कर्णाली


भूकम्पको दुई सातापछि प्रभावित क्षेत्रमा स्वंयसेवक पठाउँदै एमाले

भूकम्पपीडित ४ जनाको चिसोले मृत्यु
भूकम्पको दुई सातापछि प्रभावित क्षेत्रमा स्वंयसेवक पठाउँदै एमाले

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार २०:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जाजरकोट भूकम्पपीडितका अस्थायी घर निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ। 

भोलि (मंसिर १) देखि पार्टीले स्वयंसेवक परिचालन गर्न लागेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। 

बिहीबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्केको एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन्।

पोखरेलले घरबारविहीन भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावितलाई जति सक्यो, सुरक्षित आवासमा सार्न पार्टीका तर्फबाट खटाइने स्वयंसेवकले भोलिबाटै काम थाल्ने बताए। 

गत कात्तिक १८ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि पनि केही शक्तिशाली परकम्पले स्थानीयका आवासमा क्षति पुर्‍याएका छन्।   

महासचिव पोखरेलका अनुसार, ‘भूकम्प पीडितका आस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयंसेवकमध्ये पार्टीका पोलिटब्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयंसेवकले भोलिदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्नेछ।’

भूकम्पपीडितका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिबाट सत्ता र शक्तिको चरम दुरुपयोग भएको उनले आरोप लगाए।

साथै, महासचिव पोखरेलले कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्न पनि पार्टीका ९ वटै प्रदेश कमिटीहरूको प्रतिनिधित्व हुने गरी एक हजार स्वयंसेवक परिचलान गर्न लागेको बताए।

भूकम्पपीडित ४ जनाको चिसोले मृत्यु

भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै एमाले केन्द्रीय सदस्य निरज आचार्यले भूकम्प प्रभावितहरूलाई राहत वितरण एकद्वार प्रणालीबाट गर्ने नाममा सत्तापक्षीय राजनीतिक दलका नेताहरूले विभेद गरेको गुनासो गरेका थिए।

‘जिल्ला सदरमुकाममा राहत थुप्रिएर बसेको छ । गाउँमा भूकम्पपीडित नागरिक खाली पेटमा खुला आकाशमुनि बस्न बाध्य छन्’ केन्द्रीय सदस्य आचार्यले थपे, ‘बहालवाला मन्त्री र सत्तारुढ दलका नेताहरूले आफूपक्षीय जनपतिनिधिमार्फत् आफ्ना पार्टीका कार्यकर्तालाई छानेर राति राहत सामग्री वितरण गर्ने गरेका कारण वास्तविक भूकम्पपीडित समस्यामा छन्।’

जाडोका कारण अहिलेसम्म चार जना भूकम्प पीडितको ज्यान गइसकेको उल्लेख गर्दै आचार्यले जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावितहरूलाई मंसिर महिनाभित्रै खुला आकाशबाट सुरक्षित अस्थायी आवासमा सार्न नसके हिउँदको चिसोमा थुप्रै बालबालिका र वृद्धवृद्धाको ज्यान जोखिममा पर्ने उल्लेख गरे।

छलफलमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य सूर्यमणि गौतमलगायत थिए। 

सय सदस्यीय एमाले केन्द्रीय फोर्स जाजरकोट 
जाजरकोट भूकम्प प्रभावितहरूको खोज, उद्धार तथा पुनःनिर्माणमा लागि एमालेको एक सय सदस्यीय स्वयंसेवक टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगेको छ।

भूकम्पले भग्नावशेषमा परिणत भएका बस्तीहरूको खोज, उद्धार र अस्थायी घर-टहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको केन्द्रीय फोर्स भूकम्प प्रभावित क्षेत्र पुगेको हो। 

पार्टी केन्द्रको निर्णयअनुसार टोलीले भग्नावशेष हटाउने, बाटाका अवरोध पन्छाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .