अन्तर्वार्ता


विप्लवसँग वार्ता : माओवादीसँगको एकता स्थगित भयो, जनार्दन–घनश्यामसँग मिल्दैछौँ भन्ने हल्ला चलाइँदैछ (भिडिओ)

‘विनोद चौधरीलाई भनेको छु– तपाईंभन्दा धनी बन्ने चाहना छ’
विप्लवसँग वार्ता : माओवादीसँगको एकता स्थगित भयो, जनार्दन–घनश्यामसँग मिल्दैछौँ भन्ने हल्ला चलाइँदैछ (भिडिओ)

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव (तस्बिर/भिडिओ : विशाल कार्की)


सीताराम बराल
साउन १७, २०८२ शनिबार १९:७, काठमाडौँ

धान रोप्ने एक महिना लामो देशव्यापी अभियान सिध्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) अघिल्लो हप्ता काठमाडौँ आइपुगे। लगत्तै झण्डै आधा दर्जन वामपन्थी पार्टीहरूले गत वर्ष निर्माण गरेको समाजवादी मोर्चाको बैठक मंगलबार (१३ साउन) भयो।

‘यस्तै पाराले अघि बढ्ने हो हो भने समाजवादी मोर्चा विघटन गरिदिए हुन्छ,’ बैठकमा विप्लवले राखेको भनिएको यो प्रस्ताव मोर्चाभित्र र बाहिर निकै चर्चित भयो। आफैले विघटनको प्रस्ताव राखेको मोर्चाको उनी पुनः संयोजक बनेको विषय अझ चर्चित बन्यो। 

त्यसबाहेक उनी नेतृत्वको नेकपाको कृषिमा आधारित राजनीतिक अभियान पनि पछिल्लो समय निकै चर्चित बनेको छ। यति उपल्लो तहका नेता भइकन हलो जोत्दै, कोदालो खन्दै र मल बोक्दै गरेको दृश्यले उनको प्रशंसामा वृद्धि पनि भएको देखिन्छ। 

विप्लवको नेतृत्वमा नेकपाले सुरु गरेको देशव्यापी कृषि अभियान, समाजवादी मोर्चाको औचित्य, कम्युनिस्ट–वामपन्थी एकता, माओवादी आन्दोलनको कमजोर स्थिति लगायतका विषयमा हामीले यसपटक महासचिव विप्लवसँग लामो कुराकानी गरेका छौँ। 

प्रस्तुत छ– कुराकानीको सम्पादित अंश :

समाजवादी मोर्चाको मंगलबार (१३ साउन) को बैठकमा एकातिर तपाईंले मोर्चा विघटन गरिदिए हुन्छ भन्नुभयो। अर्काेतिर फेरि मोर्चाको संयोजक बन्नुभएको छ। आफैले विघटनको प्रस्ताव गरेको मोर्चाको किन संयोजक बन्नुभयो?  
समाजवादी मोर्चाको निर्माण वर्तमान राजनीतिलाई जनताको अपेक्षा अनुसार निकास दिन भएको हो। त्यो निकास नेपाली विशेषताको समाजवाद हुन सक्छ। त्यसका लागि मोर्चालाई मूर्त योजनासहित अगाडि बढाउने भन्ने हाम्रो निर्णय थियो। 

तर मोर्चा गठन गर्दा जुन खालको उत्साह र आकर्षण थियो, सरकारभित्रका खिचातानी लगायतका कचिंगलले मोर्चालाई क्रमशः प्रभाव पारेजस्तो देखियो। मोर्चाको प्रभावकारिता कमजोर हुन थाल्यो। 

यो स्थितिमा एउटा निकास खोज्नु जरुरी थियो। यसको मतलब मैले विघटन नै गरौँ भनेको होइन। तर मोर्चाको औचित्यमा प्रश्न उठ्यो भन्ने कुरा हामीले राखेका हौँ। 

अर्को कुरा, समाजवादी मोर्चामा सहभागी दलहरूमा थोरै उतारचढाव छ। त्यसैले, अलिक सरसल्लाह गरेर, फेरि नयाँ आधारमा निर्माण गरौँ कि भन्ने प्रस्ताव राखेका हौँ। यो प्रस्तावपछि सबै नेताहरूले आ–आफ्ना कमी–कमजोरीको समीक्षा गर्दै उद्देश्य अनुरूप नै मोर्चाका गतिविधि सञ्चालन गर्नुपर्छ भन्नुभएको छ।  

त्यसोभए तपाईंको असन्तुष्टि मोर्चा सक्रिय भएन भन्ने विषयमा थियो?   
हो। मोर्चाको राजनीतिक उद्देश्यबारे जनतालाई जसरी बुझाउनु पर्थ्यो, जनसरोकारका मुद्दाहरूमा जसरी आवाज बुलन्द गरेर जनतासँगको सम्बन्धलाई विस्तार गर्नुपर्थ्यो, पछिल्लो समय त्यसमा केही कमजोरी देखा परेको थियो।  

अहिले देशमा ठूला–ठूला समस्या छन्। राष्ट्रियताको समस्या छ, भ्रष्टाचार–तस्करीका समस्या छन्। महँगीका समस्या छन्। यी विषयमा समाजवादी मोर्चाले सडकमा उभिएर नेतृत्व गर्दिए हुन्थ्यो भन्ने जनताको अपेक्षा छ। हामीले केही कार्यक्रम त गर्‍यौँ। तर अपेक्षा अनुसार भएनन्। 

भिडिओ :

मोर्चा सहमति–समझदारीबाट चल्ने कुरा हो। सोचेअनुसार नभएपछि हामी नयाँ ढंगले सोच्छौँ भन्ने कुरा बैठकमा भएको हो।

पछिल्लो समय हाम्रो पार्टी धान रोप्ने कार्यक्रममा सहभागी थियो। त्यसपहिले मेरो प्रस्ताव थियो, हामीले सञ्चालन गर्दै आएको धान रोप्ने कार्यक्रमलाई मोर्चा अन्तर्गत नै राखौँ, ‘सबै जाऊँ, सँगसँगै धान रोपौँ’ यो प्रस्ताव मैले प्रचण्ड कमरेडलाई राखेको पनि थिएँ। 

‘अरुलाई जग्गा दिनुभएको छ, हामीलाई ५ सय बिघा जग्गा लिजमा दिनुस्, त्यहाँ धान खेती गरौँ, त्यसको उद्घाटन गर्न तपाईं नै आउनुस्’ समेत भनेको थिएँ। 

कुन जिल्लाका लागि यस्तो प्रस्ताव गर्नुभएको थियो? 
कपिलवस्तुका लागि प्रस्ताव गरेका थियौँ।  

चितवनका लागि प्रस्ताव गर्नुभएको थिएन?  
चितवनको लागि पनि थियो। तर पाँच सय बिघा जग्गाको सन्दर्भ चाहिँ कपिलवस्तुको हो। त्यहाँ राजा महेन्द्रको पालादेखि लगतकट्टा भएका डेढ सयदेखि २०० बिघा क्षेत्रफलको जमिन छ। ती निकै उब्जाउभूमि हुन्। ‘त्यो हामीलाई लिजमा दिनुस्’ भन्ने कुरा भएको थियो।

के कारणले भएन त! कतै कृषि क्रान्तिको जस तपाईंलाई जान्छ भनेर उहाँ तर्कनुभएको हो कि!  
होइन, यो कुराकानी हुँदा वर्षमान पुन (अनन्त) लगायत सबै हुनुहुन्थ्यो। यो प्रस्ताव मैले समाजवादी मोर्चामा पनि राखेको थिएँ। माओवादी केन्द्रले पनि पहिले पहिले ‘उत्पादन ब्रिगेड’ बनाउने कुरा गरेको थियो। कुराकानी त भयो। तर निर्णयमा पुग्न सक्ने स्थिति भएन। विभिन्न कारणले त्यसको सीमा रह्यो।

यस विषयमा अझ विस्तृतमा खुलाउँदा माओवादीसँग खटपट पैदा हुन्छ भन्ने पीर हो तपाईंको? 
त्यो त होइन। तर, अहिले भन्न आवश्यक छैन। किनकि आ–आफ्नो पार्टीबाट स्वतन्त्र ढंगले काम गर्न हामी स्वतन्त्र छौँ। हामीले खेतीपातीको काम गरिराखेकै छौँ। 

प्रचण्ड कमरेडले म खेत रोप्न गएको प्रसङ्ग उठाउनु भएपछि मैले उहाँलाई ‘सँगै जाऊँ’ भन्ने प्रस्ताव राखेको थिएँ। त्यसअघि हामीले काठमाडौँमा स्थापना गरेको व्यापार केन्द्र उद्घाटन गर्न माधव नेपाल कमरेड सँगै जानुभएको थियो। 

यसरी सँगै जाँदा राम्रै हुन्छ। यो कम्युनिस्टहरूको साझा दायित्व र जिम्मेवारीपनि हो।   

संयोजक बनेपछि समाजवादी मोर्चालाई अब कसरी अघि बढाउनुहुन्छ?  
जुन उद्देश्यले संस्था निर्माण गरिन्छ, उद्देश्य अनुसार त्यसलाई धारिलो र प्रभावकारी बनाउनुपर्छ। संस्थाको औचित्य साबित हुने गरी क्रियाशील हुनुपर्छ। साधन साध्य उन्मुख हुनुपर्छ। हामीले त्यो उद्देश्य राखेका छौँ। भदौमा एकपटक बसेर यो विषयलाई स्पष्ट रूपमा अघि बढाउने तयारी छ।  

खडेरी भएकाले तराईमा खेतीपातीका लागि ‘बर्खे भेल’ छोप्न सक्ने स्थिति छैन। कतै राजनीतिको ‘बर्खे भेल’ छोपेर मोर्चाको नेतृत्व लिन काठमाडौँ आउनु भएको त होइन?  
त्यस्तो होइन। हाम्रो सोचाइ सरल छ। देशले भोग्नु परेका समस्याहरूबाट निकास दिऊँ, यसका लागि सबै साथीहरू मिलौँ भन्ने हाम्रो सोचाइ हो।

तपाईंहरूले खेतीपातीबाट राम्रै आम्दानी गर्नुभएको छ। तर, यसपटकको खडेरीले खेतीपाती र तपाईंहरूको आम्दानीमा कतिको असर गर्ला? 
खडेरीले गर्दा हामीलाई पनि धेरै गाह्रो भएको स्थिति छ। यसपटक खेत रोप्न पोहोरभन्दा धेरै खर्च लाग्यो। 

नेपालमा धेरै ठाउँमा खेतीपाती प्राकृतिक ढंगले हुने वर्षामा निर्भर हुन्छ। किनकि हामीकहाँ सिँचाइका लागि कुलो, नहरको सुविधा छैन। 

पोहोर साल हामीले जति सस्तोमा धान रोप्ने काम सम्पन्न गरेका थियौँ, यसपटक त्यसको लगभग दोब्बर बढी लगानी भएको छ। हाम्रोमा नजिकै खोलाहरू थिए, बोरिङको सुविधा पनि थियो। त्यसले गर्दा हामीले जेनतेन धान लगायौँ। 

सिँचाइको सुविधा नपाएका जनतालाई चाहिँ निकै गाह्रो भएको छ। 

धान रोप्न लगानी बढेको के कुरामा हो?  
सिँचाइमा। धान रोप्न आवश्यक पानीमा अहिले एकदमै धेरै खर्च हुने स्थिति छ। समयमा धान रोपिएन भने उत्पादन घट्छ। निश्चित समयमा धान रोपिसक्नुपर्ने हुन्छ। मकैको कुरा गरौँ, मकै रोप्ने जुन १०–१५ दिनको अवधि हुन्छ, त्यस अवधिभित्र रोपियो भने बाली राम्रो हुन्छ। त्यसभन्दा दायाँ–बायाँ गरियो भने उत्पादन घट्छ। 

धान पनि त्यस्तै रहेछ। कतै साउनमा रोप्दाखेरि राम्रो हुन्छ, कतै असारमा रोप्दा राम्रो हुन्छ। हाम्रोतिर (कपिलवस्तु) असारमा रोप्दा राम्रो हुन्छ। रोपाइँ असारबाट साउनतिर सर्‍यो भने उत्पादन त्यति राम्रो हुँदैन। पतेरो लाग्ने, किरा बढी आउने हुन्छ। यस कुराले पनि उत्पादनमा प्रभाव पार्छ।

तपाईं सानैदेखि राजनीति गर्नुभएको मान्छे, रोल्पा घर भए पनि कपिलवस्तुमा पनि जग्गाजमिन छ। ठकुरी परिवारको मान्छे, खेतीपाती सिक्नुभएको आफ्नै नेतृत्वमा पार्टी गठन गरेपछि हो वा पहिला पनि कृषिकर्मको अनुभव थियो?  
हुन त हाम्रो परिवार किसान नै हो। लाहुरे परिवार पनि हो। गाउँघरमा हामी मध्यमवर्गीय परिवारका हौँ। मध्यमवर्गीय भएकाले खान–बस्न समस्या थिएन। 

पढ्नका लागि गाउँबाट काठमाडौँ आइयो। तर, काठमाडौँमा पढ्न आउने कुरा गाह्रै थियो। तैपनि बुबाआमाले मेहनत गर्नुभएकाले हामीहरू यहाँसम्म आइपुग्यौँ। गाउँमा हुँदा मैले पनि मेहनत गर्थें, आमालाई सहयोग गर्थें। आमालाई दाइहरूको भन्दा मैले बढी सहयोग गर्थें। 

मैले एसएलसीसम्म अध्ययन रोल्पामै गरेको हुँ। त्यसपछि तल कपिलवस्तुमा गइयो, संगठनमा लागियो। श्रमप्रति सम्मान त त्यतिबेलादेखि नै थियो। तर, अहिले जसरी खेतीपातीको काम गरेको छु, त्यो बेला गरेको थिइनँ। 

जनयुद्धकालमा आधारक्षेत्रको जिम्मेवारीमा हुँदा कृषि सम्बन्धी नीति पनि बनाइयो, ती नीतिहरू कार्यान्वयनको प्रयत्न पनि गरियो। तर युद्धको चापका कारण अहिलेजसरी कृषिकार्यमा भाग लिन पाइएन। 

तर खुसी लाग्छ, जनयुद्धका बेला थवाङमा रोपेको १० हजार स्याउले अहिले उत्पादन दिन थालेको छ।  

जनयुद्धकै बेला रोप्नु भएको थियो र?
हो, जुम्लाबाट बिरुवाहरू लगेर जनयुद्धकै बेला रोपेका थियौँ। युद्धको बेला थियो। पार्टीले रोपेको भनेपछि मानिसहरूमा त्यति आकर्षण थिएन। धेरै बिरुवा मरे। तर अहिले पनि करिव ५–७ सय, हजार बोट रहेछन्। ती स्याउ लटरम्म फल्ने भएका छन्, त्यसबाट जनताले फाइदा लिएका छन्। पोहोर थवाङ जाँदा त्यहाँका जनता खुसी भएर यो कुरा सुनाए। 

पछिल्लो समय खेती, फलफूल, पशुपालन मात्र होइन, अलि–अलि ‘बिजनेस’ मा पनि प्रवेश गरेका छौँ। यसले गर्दा हामीलाई अलि बढी ज्ञान प्राप्त भएको छ। तर यो ज्ञान अझै पुग्दो भने छैन।   

पार्टीको खर्च खेतीपातीबाट हुने आम्दानीले धान्न सक्ने स्थिति छ कि छैन?  
हाम्रो लक्ष्य थियो, खान–बस्नको लागि चन्दा उठाउनु नपर्ने स्थितिमा तीन वर्षभित्र पुगिसक्ने। खेतीपाती थालेपछि यो लक्ष्य दुई वर्षभित्रै पूरा भएको छ। कृषिबाट हुने आम्दानी पोहोरको तुलनामा यस वर्ष ५० प्रतिशतले बढ्ने आकलन गरेका छौँ।  

