अन्तर्वार्ता


मैले बाटो छेकेर ‘मलाई मुख्यमन्त्री नियुक्त गर्नुस्’ भनेर दबाब दिएँ, अनि होटलमै भयो शपथ: सरोज यादव (अन्तर्वार्ता)

‘मधेसमा भारतीय प्रतिनिधिहरूले खेल खेले, अनि कांग्रेस विपक्षी कित्तामा गयो’
मैले बाटो छेकेर ‘मलाई मुख्यमन्त्री नियुक्त गर्नुस्’ भनेर दबाब दिएँ, अनि होटलमै भयो शपथ: सरोज यादव (अन्तर्वार्ता)

जनार्दन पोखरेल
कात्तिक २५, २०८२ मंगलबार १०:३८, काठमाडौँ

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै एमाले नेता सरोजकुमार यादव विवादमा तानिएका छन्। हिजो (कात्तिक २४ गते) उज्यालो नहुँदै हतारहतार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरेर शपथ गराएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सोमबार साँझ बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बर्खास्तसमेत गरिसकेको छ।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपासहितका सात दल मुख्यमन्त्री नियुक्तिको विरुद्ध अदालत जाने तयारीमा छन्। यादवको नियुक्तिभएकै दिन उनीविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ। यस्तो अवस्थामा अब नवनियुक्त मुख्यमन्त्री यादवले कसरी काम गर्लान्? नेपालखबरले  मधेसका मुख्यमन्त्री यादवसँग गरेको वार्ता:

संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको नाताले तपाईँले हतारहतार मुख्यमन्त्री नियुक्त भएर हाेटलमै शपथ ग्रहण त गर्नुभयो, अब पदभार कहिले ग्रहण गर्नुहुन्छ?
जनकपुरमा मुख्यमन्त्रीको कार्यालय नै अहिले सद्दे छैन। कार्यालय जलेको अवस्थामा छ। यसअघिका मुख्यमन्त्री सतिश सिंह जीले पनि कार्यालय व्यवस्थापन गर्न सक्नु भएको थिएन। मुख्यमन्त्री नियुक्त भएपछि मैले कार्यालयका प्रमुख सचिव र सचिवहरूलाई मुख्यमन्त्री बस्ने कुर्सी, टेबुल, रुम कता हो भनेर सोधेकाे छु। उहाँहरूलाई कार्यालय व्यवस्थापन गर्न आग्रह गरेको छु। त्यसको लागि समय लाग्छ। यथाशिघ्र व्यवस्थापन गर्न भनेको छु। त्यसपछि पदभार ग्रहण हाेला। 

तपाईँको नियुक्तिपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरेको छ। यसप्रति तपाईँको धाराणा के छ?

यसअघि पनि यो सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएको थियो। यो सरकारको नियत बुझ्न सकिएको छैन। सरकार कुन जगमा बनेको छ, कसको इसारामा बनेको छ देखिएकै छ। याे सरकारले जनताको लागि, राष्ट्रियताको लागि, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने काम गरेको छ कि छैन यो विषय त आम नागरिक, सञ्चार जगतको चासो र व्याख्या विश्लेषणको विषय छँदैछ। संघीय सरकार नै लागेर, त्यसका प्रतिनिधि र अंगहरू लागेर संघीयता कमजोर गर्ने प्रयास गरिरहेकै छन्। 

त्यसो होइन भने, यो सरकारले एकपटक प्रदेश प्रमुखलाई बोलाएर उहाँको धारणा पनि सुन्नु पर्ने थियो। अहिले हरेक चिजमा ‘भ्याक्युम’ हुँदैछ। याे सरकार त्यही गर्न खाेज्दै छ। पुरानो मुख्यमन्त्रीको राजीनामा, नयाँ मुख्यमन्त्रीको नियुक्ति पनि त्यस्तै हो। म भन्दा अघिका मुख्यमन्त्रीविरुद्धमा पनि त्यतिबेला प्रदेश प्रमुखको निवास अघि नाराबाजी भएकै थियो। 

संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार बन्ने आधार हुँदा हुँदै तपाईँको नियुक्तिको धारा (३) अनुसार किन भयो?
हामीले आँखाले लाइभ हेरिरहेका छौँ त। प्रदेश सदनमा बाेलेका रेकर्ड नै सुरक्षित छन्। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलज्यूले प्रदेशसभामा विश्वासको मतको लागि हाउस बोलाइदिनु पर्‍यो, वातावरण बनाइदिनु पर्‍यो भनेर पत्र पठाउनु भएको छ। उहाँकै पत्र अनुसार सभामुखले बैठक आह्वान गर्नु भएको हाे। त्यहाँ मुख्यमन्त्री ज्यूले मलाई विश्वासको मत दिनुस् भनेर प्रस्ताव पेश गर्नु हुन्छ, त्यहाँ विश्वासको मत मात्रै कार्यसूची राखिएको हुन्छ।

दलहरूले आफ्नो धारणा राख्छन्। दलका प्रतिनिधि कोही विपक्षमा, कोही सत्ता पक्षमा मतदान गर्छु भन्छन्। जुन गठनबन्धनको बलमा सोनलजी मुख्मन्त्री बन्नु भएको हो, त्यही गठबन्धनका माननीहरू भटाभट एकपछि अर्को फ्लोर क्रस गर्दै म दलको ह्वीप मान्दिन भन्नुहुन्छ। यो सरकार हाम्रो आवश्यकताले बनेकै होइन, काठमाडौँले बनाएको हो भन्नुहुन्छ। शक्तिकेन्द्रले बनाएको सरकार भन्नुहुन्छ। मुख्यमन्त्री ज्यूलाई विश्वासको मतको लागि ५४ सांसद आवश्यक पर्थ्याे, माओवादीका दुई सांसदले फ्लोर क्रस गर्दा सत्ता पक्षको संख्या ५२ मा झर्यो। सरकारले सदनमा विश्वासकाे मत नपाउने अवस्था बन्याे। याे सबै आँखा अघि कै हिसाब हो नि। 

अहिले कांग्रेस, जसपा, लोसपा, माओवादी, जनमतसहित सबै दल तपाईँको नियुक्तिको विपक्षमा देखिएका छन्। कसरी काम गर्नुहुन्छ अब?
काम गर्ने विषयमा सबै दलसँग संवाद सहकार्य, परामर्श हुन्छ। मेरो नियुक्ति नै बाध्यात्मक हो, तर संवैधानिक हो। म ठूलो दलको सदस्य र दलको नेता मात्रै हो। मेरो दलको संख्याको बलमा म बहुमतको आधारमा सरकार प्रमुख बनेको होइन। बहुमत अब पुर्याउने हो, गणपूरक संख्या अब पुर्याउने हो। त्यसको लागि वार्ता, संवाद हरेक दलहरूसँग हुँदैछ। धारा ३ को सरकार फेल भयो भने अवस्था कहाँ जान्छ भन्ने पनि दलहरूले आँकलन गरेकै हाेलान्। हामी पनि त्यसको आँकलन गर्दैछौँ। संघीयता अहिलेको आवश्यकता हो, त्यसलाई स्थापित गर्नको लागि मैले हरेक दलसँग सहकार्यको प्रस्ताव राखेको छु, छलफल अघि बढाएको छु। 

प्रदेश सभाका सबैजसो प्रमुख दल तपाईँको विपक्षमै देखिन्छन्, कुन दलसँग छलफल गर्नुभयो? 
छलफल सबै दलसँग भएको छ। कांग्रेसकै दलका नेतासँग मैले दुई-तीनपटक कुरा गरिसकेँ। कांग्रेसको केन्द्रीय नेतृत्वसँग पनि कुरा गरेँ। ठिकै छ अब हतार नगर्ने, छलफल गर्दै जाने भन्ने भएको छ। मेरो नियुक्ति, शपथ सबै भइसकेको अवस्थामा अब अन्य कुरा नगर्ने भन्ने कुरा भएकाे छ। 

