विराटनगरमा मेला लगाउने विषयमा उद्योगी र व्यापारीबीच विवाद भएको छ।
विराटनगरमा उद्योग संगठन र मोरङ व्यपार संघले आलोपालो गरेर मेला लगाउने गरेकामा उद्योग परिसंघले पनि मेलाको आयोजना गर्न लागेपछि विवाद भएको हो।
पालोअनुसार उद्योग संगठनले आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) आयोजना गर्ने घोषणा गरेको छ।
उद्योग परिसंघ प्रदेश १ ले पनि माघ १९ गतेदेखि २८ गतेसम्म कृषि तथा औद्योगिक प्रदर्शनी सीआईएन एक्स्पो २०२३ आयोजना गर्ने घोषणा गरेपछि विवाद सतहमा आएको हो।
परिसंघले आयोजना गर्ने मेलाको सहयोगीका रूपमा उद्योग सगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघलाई राखेको छ।
सहयोगीका रूपमा राखेको विराटनगरका खुद्रा व्यपारीहरूको संस्था विराट व्यापार संघले विज्ञप्ति जारी गर्दै आफूहरू सहयोगी संस्थाका रूपमा नबस्ने घोषणा गरेको छ।
विज्ञप्ति जारी गरेर आफूबाहेक अर्को कुनै पनि संस्थाले आयोजना गर्ने मेला महोत्सवमा सहयोगी संस्थाका रूपमा नबस्ने घोषणा गरेको संघका अध्यक्ष नरेशकुमार खत्रीले बताए।
उनले परिसंघले आफ्नो संस्थालाई मेलाको सहयोगी भन्दै प्रचार गरेको आपत्ति जनाएका छन्।
विराटनगरमा विगत २६ वर्षदेखि लागिरहेको व्यापारिक मेला सञ्चालन गर्ने विषयमा उद्योगी–व्यवसायीहरूबीच ५ वर्षअघि उद्योग संगठन र मोरङ व्यपार संघकाबीच आलोपालो गरेर मेला आयोजना गर्ने सहमति भएको थियो।
सहमतिविपरीत तेस्रो संस्थाले उही समयमा मेला आयोजना गर्ने मिति घोषणा गरेपछि विराटनगरका उद्योगी व्यापारी दुई ध्रुवमा बाँडिएका छन्।
भीम घिमिरे उद्योग संगठनको अध्यक्ष भएका बेला मेला आलोपालो लगाउने सहमति भएको थियो।
अहिले घिमिरे उद्योग परिसंघ प्रदेशका अध्यक्ष छन्। उनै अध्यक्ष रहेको परिसंघले पनि मेला लगाउने भनेपछि विवाद उत्पन्न भएको उद्योगी व्यपारीहरू बताँउछन्।
नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरे आफूहरूले मेला लगाउने विषयमा लामो समयदेखि तयारी गरेको बताए।
उनले दुई संस्थाबीच आलोपालोको सहमति भएको भए पनि विराटनगरमा गएको २ वर्ष ग्याप राखेकाले समस्या भएको उनको भनाइ छ।
‘व्यापार संघले २०७७ सालमा र उद्योग संगठनले २०७८ सालमा मेला लगानुपर्ने थियो’, उनले भने, ‘उनीहरूले नलगाएपछि हामीले लगाएको हो।’ उनले थपे, ‘हामीले सबै तयारी गरिसकेका छौं, हामी मेला लगाँउछौं।’
उद्योग संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले मेला लगाउने पालो भएकाले उद्योग संगठनले मेला लगाउने बताए। उनले भने, ‘अब पालो हाम्रो हो, हामी मेला लगाउँछौं। अरूले के गर्छन् थाहा छैन।’
गोल्छाले भने, ‘व्यापार संघसँग आलोपालो गर्ने हाम्रो लिखित सहमति छ। सहमतिअनुसार व्यापार संघले हामीलाई सहयोग गर्छ।’
उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला लगाउने विषयमा सहमति भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। तर मेला लगाउने विषयमा भएको विवाद ठूलो नभएको र मिल्ने उनको भनाइ छ। ‘यो कुनै ठूलो समस्या र विवाद होइन। विवाद निकाल्न खोजिएको हो’, उनले भने, ‘उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेल आएपछि सबै कुरा मिल्छ।’
प्याकुरेल अहिले देश बाहिर छन्। रिजालले भने, ‘अध्यक्ष आएपछि सबै कुरा मिल्छ। यसलाई आवश्यक विवाद बनाउने पक्षमा हामी छैनौं।’
प्रतिक्रिया