केही महिनाअघि उद्योगपति विनोद चौधरीले तपाईंहरूले उत्पादन गरेको दुई लाख किलो आलु आफूले किनेको सार्वजनिक गरे। यसरी नै उत्पादन र व्यापार गर्न थाल्नुभयो भने कुनैदिन विनोद चौधरीभन्दा ठूलो अर्बपति तपाईंहरू पो हुनुहुन्छ कि के हो?  
हाम्रो सपना त्यही छ। यो कुरा मैले चौधरीजीलाई पनि भनेको छु। 

चौधरीको भनाइ के थियो?  
मैले उहाँको किताब (आत्मकथा) पढेको छु। उहाँ कस्तो अवस्थाबाट हुर्कनुभयो भन्ने कुरा छ त्यसमा। बम्बईको ताज होटलबारेको स्मरण छ। त्यो प्रसंग मलाई बडो रमाइलो लागेको थियो। 

मैले त्यो प्रसंग उहाँलाई सुनाएँ, ‘तपाईंले किताबमा यो कुरा लेख्नुभएको छ नि’ भनेर। उहाँले ‘हो’ भन्नुभयो।

त्यो कुन प्रसंग हो? 
त्यहाँ उहाँले लेख्नुभएको छ, ‘व्यापारको सिलसिलामा बम्बई जाँदा कुनैबेला म ताज होटल हेर्दै गल्लीको बाटो हिँड्थेँ। र, कल्पना गर्थें कि, यो होटलमा एक रात कुनै एउटा कोठामा बस्न सकूँला भन्ने। तर संयोगले म अहिले यो होटलको मालिक बन्न पाएको छु।’ 

मैले यो प्रसंग कोट्याएँ, उहाँ पनि हाँस्नु भयो, ‘हो, मैले लेखेको छु’ भन्नुभयो।

त्यसपछि मैले उहाँलाई भनेँ, ‘हाम्रो पार्टी पनि एकदिन विनोद चौधरीजस्तै (धनी) पार्टी भयो भने तपाईंले कस्तो मान्नुहोला?’

चौधरीको जवाफ के थियो? 
उहाँले ‘सम्भव छ’ भन्नुभयो।

सम्भव छ त! 
अवश्य! म सम्भव देख्छु। त्यही रूपमा भने होइन। तर हाम्रो पार्टीले नयाँ रूपमा त्यस्तो क्षमता राख्छ। त्यसैले मलाई सम्भव छ जस्तो लाग्छ। यो दुई वर्षको अनुभवले मलाई त्यो आत्मविश्वास दिलाएको छ। 

हल्लाखल्ला नगरी एकैलटमा दुई लाख किलो बेच्न सक्नेगरी आलु उत्पादन  र संकलन कसरी गर्नुभयो? कतै यो बढाइचढाइ मात्र त थिएन नि! 
सुरुमा विनोद चौधरीले पनि यसै भन्नुभएको थियो। 

पछि पनि चौधरीजीसँग संयोगले भेट भयो। त्यो बेला उहाँले एउटा रोचक कुरा बताउनुभयो। 

पहिले हामीले उहाँलाई भेट्न खोज्दा उहाँलाई ‘पैसा माग्न खोजेका होलान्’ भन्ने परेको रहेछ। 

तर, मैले ‘हामीले उत्पादन गरेको आलु बिक्री भएन’ भन्ने गुनासो गरेँ। उहाँले, ‘साँच्चै हो र?’ भन्नुभयो। मैले ‘साँच्चै हो’ भनेँ। उहाँले ‘हामीलाई दिनसक्नुहुन्छ?’ भन्नुभयो। 

मैले ‘हामीले उत्पादन गरेको सबै आलु किन्न सक्नुहुन्छ?’ भन्ने प्रश्न गरेँ। हाँसोहाँसोमै यी कुरा भए। 

उहाँले ‘म लिन्छु नि!’ भन्नुभयो। मैले ‘मूल्य दिनुस्’ भनेँ। त्यसपछि बिउ पनि उहाँले हामीलाई उपलब्ध गराउनुभयो। लगभग चार महिना पर्खिदिनु पनि भयो। उहाँले उपलब्ध गराएको बिउ सिन्धुलीदेखि कैलालीसम्म प्रयोग गर्‍यौँ। 

बिक्री गरिएको आलु हाम्रो मात्र होइन, हामीले यो अभियानमा जनतालाई पनि जोडेका छौँ। 

यसवर्ष हामीले उहाँलाई दुई लाख किलो आलु बिक्री गर्‍यौँ। अर्काे वर्ष त्यो भन्दा धेरै हुन्छ जस्तो लाग्छ। तर, उत्पादित आलु किन्न फेरि पनि चौधरीले आँट्न सक्नुपर्‍यो।

त्यति आलु किन्न सक्ने क्षमताका अरू व्यापारीहरू छैनन्?
त्यो स्थिति देखिएन। कतै मूल्य मिल्दैन, कतै क्वालिटी मिल्दैन। 

छलफल त हामीले अरू साथीसँग पनि गरेका छौँ।  

धानको स्थिति के छ? धानको चाहिँ व्यापार गर्न सक्ने स्थिति छ कि छैन? कि उत्पादित धान आफैले खपत गर्नुहुन्छ?
हामी (नेकपा) ले खपत गर्ने भन्दा धेरै धान उत्पादन हुन्छ। पोहोर एउटै उत्पादन केन्द्र (चितवन) ले ११ लाखको धान बेच्यो।  

सायद तपाईंहरूले सुन्नुभयो पनि होला, हामीले ‘सी व्यापार केन्द्र’ पनि खोलेका छौँ। हाम्रो चाहना के छ भने, उत्पादित धान जति आन्तरिक ढंगले खपत हुन्छ, त्यसपछि बाँकी रहेको धानको आफैले चामल बनाएर बजारमा लैजाने योजना बनाएका छौँ।  

जनयुद्धका बेला तपाईं सफल नेता–कमान्डरमै गनिनुहुन्थ्यो। पार्टीको तर्फबाट खेतीपाती सुरु गरेयता चार–पाँच वर्षको अनुभवले अब क्रान्तिका लागि ‘बन्दुक’भन्दा कुटो–कोदालो बढी महत्ववपूर्ण हुँदो रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ कि छैन?  
अहिले हाम्रो निष्कर्ष के छ भने, राजनीतिक आन्दोलन, राजनीतिक संघर्ष मात्रै सधैँ एकनासले सफल हुँदैन। राजनीतिक संघर्ष मात्रै अर्थपूर्ण पनि हुँदो रहेनछ। राजनीतिक संघर्षसँगै आर्थिक संघर्ष, उत्पादनको निम्ति संघर्ष अथवा राजनीतिक कार्यसँगै आर्थिक कार्य नचलाएसम्म अब कुनै पनि राजनीति सफल हुँदैन भन्ने कुराको अनुभूति हामीलाई गहिरो गरी भएको छ।

यो कुरा आफ्नै अनुभवबाट सिक्नुभएको हो? 
हो। तर, पैसा भए सबैथोक भइहाल्छ भन्ने चाहिँ होइन। समाजलाई उत्पादनसँग जोड्नुपर्छ, त्यसमा अवरोध हुँदा राजनीतिक संघर्ष गर्ने हो। उत्पादनलाई जनतातिर फर्काउने हो भने राज्य पनि जनताको हुनुपर्छ। जनताले गरेको उत्पादनलाई संरक्षण गर्न राज्यले जनताको बारेमा सोचिदिनुपर्छ। तर, राज्यलाई यस कुराको सरोकार छैन। 

हाम्रो नीति के छ भने, राजनीतिक संघर्ष पनि रोक्नु हुँदैन। 

जहाँसम्म क्रान्ति र बन्दुकको सवाल हो, अहिले बन्दुक बोकेर क्रान्ति हुने समय छैन। अहिले हामीले गर्ने भनेको राजनीतिक संघर्ष हो। 

कृषिकर्ममा पनि सक्रिय हुँदा राजनीतिक प्रभाव वृद्धिमा समेत सहज भएको होला नि! होइन? 
अतुलनीय प्रभाव परेको छ। बन्दुकको भन्दा उत्पादनको विषयले जनताको मन बढी छोएको छ। 

कयौँ माओवादीको साथीहरू आजकल भन्ने गर्नुहुन्छ, ‘होइन दाइ, यसरी गर्ने हो भने त हामी पनि लागिहाल्छौँ नि!’ 

