अन्तर्वार्ता


विकारजति सबै बोकेर माधव हिँडे, मेरो नेतृत्वमा क्रान्तिकारी पार्टी बनाउँछौँ : झलनाथ खनाल (अन्तर्वार्ता)

विकारजति सबै बोकेर माधव हिँडे, मेरो नेतृत्वमा क्रान्तिकारी पार्टी बनाउँछौँ : झलनाथ खनाल (अन्तर्वार्ता)

सागर न्यौपाने
कात्तिक १४, २०८२ शुक्रबार २१:५०, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। यससँगै सो पार्टी विभाजन हुने भएको छ।

नेकपा एमालेबाट विभाजन भएर २०७८ साल भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो। सो पार्टीको शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो। 

तर, एकतामा जाने निर्णयप्रति सम्मानित नेता झलनाथ खनाल लगायतका कम्तीमा ११ जना नेताको असहमति छ। उनीहरूले माओवादीमा नमिसिने बताएका छन्। खनालले त एकीकृत समाजवादी विभाजन नै भएको ठोकुवा गर्दै आफ्नै नेतृत्वमा नयाँ क्रान्तिकारी पार्टी केही दिनमै बनाउने घोषणा गरे। 

उनै खनालसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

माओवादी केन्द्रसँग एकताको निर्णय भइसकेको हो? 
अँ, माधवजीले चाहिँ गरे। हामीले चाहिँ गरेनौँ।

तपाईंहरूको समर्थन छैन?
छैन। पार्टी दुइटा टुक्रा भयो अब।

अनि, कसले बनायो त दुई टुक्रा? 
माधव नेपालले एउटा टुक्रा उता लगेपछि अर्काे यहाँ रह्यो, अनि हामी नगएपछि दुइटा टुक्रा भए नि त।

माओवादीसँग एकतामा नजाने कति जना हुनुभयो?
त्यहाँ केन्द्रीय कमिटीमा त ठिकठिकै संख्या छ। एकडेढ सय होलान्। 

माओवादीसँग नमिसिएको एउटा टुक्राले के गर्छ त अब? 
यसले छिट्टै नै नयाँ पार्टी गठन गर्छ। हामी तुरुन्तै गरिहाल्छौँ। भोलिबाटै सुरू भैहाल्छ।

तपाईंको नेतृत्वमा बन्छ नयाँ पार्टी?
अब नयाँ साथीहरू अरु कोही नेतृत्वमा आउन चाहन्छन् कि! म सोच्छु नि। मै बन्छु किन भन्ने र? त्यस बारेमा अब यही नै यसो गर्ने भन्ने तय भइसकेको छैन। तर, हामी बसेर टुंग्याउँछौँ। 

एमालेसँग जाने तयारी छ भन्ने सुनिन्छ। आज मात्रै केपी शर्मा ओलीले घर फर्क भनेर आह्वान गर्नुभएको छ।
त्यो त मलाई थाहा छैन। हामी चाहिँ नयाँ पार्टी बनाउँछौँ। नयाँ पार्टी नै बन्छ।

खनालको नेतृत्वमा नयाँ पार्टी बन्छ भनेर भन्न मिल्छ? 
ए गजबले।

त्यो पार्टी कस्तो खालको बन्ला?
एउटा मार्क्सवादी लेनिनवादी हुन्छ, क्रान्तिकारी पार्टी बन्छ। 

तपाईंले त यो पार्टी पुनर्गठन गरौँ पनि भनेर भन्नुभएको थियो होइन?
पुनर्गठन गर्न त माधवकुमार नेपालले मानेनन्। उनी त्यही दक्षिणपन्थी अवसरवादमा हिँड्न चाहे क्यारे। अनि जो विकार, विकृति सबै बोकेर भारी–तुम्बा बोकेर जान चाहे माधवजीले। 

मैले त पुनर्गठन गरौँ, रूपान्तरण गरौँ पहिला पार्टीलाई, अनि त्यसपछाडि एकीकरणको कुरा गरौँला। सबै वामपन्थीलाई एकताबद्ध बनाऊँ भनेकै हो। तर, मानेनन्। 

अब यो एकीकरण गर्ने र एमालेलाई गाली गर्ने पार्टी हुन्छ हेर्नुस्। अनि यो त वामपन्थी एकता गर्ने होइन कि वामपन्थी विभाजनलाई गहिर्‍याउने खालको चाहिँ एकता हुँदैछ। 

वामपन्थी विभाजन गर्ने कसरी?
आजै पनि केन्द्रीय कमिटीको छलफलमा पनि हाम्रो अध्यक्षको चाहिँ सारा भाषण केपी ओली विरुद्ध थियो। नीतिमा गए हुन्छ नि त, हाम्रो कम्युनिस्ट आन्दोलनभित्रको रोगै यही हो। केपी ओलीको कुनकुन नीति चाहिँ गलत हो त? त्यो गलत नीतिको पो खण्डन गर्नुपर्छ त। अब गालीगलौज गरेर पनि हुन्छ?

तपाईंको कुरा सुन्दा एमाले नै राम्रो भनेजस्तो सुनियो नि..
होइन, एमाले राम्रो त भन्दिनँ म। उनीहरूको त्यही दक्षिणपन्थकै विरुद्ध लड्दै हामीले विद्रोह गर्‍या हो। विद्रोह गरेर क्रान्तिकारी लाइन चाहिँ यो पार्टीले लिन सकेन, उही दक्षिणपन्थी नै लाइन हो यसको पनि। 

दक्षिणपन्थबाट सबै हिसाबले मुक्त बनाएर एउटा क्रान्तिकारी पार्टी बनाएर अनि मात्र एकतामा जाऊँ भन्ने मेरो भनाइ थियो।

एकताको विरोधी चाहिँ होइन भन्न खोज्नुभएको?
अँ, म एकता विरोधी होइन। एकता त सबै वामपन्थीहरूलाई सही लाइनका आधारमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने हँु म। त्यही भन्दै आइराखेको छु त धेरै अगाडिदेखि तपाईंलाई थाहा छ।

तर, अब चुनाव आइसक्यो। यो भन्दा अगाडि पनि यो पार्टीले थ्रेसहोल्ड कटाउन सकेन।
चुनाव त आइरहन्छ नि त। चुनाव त हर पाँच वर्षमा आउँछ अनि बीचका उपचुनावहरू पनि आउँछन्। 

चुनाव त आइरहन्छ नि तर क्रान्ति त एकपटक आउने हो नि त। चुनावी पार्टी बनाउने कि क्रान्तिकारी पार्टी बनाउने, प्रश्न यो हो।

भिडिओ:

क्रान्तिकारी पार्टी त बनाउनु होला तर जनताको साथ पनि नभईकन, जनताको मन पनि जित्न नसक्दा त त्यो पार्टीको अस्तित्व के होला?
अनि क्रान्तिकारी लाइनै नलिईकन कहाँबाट जनताले साथ दिन्छ? जनताले त अस्ति धोका दिए। सत्ताच्युत गरिदियो त जनताले।

किन गर्‍यो? किनभने यिनीहरूले जनताको हितमा कामै गर्न सकेनन्। 

जेन–जी आन्दोलनको कुरा गर्नुभएको?
जेन–जी आन्दोलन सुरू हुनुभन्दा अगाडिदेखि नै जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको थियो। त्यो कुनै न कुनै ढंगले विस्फोट हुन्थ्यो। त्यो जेन–जी आन्दोलनको रूपमा प्रकट हुन पुग्यो के।

अनि, माओवादीसँग मात्रै एकता गर्नु हुँदैन भन्ने हो कि अहिले बेला भाको छैन भन्ने हो कि?
अहिले पार्टी एकीकरण गर्ने कसैसँग पनि बेला भएको छैन।  सबभन्दा पहिले यो नेकपा एकीकृत समाजवादीभित्र जुन विकार, विकृति थिए कार्य दिशामा, नीतिमा र सिद्धान्तमा। त्यसको पहिला समीक्षा गरौँ र यो पार्टीलाई अलि शुद्धीकरण गरौँ, शुद्ध पार्टी बनाऊँ, क्रान्तिकारी पार्टी बनाऊँ। यो त अहिले दक्षिणपन्थी पार्टीको रूपमा, दक्षिणपन्थी कार्यदिशा लिएको पार्टीको रूपमा छ। मेरो भनाइ यति हो। 

तपाईं आफै यो पार्टीको सम्मानित नेता हुनुहुन्छ। फेरि दक्षिणपन्थी पार्टी भयो भन्नुहुन्छ?
म त्यसका विरुद्ध लडिरहेको छु नि, यहाँको गलत विचारको विरुद्ध। त्यहाँभित्र क्रान्तिकारी पनि हुन्छन् अनि नेतृत्व अवसरवादी भयो भने लड्नु पर्दैन त्यहाँ?

नेपाली विशेषताको समाजवाद कार्यदिशा हुनुपर्छ त्यो कार्यक्रम ल्याउनुपर्छ भनेर ल्याएको तपाईंकै कार्यक्रम होइन? 
त्यो त मैले ल्याएको हो। यो दसौँ महाधिवेशनमा मैले लेखेँ, मैले ल्याएँ, त्यो कुरो पारित पनि भयो, तर आजसम्म माधव नेपालले त्यो प्रकाशित गर्‍या छैनन्।

अहिले एकीकरण गर्ने नाउँमा चाहिँ नेपाली विशेषताको समाजवाद भन्ने एउटा शब्दहरू हाल्या छन् त्यहाँ। मेरो कार्यक्रम आजसम्म प्रकाशित भएको छैन।

एकीकृत समाजवादी टुटफुटमा गयो। धेरै नेताहरू माओवादी केन्द्रसँग मिसिन जानुहुन्छ, केही नेताहरू यहाँसँग रहनुहुन्छ। अब तपाईं एउटा सानो झुन्डको नेतृत्व गरेर बस्ने?
अब तपाईं सानो भन्नुहुन्छ, ठूलो भन्नुहुन्छ, यो तपाईंको कुरा भो। तर, पार्टी डिभिजन भयो, डिभिजन जसरी भएको छ त्यसैरी लेख्दिनुस्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad