जेनजी आन्दोलनले ‘हामी नेपाल’ नामक एक गैरसरकारी संस्थाका अगुवा सुदन गुरुङलाई अग्रभागमा ल्याइदिएको छ। अहिले जेनजीका तर्फबाट आधिकारिक आवाज नै सुदन हुन् भनेजसरी सरकारले पनि उनलाई ‘भाउ’ दिइरहेको छ।
प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम प्रस्ताव गर्नेदेखि संसद विघटन र अन्तरिम सरकार गठन गर्ने प्रक्रियामा खुलेरै उनले देखिने गरी दबाब दिएका थिए। जेनजी आन्दोलनमा स्वयं सेवक बनेर गएका सुदन कसरी अहिले अग्रभागमा पुगे? यो जिज्ञासा त छँदै छ, साथसाथै अहिले उनै सुदन पार्टी गठन गर्ने भन्दै प्रदेश–प्रदेशमा संयोजक तोकिरहेका छन्।
यस्तै हालै सुदनकै अगुवाइमा सरकारसँग वार्ता गर्ने भन्दै एउटा समिति घोषणा गरिएको छ, जुन समितिमा सुरुवाती दिनदेखि यस आन्दोलनमा रहेका कतिपय अगुवा युवाको नाम भेटिँदैन। तिनैमध्येकी एक हुन्, तनुजा पाण्डे।
भिडिओ
तनुजाका बुझाइमा सुदन आफै केही विराधाभासमा छन्। न वैचारिक स्पष्टता, न कार्यशैलीमा पारदर्शिता। त्यसैले उनले गठन गर्ने दलले आन्दोलनका तर्फबाट वैधता पनि प्राप्त गर्न नसक्ने उनको ठम्याइ छ।
‘पार्टी खोल्न पाइन्छ, बहुदलीय लोकतन्त्रको यो सुन्दर पक्ष हो,’ पाण्डे भन्छिन्, ‘यसलाई स्वागत गर्नुपर्छ। नयाँ ऊर्जाका साथ दल निर्माण गर्छौँ भन्नु एकदमै राम्रो कुरा हो। तर यो भनिरहँदाखेरि जेनजी आन्दोलन सकिँदा नसकिँदै जेनजी पार्टी भन्दै आफै समिति गठन गर्दै हिँड्ने कुराले कुनै वैधता प्राप्त गर्न सक्दैन। किनभने हामी पनि जेनजी हो। हामीसँग अरु धेरै साथीहरु हुनुहुन्छ। उहाँहरु पनि जेनजी हो। उहाँ (सुदन) ले पार्टी बनाउन लागेको कुरा हामीलाई थाहै थिएन। यो स्वीकार्य हुन सक्छ जस्तो लाग्दैन। उहाँहरुको माग प्रदेश खारेज भन्ने छ। बेलाबेला संविधानै खारेज गर्ने कुरा पनि आइरहेको छ। एकातिर प्रदेश खारेज भन्ने अर्कोतिर पार्टीको प्रदेश संरचना बनाउने कुराले उहाँहरू आफै दुविधामा हुनुहुन्छ जस्तो देखिन्छ। पहिला आफैमा स्पष्टता हुनुपर्ला।’

तनुजाकै भनाइमा, जसरी जेनजीको दबाबमा अन्तरिम सरकार बन्यो, त्यसरी नै अहिले सरकारको सबैभन्दा ठूलो प्रतिपक्ष पनि जेनजी नै हो। हिजो सरकार बनाउन भूमिका खेलेका जेनजीले अब खबरदारी गर्नुपर्ने उनी ठान्छिन्। भन्छिन्, ‘सरकारको सबैभन्दा ठूलो अपोनेन्ट जेनजी। हामी खबरदारी गरिरहन्छौँ। अब कसैलाई पनि गल्ती गर्न छुट छैन।अन्तरिम सरकारको हरेक कदमलाई हामीले नजिक बाट नियालेका छौ।’
पाण्डेका अनुसार, जेनजी आन्दोलनको सुरूवात सरकारै ढाल्ने उद्देश्यले भएको थिएन। ७२ जना युवाको हत्या गरेका कारण मात्र त्यो सरकार ढलेको उनको निष्कर्ष छ।
जेनजी आन्दोलनमा बल थप्न, संसद विघटन गर्न र अन्तरिम सरकार बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) शाहले पनि प्रकट-अप्रकट भूमिका खेलेका थिए। बालेन यस आन्दोलनमा कसरी र किन जोडिए त? अहिले फेरि बालेन कता हराए त?
बालेनले आन्दोलन अगाडि पनि आफूहरूलाई समर्थन गरेको तनुजा बताउँछिन्। उनी भन्छिन्, ‘बालेन दाइ र हामी एउटै पुस्ताका नभए पनि उहाँ जेनजीनजिकको पुस्ता हो। सायद त्यही भएर पनि उहाँले समर्थन गर्नुभयो। उहाँको पुस्ता पनि यही परिस्थितिसँग लड्दै गरेको हुनाले पनि समर्थन गर्नुभयो।’
बालेनले आन्दोलनमा बल दिए तर यसको अवतरण र आन्दोलनपछिको अवस्था सम्हाल्न किन अघि सरेनन् त?

तनुजाको बुझाइ यस्तो छ, ‘बीचमा धेरै जनाले बालेनले किन बोलेन भन्ने जस्ता कुरा पनि गरेको पाइन्छ तर उहाँको पोजिसन (मेयर पद) को कदर गर्नुपर्ने हुन्छ। एउटा स्थानीय तहको मेयरले सबै कुरामा बोल्नुपर्छ भन्ने जरुरत छैन। उहाँले जुन समयमा समर्थन गर्नुपर्ने थियो, त्यो बेलामा गर्नुभयो। तर पछि जे घटना घट्यो, त्यो कसैको पनि हातमा थिएन।’
सबै जना शान्तिपूर्ण हिसाबले नै आन्दोलन गर्छौँ भनेर आएको तर त्यहाँ पुगिसकेपछि माहोल आफूहरू कसैको पनि हातमा नभएको र यसमा बलेनलाई गलत भन्नुपर्ने ठाउँ नभएको तनुजा बताउँछिन्।
मेयर बालेनले सुशीला कार्की प्रधानमन्त्री बन्दा नै समर्थन दिइसकेकाले नागरिक सरकारलाई उनले स्वागत गरेको देखिने तनुजाको बुझाइ छ।
आन्दोलनमा लागेका युवाहरू कमसेकम ६ महिनाको लागि एकीकृत भएर काम गर्नुपर्ने र छुट्टिनुपरे पनि चुनावपछि नै छुट्टिन उचित हुने उनको धारणा छ।
प्रधानमन्त्रीका रुपमा धेरै नामहरू आएका भए पनि सर्वोच्च अदालतको स्वच्छ छवि भएको प्रधानन्यायाधीश भइसकेको व्यक्ति पाउनु यो समयको सबैभन्दा उत्तम सम्झौता (बेस्ट कम्प्रमाइज) भएको उनको भनाइ छ।
‘संविधानबाहिर गएर नै प्रधानमन्त्री बनाउने चाहना हाम्रो थिएन,’ उनी भन्छिन्, ‘तर संकटको समयमा कार्की एक सबैभन्दा राम्रो (बेस्ट कम्प्रमाइज) हो। अन्तरिम सरकार बनिराख्दा सन्तुष्टि वा खुसीभन्दा पनि कम्प्रमाइजको परिस्थिति सिर्जना भयो। हामीले कसैले पनि सोचेकै थिएनौँ नि त यस्तो होला भनेर त।’
जेनजी आन्दोलनले ल्याएको परिवर्तनप्रति स्वयं आन्दोलनका सुरुवातकर्ताको धारणा के छ? प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालेका सुरूवाती कदममा यो समुदाय कति सन्तुष्ट छ? यस आन्दोलनका मुख्य मुद्दा सम्बोधनका खास चुनौती के छन्? यिनै प्रश्नमा केन्द्रित रहेर जेनजी आन्दोलनकी एक अगुवा तनुजा पाण्डेसँग नेपालखबरले गरेको कुराकानी:
Shares

प्रतिक्रिया