संघर्षका विभिन्न स्वरूपहरू हुन्छन्। हिजो सामन्तवाद थियो, जनतालाई आफ्नो उत्पादनको अवरोध सत्ता हो र सामन्ती सत्ता हो भन्ने थियो। त्यसैले  उनीहरू विद्रोहको लागि तयार भए। 

अहिले कम्युनिस्टहरू सत्तामा पुगिसकेको अवस्था छ। ‘सरकारमा पुगेपछि के गरे त?’ भन्ने जनताको प्रश्न छ। यो प्रश्नको कुनै न कुनै जवाफ हामीले पनि दिनुपर्ने हुन्छ।  

बाबुराम भट्टराई ‘आर्थिक क्रान्ति’को, प्रचण्डले ‘उत्पादन ब्रिगेड’को कुरा गर्नुहुन्थ्यो। यति मीठा कुरा गर्दागर्दै उहाँहरू आर्थिक कार्यमा कहाँनेर असफल हुनुभयो? तपाईंहरू किन सफल हुनुभयो?
सिद्धान्त र नीतिको कुरा गरेर मात्र हुँदैन। सिद्धान्तलाई व्यवहारमा लैजाने खालको इच्छाशक्ति, तत्परता र सक्रियता पनि चाहिन्छ।

उहाँहरूले राजनीतिक कार्य र आर्थिक कार्यलाई जोड्न सक्नुभएको छैन। नेतृत्वको तहबाट जनता, पार्टीपंक्तिलाई विश्वस्त बनाउने र इमान्दारीपूर्वक पहल गर्ने कुराहरूमा उहाँहरूको कमी देखियो।

राजनीतिक गतिविधि र कृषिकर्मबीचको सन्तुलन कसरी मिलाउनुभएको छ?
कृषिकर्म पनि हाम्रा लागि राजनीतिक कर्म नै भएको छ। हामीले पार्टी प्रस्तावमा पनि लेखेका छौँ कि अबको राजनीतिको केन्द्र आर्थिक उत्पादन हो, आर्थिक कार्य हो। राजनीतिलाई आर्थिक कार्यमा मुखरित गर्न सकियो भने त्यो राजनीति जनतासँग जोडिन्छ। आर्थिक कार्यबिनाको राजनीति गरियो भने जनताले त्यसलाई विश्वास गर्ने छैनन्। 

जनताले धेरै हन्डर–ठक्कर खाइसके। राजालाई हेरे, कांग्रेसलाई हेरे, एमालेलाई हेरे, माओवादीलाई पनि हेरे। सबैलाई हेरिसकेपछि जनताको निष्कर्ष छ, ‘यिनीहरू तर्क र भाषणमा मात्र फरक हुन्। जीवनपद्धति, आचारव्यवहारमा चाहिँ फरक छैनन्।’ 

जनतामा परेको यही छाप तोड्न हामीले आफूलाई उत्पादन कार्यमा जोडेका हौँ। त्यहीकारण आजकल बाटोमा हिँड्दा, साथीभाइसँग भेट हुँदा उहाँहरूबाट अर्कै सद्भाव–सम्मान र सहयोग पाउन थालेका छौँ। यसले हामीलाई उत्साहित पनि बनाएको छ।  

जनताले पहिला शंकाले मात्रै हेर्ने गर्थे। अहिले ‘के सहयोग चाहियो, हामी गर्न तयार छौँ’ भन्न थालेका छन्। नेपाली जनतामा केही गर्ने चाहना छ। त्यही चाहना अनुसार हामी उत्पादन गर्नेतिर गएका छौँ। जनता पनि हामीसँगै उत्पादनमा हुनुहुन्छ। त्यहीकारण हाम्रो पार्टी र नेताहरूप्रति जनताको प्रश्न छैन।  

तपाईं माओवादी केन्द्रसँग एकता गर्न हतारिए जस्तो, तर प्रचण्ड एकता गर्नु नपरोस् भनेर भागेजस्तो र यस्तो व्यवहारले तपाईंलाई निराश बनाए जस्तो देखिन्छ। खासमा एकता कता पुगेर रोकियो?  
छलफल त प्रचण्ड कमरेडसँग निकै राम्रोसँग हुन्छ। तर कार्यान्वयनको पाटोमा जाँदाखेरि कता हराउँछ कता! एउटा नेताले एउटा कुरा भन्छ, अर्काे नेताले अर्काे कुरा! यसले गर्दा उहाँ (प्रचण्ड) पनि दिक्क भएको जस्तो लाग्छ। 

मेरो अस्ति पनि कुरा भएको थियो, ‘हेर्नुस् न विप्लवजी, यस्तो भयो’ भन्दै हुनुहुन्थ्यो। 

पदाधिकारी तहका कतिपय नेताहरू चाहिँ ‘खोइ, एकताबारे हामीलाई थाहै छैन’ भन्नुहुन्छ। कतिपय नेताहरू ‘होइन, छिट्टै एकता भइहाल्छ, एक हप्ताभित्रै हुन्छ’ भन्नुहुन्छ। 

कतिपयले ‘फुटेर केही गर्न नसकेपछि जाने कहाँ हो र, हामीकहाँ नै आउने त हो नि!’ भनेजस्तो कुरा गर्नुहुन्छ। 

यो सब हेर्दा मलाई लाग्छ– माओवादीमा एकतालाई बुझ्ने दृष्टिकोणमा उहाँहरूबीच नै राम्रोसँग छलफलको अभाव छ।

माओवादी केन्द्रभित्रको अन्तरसंघर्षले एकतामा असर पारेको हो कि! 
अवश्य हो। तर, हामीसँग सबैको राम्रो सम्बन्ध छ। यसपटक मैले सबैलाई भेटेँ। कमरेड प्रभाकर (जनार्दन शर्मा), कमरेड अनन्त (वर्षमान पुन) कमरेड गुरुङ (देव गुरुङ), कमरेड सुमन (हितमान शाक्य), कमरेड महरा (कृष्णबहादुर महरा), पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ सबैसँग कुरा गर्दा भने राम्रै छ भन्ने देखिन्छ फेरि।   

यसको मतलब, माओवादीभित्रको स्थितिले तपाईंहरूलाई नै दिग्भ्रमित बनाएको छ!    
त्यसैले, एकताको विषय अहिलेका लागि स्थगित भनेर हामीले भनिसकेका छौँ। तर, छलफल भने जारी राख्ने कुरा भएको छ। 

हामीले एकताको विषय पारित गरेको लगभग १० महिना भइसक्यो। तर, पछिल्लो बैठकपछि हामीले भनेका छौँ, ‘माओवादी पार्टीले नै ठोस निर्णय नलिएसम्म हामीले एकताको बढी कुरा गरिराख्नुको अर्थ छैन।’ 

माओवादी केन्द्रभित्रका गुट–उपगुटहरूले तपाईंहरूसँगको एकताको विषयलाई आफू बलियो बन्ने र अर्काेलाई कमजोर बनाउने दाउपेचको रूपमा प्रयोग गर्न खोजिरहेका छन् भन्दा ठीक हुन्छ? 
यो माओवादीभित्रको कुरा पर्‍यो, त्यो कुरा मैले किन भनौँ! त्यहाँभित्रको स्थिति सबैले अनुभूति गरेको कुरा हो। 

तर, माओवादीका ७० प्रतिशतभन्दा बढी युवाहरू ‘एकता आजै होस्, भोलि होस्’ भन्ने चाहनुहुन्छ। देशभरि पुगेको बेला मैले यस्तो भावना पाएको छु। 

एकताका लागि हामीभित्र ठूलो छटपटी छ, बेचैनी पनि छ। किनकि, माओवादी भनेको देशको नेतृत्व गर्नुपर्ने आन्दोलन हो। सामान्य सुकुम्बासीदेखि नेपालका राष्ट्रिय पुँजीपतिहरू– जसले देशको उद्योग, धन्दा, कलकारखाना सम्हालेका छन्– को मर्मबोध गर्न सक्ने शक्ति हो माओवादी। 

यो आन्दोलनमा निकै धेरै मान्छेको मेहनत, श्रम परेको छ। रगत र पसिना बगेको छ। 

त्यसैले पनि हाम्रो दायित्व धेरै उच्च छ। यो आराम गर्ने बेला होइन, मोजमस्ती गर्ने, सुखको सास फेर्ने बेला पनि होइन। नेपाली जनता खुसी नभएसम्म लगातार मेहनत गरिरहने बेला हो। त्यसैले एकता आवश्यकताबोध निकै उचाइबाट गर्न जरुरी छ।

एकता भयो भने विप्लवले पार्टी कब्जा गर्न खोज्लान् भन्ने डरले पनि हो कि!  
त्यो त हामीलाई थाहा छैन। तर हामीले जनतालाई प्रस्टसँग भनेका छौँ– यो देशमा केही गर्ने चाहना हामीमा छ।

माओवादीबाट फुटेर गएको त तपाईंहरू नै हो। फुटेर गलत गरियो भन्ने ‘रियलाइजेसन’ चाहिँ छ कि छैन?
‘फुट’ भन्ने शब्द अलिक टर्रो–टर्राे, नमिठो–नमिठो शब्द हो। तर, हाम्रो दृष्टिकोणमा त्यो बेला माओवादीभित्र केही गम्भीर समस्या देखेर हाम्रो टिमले विद्रोह गरेको हो।

मैले प्रत्यक्ष रूपमा सबै कुरा आफ्नै आँखाले देखेको छु। २०६४–६५ सालतिर म पार्टीको अर्थविभाग प्रमुख थिएँ। २०६४ मा काठमाडौं आउँदा जीवनयापनका लागि मासिक खर्चबापत पार्टीले हामीलाई दिने खर्च ३ सय रूपियाँ थियो। नेताहरूको हकमा कहिलेकाहीँ अफिसियल आवश्यकताले खर्चमा तल–माथि पनि हुन्थ्यो। 

आधार क्षेत्रबाट सहर आउँदा मैले आफ्नो जिम्मामा रहेको ७ किलो सुन पार्टीलाई बुझाएको थिएँ। अर्थात् हामीसँग साधन–स्रोत पनि धेरै थियो। 

काठमाडौं आएर जनयुद्धमा हामीले गरेको दुःख जनताको आँगनमा पुगेर प्रत्यक्ष रूपमा देखाउने, उनीहरूसँग सहकार्य गर्ने हाम्रो इच्छा थियो। तर, मैले त्यो स्थिति देखिनँ। 

अन्तरिम व्यवस्थापिका–संसदमा हाम्रा ७३ जना साथीहरू जानुभएको थियो। उहाँहरूले मासिक १० हजार मात्रै लिनुहुन्थ्यो। बाँकी रकम सबै पार्टीलाई बुझाउनुहुन्थ्यो। 

को–को अन्तरिम व्यवस्थापिका–संसदमा जाने भन्ने निर्णयका लागि भक्तपुरमा बैठक भयो। तर, संसदमा जान एकजना साथी पनि तयार हुनुभएन। मेरो ख्यालमा प्रभाकर (जनार्दन शर्मा) मात्रै हुनुहुन्थ्यो, जसले सबैभन्दा पहिले ‘म जान्छु’ भन्नुभयो। यो रमाइलो प्रसङ्ग थियो। 

‘सरकारमा गए त्यहीँ हराइन्छ, अवसरवादी भन्ने आरोप खाइन्छ’ भन्ने भावना सबैजसो साथीहरूमा थियो। यद्यपि त्यो सोचलाई अहिले एकलकाँटे भन्न सकिएला। 

कोही साथीहरू जान नमानेपछि ‘फलाना–फलाना जानुस्, महिलाको तर्फबाट फलाना... श्रमिकको तर्फबाट फलाना...’ भनेर पार्टीले निर्णय गर्नुपरेको थियो। 

संसदमा गएपछि प्राप्त तलबमध्ये १० हजार मात्रै आफूले लिएर बाँकी रकम पार्टीलाई बुझाइन्थ्यो। जनमुक्ति सेनाले क्यान्टोनमेन्टमा ५ हजार पाउनुहुन्थ्यो, त्यसको २ हजार रूपैयाँ पार्टीमा आउँथ्यो। त्यो बेला ३ हजार रूपियाँ पनि हामीलाई ठूलो लाग्थ्यो। 

यसबाट कल्पना गरिहेरौँ त– हाम्रो सपना त्यो बेला कस्तो थियो होला! त्यो सपनालाई जनताको पक्षमा प्रयोग गरेको भए अहिले हामी कहाँ पुग्थ्यौँ होला! 

तर तिनै हामी माओवादी एक वर्ष नबित्दै विस्तारै २० हजार, ३५ हजार माग्ने हुन थाल्यौँ। त्यसपछि पार्टीलाई कत्ति पनि रकम नदिनेमा पुग्यौँ। संसदमा को जाने भन्नेमा हानथाप सुरु हुन थाल्यो, झगडा नै पर्न थाल्यो। माओवादीको विचलन त्यहीँबाट सुरु भयो। 

मैले त्यहीबेला अध्यक्षलाई भनेको थिएँ, ‘यस्ता कुरालाई सच्याउन सकेनौँ भने माओवादी ध्वस्त हुन्छ है!’ 

त्यसपछि हामीलाई चित्त बुझेन। अनि हामी पार्टी छाडेर हिँड्यौँ। नमीठो भाषामा त्यसलाई ‘फुट’ भन्नुस् वा जे भन्नुस्, तर म चाहिँ त्यसलाई ‘हामीले सचेततापूर्वक गरेको विद्रोह थियो’ भन्न चाहन्छु।  

तपाईं क्रान्तिकारी भावनाको हुनुहुन्छ। तर निर्णय भावनामा गर्नुहुन्छ। तपाईंको भरथेग नपाएको भए सायद त्यो बेला मोहन वैद्य (किरण) ले पनि पार्टी विभाजन गर्नुहुन्न थियो होला, होइन? 
त्यो त म अहिले भन्न सक्दिनँ। 

विभिन्न कोणबाट हेर्दा विश्लेषण गर्ने क्रममा मनस्थितिमा विभिन्न खालका तरंग उठ्छन्। तर विद्रोह गरेर गल्ती गरियो भन्ने चाहिँ मलाई लाग्दैन। 

‘माओवादी खत्तम भयो’ भन्ने सोच हामीमा छैन। विद्रोहका बेला पनि हाम्रा दुई चाहना थिए। 

एक, ठीक छ, माओवादीले आफ्नो ठाउँबाट कति गर्न सक्छ, गरोस्। 

दुई, तर, त्योभन्दा राम्रो गर्ने विकल्प पनि छ नि! त्यो हामी गर्छौँ। 

त्यो हामीले गर्‍यौँ पनि। कैयौँ साथीलाई ‘यिनीहरूले के गरे त!’ भन्ने पनि लाग्दो हो। तर ‘के गर्‍यौँ, के गरिरहेका छौँ’ भन्ने कुरा अहिले हामीले भनिरहनु पर्दैन जस्तो लाग्छ।

माओवादी विभाजनपछि २०७० मा चुनाव भयो। त्यो चुनावमा प्रचण्ड जहाँ–जहाँ जानुहुन्थ्यो, तपाईंहरू त्यहाँ–त्यहाँ बम पड्काउँदै हिँड्नुहुन्थ्यो। प्रचण्डको भाषामा भन्दा ‘तपाईंहरूले उहाँलाई मार्नै खोज्नुभएको थियो’, होइन त!  
उहाँलाई मार्न खोजेका थियौँ भन्ने एकदम गलत कुरा हो।

प्रचण्डसँग बस्दा ती घटनाबारे कुराकानी हुन्छ कि हुँदैन?  
अस्ति भर्खर अनन्त (वर्षमान पुन) जीसँग बस्दा पनि कुरा भयो। उहाँ (अनन्त) ले फ्याट्ट ‘म त झन्डै मरेको थिएँ’ भन्नुभयो।

‘मार्नका लागि’ र ‘विरोधका लागि’ बम पड्काइनु फरक–फरक कुरा हुन्। हामीले उहाँहरूलाई मार्नै खोजेका थियौँ भन्ने कुरा सत्य होइन। चुनावलाई असफल पार्ने सांकेतिक आन्दोलन वा विद्रोहको रूप मात्र थियो त्यो। 

हामीले मार्नै खोजेका थिएनौँ भन्ने कुरा उहाँहरूले पनि बुझ्नुभएको छ। तर, बम नजिकै पड्कियो भनेपछि ‘ओ हो, के–के पो भयो’ भन्ने लागेको होला। 

भनिन्छ कि, तपाईं (अनन्त र विप्लव) हरू दुवैजना रोल्पाका र माओवादी आन्दोलनमा समकालीन पनि भएकाले चुनाव बहिष्कारको नाममा ‘अनन्त’ लाई निसाना बनाइएको हो.... 
यो एकदम गलत कुरा हो। मनोगत भनिन्छ नि, त्यस्तै कुरा हो यो। अध्यक्ष प्रचण्डलाई पनि यस्तै लाग्दो हो। 

उहाँले भन्नुपनि भयो, ‘झन्डै एक मिनेट कि दुई मिनेटले बाँचेको थिएँ।’ 

तर, व्यक्तिगत रूपमा उहाँहरूलाई नै निसाना बनाएर आक्रमण गरिएको होइन। यो कुरा मैले अस्ति अनन्तलाई पनि भनेँ। उहाँ (अनन्त) सँग कुनै त्यस्तो प्रतिस्पर्धा, दुःखमनाउ केही पनि होइन। यस विषयमा सरल ढंगले कुरा गरिएको छ। 

चुनाव बहिष्कार प्रचण्ड र अनन्त विरुद्धमा होइन। त्यसको सरोकार सिंगै राज्यसँग थियो। त्यसक्रममा एनसेलसँग संघर्ष भयो। म्यानपावर कम्पनीहरूसँग संघर्ष भयो। मिटरब्याजीहरूसँग, भ्रष्टाचारीहरूसँग संघर्ष भयो। त्यसक्रममा पक्राउ पर्नुभएका कतिपय साथीहरू अहिले पनि जेलमै हुनुहुन्छ।   

एकता भयो भने सिनियारिटीमा अगाडि र को पछाडि हुने भन्ने विषय समस्या बन्दैन? 
बन्दैन। मैले उहाँहरूलाई भनिसकेको छु, ‘तपाईंहरू को के हुने हो, हुनुस्। तर एकता गरौँ, एकताको विषयमा छलफल गरौँ।’

हामी एकताका लागि हाम्रो भूमिका पूरा गर्न चाहन्छौँ। हाम्रो चाहना पार्टीलाई राम्रो बनाउने हो। असल कम्युनिस्ट पार्टी बनाउने हो। जनताको सुखदुःखमा भाग लिने असल कम्युनिस्ट पार्टी बनाउने हो। 

हामीले चाह्यौँ भने युवा छँदा हामीले परिकल्पना गरेजस्तो कम्युनिस्ट पार्टी बन्छ, बनाउन सकिन्छ भन्ने हामीलाई थाहा छ।

मैले धेरै घमण्ड गर्न खोजेको त होइन। तर नेकपामा नेता र कार्यकर्ताको पंक्ति खटेको देख्दा हामीलाई धेरै खुसी लाग्छ। अहिले श्रममा भाग लिने विषय कुनै लज्जाको विषय छैन, बरु गौरवको विषय बनेको छ। दुःखकष्ट गर्ने कुरामा पार्टीभित्र कुनै दुःखमनाउ छैन।

तपाईंहरूको यो पक्षचाहिँ धेरैले राम्रो मानेका पनि छन् ... 
हामीले सिंगै नेपाललाई बनाउनुपर्छ के सर! नेकपाले मात्रै यो काम गरेर हुँदैन। हामीले अहिले जे गरिरहेका छौँ, नेपालका बुद्धिजीवी, युवा, व्यवसायी साथीहरू यसलाई दुखको काम भन्छन्। म चाहिँ यसलाई आफ्नो दायित्व मान्छु, गौरवको कुरा ठान्छु। 

जब हामी यो काम सबैलाई सिकाउन सक्छौँ, त्यो दिन हाम्रो देश अर्कै बन्छ, हामीले गौरव गर्ने खालको देश बन्छ भन्ने मलाई साँच्चै लाग्छ।

तपाईं माओवादीको एकताका लागि हतारमा हुनुहुन्छ, ‘देशको जिम्मा हामीलाई दिनुस्’ पनि भन्नुहुन्छ। यी सबै कुरा हेर्दा तपाईंलाई ‘सत्तामा चाँडै जानुपर्छ’ भन्ने लाग्न थालेको देखिन्छ। होइन त! 
सत्तामा जाने विषय ढाँट्नुपर्ने कुरा होइन। अरू कुनै लोभलालचका कारणले सत्तामा जान चाहन्छौँ भनेका पनि होइनौँ। 

हाम्रो देश धेरै नै ‘ह्युमिलेट’ भयो। हाम्रो देशलाई धेरै हेपियो। नेपालका युवाहरूमा हीनताबोध छ। युवाहरू हीनताबोधमा भएकाले देश नै हीनताबोधमा छ। 

‘हामी अर्काको देशमा काम गर्न जाने मान्छे, देशमा केही नहुने देशका मान्छे भयौँ’ भन्ने भावना छ। जतापट्टि हेरे पनि निराशा देखिने भएको छ हाम्रो देश। अँध्यारोले छाएजस्तो भन्ने भएको छ। यस्ता कुराले हामी सबैलाई पीडा हुन्छ नि! 

युवाहरूमा जब हीनताबोध पैदा हुन्छ, त्यसले आक्रोश पैदा गर्छ। त्यो आक्रोश अराजकतातिर गइरहेको देखिन्छ। के सही हो, के गलत हो भन्ने छुट्ट्याउने भन्दा एकदम लथालिङ्ग हुने खतरा छ। 

निराशाले विसर्जन जन्माउँछ। परिवारमा पनि त्यो जन्मिन्छ, देशमा पनि जन्मिन्छ। 

हिन्द–चीनलाई फ्रान्सेलीहरूले सजिलै कब्जा गरे। पानीजहाजबाट कति नै फ्रान्सेली सैनिकहरू त्यहाँ गए होलान् र! बढी गए पाँचै हजार त गए होलान्! त्यो बेला त्यति ठूला जहाज पनि थिएनन्। तर, उनीहरूले करोडौँ जनतालाई सजिलै कब्जा गरे। 

त्यसको कारण थियो, त्यहाँका शासकहरूसँग जनताको आशा मरेको थियो। 

आज हाम्रो देश पनि त्यस्तै–त्यस्तै ठाउँमा पुग्दै छ। त्यस्तो नहोस्, त्यो नहोस् भन्नका लागि ‘हामीलाई एकचोटि अवसर दिनुस् न त’ भनेका हौँ। 

हो, हामीलाई समयमै अवसर दिनुस्। ‘कसरी कार्यकारी प्रधानमन्त्री चलाउनुपर्छ, कसरी जनताको सेवा गर्नुपर्छ’ भन्ने कुरा देखाउने मन हामीलाई छ। आलिसान महलमा बसेर, खुट्टो हल्लाउँदै कुनै महाराजले जस्तो ‘फर्मान’ गर्ने चाहना होइन, सत्तामार्फत् जनताको सेवा गर्ने चाहना छ। गोरुजस्तो जोतिएर काम गर्ने चाहना छ।  

सबैजसो दलहरू ‘मिसन–८४’ (चुनाव) मा छन्। सत्तामा पुग्ने योजनाका साथ तपाईंहरूले पनि ‘मिसन–८४’ बनाउनु भएको छ कि!  
२०८४ को सामना हामी पनि गर्छौँ।  

चुनाव लड्नुहुन्छ?
लड्छौँ। जनतालाई एकचोटि अपिल पनि गर्छौं। मैले सबै कम्युनिस्ट पार्टीलाई भनेको पनि छु, ‘हामी एक्लाएक्लै लड्दा जनतालाई पीडा हुन्छ। त्यसैले मोर्चा बनाएर हुन्छ कि कसरी हुन्छ, सबै वामपन्थी पार्टीहरू एकजुट भएर चुनाव लडौँ।’ 

यो कुरा पुरानो पुस्ताका नेताहरूले सोच्नुस्। हामीले तपाईंहरूलाई २०–३० वर्ष, ४० वर्ष मौका दियौँ। फेरि पनि राष्ट्रपति बन्ने हो कि प्रधानमन्त्री, तपाईंहरू नै बन्नुस्। तर एकताबद्ध भएर अघि बढ्ने मौका हामीलाई दिनुस्। 

जे गर्ने हो, असल तरिकाले गरौँ। एकले अर्काेलाई छेडखानी गरेर, शासकले जनतालाई डण्डा बर्साएजसरी हामी कम्युनिस्टहरू जानुहुँदैन। देश बनाउने मानसिकताबाट हामी अघि बढ्नुपर्छ। हाम्रो चाहना यही हो। यो कुरा अलिअलि ‘आदर्शवादी’ जस्तो देखिएला। तर सत्य कुरा त यही हो।  

चुनावी एकता समाजवादी मोर्चामा आबद्ध पार्टीहरूबीच हुनुपर्छ भन्ने तपाईंको धारणा हो? 
मिल्छ भने समाजवादी मोर्चामा आबद्ध दलहरूबीच गर्दा भयो। एक्लै लडेर जित्छु भन्ने घमण्ड एमालेले पनि नगर्दा हुन्छ। 

के भन्न खोज्नुभएको! 
‘एक्लै लड्छौँ जित्छौँ, हामीलाई कोही चाहिन्न’ भन्नुहुन्छ नि उहाँहरू! तर, नेपालका जनता समाजवाद समर्थक, कम्युनिस्ट समर्थक हुन् भन्ने कुरा उहाँहरूले बुझ्न जरुरी छ।   

एमालेसँग पनि तालमेल हुन सक्छ कि सक्दैन?  
एमालेले कसरी सोच्छ, त्यो उसको कुरा हो। तर हाम्रो चाहना चाहिँ कम्युनिस्टहरूको एउटै मोर्चा बनाएर, त्यसलाई असल आन्दोलन बनाएर र कम्युनिस्ट आदर्श अनुसार काम गर्ने छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तपाईंको सम्बन्ध राम्रै छ। एमालेसँग चुनाव एकता हुन सक्ला नि!  
त्यो त अहिले म भन्न सक्दिनँ। छलफल हुँदा उहाँहरूका विभिन्न सीमा देखिन्छन्। तर, एक भएर जाँदा कम्युनिस्ट जनमत ६०–६५ प्रतिशत अवश्य पुर्‍याउन सकिन्छ। ७० प्रतिशत समेत पुग्नसक्छ। 

तर, एकताको कुरा गर्दा अन्तिममा नेतृत्व कसले गर्ने भन्ने कुरामा गएर अड्किन्छ, विभाजन पनि नेताहरूकै ‘इगो’ का कारणले हुन्छ। यो समस्याको समाधान कसरी हुन्छ?  
यो विषयलाई एउटा लयमा हेर्नुपर्छ। पार्टी, संसद्, सरकार, न्यायपालिका, जनता– यी सबै पक्षलाई एक सेटमा राख्न सक्नुपर्छ। कार्यविभाजनमार्फत् एकजना कमरेडले पार्टी नेतृत्व गर्ने, अर्काे टिमले सरकारको नेतृत्व गर्ने, एउटा टिमले संसदको नेतृत्व गर्ने र सल्लाह गरेर काम गर्ने हो भने समस्या आउँदैन। ज्ञान सबैसँगको संवादबाट आउने हो। यो कुरा पार्टीभित्र सन्तुलित ढंगले राख्न सकियो भने समस्या आउँदैन। सबै हन्डरठक्कर खाएर देखियो नि त!  

कतिपय नेताले अहिले पनि भन्छन्– नेकपाकालमा ओलीले सरकार, प्रचण्डले पार्टी र माधव नेपाल–झलनाथ खनालले संसदको नेतृत्व गरेर गएको भए त्यो पार्टी विभाजित हुँदैनथ्यो , तपाईंलाई त्यस्तो लाग्छ?   
एकदमै राम्रो हुन्थ्यो। यो बुझाइमा उहाँहरू केन्द्रित हुनुपथ्र्याे। त्यसो गरेको भए कार्यविभाजन ठीक हुन्थ्यो। 

शान्ति प्रक्रियालाई संविधान सभामा केन्द्रित गर्न हामी सबै पार्टी सहमत थियौँ नि! त्यसैरी नै सबै कम्युनिस्ट नेताहरूको बीचमा ‘यो चार वर्षमा देशलाई यहाँ पुर्‍याउने हो, आर्थिक ढंगले त्यहाँसम्म लैजाने हो’ भन्ने ढंगले साझा अवधारणा हुनुपथ्र्याे, त्यसो गर्दा सबैमा यो हाम्रै पार्टी हो भन्ने भावना पैदा हुन्थ्यो। 

दोस्रोपटक प्रधानमन्त्री भएका बेला ओलीसँग सम्झौता गरेर खुला राजनीतिमा आउनुभयो। नेकपाभित्र आफू बलियो बन्न ओलीले दाउपेचको रूपमा तपाईंलाई प्रयोग गर्नुभयो भन्ने एकथरीको विश्लेषण छ। 
त्यो सम्झौता हामी प्रचण्ड कमरेडसँग गर्न चाहन्थ्यौँ नि त! तर सम्झौता गर्न केपी कमरेड आइपुग्नुभयो। वास्तवमा हामीमाथि प्रतिबन्ध उहाँले नै लगाउनु भएको थियो, जुन गलत थियो। तर, हामीमाथि प्रतिबन्ध लगाइँदा उहाँ (ओली–प्रचण्ड) हरू सँगै नै हुनुहुन्थ्यो। 

उहाँहरूबीच भर्खर एकता भएको थियो। उहाँहरूको जोसजाँगर आकाश छुने खालको थियो। त्यहीबेला उहाँहरूले हामी माथि प्रतिबन्ध लगाउनुभयो।  

पछि केपीजीले हामीकहाँ आफ्नो प्रतिनिधि खटाउनुभयो। हामीले पनि वार्ताटोली बनायौँ। छलफल चल्यो, एउटा अवधारणा बन्यो अनि हामी आयौँ। 

त्यसक्रममा कतिपय मानिसलाई लाग्यो होला, ‘अब यिनीहरूले एमालेसँगै एकता गरिहाल्छन्, सरकारमै जान्छन्।’ यस्तो हल्ला चलाउनेमा माओवादीका साथीहरू थिए। दुई दिन पनि नटिक्ने हल्लामा आफ्नो भविष्य देख्नु हुँदैन। 

सम्झौता भएपछि यिनीहरू एमालेमा जान्छन् भनेर चलाइएको हल्ला पनि झुटो थियो, मनोगत थियो। यस्तो झुटो कुरा गरेपछि भोलि जवाफ दिन आफैलाई गाह्रो हुन्छ। हामीले त एमालेसँग एकता गर्न लागेका होइन है’ भनेकै थियौँ। तर ‘होइन’ भनेर दमाहा नै बजाउँदै हिँड्ने कुरा भएन। 

‘अहिले पनि विप्लवले समाजवादी मोर्चा स्थगित गरौँ भन्नुको अर्थ, प्रभाकर र घनश्याम भूषालसँग कार्यक्रम गर्नुको अर्थ उतै जान लागेका हुन्’ भन्ने हल्ला चलाइँदैछ। 

ओलीजीलाई चाहिँ के परेको छ भने, ‘यिनीहरूले समाजवादी मोर्चा बनाए, अब एकता गरिहाल्छन्।’ 

यस्तो कुरामा नेताहरूले अलिक गम्भीर भएर सोच्नुपर्छ। वस्तुवादी र व्यावहारिक ढंगले सोच्नुपर्छ।

