प्रदेश नम्बर १ का ६ वटा सहरमा बाढी नियन्त्रण तथा ग्रामीण क्षेत्रका सडक स्तरोन्नतिका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना सुरु हुन लागेको छ।
प्रदेश १ का विराटनगर महानगरपालिका, इटहरी, धरान उपमहानगरपालिका, दुहवी इनरुवा र दमक नगरपालिकामा यो परियोजना सुरु गर्न लागिएको हो।
हरेक वर्ष बाढी र डुबानले धनजनको क्षति भएपछि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यो परियोजना सञ्चालन गर्न लागिएको हो।
५ वर्षमा सक्ने परियोजनाका लागि सरकारले सम्झौता गरिसकेको छ। सरकारसँगको सम्झौतापछि एडीबीले ती पालिकाको डुबान समस्या र समाधाना लागि अध्ययन गरिसकेको इटहरी उपमहानगरका भौतिक पूर्वाधार विज्ञ अर्जुन दहालले बताए।
उनका अनुसार इटहरीमा सो परियोजनाअन्तर्गत बूढीखोला र शेराखोलामा तटबन्ध गरिने छ। यस्तै ट्यांग्रा खोलाको डाइभर्सन गरी बूढीखोलामा मिसाउन योजनासहित प्रस्ताव गरिएको दाहालले बताए।
सोही परियोजनाअन्तर्गत बूढीखोलाको तटबन्धमा सडक निर्माण तथा सौन्दर्यकरण गर्ने र अन्य ग्रामीण क्षेत्रलाई जोड्ने सडकको स्तरोन्नतिका लागि समेत प्रस्ताव गरिएको दाहालले जानकारी दिए।
विराटनगरमा भने एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्यान्डपुलिङका लागि डीपीआरको काम सुरु भइसकेको छ।
विराटनगरमा यसअघि पनि एडीबीको सहयोगमा सहरी विकास परियोजना (आरयूडीपी) सञ्चालन भएको थियो।
यो कार्यक्रम भने तेस्रो चरणको कार्यक्रम भएको र यसका लागि एडीबीले काम सुरु गरेको छ।
एडीबीका प्रतिनिधिहरूले केही दिनअघि महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएका प्रगतिका विषयमा छलफल गरेको थियो।
क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीबीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ।
एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो।
प्रतिक्रिया