तपाईँले हतारहतार होटलमा नियुक्ति र शपथ ग्रहण गर्नुपर्ने बाध्यता के आइलाग्यो?
मेरो नियुक्ति र शपथ होटलमा भयो भनेर ठाउँको बारेमा पनि विवाद गर्नु जरुरी छैन। त्यो प्राविधिक कुरा हो। यसअघि मधेसका एकजना मुख्यमन्त्रीले खुलामञ्चमा शपथ गर्नु भएको थियो। अर्का मुख्यमन्त्रीले कबर्ड हलमा शपथ गर्नु भएको थियो। मलाई जनकपुरमा शपथ ग्रहण गर्ने वातावरण मिलेन, बर्दिवासको होटलमा शपथ गरेँ। 

फेरि मैले प्रदेश प्रमुखलाई घेरेर शपथ गरेको हो। त्यो तपाईँहरूले बुझ्नु होला। प्रदेश प्रमुखलाई मैले जबर्जस्ती घेरेर शपथ गराउनुस् भनेको हो। उहाँ स्वास्थ्यको कारणले मलाई शपथ गराउने अवस्थामा हुनुहुन्थेन। बिरामी भएर काठमाडौँ जाँदै हुनुहुन्थ्यो। मैले बाटोमा घेरेर मलाई शपथ खुवाएर मात्रै जानुस्, नत्र यहाँ भ्याक्युम हुन्छ, संघीयता विरोधी तत्वहरूले अझै खेल्छन् भनेपछि उहाँले शपथ गराउनु भएको हो। 

तपाईँको नियुक्ति र शपथ आकस्मिक रुपमा बनेको कार्यक्रम हो र? 
हो त। उहाँ (प्रदेश प्रमुख)ले मलाई मेरो स्वास्थ्य अवस्था कमजोर भयो, म उपचारको लागि काठमाडौँ जान्छु, भनिसकेपछि मैले तपाईँले जे-जे भए पनि यो देशको लागि, संघीयताको लागि आफ्नो स्वास्थ्यलाई थाति राख्नुस् भनेँ। त्यहाँ मैले लोसपाका नेता कार्यकर्ताले तपाईँको कार्यालय घेरेका छन्, नेकपा एमालेसँग पनि घेर्ने सामर्थ्य छ भनेँ। प्रदेश सभामा लोसपाका ८ जना मात्रै सदस्य छन्, हामीसँग २५ जना सदस्य छन् भनेपछि उहाँ खराब स्वास्थ्य अवस्थाका बाबजुध पनि मलाई शपथ गराउन राजी हुनुभयो। 

तपाईँको पार्टीका प्रमुख सचेतक हरिनारायण महतोले नै ‘हामीसँग कुनै सरसल्लाह नगरि, छलफल नगरि संविधानको गलत धारा प्रयोग गरेर तपाईँ आकस्मिक रुपमा मुख्यमन्त्री नियुक्त हुनु भएको’ भन्दै हुनुहुन्छ। तपाईँले मुख्मन्त्री नियुक्त हुँदा प्रमुख सचेतकलाई नै किन जानकारी गराउनु भएन?
सरसल्लाह गर्ने कोसँग भन्ने पनि हुन्छ। अघिल्लाे दिन प्रदेश प्रमुखले सबै दलका नेतालाई छलफलको लागि बोलाउनु भएको थियाे। दलका नेताहरूले आआफ्ना राय दिए, त्यहाँ मलाई पनि बोलाउनु भएको थियो। मैले त्यहाँ यो संविधानको मलाई धेरै जानकारी छैन भनेको थिएँ। हामीले संविधानको अभ्यास न गरेको हो। संविधानको कुन धारा अनुसार सरकार बनाउने भनेर विज्ञहरुसँग सोध्नुस्। धार २ वा ३ जुनमा गए पनि हुन्छ। तर संविधानमा टेकेर गर्नुस् भन्ने राय मैले मुख्यमन्त्रीलाई दिएको थिएँ। केन्द्रमा पनि संविधानको उपहास, प्रदेशमा पनि संविधानको उपहास भइरहेको छ अहिले। त्यस्तो हुनुहुँदैन भन्ने मेरो राय थियो। चेन अफ कमाण्ड टुट्नु हुँदैन भनेको थिएँ मैले।  

आफ्नै पार्टीका साथीहरूसँग त सल्लाह गरेरै नियुक्ति खाएको भए पनि हुन्थ्यो नि तपाईँले! 
आइतबार राति दलहरूसँग छलफल भएपछि प्रदेश प्रमुखले मलाई धारा ३ अनुसार तपाईँलाई मुख्यमन्त्री नियुक्ति गर्छु भन्नुभयो। राति ११ बजे उहाँले त्यसो भनेपछि मैले त्यतिबेला दलको बैठक राख्न पनि सम्भव थिएन। भोलिपल्ट मात्रै सल्लाह गर्ने सोच मैले बनाएको थिएँ। त्यसअघि नै शपथ भयाे।

तपाईँ अघि आफैँले ‘प्रदेश प्रमुखको बाटो छेकेर मलाई नियुक्ति गर्नुस् भनेको थिएँ मैले’ भन्दै हुनुहुन्थ्यो...
अघिल्लो दिन मलाई प्रदेश प्रमुखले दलको नेताको हैसियतमा छलफलको लागि बोलाउनु भएको थियो। मैले त्यहाँ आफ्नो धाराण राखेँको थिएँ, जुन धारा अनुसार सरकार बनाए पनि हुन्छ। तर, संविधानका जानकारहरूसँग सल्लाह गर्नुस् भनेको थिएँ। म एमालेको नेता हुनेवित्तिकै कानुन म जान्दछु भन्ने हुँदैन नि। उहाँले सल्लाह गर्नु भएकै थियाे हाेला। प्रदेश प्रमुखले मलाई धारा ३ अनुसार तपाईँलाई मुख्यमन्त्री नियुक्ति गर्छु भनेपछि ढिलाे नगराैँ भनेर मात्रै मैले हिजाे  बिहान उहाँलाई अहिल्यै शपथ गराैँ भनेको हुँ। 

तपाईँको नियुक्तकोविरुद्धमा अदालतमा पनि मुद्दा दायर भइसक्यो, अब कसरी काम गर्नु हुन्छ? 
त्यो छाड्नुस्। यहाँ प्रधानमन्त्रीको नियुक्तिकोविरुद्धमा पनि अदालतमा मुद्दा परेको छ। यसअघि पनि त्यस्ता मुद्दा परेका थिए। जसलाई चित्त बुझेको छैन, त्यस्तो पक्ष अदालत जानुलाई मैले अन्यथा मानेको छैन। मेरो नियुक्ति संविधान, कानुन सम्मत छैन भन्ने लाग्दा कानुनको सहरा लिनु, मुद्दा दिनु त सकारात्मक कुरा हो नि। 

भर्खरै देशमा त्यस्तो जेनजी आन्दोलन भयो। अहिले देश अप्ठ्यारो अवस्थामा छ। यस्तो अवस्थामा सबै दलसँग सल्लाह गरेर, सबै दललाई समेटेर सरकार बनाएको भए राम्रो सन्देश जाने थियो नि!
तपाईँले भनेको ठिक हो। यसअघि नै मुख्यमन्त्री सतिश सिंहले पदबाट राजीनामा दिएको बेला मैले नेकपा एकालेको तर्फबाट सबै दल सँगै बसौँ, प्रदेशमा १० वटै दलको सहमतिको सरकार बनाउँ भनेको थिएँ। तर भएन। त्यतिबेला पनि एमालेले मुख्यमन्त्री बन्ने इच्छा गरको होइन नि। मैले आफू मुख्यमन्त्री बन्नको लागि कुनै पहल पनि गरेको होइन। त्यतिबेला नेपाली कांग्रेसले त्योखाले इच्छा व्यक्त गर्यो। हामीले त्यसमा ओके भन्यौँ।

