ad ad

कर्णाली


वीरेन्द्रनगरका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा

वीरेन्द्रनगरका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा

दिनेश बुढा
फागुन २६, २०७९ शुक्रबार १७:२१, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेको छ। शुक्रबार एक कार्यक्रमबीच वीरेन्द्रनगर नगरपालिकाले विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको हो। 

नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिन्।

यस्तै, शुक्रबार नगरपालिकाभित्र बसोबास गर्ने विपन्न नागरिक खगेन्द्रप्रसाद शर्मा, वीरबहादुर नेपाली, कमला बैगार र तुल्सीकुमारी ढकाललाई विपन्न नागरिक स्वास्थ्य बीमाको परिचय पत्र समेत वितरण गरिएको छ। 

नगरपालिकाले चालू आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन समेत गरेको थियो। 

परिचय पत्र वितरण गर्दै नगर प्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्‍याउन नगरपालिकाले उत्साहपूर्ण र मत्वाकांक्षी योजनाका रुपमा बीमा कार्यक्रमको शुभारम्भ गरेको बताइन्।

‘स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउदै नेपालको संविधानले समाजवादको नीति लिए अनुरुप राज्यबाट प्रवाह हुने सेवा सुविधा हरेक नागरिकले सहज पाउनु पर्ने भन्ने छ’ नगर प्रमुख ढकालले भनिन् ‘नेपाल सरकारले तोकेको अति विपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ।’

स्वास्थ क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बीमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने विश्वास लिएको ढकालको भनाई थियो। यस्तै छिटो छरितो सेवा प्रवाहका लागि नगरपालिकाले स्वास्थ्य संस्थाहरुसँग आवश्यक समन्वय गर्ने ढकालको भनाई छ। 

स्वास्थ बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अति बिपन्न परिवारको पहिचान गरि बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ। 

जसका लागि स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश र नगरपालिकाबीच सम्झौता समेत भएको छ। उक्त सम्झौता पत्रका बीमा बोर्डकी कर्णाली संयोजक सिर्जना पौडेल र वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले हस्ताक्षर समेत गरेका छन्। 

उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने ३५०० बराबरको रकम तिरी दिनेछ। हालसम्म नगरपालिकामा करिव तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन्। सुर्खेतमा स्वास्थय बीमा कार्यक्रम २०७४ सालबाट लागू भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .