अन्तर्वार्ता


भ्रष्टहरूलाई चुनावमा उठ्न नरोके जेनजी आन्दोलनको मूल्य शून्य हुनेछ : सञ्जीव उप्रेती (अन्तर्वार्ता)

‘चुनाव समयमा हुन सकेन भने सेना पुन अघि आउन सक्छ’
भ्रष्टहरूलाई चुनावमा उठ्न नरोके जेनजी आन्दोलनको मूल्य शून्य हुनेछ : सञ्जीव उप्रेती (अन्तर्वार्ता)

खगेन्द्र गिरी
मंसिर १६, २०८२ मंगलबार ८:१४, काठमाडौँ

जीवनको चौथाइ शताब्दी अध्यापनमा बिताएका सञ्जीव उप्रेतीले दशकअघि यो पेसा छाड्दा सोचेका थिए– अबको पूर्ण समय लेखनलाई दिन्छु। घनचक्कर, सिद्धान्तका कुरा र हंसजस्ता चर्चित कृति लेखिसकेका उनी केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सडकतर्फ तानिए। बृहत् नागरिक आन्दोलनमा जोडिएर उप्रेतीले करिब चार वर्षको समय उप्रेतीले भुइँमान्छेहरूका वेदना सुन्नमा बिताए। 

अहिले केही समयका लागि त्यो आन्दोलनमा कम सक्रिय भएको बताउने उनीसँग नागरिक आन्दोलनको अवस्था, जेनजी आन्दोलनको परिणामजस्ता विषयमा नेपालखबरले गरेको कुराकानी :

तपाईं चार वर्ष बृहत् नागरिक आन्दोलन भनेर लाग्नुभयो। यो भनेको लामो समय हो। बृहत् नागरिक आन्दोलनमा यतिका समय खर्चिंदाको अनुभव कस्तो रह्यो?
हो, चार  वर्ष ठूलो समय हो। तर, त्यो समयमा मैले धेरै कुरा सिक्न पाएँ। जुन कुरा विश्वविद्यालयमा सिक्न पाइन्न। यो समय मेरो लागि जीवनको विश्वविद्यालयजस्तै थियो। आन्दोलनमा मैले अनेकौँ मानिसहरूलाई भेटेँ, जसलाई प्राज्ञिक स्थलमा भेट्न सकिन्नथ्यो। भुक्तानी नपाएका उखु किसान तथा मिटर ब्याजपीडितहरू भेटेँ, बलात्कृत महिलाहरूका पीडा सुन्न पाएँ। भुइँ तहका मान्छेहरूको कुरा सुन्न र बुझ्न पाएँ। उहाँहरूको समुदायमा कस्तो खालको असन्तुष्टि, कस्तो खालको निराशा छ भनेर जान्न पाएँ। 

उदाहरणका लागि, उहाँहरूले न्यायको अनुभूति नै गर्न पाउनु भएको छैन। न्याय भनेको ठूलाबडाको मात्रै हो भन्ने छ। हामी त अदालतमा जाँदा न्याय पाउँदैनौँ भन्ने भावना छ। बरु सडकमा आए, मिडियाले कभर गरिदिए केही होला कि भन्ने आशाले उहाँहरू सडकमा आउनुहुन्छ। चरम निराशा छ, भुइँमान्छेहरूमा। यो चाहिँ मेरो लागि निकै ठूलो सिकाइ थियो। टीयूमा मैले पढ्दा–पढाउँदा सिक्न नपाएको यथार्थ सडकमा सिकेँ। 

तर, जेनजी आन्दोलनभन्दा केही पहिलादेखि नै म बृहत् नागरिक आन्दोलनमा  कम सक्रिय हुँदै गएको थिएँ।

किन पछि हट्नुभएको?
नागरिक आन्दोलनको स्वरूप नै त्यस्तै हुन्छ। यो कुनै संगठित संस्था होइन। यो त लोकतन्त्रमा विश्वास गर्ने स्वस्फुर्त स्वयंसेवकहरूको समूह हो। कुनै एनजीओ भएको भए जीविकोपार्जनसँग जोडिन्थ्यो, पार्टी भएको भए कतै पुग्नुपथ्र्यो। हामीलार्ई कतै पुग्नु छैन, कुनै पार्टीमा लाग्नु छैन। बृहत् नागरिक आन्दोलनमा थुप्रै साथीहरू यस्तै छन्। आफ्नो परिवारिक दायित्व निर्वाह गर्दै, जीविकोपार्जनबाट समय निकालेर यसलाई दिने हो। लोकतन्त्र र सामाजिक न्यायका पक्षधरहरू जोडिँदै जान्छन् र निस्स्वार्थ भावले आफ्नो समय र ऊर्जा दिन्छन् र केही समयपछि यही दायित्व अरु साथीहरूले लिँदै जान्छन्। अब अरु कोही साथी आउनुहोला।

तपाईंहरू पनि आन्दोलन गर्ने भन्दै हुनुहुन्थ्यो। अचानक जेनजी आन्दोलन सुरु भयो। एकै दिन त्यत्रा विद्यार्थीको हत्या, भोलिपल्टको अभूतपूर्व विनाश भयो। यो घटनालाई तपाईंले कसरी विश्लेषण गर्नुभयो?
जेनजी आन्दोलन सुरु हुनुभन्दा केही महिना पहिले नै बृहत् नागरिक आन्दोलनले नेताराजको विरुद्ध आन्दोलन सुरु गरेको थियो। जेनजी आन्दोलनमा सहभागी भएका केही युवाहरू पनि सहभागी थिए। हाम्रो आन्दोलन पनि भ्रष्टाचारविरुद्ध नै थियो। राजनितिक दलहरूमा आर्थिक पारदर्शिता थिएन। केही नेताले आम कार्यकर्तालाइ दास जस्तो बनाएर चलाइरहेका थिए। हामीले सडकमा जाने तयारी गरेका थियौँ। तर, सडकमा जाँदा घुसपैठको आशंका देखियो। त्यसैले केही समय निम्ति कार्यक्रम स्थगित गर्ने सामूहिक निर्णय लियौँ। 