प्रचण्ड बेला–बेला भनिरहनु हुन्छ– शान्ति प्रक्रियामा आएपछि विप्लवलाई हेडक्वार्टरमा ल्याउनुसाटो रोल्पा–रुकुममा छाडेर आउनु नै गलत भयो, त्यहीकारण तपाईं विद्रोही बन्नुभयो। यो कुरामा कत्तिको सत्यता छ?  
उहाँलाई त्यस्तै लाग्दो हो। तर, त्यो भावनात्मक कुरा मात्रै हो। उहाँ (प्रचण्ड) र म मिल्ने पनि हो। म अहिले पनि भन्छु, पुरानो पुस्तामा छिनेर छलफल गर्न सजिलो हुने, कुरा पनि छिटो बुझ्नसक्ने मानिस प्रचण्ड कमरेड नै हो। त्यसैले उहाँसँग कुराकानी गर्न मलाई सजिलो पनि लाग्छ। 

तर, जहाँसम्म काठमाडौँ आउने प्रसङ्ग हो, काठमाडौँमा जस्तो खालको हाम्रो जीवनपद्धति सुरु भयो, हाम्रा क्रियाकलापहरू जस्ता हुँदै गए, त्यसमा चाहिँ हामीबीच एकमत हुन सकेन। 

अहिले यहाँ भन्नुपर्ने, उहाँले गल्ती गरेको विषय के हो भने, जनयुद्धको जुन सबैभन्दा आक्रामक र सफल टिम थियो, शान्ति प्रक्रियाको मोर्चामा आएपछि उहाँले त्यो टिमलाई ‘डिफेन्सिभ’ बनाइदिनुभयो। 

लडाइँको मोर्चा बरु एकोहोरो तर शान्तिको मोर्चा चौतर्फी हुँदो रहेछ। शान्तिको मोर्चालाई सफल बनाउने काम चानचुने हुँदैन। तर, त्यो सफल र आक्रामक टिमलाई प्रचण्डले ‘डिफेन्सिभ’ बनाइदिनुभयो, प्रचण्ड यहीँनिर चुक्नुभयो।  

तपाईंहरू पनि विभाजित नभई शान्ति प्रक्रिया सम्बन्धी प्रचण्ड वा बाबुरामकै लाइनलाई सहयोग गरिदिएको भए माओवादीहरू यसरी रक्षात्मक हुनुपर्दैनथ्यो कि!  
बाबुरामजीलाई त हामीले प्रधानमन्त्री नै बनाएको हो नि! उहाँलाई प्रधानमन्त्री बनाउँदा कत्रो हङ्गामा मच्चियो! त्यो कुरा सम्झँदा अहिले पनि साथीहरूलाई पीर पर्छ। ‘धोबीघाट प्रकरण’ भनेपछि मान्छेको मन अहिले पनि कहाँ हो कहाँ जान्छ!

सामान्य अवस्थामा बाबुरामको पक्षमा बहुमत संसद् र बहुमत पार्टी भन्ने कुरा असम्भव कुरा हो नि! तर, धोबीघाटले त्यसलाई सम्भव बनाएको थियो। 

बाबुरामजीलाई प्रधानमन्त्री बनाएको हामीले नै हो। तर उहाँले पनि सक्नुभएन। उहाँले एक रातमै (हामीसँगको) सहमति तोड्नुभयो।  

त्यो सहमति के थियो? 
सरकार कसरी बनाउने, कसरी काम गर्ने भन्ने थियो। 

सरकार चलाउने सन्दर्भमा कमजोरी भएकै हो?
कमजोरीकै कारण हामी सरकारमै गएनौँ नि! 

यो घटनालाई प्रचण्डको कोणबाट हेर्दा ‘धोबीघाट प्रकरण षड्यन्त्रात्मक घटना थियो’ भन्ने देखिन्छ होइन, त्यसो भए! 
षड्यन्त्रात्मक चाहिँ होइन। तर प्रचण्ड कमरेडको चाहना विपरीतको एउटा मोर्चा चाहिँ हो त्यो। त्यतिबेलाको हकमा त्यो धेरै शक्तिशाली मोर्चा थियो। मेरो विचारमा त्यो एउटा मात्रै त्यस्तो मोर्चा हो, जहाँ आफ्नो जिन्दगीमा प्रचण्ड कमरेड पहिलोपटक अल्पमतमा पर्नुभयो। 

राजतन्त्र फर्कने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न? 
सम्भव छैन। राजनीतिक रूपमा त्यो प्रवृत्ति (राजतन्त्र फर्कने कुरा) ले नेपालको अहिलेको जनताको अपेक्षाको नेतृत्व गर्दैन। हो, जनतामा निराशा छ। तर सात–दसवटा राजाभन्दा बरु एउटै राजा ठीक भन्ने जुन कुरा सुनिन्छ, यो ‘सेन्टिमेन्टल’ कुरा मात्र हो। 

राजा आएर के हुन्छ त! उहाँहरूसँग नै यसको जवाफ छैन। आर्थिक क्षेत्रलाई उहाँहरूले कसरी सुव्यवस्थित गर्नुहुन्छ? राजनीतिक अस्थिरता लगायतका समस्या समाधान कसरी गर्नुहुन्छ? अहिलेसम्मको परिवर्तनले आफ्नो अधिकार सुनिश्चित गर्न नसकेका जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, युवाहरूको रोजगारीको समस्याको सम्बोधन कसरी हुन्छ?  

समस्या समाधान गर्न सक्ने–नसक्ने दोस्रो विषय भयो। तर, जनतामा जुनस्तरको निराशा र दलहरूको जस्तो कार्यशैली छ, त्यसले गर्दा जनता अन्यथा निर्णय गर्ने विन्दुमा नपुग्लान् भन्न सकिन्छ? 
अहिले कम्तीमा विरोधको सुनुवाइ त हुन्छ। राजनीतिक प्रतिस्पर्धाको अवसर पनि छ। राज्य छ, जनता पनि छन्। उनी (राज्य र जनता) हरू राजतन्त्र फर्काउने कुरा स्वीकार गर्दैनन्। 

अर्को कुरा, जनताको चाहना त समाजवाद नै हो नि! नेपालमा जुन ७० प्रतिशत कम्युनिस्ट जनमत छ, त्यो पैसाले पुर्‍याएको होइन। 

कम्युनिस्टहरूले जनतासँग गरेको अन्तरक्रिया र ज्ञानको आधारमा पुगेको हो। 

जनताको चाहना त्यस्तो समाजवाद हेर्ने छ, जहाँ सबैका लागि शिक्षा–स्वास्थ्य निशुल्क होस्, रोजगारी पाइयोस्।

अहिलेको पुँजीवादले पनि यो सपना पूरा गरेन। यो सपना राजतन्त्रले पूरा गर्छ त? गर्दैन।  

राजावादीहरूले आन्दोलनका क्रममा तपाईंहरूसँग सम्पर्क गरे कि गरेनन्?
उहाँहरूले सम्पर्क गर्नुभएको थियो। उहाँहरूसँग छलफल पनि चलेको हो। अहिले पनि चलिरहन्छ।

ज्ञानेन्द्र शाहसँगै कुराकानी भएको हो? 
होइन। कहाँ कुरालाई त्यहाँसम्म पुर्‍याउनु भएको! 

त्यहाँ पनि राजनीतिक मान्छेहरू छन् नि, उहाँहरूसँग कुराकानी भएको हो। ‘राष्ट्र, राष्ट्रवाद’ भन्दै आउनुहुन्छ, उहाँहरूसँग छलफल चलिरहेको छ। 

तर मैले उहाँहरू सबैलाई इमान्दारीपूर्वक भन्ने गरेको छु, ‘हामीले सम्भव हुने कुरा मात्र गर्नुपर्छ। कसैलाई प्रयोग गर्ने उद्देश्यले ‘हुन्छ नि त’ भनेर म भन्दिनँ, यस्तो गर्न मिल्दैन। आज हुन्छ भनेर के गर्ने, भोलि त देखिइहाल्छ।

त्यसैले जे कुरामा सहकार्य सम्भव हुन्छ, त्यसमा सहकार्य गरौँ। जुन कुरा सम्भव छैन, त्यो कुरै नगरौँ भनेर मैले उहाँहरूलाई भनेको छु।  

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad