लघुवित्त वित्तीय संस्थाको ऋणी बढ्दै गएपछि मोरङको कानेपोखरी गाउँपालिकाका विपन्न समुदाय विस्थापित हुन थालेको छ।
जीविकोपार्जन सहज बनाउने उद्देश्यले ऋण लिएका महिलाहरू एकपछि अर्को लघुवित्तको ऋणी बन्दै गएपछि अधिकांश वडाका स्थानीय विस्थापित हुन थालेका हुन्।
पूर्व पश्चिम राजमार्ग भन्दा करिब सात किलो मिटर दक्षिणमा पर्ने कानेपोखरी गाउँपालिका–२ लिम्बु टोलका हरेकजसो परिवार ऋणको चक्रमा फसेका छन्।
यहाँका घरपिच्छेका व्यक्तिले घर गर्जो टार्ने लघुवित्त संस्थाहरूबाट ऋण लिएका छन्।
गाउँमा बसोवास गर्ने अधिकांशका घरमा ताल्चा लगाएको देखिन थालेको छ। ऋण तिर्न नसकेर घरै छाडेर भाग्नेदेखि संस्थाका कर्मचारीबाट जोगिन लुक्नुपर्ने अवस्था सृजना भएको छ।
स्थानीयका अनुसार लघुवित्तकै ऋण तिर्न नसकेपछि कानेपोखरी–६ का ध्रुव परियार परिवारसहित बेपत्ता छन्। कानेपोखरी–७ का धनमाया जोगी पनि ऋणकै कारण विस्थापित भएकी छिन्।
कानेपोखरी–२ लिम्बु टोलका ध्यानबहादुर पाण्डे पनि परिवारसहित घरमा ताल्चा लगाएर भारततिर लागेका छन्। २ जना छोरीलाई मावलीमा छोडेर हिँडेका पाण्डेकी श्रीमती भने विदेशमा छिन्।
कानेपोखरी २ लिम्बू टोलका पूर्ण लिम्बूले झन्डै ७ वटा लघुवित्त संस्थाबाट लिएका रहेछन्। बङ्गुर फर्मको नाममा ऋण लिएका उनले १४ महिना साउदी बसेर ५ लाख जति ऋण पनि तिरेका थिए।
तर, साँवा ७–८ लाख रुपैयाँको ब्याज तथा हर्जाना बढेर अहिले १५ लाख कटेपछि समस्या बढेको उनी बताउँछन्।
उनी अहिले अर्कैको जग्गामा घर बनाएर बसेका छन्।
बङ्गुर फर्म सञ्चालन गर्ने भनेर बिना धितोमा नेरुडे, फरवार्ड, जीवन विकास, नागबेली, माइक्रो फाइनान्स, स्वदेशी लघुवित्त तथा स्वावलम्बन, इन्टिभिटी भन्ने संस्थाबाट १ लाख, डेढ लाख, ५० हजारका दरले ऋण लिएका थिए।
‘सबैको गर्दा झन्डै १५ लाख रुपैयाँ ऋण पुगेको छ। जम्मा सावाँ रकम लिएको झन्डै ७–८ लाख थियो। किस्ता तिर्न नसकेपछि नविकरण गर्नु भन्दै सावाँको डबल बनाइने गरेको छ,’ उनले गुनासो गरे।
अहिले ऋणको रकम उठाउन लघुवित्तका एजेन्टहरू घरमा आउँछन्। उनीहरु आउँदा आफ्नो समस्या सुनाउँदै घरमा बसिनसक्नु परेको उनी बताउँछन्।
‘मलाई जेल लाने हो भने पनि लगोस्। छोराछोरी पनि सरकारले हेरिदेओस्’, उनले भने, ‘ऋण तिर्न सकिएन, घरमा बसिसक्नु पनि छैन, उमेर पनि ढल्किँदै गएको छ। एउटा संस्थाले त झुन्डिएर मर भन्यो, मैले म मर्दिन भने।’
आफ्नी श्रीमतीलाई पनि विदेश पठाएन लागेको पनि उनले सुनाए।
उनी जस्तै यस ठाउँका धेरै महिलाहरू अहिले लघुवित्तका धान्नै नसक्ने ऋणको दलदलमा फसेका कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी बताउँछन्।
‘गाउँका अधिकांश परिवार लघु वित्त संस्थाकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन्’, उपाध्यक्ष अधिकारी भन्छन्, ‘केही परिवार विस्थापित नै भएका छन्। विस्थापित मात्रै होइन, परिवार नै छिन्नभिन्न भएका छन्।’
पालिकामा दर्जनौँ मानिसहरू यसरी विस्थापित भएको जानकारीमा आफूहरुले पाएको उपाध्यक्ष अधिकारीले नेपालखबरलाई बताए।
लघुवित्तबाट सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्तिबाट पाइलैपिच्छे ठगिएका उनीहरूको परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेको पीडित मनमाया पाण्डेको गुनासो छ।
ऋण तिर्न मिटर ब्याजको सहारा लिएका कारण भएका घर पनि उनीहरूलाई जोगाउन मुस्किल परेको अर्को पीडित सीता झाँगडले बताइन्।
लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ। यसरी छिटो–छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो भन्ने समेत ऋणीलाई थाहा हुन छाडेको गुनासो छ।
ब्याज पनि सावाँमा जोड्ने क्रमसँगै ऋणको भारमा फस्ने गरेका छन्।
कानेपोखरीका प्रयास सबै वडामा नेरुडे, फरवार्ड, नेपाल सा रडा, अभियान, इन्फिनिटी, स्वावलम्बन, समिट, स्वावलम्बन लगायतका करिब डेढ दर्जन संस्थाले समूह बनाई ऋण लगानी गरेका छन्।
ती मध्ये महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नेतृत्व गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड १ नम्बर प्रदेशका ठूला वित्तीय संस्थामा पर्छन्।
संस्थापक प्रमुख योगीलाल मण्डल भने वित्तीय संस्था र बैङ्कहरूमाथि अहिले आक्रमण गरेर राष्ट्रलाई असफल गर्ने प्रयास भएको बताए।
‘अहिले अध्ययन गर्दा १० प्रतिशत भन्दा बढी महिलाहरू अप्ठ्यारोमा छैनन्,’ मण्डल भन्छन्, ‘माइक्रो फाइनान्सहरुमा ४ खर्ब दायित्व छ। १ खर्ब बचत छ। बाँकी ऋण हो। त्यसमा केही प्रतिशत मात्रै शेयर पुँजी छ। यसरी ऋण नै नतिर्ने हो भने डुब्छ को? यो त देश डुबाउने डिजाइन हो।’
प्रतिक्रिया