पछि गएर जेनजी आन्दोलन चर्कियो र यसले बृहत् नागरिक आन्दोलनले गर्न खोजेको कार्यक्रम भन्दा धेरै व्यापक आकार लियो। 

कसैले भन्छन्, जेनजी आन्दोलनमा विदेशी चलखेल भयो। जहाँसम्म मलाई लाग्छ, कुनै पनि आन्दोलन स्थानीय असन्तुष्टिबाट नै सुरु हुने हो। र, असन्तुष्टिका कारण नेपालमा पर्याप्त थिए। नागरिक आन्दोलन दौरान कहिले बलात्कृत महिला सडकमा आउँथे, कहिले उखु किसान, कहिले चुरेबाट वातावरणका मुद्दा लिएर आउँथे, कहिले मिटर ब्याज पीडित सडकमा आउँथे। पीडितहरूमा सामान्य मानिसले न्याय पाउँदैन भन्ने भावना व्याप्त थियो। भ्रष्टाचार बढेको थियो, बेरोजगारी, मँहगी र चरम बेथिति मौलाएको थियो। सडकको माहोल बुझ्दा चरम निराशा देखिन्थ्यो। व्यापक भ्रष्टाचार फिँजिएको थियो। यस्तो अवस्थामा आन्दोलन सुरु गर्दा विस्फोट हुने सम्भावना रहन्छ। जस्तै, सुन्टी, पराल तम्तयार छ भने आगो लगाउन सजिलो हुन्छ नि! त्यो सबै तयार भएको थियो। 

त्यसैले जेनजी आन्दोलनको सुरुवात यहाँका मान्छेहरूको चरम असन्तुष्टि र निराशाबाट भयो। आगो लागिसकेपछि आफ्नो स्वार्थका लागि रोटी सेक्न त जो पनि आउने भए। विभिन्न शक्ति समूहहरू—देशभित्रका वा विदेशी—आफ्ना स्वार्थका लागि जोडिन आए। पश्चगामी राजनीति गर्नेहरू पनि सहभागी भए। 

मेरो दृष्टिमा आन्दोलनको सुरुवात ‘अथेन्टिक’ नै थियो। तर, पछि कोको मिसिए भन्ने कुराको हिसाब गर्न सक्ने स्थिति छैन। यो डिजिटल युगमा विश्वव्यापी स्थिति नै त्यस्तो भएको छ। कुन कुरा सत्य, कुन अर्धसत्य, कुन असत्य छुट्याउन पनि गाह्रो छ।

आन्दोलनको नाममा जुन तहको हिंसा, आगजनी र लुटपाट भयो, त्यो तपाईंलाई के लाग्छ?
हिंसालाई स्वाभाविक वा अस्वाभाविकको कसीमा हेर्न अप्ठेरो हुन्छ। कुनै पनि हिंसालाई स्वाभाविक मान्न सकिँदैन। 

आन्दोलनको पहिलो दिन जसरी युवाहरू एकैपटक मारिए, त्यसले स्वाभाविक रूपमा जनआक्रोश ह्वात्तै बढाएको थियो। दोस्रो दिनकोे विनाशमा विभिन्न दल, समूहका मानिस सहभागी भएका हुन सक्छन्। बृहत् नागरिक आन्दोलनले पनि सडकमा जान खोजेकै थियो। घुसपैठ हुन्छ भनेरै हामी रोकिएका थियौँ। घुसपैठका कारण पनि हिंसा भड्किएको हुन सक्छ। यसका विभिन्न कारण हुनसक्छन्। यी कुरा त जाँचबुझ समितिले अनुसन्धान गरेपछि मात्र थाहा होला। 

तर, जुन धरातलमा हिंसा भएको थियो, त्यो धरातल चाहिँ तयार भएको थियो। मान्छेमा असन्तुुष्टि, निराशा धेरै थिए, साधारण मान्छेलाई जहाँसुकै गाह्रो थियो। बरु सडकमा आउँदा न्याय पाइन्छ, राज्यको निकायबाट पाइँदैन भन्ने थियो। न्यायालयदेखि प्रशासन, स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्म भ्रष्टाचार व्याप्त छ भन्ने मान्छेले महसुस गरेका थिए। त्यही पृष्ठभूमिमा यो हिंसा र आगजनी भयो।

युवाहरू आक्रोशित छन्, देशमा निराशा फैलिएको छ भन्ने सुनिन थालेको धेरै भयो। खासमा यो आम निराशा, यो तहको आक्रोशको स्रोत चाहिँ के हो?
यसका विभिन्न कारण छन्। नेपालमा युवाहरूले अवसर पाइरहेका छैनन्। कति विदेश जान खोजिरहेका छन्। विदेशिन चाहनेहरूको बाटो पनि अहिले कतिपय मुलुकले अप्ठेरो बनाइदिएका छन्। खासगरी संसारभरि दक्षिणपन्थ मौलाउँदै गएको परिप्रेक्ष्यमा। यसको एउटा मात्रै कारण छैन। मुख्य कुरा जेनजीहरूले आह्वान गरेको आन्दोलनमा यति धेरै मान्छेहरू कसरी आए भन्ने हो। त्यसमा जेनजी मात्र त थिएनन्। विविध तह, तप्का, उमेर समूहका मान्छे थिए। यसको कारण के हो भने समाजमा असन्तुष्टि थुप्रिँदै गएकाले विस्फोटको पृष्ठभूमि तयार थियो। इतिहासलाई हेर्दा पनि यस्तो विस्फोट कतिबेला हुन्छ, भन्न सकिँदैन। एउटा ‘टिपिङ प्वइन्ट’मा त्यस्तो हुन्छ। यसपालिको हकमा त्यो ‘टिपिङ प्वइन्ट’ सामाजिक सञ्जाल प्रतिबन्ध बनिदियो।

यो जेनजी आन्दोलनलाई कुनै विचारधारा, सिद्धान्त, दर्शनको कसीमा राखेर सैद्धान्तीकरण गर्न सकिन्छ?
जेनजी आन्दोलनलाई एउटा मात्र कोणबाट सैद्धान्तीकरण गर्न मुस्किल छ। किन पनि भने यसका अनेकौँ कारण छन्। यो आप्रवासनका कारण विश्वव्यापीकरणसँग पनि जोडिएको छ। हामी ‘आधुनिकता’तर्फ बढिरहेका छौँ। प्रविधि, डिजिटल मिडिया आए। डिजिटलाइजेसनले जेनजी आन्दोलनलाई आगो लागे सरह तुरुन्त फैलाउन सहयोग गर्‍यो। उहाँहरूले रेडिट, डिस्कर्डहरूको प्रयोग गर्नुभयो। त्यसैले यसलाई डिजिटल आधुनिकताका हिसाबले पनि हेर्न सकिन्छ। 

सकारात्मक तरिकाले भन्ने हो भने जेनजीले जुन झड्का दियो, त्यो आफैँमा गलत थिएन। नकारात्मक कुरा भनेको कयौँ ठाउँमा हिंसा भयो। डिजिटल विश्वको अप्ठेरो के हो भने काठमाडौँमा कुनै हिंसात्मक घटना भयो भने त्यसको प्रतिक्रिया तुरुन्तै जताततै उत्पन्न हुनसक्छ। धनगढीदेखि दमकसम्म।

विश्वव्यापीकरण र डिजिटल आधुनिकताबाहेक यसलाई वर्गीय हिसाबले पनि हेर्न सकिन्छ। किनभने आन्दोलन अघिदेखि नै ‘नेपो–बेबी’को कुरा उठ्दै आएको थियो। माथिल्लो तहका नेताहरू जुनसुकै पृष्ठभूमिबाट आएका भए पनि उनीहरूका छोराछोरीहरू खासै मेहनत नगरी उच्च वा उच्च मध्यम वर्गमा उक्लेर धनाढ्य जीवनशैली बिताउन थाले, हामी भने जहाँको त्यहीँ रह्यौँ भन्ने भावनाले काम गर्‍यो। त्यसैले जेनजी आन्दोलनलाई एउटा विशेष सिद्धान्तको आधारमा व्याख्या गर्न गाह्रो छ। यसलाई विभिन्न कोणहरूबाट साथसाथै हेर्नुपर्छ।

राणा शासनदेखि नै सत्ताको प्रतीक मानिएको सिंहदरबार जल्यो। राज्यका ‘केन्द्र’ मानिएका संसद्, सर्वोच्च अदालत जले। शक्तिकेन्द्रहरूमाथि यो आक्रोश किन होला?
भन्न त जनताको सिंहदरबार भनिन्छ, यहाँ सबैको पहुँच छ भनिन्छ। तर, कहाँ छ त पहुँच? छैन नि। सामान्य मान्छेलाई गेटमै रोकिन्छ। अझ संघीयता लागू भएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो भनियो। तर, गाउँका मान्छे न्याय खोज्दै माइतीघर किन आउँछन्? न्याय नपाएर आएको होइन? जस्तो मिटर ब्याज पीडितहरू, रुबी खानहरू स्थानीय गाउँठाउँमै न्याय पाएको भए काठमाडौँ आउँदैनथे। स्थानीय न्यायप्रणालीमा विश्वास नभएर उनीहरू यहाँ आए। तर, उनीहरूलाई गेटमै रोकिने, उनीहरूका कुरा नसुनिने प्रणाली चलिरह्यो। यसले त मान्छेमा निराशा जन्माउँछ नि! हाम्रो लागि जाने ठाउँ समेत कहीँ रहेनछ भनेर।

तर सिंहदरबार, सर्वोच्च अदालत जलाउने जस्ता कुरालाई समर्थन गर्न सकिँदैन। किनभने ती संरचना चलाउन त हामीले पनि कर तिरेका छौँ नि। यो त आफ्नै सम्पत्ति जलाएजस्तो भयो। त्यहाँ कति अमूल्य कागजात थिए, सिंहदरबारमा पुराना कलाकृति थिए। त्यो ठूलो क्षति हो। कसैलाई लाग्ला, यत्रो सत्ता पल्टाउँदा केही पेन्टिङ जलेर के भो त! तर, कलाप्रेमीको नजरले हेर्दा यो अपुरणीय क्षति हो। अर्को कुरा, जुनसुकै समूहले गरेको होस्, यसरी जलाउने, भत्काउने कार्यले देशमा अव्यवस्था, अराजकता सिर्जना गर्छ। हामी जंगलमा त बसेका छैनौँ नि त!

आन्दोलनलगत्तै सत्ताको बागडोर लगभग सेनाको हातमा गयो भन्ने चिन्ता धेरै थियो। अहिले फर्केर हेर्दा सेनाको भूमिका कस्तो लाग्छ?
शंका–उपशंका गर्ने ठाउँ धेरै छन्। तर, सेनालाई अहिले नै अविश्वास नै गर्नुपर्ने कारण म देख्दिनँ। किनभने सेना सत्ता चाहन्थ्यो भने त त्यो उसकै हातमा आएको थियो। उसले त नागरिक सरकार बन्ने बाटो बनाइदियो। दोस्रो, आगजनी, तोडफोडलाई रोक्न किन बेलैमा अघि सरेन भन्ने जुन प्रश्न छ, सेनाका प्रतिनिधिहरूले भनेका छन्, रोक्न खोजेको भए धेरै मान्छेको मृत्यु हुन्थ्यो। एक हिसाबले त्यो कुरा ठिकै पनि हो। अन्य मुलुकहरूमा यस्ता घटनामा हजारौँ मान्छे मारिएका पनि छन्। सेनाको भूमिकामा शंका गर्ने ठाउँ छ, तर उसको भूमिकालाई म हालका लागि शंकाको लाभ दिन चाहन्छु।

बाँकी भविष्यमा के हुन्छ त्यसमा भर पर्छ। चुनाव समयमा हुन सकेन, अराजकता बढ्दै गएमा सेना पुन अघि आउन सक्छ। सेनाको महत्त्वाकांक्षा बढेमा लोकतन्त्र खुम्चन सक्छ, ‘सिभिक स्पेस’हरू खुम्चन सक्छन्। कतै पञ्चायतकालीन युगमा झैँ लेख्न, बोल्न डराउनु पर्ने स्थिति आउने त होइन? यस्तो भएमा यसले पुन: अर्को झनै विस्फोटक आन्दोलनको जग तयार गर्न सक्छ। आशा गरौँ त्यस्तो स्थिति नआओस्।

आन्दोलनका क्रममा मूलतः राज्यका अंगबाहेक राजनीतिक दलका नेता, व्यापारीहरू र मिडिया निसानामा परेको देखियो। यसबाट मान्छेहरूको आक्रोश या असन्तुष्टि यी क्षेत्रमा पनि रहेछन् भन्ने बुझ्नुपर्‍यो? तर, जो–जो परिवर्तन भइदिऊन् भन्ने आन्दोलनको अपेक्षा थियो, ती सबै पूर्ववत् छन्। आन्दोलनको परिणाम के आयो त?
यो निकै दुखद कुरा हो। मलाई पनि यसको चिन्ता छ। 

एक त, नेताका घर, मिडिया हाउस, व्यापारिक सम्पत्तिमाथिको आक्रमण जेनजीले मात्रै गरेका हुन् जस्तो लाग्दैन। घुसपैठ पनि भएको छ। जसजसलाई जोजोसित रिस उठेको थियो तिनीहरूलाई क्षति पुर्‍याउने काम पनि भएको छ।
 
दोस्रो कुरा, यत्रो आन्दोलन, तहसनहस भयो, हिंसा भयो, सरकारै गयो, यसको परिणाम के त? मुख्य चिन्ताको कुरा यो हो। हुन त समय अझै छ। अहिले पनि समयमा चुनाव हुने, अनि मुख्य पार्टीहरू सुध्रेर आउने समय छ। यतिबेला बौद्धिकहरू, नागरिक समाजहरू र जेनजीहरूले संयुक्त दबाब दिएर गराउनु पर्ने काम हो– भ्रष्ट भनेर नाम आइसकेकाहरूलाई चुनावमा उठ्न नदिने। सफा छवि भएका मान्छेहरू चुनिएर आए र भ्रष्टाचाररहित लोकतन्त्र अघि बढ्यो भन्ने बल्ल यो आन्दोलनको केही न केही फाइदा भयो है भन्न सकिन्छ। जेनजी आन्दोलनको एक किसिमको लिगेसी समेत स्थापित हुनेछ। 

तर, दलहरू पनि सुध्रेनन्, दलका पुराना नेता पनि रहिरहे, भ्रष्टाचार भइरह्यो, अथवा चुनावै लम्बिँदै गयो, प्रतिनिधि सभा पुनर्स्थापना भएर पहिलेकै मान्छे आए भने, वा चुनाव भइहाले पनि भ्रष्टैभ्रष्ट चुनिएर आए र देशमा केही पनि परिवर्तन भएन भने चाहिँ जेनजी आन्दोलनको मूल्य शून्य हुनेछ। त्यो नहोस् भन्ने म चाहन्छु किनकि यस आन्दोलनका लागि त्यत्रा युवाले ज्यान गुमाएका छन्। 

जेनजीमध्ये थुप्रैलाई म इमानदार देख्छु। उनीहरूले ठूलो मेहनत गरेका छन्। सबै परिचालित हुन् भन्ने मलाई लाग्दैन। उनीहरूलाई हेरेर पनि यो आन्दोलनको लिगेसी राम्रो होस् भन्ने मेरो चाहना छ। अनि भ्रष्टाचाररहित शासन होस्, पुराना नेताहरूले अवकाश लिऊन्, दलहरूमा पारदर्शिता होस्, न्याय आम मानिसको पहुँचमा होस् भन्ने हाम्रो पनि चाहना हो। यो सबै आम नेपालीहरूको चाहना हो। यो खालको परिवर्तन आयो भने कति कमीकमजोरीका बाबजुद जेनजी आन्दोलनको लिगेसी राम्रो हुन्छ। यतिको हिंसा भयो, सार्वजनिक सम्पत्ति तहसनहस भए तापनि यस प्रकारका उपलब्धि भए, केही मात्रामा सकारामक कुरा भएछ भन्ने ठाउँ रहनेछ। 

यत्रो हिंसा र आर्थिक क्षतिका बाबजुद त्यो पनि भएन भने, जहाँको त्यहीँ आइपुग्यो भने वा त्यो भन्दा पनि डरलाग्दो कुरो यदि देश दलतन्त्रबाट वास्तविक लोकतन्त्रतिर अघि बढनु साटो कुनै किसिमको अधिनायकवादतिर बढ्यो भने इतिहासले यो आन्दोलनलाई सकारात्मक ढंगले मूल्यांकन गर्ने ठाउँ रहने छैन। यसको वास्तविक मूल्यांकन त अलि पछि मात्र हुनेछ। त्यतिबेला देखाउने नतिजा केही भएन भने आन्दोलनको लिगेसी रहँदैन, बेकारमा आन्दोलन भएछ भन्ने विचार जनमानसमा फिँजिँदै जानेछ।

अन्तरिम सरकारले त्यस्तो लिगेसी कायम गर्ने दिशातिर काम गरेको छ त?
यो सरकार धेरैतिरबाट च्यापिएको छ। केही जेनजीहरू सबैकुरा यही सरकारले गरिदेओस् भन्ने चाहन्छन्। तर, यो सरकारको मुख्य काम नै समयमा स्वच्छ र पारदर्शी चुनाव गराउनु हो, यसलाई संविधानका आधारभूत मान्यता फेरबदल गर्ने अधिकार वा म्यान्डेट छैन। राजनीतिक दलहरू पनि यो सरकारसँग खुसी छैनन्। सरकार जेनजी पक्षीय भयो भन्छन्। यसले प्रहरीको आत्मबल बढाउन सकेन, हत्याहिंसाको छानबिन ठिकसँग गर्न सकेन, चुनावमा सुरक्षा दिन सक्दैन होला भन्नेखालका धेरै खाले आशंकाहरू छन्। र पनि यो नागरिक सरकार हो। अहिलेको स्थितिमा हामी सबैले यसलाई समर्थन गर्नुपर्छ। जेनजी पुस्ताको अपेक्षा के थियो भने सरकार पहिलेकै ढाँचामा नचलोस्, नयाँँ ढंगले चल्नुपर्‍यो, काम गर्ने तरिका फरक हुनुपर्‍यो, नातावाद, कृपावाद हुनुभएन। तर, सरकार यस्तै कुरामा समेत विवादमा पर्‍यो। यस्ता घटनाले राम्रो गर्दैन। 

अनेकन अप्ठ्यारोमा हुँदाहुँदै चुनाव गराउने जिम्मा यही सरकारको हो। अर्को कुरा, यो सरकारले चुनाव गराउनु बाहेक केही पनि गर्न सक्दैन, वा गर्न मिल्दैन भन्ने कुरा पनि गलत हो। आफ्ना अन्तरिमकालीन सीमाहरूका बाबजुद यस सरकारले भ्रष्टाचारको विरुद्ध चाहिँ केही न केही गर्नै पर्छ। किनकि जेनजी आन्दोलन नै भ्रष्टाचारको विरुद्धमा थियो र त्यही आन्दोलनको जगमा यो सरकार बनेको हो। कमसेकम भ्रष्टहरूलाई चुनाव लड्नबाट रोक्नुपर्छ। जेनजीहरूले भनेजस्तो व्यवस्था नै परिवर्तन गर्न नसक्ला, तर जति सक्छ, त्यति गर्ने इमानदार प्रयास गर्नुपर्छ।

चुनावलाई लिएर मतदाता र दलहरूमा जुन उत्साह हुनुपर्ने हो त्यो देखिँदैन। चुनावले निकास दिन्छ जस्तो लाग्छ?
यत्रो आन्दोलन भयो, फेरि तिनै मान्छे फर्केर सत्तामा आउँदै छन् भन्ने लागेकोले आम मान्छेमा उत्साह देखिँदैन। जुन अनुहार हेर्दाहेर्दा जनता आजित थिए, तिनै अनुहार फर्किन्छन् भन्ने लागेर हो यस्तो भएको। मान्छेहरू नयाँ अनुहार हेर्न चाहन्छन्। त्यसैले भ्रष्ट तथा आउटडेटेडहरूलाई हटाउन सरकार, नागरिक समाज र दलकै तुलनात्मक रूपले स्वच्छ छवि भएका नेता–कार्यकर्ताहरूले मिलेर काम गर्नु पर्छ। यसका लागि भ्रष्ट नेताहरूलाई सडकबाट लखेटेर, बोल्नै नदिएर हुन्न। यसले चुनावको माहोल बिगार्छ। सरकार तथा, निर्वाचन आयोगका प्रतिनिधि तथा संवैधानिक कानुनमा दखल भएका विज्ञहरूको छलफल मार्फत अहिलेको संविधानमै टेकेर कानुनी उपाय निकाल्ने प्रयास गर्नु पर्छ।

पुराना दलहरूले जेनजी आन्दोलनको स्वामित्व ग्रहण गर्ने देखिँदैन। नयाँ दलहरू पनि अलग्गै बाटोमा हिँड्ने छाँट देखिन्छ। यो आन्दोलनलाई ‘डिफेन्ड’ गर्ने शक्ति नै नहोलाजस्तो देखिन्छ नि?
त्यसो भयो भने दुःखदायी हुन्छ। भविष्यले यस प्रश्नको उत्तर कसरी दिनेछ भन्ने कुराले नै जेनजी आन्दोलनको विरासत कस्तो हुन्छ भन्ने कुरा पनि निर्धारण गर्नेछ। चुनावपछि भ्रष्टाचार नियन्त्रण हुँदै गयो भने आन्दोलनको विरासत बच्ला। जस्ताको तस्तै भयो, तिनै मान्छे आए, उसैगरी भ्रष्टाचारको चक्र चलिरह्यो भने यसको विरासत रहँदैन। अझ भविष्यमा देश अधिनायकवादतिर बढ्ने संकेत देखिएमा त जेनजी आन्दोलनलाई इतिहासले प्रतिगमनको वाहक भनेर व्याख्या गर्न पनि बेर लाउँदैन। त्यसैले यो जेनजी आन्दोलनका नेताहरूको लागि विशाल चुनौतीको समय हो। 

आन्दोलनपछि जेनजी समूहका अगुवाहरूसँग तपाईंहरूले छलफल, अन्तर्क्रियाहरू गर्नुभयो। उनीहरूको चाहना के पाउनुभयो?
पहिलो कुरा त जेनजी एकै खाले छैनन्, किसिमकिसिमका जेनजी छन् भन्ने कुरा बुझियो। सुदन गुरुङहरूसँग हाम्रो कुनै सम्पर्क भएन। पार्टीका जेनजीहरू नेताहरूकै सल्लाहअनुसार चल्छन् होला। पछिल्लो केही महिना म नागरिक आन्दोलनमा पनि अलि कम सक्रिय थिएँ। गएका केही वर्ष आन्दोलनलाई दिएर म जेनजी आन्दोलन हुनुअगावै पछि हटिसकेको थिएँ। 

जहाँसम्म मैले बुझेको छु, नागरिक आन्दोलनसित सम्पर्कमा आएका जेनजीमा रक्षा बम, युजन राजभण्डारी, रिजन राना मगर लगायतका अन्य जेनजीहरू हुनुहुन्छ। उहाँहरूको कुराकानी तथा सार्वजनिक अभिव्यक्ति हेर्दा लोकतन्त्र, गणतन्त्र र संविधानप्रति प्रतिबद्ध देखिनुहुन्छ। संविधान च्यात्ने होइन, यही अन्तर्गत समाधान खोज्नुपर्छ भन्ने उहाँहरूको धारणा देखिन्छ। अर्को जेनजी एलायन्समा रहेका मधेसी जेनजी, जनजाति जेनजीहरूसित पनि आन्दोलका साथीहरूको बारम्बार भेट हुँदै आएको छ। मिटर ब्याजको आन्दोलनमा पहिले भेट हुने जेनजीहरूसित पनि। उहाँहरूको चाहना भनेको सुशासन, भ्रष्टाचारको अन्त्य हो। र, जेजे गरिन्छ, त्यो यही संविधानकै परिधिभित्र रहेर गरिनुपर्छ भन्ने पक्षमा उहाँहरू हुनुहुन्छ भन्ने मेरो बुझाइ हो। त्यस इतरका जेनजी पनि छन्। राजावादी छन्, पार्टीसँग जोडिएका पनि छन्। उहाँहरूसित मेरो भेट भएन। आन्दोलनमा जोडिएका अन्य साथीहरूसित भेट भएको भए मलाई थाहा भएन। 

जेनजी युवाहरूको कुरा सुन्दाखेरी तपाईंमा आशा जाग्छ कि निराशा?
बेलाबेलामा आशा लाग्छ, बेलाबेलामा निराशा। अहिलेसम्म आशा बाँकी छ। खासगरी बृहत् नागरिक आन्दोलनसँग कुनै बेला प्रत्यक्ष रूपमा जोडिएका जेनजीहरूको कुरा सुन्दा मलाई आशा चाहिँ छ। मेरै छोरीको पुस्ता त हो नि त। अब आफ्नै सन्तानका पुस्तासँग आशा त राख्नैपर्‍यो नि। कहिलेकाहीँ निराशा हुन्छ तर भविष्य पनि आखिर उनीहरूकै हो। हामी कहिलेसम्म रहन्छौँ र? कहिलेकाहीँ गल्ती पनि गर्लान्। तर, युवा छन्, गल्ती गर्छन्, गल्तीबाट सिक्लान्, झनै सचेत होलान् र देशलाइ सही बाटोमा डोर्‍याउने छन् भन्ने आशा गरौँ।

जेनजी आन्दोलनलगत्तै देशमा जुन खालको शून्यता, रिक्तता छायो, त्यतिबेला दलहरू लखेटिएको स्थिति थियो। त्यतिबेला बौद्धिक वर्गले एक भएर बलियो आवाजका साथ सही बाटो देखाउन सक्नुपर्थ्यो। तर, यो वर्ग आफैँ मुर्छितजस्तो भयो, अलमलियो भन्ने आरोप छ। के भन्नुहुन्छ?
यो देशमा नागरिक समाज छैन, नागरिक समाजहरू छन्। कुनै पनि देशमा एउटै नागरिक समाज हुँदैन, हुनै सक्दैन। तर यसका बाबजुद बौद्धिक वर्ग र नागरिक समाजमा एक किसिमको अन्योल देखिएकै हो। केहीलाई जेनजी आन्दोलन विदेशबाट सञ्चालित हो कि भन्ने पनि लाग्यो। त्यसैले पहिले बुझौँ अनि मात्रै बोलौँ भन्ने भाव पनि देखियो। यो स्थानीय आन्दोलन हो, हामीले चाहेको पनि भ्रष्टाचार अन्त्य नै हो, सुशासन नै हो, त्यसैले जेनजी आन्दोलनलाई समर्थन गर्नुपर्छ भन्नेहरू पनि भए। बृहत् नागरिक आन्दोलनको पनि माग त्यही नै थियो। 

तर, नागरिक समाजले कामै नगरेको चाहिँ होइन। जेनजी आन्दोलनको पक्षमा आवाज उठाएका छन्। केहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर सल्लाह दिएका छन्। केहीले लेख लेखेर, अन्तर्वार्ता दिएर वा सामाजिक सञ्जालमा लगातार लेखेर पनि विचार निर्माण मा सहयोग पुर्‍याएका छन्। 

२०६२/६३ मा देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधरहरूले नागरिक समाजको आवाज जति प्रखर बनाएका थिए, त्यो अहिले देखिएन नि!
हो, त्यस्तो प्रभाव देखिएन। त्यसका कारणहरू छन्। उतिबेलाको आन्दोलनप्रति कुनै द्विविधा थिएन। जनताको साझा शत्रु को भन्दा राजतन्त्र र सामन्तवाद भन्ने थियो। लक्ष्यबारे पनि कुनै द्विविधा थिएन। अब लोकतन्त्र ल्याउनुपर्छ, गणतन्त्र ल्याउनुपर्छ भन्ने थियो। सबैको एकता थियो। त्यतिबेला हामी राजनीतिक दललाई विश्वास गर्थ्यौँ। अहिले चाहिँ द्विविधापूर्ण स्थिति छ, कसलाई विश्वास गर्ने?

नेताराजविरुद्ध आन्दोलन गर्ने भनेर विभिन्न पार्टीका नयाँ–पुराना नेताहरूलाई भेट्यौँ। उहाँहरूले पनि आमूल सुधार गर्नुपर्छ भनेर कुरा चाहिँ गर्ने तर उहाँहरूको सम्पूर्ण ध्यान कसरी, कतिबेला शक्तिमा पुगिन्छ भन्नेमा मात्रै देखियो। ‘र्‍याडिकल रिस्क’ लिने हिम्मत कसैमा देखिएन। त्यसैले राजनीतिक दलमा विश्वास गर्ने स्थिति भएन। जेनजीलाई विश्वास गरौँ न त भन्दा पनि किसिमकिसिमका जेनजी भए। मिडियाको कुरा पत्याऊँ भने ‘मिसइन्फर्मेसन’को जमाना छ। कुन कुरालाई पत्याउने, कुनलाई नपत्याउने? ०६२/०६३ मा यो अवस्था थिएन। अहिलेको तस्बिर बढी जटिल छ। त्यसकारणले नागरिक समाजको आवाज प्रखर र ऐक्यबद्ध हुन सकेनजस्तो लाग्छ।

राज्यले, सरकारले युवाको चाहना ठम्याउन नसकेको त देखियो। विद्वत वर्गले पनि युवा सरोकार र चाहनालाई ठम्याउन सकेन भन्ने गरिन्छ। यो सही हो?
केही हदसम्म यो टिप्पणी सही हुन सक्छ। एक किसिमको खाडल छ जस्तो लाग्छ मलाई। युवासँग हाम्रो पुस्ताले पर्याप्त अन्तर्क्रिया नगरेका हुन् कि! किनभने प्लाटफर्मकै कुरा गर्दा हाम्रो पुस्ताले बढीमा फेसबुक र एक्स चलाउँछ। कसैले इन्स्टाग्राम चलाऊलान्। तर, युवाले प्रयोग गर्ने प्लाटफर्म नै अलग छ। उनीहरू रेडिट, डिस्कर्डबाट संगठित भए। उनीहरूले प्रयोग गर्ने भाषा नै बेग्लै छ। हाम्रो पुस्ताका मान्छेले केही गर्नुपर्‍यो भने सशरीर भेटेर सल्लाह हुन्छ। केहीलाई त भर्चुअल मिटिङ समेत सहज लाग्दैन।

०६२/६३ कै आन्दोलनको कुरा गर्दा हामी भेटेर, कतै चिया खाँदै सल्लाह गर्थ्यौं। तर, जेनजीहरू अनलाइनमै संगठित हुन्छन्। अनलाइनमै बैठक हुन्छ र भोटिङ पनि हुन्छ। दलका पुराना नेता मात्र नभई पुराना बौद्धिकहरू समेतको ‘लोकतन्त्र, गणतन्त्र, न्याय’ आदि भन्दै लामालामा भाषण गर्ने बानी छ। उनीहरू बुझ्दैनन् कि आदर्श र अभ्यासबीचको खाडलले गर्दा  यी शब्दका अर्थ खोक्रा हुँदै गएका छन्। यसैले अघिल्लो पुस्ताकाहरू र जेनजीबीच एउटा खाडल पक्कै छ। त्यो हटाउने प्रयास हुनुपर्छ।

नागरिक समाजको भूमिका चाहिँ अब के हुन सक्छ?
नागरिक समाजका विभिन्न समूह छन्। बृहत् नागरिक आन्दोलन मात्र नागरिक समाज होइन। राजनीतिक दलहरूको भन्दा विपरीत नागरिक समाजहरूको औपचारिक संरचना हुँदैन। केही समाजहरू बृहत् नागरिक आन्दोलनझैँ ‘लुज नेटवर्क’रूपमा पनि हुन सक्छन्। तर जोजो जहाँजहाँ छन्, सबैले आआफ्नो ठाउँबाट लेखेर, बोलेर खबरदारी गर्नुपर्छ। जेनजीहरूसित संवाद गरेर, राजनीतिक दलहरूलाई दबाब दिएर, जसरी हुन्छ, सामाजिक न्याय, लोकतन्त्र लागि, भ्रष्टाचार अन्त्यका लागि निरन्तर खबरदारी गर्नुपर्छ। सुशासनका लागि खबरदारी गर्नु पर्छ। 

अनि अहिले तपाईंहामी स्वतन्त्र भएर बोलिरहेका छौँ, लेखिरहेका छौँ नि, यस्तै स्थिति सधैँ नरहन सक्छ। पुनस् पञ्चायतकालका बेलामा झैँ डराईडराई बोल्नु पर्ने हुन सक्छ। प्रेस स्वतन्त्रता मासिन सक्छ। सार्वजनिक सिभिल स्पेसहरू खुम्चँदै जान सक्छन्। त्यसतो स्थितिबाट देशलाई जोगाउन खबरदारी गरिहनु पर्छ। र, यसका लागि विभिन्न नागरिक समाज र नेटवर्कहरू परेको बेला अलायन्स बनाउन पनि तयार हुनु पर्छ। म जोडिएको समूह वा नेटवर्क मात्र नागरिक समाज र अरुहरूका समूह नागरिक समाज होइनन् भनेर कहाँ हुन्छ ररु विचार मिल्नेहरू आपतकालीन स्थितिमा सडकमा आफै पनि जोडिन पुग्छन्। त्यस्तो स्थिति नआउला भन्न सकिन्न। 

हरेक आन्दोलनपछि त्यो आन्दोलनको विद्रूपीकरण हुने गरेको छ। क्रान्तिकारी शक्तिहरू आफैँ पतन हुने गरेका छन्। ०४६, ०६३, र अहिलेसम्मको स्थिति हेर्दा। यसपटक पनि त्यही लक्षण देखिन्छ होइन?
यो समस्या नेपालको मात्र होइन। अन्यत्र पनि त्यस्तै हुन्छ। सडक आन्दोलनमा हुँदा एउटा परिप्रेक्ष्य हुन्छ। सरकारमा गइसकेपछि त्यो शक्ति विभिन्न बाध्यताहरूबाट घेरिन्छ। भूराजनीतिक कारणहरू पनि हुन्छन्। मुख्य कुरा चाहिँ शक्तिले मान्छेलाई भ्रष्ट पनि बनाउँछ। यो मानवीय स्वभाव हो। संसारभर देखिएको कुरा हो। यहाँ माओवादीहरू आउँदा के–के न होला आशा थियो। केही हुँदै नभएको पनि होइन। तर, समग्रमा केही नेताहरूको विलासी जीवनशैलीले मान्छेलाई निराश पार्‍यो। भुँइमान्छेका लागि संघर्ष गरिरहने छौँ भनेर वाचा गर्नेहरूले व्यापारीहरूसामु घुँडा टेके। राजनीतिक दलका नेताले अरु केही काम नगर्ने तर ‘फुलटाइम राजनीति’ गर्ने कार्यकर्तालाइ पालिरहनु पर्न अवस्था आयो। नत्र अर्को चुनावमा हारिने डर। यसले गर्दा पनि भ्रष्टाचारको चक्र झनझन् तीव्र गतिले घुम्न थाल्यो। आशा गरौँ, जेनजीहरूले यस्तो चक्र तोड्न सकून्। यो त्यही चक्र तोड्ने बेला हो, राजनीतिक संस्कार बदल्नुपर्ने बेला हो। त्यो उनीहरूले गर्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य कुरा हो। 

जेनजी फ्रन्टका केही युवाले पार्टी बनाउँदैनौँ, लोकतन्त्र र सामाजिक न्यायकाको आदर्शका लागि निरन्तर खबरदारी गरिरहन्छौँ भनेको सुनेको छु। त्यसले केही फरक पार्ला कि! त्यसो भयो भने नागरिक समाजसित जोडिएका हामी र हामीभन्दा अघिका पुस्तालाई सजिलो हुनेछ। पुस्तान्तरण राजनीति र राजनीतिक दलमा मात्र हुनु पर्छ भन्ने होइन नि। नागरिक समाजहरूमा पनि हुनु पर्छ। 

दशकैपिच्छे राजनीति परिवर्तन भइरहेको छ। अझ भन्दा रातारात परिवर्तन भइरहेको छ। तर, विकासको गति, पूर्वाधार, शिक्षा, स्वास्थ्यमा आम सुधार आउन सकेको छैन...
रातारात भएका सबै परिवर्तन राम्रै हुन्छन् भन्ने छैन। राजतन्त्रबाट गणतन्त्र, लोकतन्त्रमा आयौँ। त्यो राम्रो थियो। तर, हाम्रो लोकतन्त्र हामीले नै हेर्दाहेर्दै नेतातन्त्र वा दलतन्त्र बन्यो नि! त्यो त ठिक थिएन। हामी दुई कदम पछि सर्‍यौँ। अहिले चाहिँ स्थिति तरल छ। यो परिवर्तनले हामीलाई अगाडि लैजान्छ कि पछाडि, त्यो समयले मात्रै बताउँछ।

राजनीति मियो त हो, त्यसबाहेक पनि अरु धेरै कुरा छन्। अर्थतन्त्र, स्वास्थ्य, शिक्षा। तिनको पनि समानान्तर विकास हुनुपर्छ। तर, भइरहेको छैन। परिवर्तन नै नभएको चाहिँ होइन। गाउँमा जाँदा गएको बीसतीस वर्षमा भएका परिवर्तनहरूलाई देख्न सकिन्छ। बाटाघाटा बनेका छन्। स्थानीय सरकारमा केही इमानदार जनप्रतिनिधि पनि पुगेका छन्। तिनले राम्रो काम गरेका छन्। यदि भ्रष्टाचारको जालो र ‘सेटिङ’को संस्कृति सबैतिर नफिँजिएको भए  सकारात्मक परिवर्तनको गति अझै तीव्र हुने थियो। तर, भ्रष्टाचारको संस्कृति राज्यका सबै अंग र संस्थाहरूमा भित्रभित्रसम्म छिरेको छ र लोकतन्त्र दलतन्त्रमा परिणत भएको छ। 

व्यापारीहरू राजनीतिक दलमा प्रवेश गर्ने वा बाहिरैबाट दलहरूलाई प्रभावित गर्ने चलन पुरानै हो। तर, अहिले आफ्नै अगुवाइमा पार्टी खोल्न थालेका छन्। यसप्रति तपाईंको धारणा के छ?
व्यापारीहरू पनि यसै देशका नागरिक भएकाले तिनले राजनीतिमा आउनै हुन्न त भन्न सकिन्न। सबै व्यापारी फटाहा छन् वा व्यापार गरेर पैसा कमाउने सबै खराब हुन्छन् भन्ने भाष्य पनि गलत हो। तर, स्वार्थको द्वन्द्वको बारेमा चाहिँ स्पष्ट कानुन आवश्यक छ। हालको अवस्थामा यस विषयमा प्रस्ट कानुन छैन। निजी अस्पतालका मालिक स्वास्थ्यमन्त्री तथा निजी स्कुल–कलेजका मालिक शिक्षामन्त्री बन्न थाल्नु चाहिँ गलत हो। विगतमा पनि यस्ता घटना भएका छन्। 

अर्को कुरा, नेपालमा मात्र नभएर संसारभरि नै राजनीतिलाई व्यापारीले डोर्‍याउन थाले भन्ने किसिमका कुरा चलिरहेका छन्। लोकतन्त्रमा जनप्रतिनिधिले आम जनताको प्रतिनिधित्व गर्छन् भन्ने सोचिन्छ। तर, संसारका विभिन्न मुलुकमा चुनावहरू महँगा हुँदै जाने र कार्यकर्ता पाल्न अनि चुनाव जित्न व्यापारीसित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसा लिन थालेपछि चुनावमा जित्ने जनप्रतिनिधिले समेत ‘जन’को नभएर व्यापारीको प्रतिनिधित्व गर्न थालेका परिदृश्य प्रशस्तै देखिन्छ।

मार्क्सवादी परिप्रेक्ष्यबाट हेर्दा यसलाई ‘दलाल पुँजीवाद’को बढ्दो प्रभावका रूपमा बुझ्न सकिएला, लोकतान्त्रिक कोणबाट हेर्दा राजनीतिक दल, न्याय–प्रणाली तथा अख्तियारजस्ता संस्थाहरूको अवसानको रूपमा!

व्यापारीहरू राजनीतिमै नआउँदा पनि पछाडि बसेर गोटी चलाइ नै रहेका छन्। त्यसैले बरु अगाडि आएर नागरिकको रूपमा दल खोल्नुलाई विरोध गर्नु नपर्ला। कमसेकम ती सार्वजनिक वृत्तमा प्रस्ट त देखिने छन्। प्रस्ट अगाडि आउँदा तिनले (अन्य सबै नेता र सार्वजनिक पदमा रहेकाहरूझैँ) आफ्नो सम्पत्तिबारे सार्वजनिक रूपमा जानकारी गराउनुपर्छ। साथसाथै, स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाएर त्यसलाई कडाइपूर्वक पालना गर्नुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad