
उच्च तहको डोजको विकिरण छ भने मानिसहरू तत्कालै मर्ने भए, मध्यम तहको विकिरण हो भने लामो समयसम्म त्यसको असर रहने भयो।
इरानले सम्बर्धन गरेको युरेनियमको मात्रा ६० प्रतिशत रहेको बताइएको छ। यस रूपमा विकसित युरेनियमले के–के गर्न सकिन्छ?
उपाध्याय : सत प्रतिशत शुद्धता भनेको युरेनियमको शुद्धताको सबैभन्दा पूर्ण रूप हो। सत प्रतिशत भनियो भने पनि त्यो नहुनसक्छ। जस्तो: हामी २४ क्यारेटको सुनलाई सबैभन्दा बढी शुद्ध सुन भन्छौँ। तर, त्यो पनि सत प्रतिशत शुद्ध नहुनसक्छ।

अमेरिकाले इरानका तीन ठाउँमा शक्तिशाली बम प्रहार गरेपछि इरानले प्रशोधित गरेको युरेनियम ध्वस्त भयो कि भएन भन्ने अमेरिका र इरानको तर्फबाट फरक–फरक दाबी पेस भएका छन्। यसबारेमा बहस पनि सुरु भएको छ। त्यहाँको युरेनियम ध्वस्त भयो–भएन भन्नेबारेमा तपाईंहरूको मूल्याङ्कन के छ?
खत्री : अमेरिकी आक्रमणअघि त्यहाँ ४ सय किलोग्राम युरेनियम रहेको बताइएको थियो। ६० प्रतिशत प्रशोधित भइसकेको युरेनियम यदि अमेरिकी आक्रमणले ध्वस्त बनाएको थियो भने त्यहाँबाट ठूलो परिणाममा विकिरणहरू फैलिनुपर्ने हो। त्यसैले, मेरो विचारमा त्यहाँ रहेको युरेनियम ध्वस्त भएको छैन।
आईएईएको प्रारम्भिक सर्वेबाट पनि विकिरण फैलिएको देखिएको छैन। यस हिसाबले त्यहाँको युरेनियम ध्वस्त भएको छैन।
बरु अमेरिकी आक्रमणअघि नै इरानले त्यहाँबाट युरेनियम अन्यत्रै स्थानान्तरण गरेको थियो भन्ने समाचार आएका छन्।
उपाध्याय : अमेरिकी आक्रमणपछि त्यहाँ अहिलेसम्म कोही पुग्न सकेको छैन। त्यो ठाउँबारे जे–जति जानकारी आएको छ, त्यो ‘स्याटलाइट इमेज’ मात्र हो। त्यो पनि निकै टाढाबाट खिचिएको तस्बिर हो। नजिक गएर खिच्नसक्ने स्थिति पनि छैन।
अमेरिकी सेनाले युरेनियम सम्बर्धन केन्द्रमा आक्रमण गर्यो, त्यहाँको नक्सा र तस्बिर पनि दियो, त्यहाँ साँच्चिकै युरेनियम थियो वा थिएन र आक्रमणले त्यसलाई असर गर्यो–गरेन भन्ने र त्यसले मानिस र वनस्पतिलाई पारेको असरबारेको प्रतिवेदन नआई भन्न सकिँदैन।
त्यहाँ ६० प्रतिशत सम्बर्धन भइसकेको ४ सय किलोग्राम युरेनियम थियो भनिएको छ। यदि अमेरिकी आक्रमणले युरेनियमलाई असर गरेको छ भने त्यसले पार्ने असर कति ठूलो हुन्छ?
खत्री :४ सय किलोग्राम भनेको निकै ठूलो परिणाम हो। त्यति ठूलो परिणामको युरेनियममाथि आक्रमण हुँदाको असर निकै ठूलो हुन्छ, युरेनियम सम्बर्धन गरिएको प्रमुख स्थान फोर्दाेलाई मानिएको छ। त्यो पहाडमा र मानवबस्तीबाट पनि निकै टाढा रहेको बताइएको छ।
आक्रमण वा अन्य कुनै कारणले प्रशोधित युरेनियममा क्षति भयो भने मानवजीवनको सुरक्षाका लागि तत्काल केही काम गर्नुपर्ने हुन्छ। तर, त्यहाँको हकमा यो काम तत्काल किन गर्नु परेन भने, अमेरिकी आक्रमण भएको मुख्यस्थल फोर्दाे वरिपरि मानव बस्ती छैन।
कुनै बस्ती नजिक यस्तो दुर्घटना भएको भए त्यसपछिको परिस्थिति व्यवस्थापन गर्न धेरै कठिन हुन्थ्यो।
तर, यदि त्यहाँ युरेनियम थियो र अमेरिकी आक्रमणका बेला नष्ट भएको हो भने त्यसको प्रभाव धेरै पछिसम्म पनि त्यहाँ वरिपरि रहिरहन्छ।
उपाध्याय : ‘६० प्रतिशत सम्बर्धन’ भनेको प्रशोधनको मात्रा हो। अर्थात् प्रशोधन मार्फत् त्यसको शुद्धताको मात्रा ६० प्रतिशत पुग्यो भनिएको हो। ६० प्रतिशत मात्र शुद्धता भएको युरेनियमलाई हतियारको रूपमा प्रयोग गर्न मिल्दैन। हतियारको रूपमा प्रयोग गर्न युरेनियमको शुद्धताको मात्रा ९० प्रतिशत हुनु आवशयक छ।
तर, ६० प्रतिशत शुद्ध बनाइसकेकाले इरानले थप प्रशोधन गरेर शुद्धताको मात्रा ९० प्रतिशत बनाउन सक्छ र त्यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ भन्ने भय इजरायल र अमेरिकालाई भयो। त्यहीकारण उनीहरू सतर्क भए र आक्रमण गरे।
युरेनियमलाई शुद्ध चाहिँ कसरी पार्दै लगिन्छ नि!
उपाध्याय : सुन, चाँदी, फलाम लगायतका धातुलाई शुद्ध बनाउनु पर्यो भने कोइला, काठ वा पेट्रोलियम पदार्थको प्रयोग गरिन्छ। युरेनियम प्रशोधनको हकमा चाहिँ ‘न्युक्लियर रियाक्टर’ प्रयोग हुन्छ।
युरेनियममा रहेका अन्य अनावश्यक तत्वहरू रियाक्टरको प्रयोगमार्फत् हटाउँदै लगिन्छ। त्यसका ‘मल्टिपल स्टेप’हरू हुन्छन्। उनीहरूसँग रहेको युरेनियमको शुद्धताको मात्रा ६० प्रतिशत पुर्याउन उनीहरूले धेरै मिहिनेत गरेका छन्। ९० प्रतिशत शुद्ध बनाउन अझ धेरै मिहिनेत गर्नुपर्ने हुनसक्छ।
शाब्दिक अर्थमा न्युक्लियर (एटम) बम भनेको ‘परमाणु बम’ हो, ‘परमाणु’ भनेको पदार्थको निकै सानो कण। इरानसँग रहेको ४ सय किलोग्राम युरेनियमबाट भने जम्मा ९–१० वटा ‘न्युक्लियर बम’ बनाउन सकिने भनिएको छ। अर्थात् एउटा न्युक्लियर बमका लागि ४० किलो चाहिने भएपछि त्यो कसरी ‘परमाणु बम’ भयो?
खत्री :एटम बम र हाइड्रोजन बम गरी दुई प्रकारका यस्ता बम हुन्छन्। अलिक हल्का खालका न्युक्लियस जोडेर बनाउने खालको बम ‘हाइड्रोजन बम’ हो। केही वर्षअघि उत्तर कोरियाले आफूले हाइड्रोजन बम बनाएको र परीक्षण समेत गरेको दाबी गरेको थियो। सत्यता कति छ, त्यो उसैलाई थाहा होला।
हाइड्रोजन बम यति शक्तिशाली हुन्छ कि अलिक बढी परिणामको बम छ र केही स्थानहरूमा यसलाई विस्फोट गर्ने हो भने पृथ्वी पूरै नष्ट हुनसक्छ। यसले उत्पादन गर्ने ठूलो तापमानले गर्दा पृथ्वी सूर्यजस्तो आगो बन्ने प्रक्रियातिर जान्छ र सिद्धिन्छ।
अहिले हामीले जुन बमको चर्चा गरिरहेका छौँ, त्यो एटम बम टाइपको हो। यसका लागि युरेनियम जस्तो ‘हेभी न्युक्लियस’ लाई टुक्रा पारिन्छ। सो प्रक्रियामा निकै ठूलो परिणाममा ऊर्जा निस्किन्छ।
उपाध्याय : अप्रशोधित भए पनि युरेनियमबाट केही न केही ऊर्जा त निस्किरहेकै हुन्छ। तर, चाहेजति ठूलो क्षति पुर्याउने गरी बम बनाउन ठूलै परिमाणको युरेनियम चाहिन्छ। त्यहीकारण ४ सय किलो युरेनियमबाट ९–१० वटा न्युक्लियर बम बनाउन सकिन्छ भनिएको हो।
ठूलो सहर ध्वस्त बनाउनुछ भने ठूलै परिणाममा युरेनियम राखिएको न्युक्लियर बम चाहिएला, सानो गाउँ ध्वस्त पार्ने हो भने सानो परिणाममा युरेनियम राखेर बम बनाए भयो।
न्युक्लियर बम बनाउन युरेनियम मात्रै एउटा विकल्प हो कि अन्य तत्वबाट पनि बनाउन सकिन्छ?
खत्री :यस्तो बम बनाउन सकिने अरु तत्व पनि छन्। जस्तो : प्लुटोनियम। तर, त्यसको प्रमुख स्रोत पनि युरेनियम नै हो।
उपाध्याय : युरेनियमको आणविक संख्या ९२ हो। यसमा प्रोटोनको संख्या पनि ९२ हुन्छ र न्युट्रोनको संख्या त बढी हुन्छ।
प्रकृतिमा जम्मा ९२ वटा प्राकृतिक तत्व छन्। त्यसबाहेकका तत्व कृत्रिम रूपले बनाइएका हुन्। ९२ वटा प्राकृतिक तत्वमध्ये बढी गह्रुङ्गोमा युरेनियम पनि पर्छ। बढी गह्रुङ्गो भएकाले सबैभन्दा बढी ऊर्जा पनि निस्किन्छ।
हाम्रो देशमा पनि विभिन्न ठाउँमा युरेनियमको खानी भेटिएको छ। यस हिसाबले त हामी पनि शक्तिशाली र धनी छौँ नि! होइन?
खत्री : खनिज उपलब्धताको दृष्टिले हाम्रो देश धनी नै छ। तर, देश सम्पन्न हुन खनिज भएर मात्र पुग्दैन, त्यसको उत्खनन र प्रशोधन पनि गर्न सक्नुपर्छ। यो काम गर्न चाहिँ गाह्रो छ।
जस्तो : उत्खननबाट अहिले दैलेखमा ग्यासको ठूलो भण्डार रहेको पत्ता लागेको छ। तर, त्यसलाई प्रशोधन गरेर उत्पादनको तहमा पुर्याउने काम भने जटिल छ। ग्यास त देखियो। तर त्यसलाई घर–घरमा पुर्याउन प्रशोधनपछि मात्र योग्य हुन्छ।
युरेनियमको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। हाम्रो देशका कतिपय भागमा युरेनियम भेटिएको छ। तर, त्यसलाई उत्पादनयोग्य बनाउन प्रशोधन गर्नुपर्यो। पत्ता लागेका ठाउँहरूमा मध्यमस्तर मापन गर्दा २ सय पीपीएम, ३ सय पीपीएमसम्म मात्र युरेनियम भेटिएको छ।
यो भनेको एक टनमा २–३ सय ग्राम मात्र युरेनियम छ भन्ने हो। प्रशोधन वा उत्पादनको तहमा पुर्याउन एक टनमा एक हजार पीपीएम, दुई हजार पीपीएम युरेनियम भयो भने राम्रो मानिन्छ।
अर्थात् एक हजार किलो प्रशोधन गर्दा एक वा दुई किलो शुद्ध युरेनियम उत्पादन हुनसक्ने हुनुपर्यो। तर, प्रतिटनमा यति परिणामको मात्रा अहिलेसम्म नेपालमा भेटिएको छैन।
नेपालमा थुप्रै ठाउँमा पाइएको युरेनियमबारे खानी तथा भूगर्भ विभागले सर्वे गर्दै आएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को यस कार्यक्रममा सहयोग रहन्छ।
उपाध्याय : उपल्लो र तल्लो मुस्ताङ, तीन भङ्गाले (मकवानपुर), आँपपिपल (गोर्खा), बागाबगर (दार्चुलासँग जोडिएको बैतडीको भाग), गोराङ (बैतडी), शिवपुरी (काठमाडौँ) लगायतका स्थानहरूमा युरेनियमको मात्रा भेटिएको छ। तर, त्यसमा अलिक धेरै क्याल्सियम, फस्फोरस, अक्साइट, हाइड्रोजन मिसिएको देखिन्छ।
मुस्ताङ र तीन भङ्गालेमा भेटिएको युरेनियम चाहिँ प्रशोधन गर्न अलिक सजिलो खालको छ।
मुस्ताङमा युरेनियमको ठूलो भण्डार छ भनेर सेनाकै ब्यारेक राखिएको छ। त्यसो भए त्यहाँ सेना नै लगेर राख्नुपर्ने गरी युरेनियमको मात्रा हो कि होइन?
खत्री : मुस्ताङमा युरेनियम छ भन्ने नै छ। त्यहीकारण त्यहाँ सेना पनि राखिएको हो।
उपाध्याय : खानी तथा भूगर्व विभागले समेत त्यो ठाउँलाई निषेधित क्षेत्रको रूपमा लिएको छ। त्यहाँ कुनै पनि प्रकारको फिल्ड अवलोकन गर्न पाइन्न। त्यहाँको नमुना संकलन गरेर कतै पठाउन पनि पाइन्न। कुनै प्रकारको खानीको अनुमति पनि लिन पाइन्न।
तीन भङ्गाले (मकवानपुर) क्षेत्रमा पनि युरेनियमको मात्रा भने निकै छ। म आफै पनि त्यहाँ पुगेको छु। अनुसन्धानका क्रममा हामीले त्यहाँ सामान्य अवस्थामा भन्दा १६–१७ गुणा बढी मात्रा भेट्टायौँ।
मानव बस्ती भएकै क्षेत्रमा हामीले यस्तो स्थिति देख्यौँ। स्थानीयहरूका अनुसार पहिले–पहिले त्यहाँ विदेशीहरू पुगेर रात नै बसेर प्वाल पारेर नमुना लिएर जाने गरेका थिए रे!
कुनै विदेशीले त्यहाँ रहेको युरेनियम चोरेर लगेको हुनसक्ने सम्भावना छ कि छैन?
उपाध्याय : युरेनियम खतरनाक पदार्थ भएकाले चोर्न गाह्रो छ। सुरक्षाको उपाय अपनाएर मात्र यसलाई ओसारपसार गर्न सकिन्छ। त्यसमा हाइ कन्सर्टेसन हुने भएकाले मानव शरीरलाई असर गर्न सक्छ। कसैले नियोजित रूपमा ओसारपसार गर्न खोज्यो भने सुरक्षा प्रत्याभूति हुने ‘सिल्डिङ म्याटेरियल’ प्रयोग गर्नुपर्ने हुन्छ।

यसपटक भएको युद्धको सुरुवातमै इजरायलले इरानका आधा दर्जन आणविक वैज्ञानिकहरूको हत्या गरिदियो। तपाईंहरू न्युक्लियर फिजिक्सका विद्वान हुनुहुन्छ। आणविक विषयलाई लिएर संसारमा युद्ध सुरु हुने र आणविक विशेषज्ञहरू मारिने विषयले कत्तिको भय उत्पन्न गर्छ?
उपाध्याय : रुचिको विषय भएकाले हामीले यसलाई छानेका हौँ। बालविक्रम खत्री सर सुरुदेखि नै न्युक्लियर फिजिक्स पढाउनु हुन्थ्यो। म पहिले अन्तरिक्ष विज्ञान सम्बन्धी अनुसन्धान गर्थें। मेरो मास्टर्सको थेसिस ताराहरूबीचको माध्यमका बारेमा छ।
तर पछिल्लो समय ‘न्युक्लियर’ को प्रयोग उद्योगहरूमा गर्ने सम्बन्धी तालिम मलेसियामा लिएँ। त्यो तालिम नेपाल सरकारले नै छनोट गरेर इन्टरनेसनल एटोमिक इनर्जी एसोसिएसनको फेलोसिपमा भएको थियो।
मलाई के लाग्छ भने, नेपालमा पनि ‘न्युक्लियर इनर्जी र यसको शान्तिपूर्ण प्रयोग’ सम्बन्धी ज्ञान भएको जनशक्ति हुनुपर्छ। कसैले हाम्रै सामान चोरेर लग्यो भनेपनि ‘ए, यो सामान चोरेर लग्यो है’ भन्नसक्ने मानिस हुनुपर्यो। यसको लागि त्यसबारेको जानकारी हुनुपर्यो।
खत्री : उपाध्याय सरले भनेको कुरा सही हो। जस्तो: नेपालबाट निर्माणकार्यमा प्रयोग हुने नदीजन्य सामग्री निकासी भइरहेको हुन्छ। ती सामग्रीका साथ महत्त्वपूर्ण खनिज पनि हुनसक्छन्। त्यस्ता महत्त्वपूर्ण खनिज बाहिरिन सक्ने सम्भावनाप्रति सजग हुनुपर्ने स्थिति छ। त्यसरी गएका चिज के–के हुन्, त्यो चिन्नुपर्यो। त्यसका लागि हामीजस्ता अनुसन्धानकर्ताहरूको आवश्यकता हुन्छ।
जहाँसम्म युरेनियम वा आणविक बमको कुरा हो, नेपालले अहिले यस्तो बम बनाउने कुनै सम्भावना नै छैन। धेरै समयपछि पनि नेपालले विनाशको उद्देश्यका साथ आफूसँग रहेको युरेनियम प्रशोधन, विकास र उत्पादन गर्छ भन्ने मलाई लाग्दैन। विनाशकारी प्रयोजनका लागि युरेनियमको प्रयोग गर्ने नेपालको नीति नै होइन।
विनाशको उद्देश्य राखेर नेपालले युरेनियम प्रशोधन, विकास र उत्पादन गर्न जरुरी पनि छैन। नेपाल शान्तिप्रिय देश हो। हाम्रो परराष्ट्रनीतिले नै सबै मुलुकसँग मित्रताको भाव राखेको छ। नेपालको दुईतर्फ शक्तिशाली मुलुकहरू– चीन र भारत छन्। उनीहरूसँग राम्रो सम्बन्ध राख्नु नै नेपालको सुरक्षाको सबैभन्दा उत्तम उपाय हो।
त्यसैले, हामीले पनि सुरक्षाको विषयलाई लिएर भयभीत हुनुपर्ने जरुरत छैन।
शक्ति राष्ट्रहरूको चासो तपाईंहरूजस्ता यो विषयका विशेषज्ञहरूप्रति हुन्छ होला नि!
उपाध्याय : त्यस्तो चासो सकारात्मक हो। चासो भएकैले उहाँहरूसँग हामीले संवाद गर्ने अवसर प्राप्त गरेका छौँ। उहाँहरूबाट ज्ञान पनि हासिल गरेका छौँ। उहाँहरूले नेपालसँग कुनै प्रस्ताव गर्नुभयो भने त्यो प्रस्ताव राम्रो छ कि छैन, नेपालको हितमा छ कि छैन भनेर राष्ट्रलाई सुझाव दिनसक्ने स्थितिमा हामी पुग्नुपर्छ।
खत्री : कुनै ठाउँको पदार्थमा ‘हाइ एक्टिभिटी’ देखियो भने हामी लुकाउँदैनौँ। यस्तो कुरा पत्ता लगाउने र मात्रा–मापन गर्ने डिटेक्टर लिएर हामी सम्बन्धित ठाउँमा पुग्छौँ। र, अनुसन्धानबाट प्राप्त जानकारी राज्यका निकायलाई दिन्छौँ। यो हाम्रो कर्तव्य पनि हो।
हामीले दिने जानकारी सरकारले अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएईए) लाई दिन्छ। किनभने नेपाल एकातिर आईएईएको सदस्य राष्ट्र हो र यस्ता कुरा लुकाउनुपर्ने आवश्यकता पनि नेपाललाई छैन।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएईए) मा नेपालको हैसियत के हो?
खत्रीः हामी त्यसको सदस्य राष्ट्र हौँ। सन् २००८ देखि हामी त्यसको सदस्य छौँ। त्यसभन्दा अगाडि एउटा ‘न्युक्लियर पोलिसी’ थियो, त्यसमा हामीले शान्तिपूर्ण उद्देश्यका लागि मात्र यसको प्रयोग गर्छाैं भन्ने कुरामा सहमति जनाएका छौँ।
उपाध्यायः युरेनियमको मात्र कुरा नगरौँ। विकिरणको प्रयोग नेपालमा हामीले १०२ वर्षअघि नै गर्न थालेका हौँ। सन् १९२३ ताका काठमाडौँमा ‘त्रिचन्द्र इलेक्ट्रोमेडिकल’ भन्ने रहेछ। नेपालमा पहिलोपटक एक्सरेको प्रयोग त्यहीँ भएको देखिन्छ। एक्सरेले पनि विकिरण फाल्छ।
त्यसैले गर्भवती महिला, बालबालिका एक्सरे भएको ठाउँमा जान हुँदैन भनिएको हो। यसको औद्योगिक, चिकित्सकीय, ऊर्जा लगायत विविध क्षेत्रमा शान्तिपूर्ण प्रयोग गर्नु आवश्यक छ, जरुरी पनि छ।
Shares

प्रतिक्रिया