उहाँहरुले पनि राष्ट्रिय सहमतिको सरकारको लागि पहल त गर्नुभयो, तर त्यो पहल सफल भएन। एउटा जनमत पार्टीलाई मात्रै मनाउन सक्नुभयो। अरुलाई मनाउन सक्नु भएन। हामीले जनमतसहित कांग्रस नेतृत्वमा सरकारको दाबी गर्यौँ। तर, प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत भइसकेपछि जनमत फेरि यूटर्न भयो। जनमत आफ्नो निर्णयमा ब्याक भयो। त्यतिबेला नेपाली कांग्रेसको नेतृत्वमा धारा २ अनुसारकै सरकार बनाउन नेकपा एमालेले साथ दिएकै हो नि। हामीले बदमासी गरेका होइनौँ नि। अहिले हामीलाई धारा ३ मा पुर्याउनको लागि जुनजुन दल जिम्मेवार हुनुहुन्छ, उहाँहरुले अहिले जवाफदेहिता देखाउनु पर्ने बेला आएको छ। 

जितेन्द्र सोनल नेतृत्वको सरकार नेकपा एमालेको कारणले ढलेको होइन नि। नेपाली कांग्रेसको कारणले पनि ढलेको होइन। उनीहरूकै गठबन्धनमा रहेका माओवादी केन्द्र र जनमत पार्टीभित्र चेनअफ कमाण्ड नहुँदा अहिलेको अवस्था आएको हो। माओवादी र जनमतका माननीयहरूले जितेन्द्र सोनल जीको सरकार हामीले बनाएको सरकार होइन, काठमाडौँले बनाएको, कुनै शक्ति केन्द्रले बनाएको सरकार भनेर भन्नु नै भएको छ नि।

मन्त्रिपरिषद् विस्तारको तयारी के छ तपाईंँको? 
हामीले सानो आकारको मन्त्रिपरिषद् हिजै गठन गरिसकेका छौँ। दलित समुदायबाट योग्य माननीय एमालेका लखन दास तत्मा, मुस्लिम समुदायबाट विमला अन्सारी र महिला समुदायबाट कन्चन विच्छा मन्त्री बन्नु भएको छ। यसअघिका सरकारमा नेताको सिफारिसमा मन्त्री बन्थे। हामीले समावेसिता र प्रदेशको आवश्यकताको आधारमा मन्त्री बनाएका छौँ। यसअघिका सरकारले दलितलाई, मुस्लिमलाई क्याबिनेटस्तरको मन्त्री बनाएका थिएनन्। हामीले त्यसमा ध्यान दिएका छौँ। सरोज यादवले राम्रो काम गर्छ, अनि स्थापित हुन्छ भनेर अत्तालिएकाहरूले मात्रै अहिले विरोध गरेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट निर्देशन दिनुभयो, प्रदेश प्रमुख एमाले निकटकै हुनुहुन्थ्यो, उहाँले अरु पक्ष विचार नगरी तपाईँलाई हतारहतार मुख्यमन्त्री नियुक्त गर्नुभयो भन्ने आरोप पनि छ नि?
त्यो आरोपमा सत्यता छैन। त्यो आरोप मित्थ्या आरोप मात्रै हो। सत्यता छैन। 

तपाईँको नियुक्तिको विषयमा अध्यक्ष केपी ओलीसँग प्रदेश प्रमुख र तपाईँको केही सल्लाह भएको थिएन त?
मैले अहिलेको परिस्थितिमा हाम्रो पार्टीका राष्ट्रिय अध्यक्ष, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग यसअघि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा चाहीँ सल्लाह गरेको थिएँ। त्यतिबेला उहाँले पनि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुस् भनेर निर्देशन नै दिनुभएको हो। त्यही अनुसार कांग्रेसका नेतालाई मुख्यमन्त्री बनाउन मैले हस्ताक्षर गरेको थिएँ। तर, त्यो धारा २ अनुसारको सरकार हामीले बनाउन सकेनौँ, अरुले नै बनाए, हामी सफल भएनौँ। 

