बुधबारदेखि बारा सदरमुकाम सिमरामा चर्किएको आन्दोलनमा चर्चामा आएको एउटा नाम हो– सम्राट उपाध्याय। उनी सुदन गुरुङ नेतृत्वको 'काउन्सिल अफ जेनजी'का बारा जिल्ला संयोजक हुन्। सम्राटले मंगलबार राति मधेस प्रदेश स्तरीय युवा भेलालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेताविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको थिए।
बुधबार बिहान प्रदर्शनका क्रममा उनीसहित ७ जनामाथि हमला भयो। स्थिति तनावग्रस्त बन्यो। बुधबारदेखि अशान्त बनेको सिमरामा बिहीबार पनि प्रशासनले कर्फ्यु लगाइरहेको छ। सिमराको यो आन्दोलनबाट सम्राट उपाध्याय जेनजी युवाका एक नेताको रूपमा उदाएका छन्।
अर्को तर्फ सिमराको आन्दोलनले एउटा फरक प्रश्न पनि उब्जाइदिएको छ, के जेनजी युवा प्रमुख दलका नेतालाई स्वतन्त्र हिँडडुल गर्न वा कार्यक्रम गर्न चुनौती बनेका हुन्? दलका गतिविधिमा अवरोध गर्दा फागुन २१ मा गर्ने भनिएको निर्वाचन कस्तो असर गर्ला ? यिनै विषय केन्द्रित रहेर नेपालखबरका लागि आयुषा ढकालले सम्राट उपाध्यायसँग गरेको टेलिफोन अन्तर्वार्ता:
आज बिहिबारको आन्दोलनमा के–कस्ता कुराहरू भए?
हामीले बुधबार नै भोलि (बिहीबार) बिहान १० बजेसम्म कुटपिट गर्ने गुण्डाहरूलाई पक्राउ नगरे आन्दोलन गर्छौं भनेका थियौं। १०–११ बजेसम्म पनि उनीहरु पक्राउ परेनन्। त्यसपछि हामीले आन्दोलन थालेका हौँ।
प्रहरीले दुईजना मुख्य व्यक्तिलाई त पक्राउ गरिसकेको थियो। फेरि पनि तपाईहरूको असन्तुष्टि के कुरामा हो?
बिहानदेखि नै प्रदर्शनमा जानु भएको रहेछ, तपाइँहरुको तर्फ केही क्षति भएको छ?
आज हाम्रोतर्फ केही क्षति भएको छैन।
प्रमुख दलका नेता, कार्यकर्तालाई जिल्लामा आउनै नदिँदा राजनीतिक स्थिति भिडन्ततर्फ जान्छ होला नि?
हामीले आउन निदिने भनेका छैनौँ। हाम्रो आन्दोलन हत्यारा सरकार विरुद्धको हो। अब चाहिँ हामीलाई जसले कुटपिट गरेको छ उनीहरूलाई कारबाही गर्नुगर्यो भनेको हो। कुटपिट गर्ने दुई जनालाई आज समातियो, भोलीसम्म पनि टाइम छ।
निर्वाचन नजिक आइरहेको बेला आन्दोलन गर्नुभएको छ। यसले चुनाबलाई असर गर्दैन र?
गर्दैन। यो आन्दोलनले निर्वाचनमा कुनै असर गर्दैन।
यतिबेला जेनजी आन्दोलनबाट बनेको तपाईहरूकै सरकार छ। यो त आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिए जस्तो पनि भयो नि... ?
एक छिन् है, एक छिन है। (उनको फोन काटिन्छ। पछि टेक्स्ट मेसेज पठाउँदै उनले आफू व्यस्त भएकोमा माफी मागे।)
Shares

प्रतिक्रिया