मुगुको छायाँनाथ रारा नगरपालिका–१ मा पर्ने अल्कासाँघुको गमगाढ खोलामा काठको फड्के (लाप्का) तर्दैगर्दा खुट्टा चिप्लिएर नदीमा झरेका दुई युवतीको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
सोमबार दिउँसो यहाँस्थित प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाम दर्शन गरेर फर्कने क्रममा यो घटना घटेको थियो। काठको लाप्का तर्दैगर्दा उनीहरू खसेको भिडिओमात्रै देख्नेले उनीहरूको सकुशल उद्धार भयो भन्दा नपत्याउन पनि सक्छन्।
निकै ठूलो भेलसहित उर्लिएको गमगाढ खोलामा खस्दा पनि ती दुई युवतीको करिब २ सय मिटर तल सकुशल उद्धार भएको थियो।
खोला निकै ठूलो थियो। अलि अलि पानी परिहेको थियो। विस्तारै मान्छेहरू लाप्कामार्फत ओहोरदोहोर गरिरहेका थिए।
ती दुई युवती खस्दैगर्दा भिडिओ बनाइएको थियो। तर, प्रहरीले दिएको जानकारी अनुसार, सोही दिन अन्य ४ जनालाई पनि खोलाले बगाएको थियो। उनीहरू सबैको सकुशल उद्धार भएको प्रहरीले बताएको छ।
उक्त घटना घट्दैगर्दा सोही नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्ल पनि त्यही थिइन्। उनका अनुसार, धाममा जानुअघि सम्म त्यहाँ तर्ने काठको पुल थियो।
‘छायाँधाम धाममा हामी दर्शन गर्न गएका थियौँ। त्यहाँबाट आउँदा एक्कासी पानी आएर खोला बढेछ। त्यो पुल पनि बगाएछ। हामी आउँदा एउटा सानो सानो काठको पुल लगाएको थियो। त्यसमा चिप्लिएर दुईजना खस्नुभयो,’ उनले भनिन्।
उनका अनुसार, खोलामा खसेकाहरू सोही नगरपालिका–१ की सक्कली शाही (भाउजू) र सपना मल्ल (नन्द) हुन्।
उनीहरू सकुशल उद्धार भएका हुन्। त्यहाँबाट घरसम्म हिँडेर आएको उनले जानकारी गराइन्।
यस्तो छ उपप्रमुख मल्लको भनाइः
म पनि त्यहीँ थिएँ। सँगै थियौँ। हाम्रै मान्छे हुन्। हाम्रो वडा नम्बर १ बस्नुहुन्छ।
छायाँधाम धाममा हामी दर्शन गर्न गएका थियौँ। त्यहाँबाट आउँदा एक्कासी पानी आएर खोला बढेछ। त्यो पुल पनि बगाएछ। हामी आउँदा एउटा सानो सानो काठको पुल लगाएको थियो। त्यसमा चिप्लिएर दुईजना खस्नुभयो।
उहाँलाई केही पनि भएन। उतिखेरै निकाल्यौँ। बच्चालाई पनि ठिकै छ। २÷३ सय मिटर तल पुगेर निकाल्यौँ। नगर प्रहरी पनि सँगै थिए, गाउँका केटाहरू पनि थिए। उनीहरूले नै निकाले। हस्पिटल लानु परेन। उहाँ त्यहाँबाट हिँडेरै आउनुभएको हो।
यो बाटो धेरै व्यस्त हो। ११, १२, १० नम्बर वडा पनि त्यही बाटो हो। पुल बनाउने पहल गर्दैछौँ। पिलर बनिसकेको छ। केन्द्रबाट मुगुमा बजेट थोरै छुट्याउने, वास्ता नगर्ने भएको छ। आर्थिक वर्ष पनि केही आएन। सरकारले ध्यान नपुर्याएको अवस्था हो।
Shares
प्रतिक्रिया