तर, यसपटक हाम्रो अध्यक्ष ज्यूसँग मेराे कुनै सल्लाह भएको थिएन। उहाँले हाम्रो पार्टी च्यानलसँग कुरा गर्नु भएको थियाे होला, तर मसँग भएको थिएन। त्यहाँका कानुन व्यवसायीसँग परामर्श गरेर, संविधानले के भन्छ, त्यो अनुसार जाँदा राम्रो हुन्छ भनेर हाम्रो पार्टीको प्रदेशका नेताहरूलाई अध्यक्षज्यूले भन्नु भएकाे छ भन्ने चाहीँ मैले पनि सुनेको थिएँ। 

कतिपय दल म मुख्यमन्त्री बनेपछि अदालतमा मुद्दा हाल्न गएका छन्। उहाँहरूले अहिलेको प्रधानमन्त्री सम्मानीय सुशीला कार्की होइन भन्नुहुन्छ भने त्यो मान्य हुन्छ त? प्रदेशमा बहुमत भएर मात्रै हुन्छ? त्यसो भने सुशीला कार्की अहिले प्रधानमन्त्री हो कि होइन? उहाँसँग कुन बहुमत छ? उहाँका विषयमा पनि धेरै प्रश्नहरु उठेका छन् त। बहुमत हुँदैमा जे पनि भन्न मिल्छ?

कतिपय शक्ति र व्यक्तिहरू संघीयताको विरुद्धमा छन्। संघीयता नै खारेज गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ। तपाईँहरूले मधेस प्रदेशमा यो खालको लफडा गर्दा संघीयतालाई बदनाम गर्न अझ बल मिल्छ भन्ने लाग्दैन? संघीयताका पक्षधर दलहरू मिलेर जानुपर्ने होइन अहिलेको अवस्थामा?
तपाईँले भनेको एकदमै वास्तविक, सही र स्वाभाविक हो। अहिले संघीयताप्रति विभिन्न ढंगले प्रश्न उठाइरहेका छन्। तर, हामी संघीयताप्रति प्रतिवद्ध छौँ, एमाले प्रतिवद्ध छ। 

तपाईँ त्यसो भन्नु हुन्छ, तर तपाईँहरूको व्यवहारले झन् द्वन्द्व बढाउने काम मात्रै गरिरहेको छ नि? 
के गर्ने त? व्यवहार मिलाउनको लागि कानुन मिच्ने? व्यवहार मिलाउनको लागि संविधान फाल्ने? व्यवहार मिलाउनको लागि राष्ट्रियतालाई छाड्ने? नेपाली कांग्रेसका उपनेता, पूर्वमन्त्री वीरेन्द्र सिंहले हिजाे जनकपुरमा मुख्यमन्त्रीको कार्यकक्षमा गएर हाम्रो राष्ट्रिय झण्डा फालेका छन्। म व्यवहार मिलाउँ कि राष्ट्रियता बचाउँ? मलाई मुख्यमन्त्री चाहिएको होइन। म मुख्यमन्त्री बन्न पनि खोजेको होइन। तर, परिस्थिति त्यो बन्यो। राष्ट्रिय झण्डलाई फाल्ने दल वा व्यक्तिसँग म कसरी व्यवहार मिलाउँ? मेरो पहिलो प्राथमिकता राष्ट्रियता हो, देश हो। त्यसपछि मात्रै पार्टी र अन्य व्यवहारहरू हुन्। व्यवहार मिलाउनको लागि म जे पनि सम्झौता गर्न सक्दिनँ। 

तपाईँ यति कडा कुरा गर्नुहुन्छ। तपाईँको पार्टीका अध्यक्ष केपी ओली पनि यस्तै कडा कुरा गर्नुहुन्थ्यो। अहिले उहाँको हालत, देशको हालत कस्तो छ हामीले देखेकै छौँ नि। तपाईँले पनि त्यस्तै कडा कुरा गर्दा मधेस प्रदेश सरकार कसरी चल्ला र? 
मैले कडा कुरा गरेको छैन, विधिसम्मत कुरा गरेको छु। तपाईँलाई कडा लागेको मात्रै हो। 

तपाईँहरू रातारात तयारी गर्नुहुन्छ, उज्यालो नहुँदै होटलमा गएर शपथ खानुहुन्छ। आफ्नै पार्टीका सांसदसँग पनि छलफल गर्नुहुन्न। विपक्षी दलहरूसँग सल्लाह गर्नुहुन्न। यसलाई कसरी सही भन्न सकिन्छ?
यसअघिका मुख्यमन्त्रीको नियुक्ति कति बजे भएको थियो, तपाईँलाई थाहा छ? देशको परिस्थिति नै त्यस्तो छ त म के गरौँ? मैले मुख्यमन्त्रीसँग राष्ट्रियता साट्दिनँ, म राष्ट्रिय झण्डाको अपमान हुन दिन्न भन्दा कसरी कडा कुरा हुन्छ?

सकेसम्म सबै पक्षलाई समेटेर जाँदा अहिलेको जटिल परिस्थितिमा राम्रो हुन्थ्याे भन्ने मात्रै हाम्रो सुझाव हो नि!
सकेसम्म त मिलेर जान खाजेकै हो। त्यसमा तपाईँको सुझाव ठिक छ। तर संघीयतालाई बदमान गर्ने, राष्ट्रियताको अपमान गर्ने काम अरुबाट भएको छ। यसअघि लोसपाको नेतृत्वमा सरकार थियो। मुख्यमन्त्रीको आवास अस्तीसम्म उनीहरूकै मान्छे बसेका थिए। तर, हिजो उनीहरूले नै त्यहाँ तोडफोड गरे। त्यहाँ बस्ने मुख्यमन्त्री वा व्यक्ति प्रमुख कुरा होइन नि। व्यक्ति त फेरबदल भइरहन्छन्। तर कार्यालय रहे न मुख्यमन्त्री त्यहाँ बस्छन्। लोसपाको त्यो क्रियाकलापले उनीहरूलाई संघीयता चाहिएको देखाउँछ र? 

देश संकटमा छ। यहाँ भित्रभित्र धेरै खेलहरू भएका छन्। मधेसमा एकाएक नेपाली कांग्रेस एमालेलाई छाडेर किन उता गयो, त्यो तपाईँहरूले बुझ्नु भएकै छैन। भारतीय प्रतिनिधिहरूले बसेर के-के खेल खेले त्यो तपाईँले पनि मलाई सोध्नु भएन। 

त्यो त हामीलाई जानकारी नभएर पनि हो नि! त्यो विषय तपाईँलाई जानकारी रहेछ, हामीलाई भन्नु न त अब? 
अहिलेलाई यत्ति नै भनौँ। तपाईँले संकेतमा मात्रै बुझ्नुस् अहिलेलाई। यहाँका मुख्यमन्त्री र दलका नेताहरूको कारणले मात्रै याे सबै भएको होइन। शक्ति केन्द्रको हात छ त्यसमा। 

अब मन्त्रिपरिषद् विस्तार गर्दा अरु दललाई पनि समेट्नु हुन्छ? 
समेट्छु। म प्रसायमै छु। मैले जनमतका केन्द्रीय नेतृत्वलाई तपाईँहरूको नेतृत्वमा हामीले यसअघि सकार बनाएका छौँ। त्यतिबेला नेकपाकै कारणले जनमत, जसपाको नेतृत्वमा सरकार बनेको थियो। केही दिनअघि नेपाली कांग्रेसको नेतृत्वमा पनि सरकार बनाउन एमाले तयार भएकै हो। हामीले  सबैलाई सहयोग गरेका छौँ। अब संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनको निम्ति उहाँहरूले पनि एमालेलाई सहयोग गर्नुपर्छ भन्ने मेराे मान्यता हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad