ad ad

कोशी


तुलसी बहुमुखी सहकारी संस्था संकटमा फसेपछि सर्वसाधारणको डेढ अर्ब जोखिममा

तुलसी बहुमुखी सहकारी संस्था संकटमा फसेपछि सर्वसाधारणको डेढ अर्ब जोखिममा

ध्रुव भट्टराई
फागुन ११, २०७९ बिहिबार २१:२०, विराटनगर

विराटनगर–३ मा मुख्य कार्यालय रहेर तुलसी बहुमुखी सहकारी संस्था संकटमा फसपछि सर्वसाधरणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ जोखिममा परेको छ।  

सहकारीले अहिले आफ्नो मुख्य कार्यालयसहित शाखा कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन्। तुलसी सहकारी विराटनगरको ठूलो सहकारी हो। यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन्।

विराटनगरका ५ हजार जनाबाट मात्रै झण्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरु बताउँछन्।

झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप बचत रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ।

सहकारी संकटग्रस्त बनेसँगै बचतकर्ताले आफ्नो पैसा फिर्ता गर्न प्रशासन गुहारेका छन्। यसअगाडि पनि समस्याहरुबारे संचालकलाई सहकारी विभागले जानकारी दिएको र सुझावहरु दिएको थियो। तर, विभागले दिएको सुझावलाई बेवास्ता गर्दा समस्या देखिएको बताइएको छ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन्। सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी सम्पर्कविहीन छन्। यस्तै उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका छन्। सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै रहेका छन्।

उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी छिन्।

बचतकर्ताहरुको अत्याधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै संचालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन्। उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन्।

दुई वर्ष अघिदेखि सो सहकारी संस्थाले आफ्नै भवनमा डिपार्टमेन्ट स्टोर र सेवा केन्द्र चलाउँदै आएको थियो। सो सहकारी संस्थाले दमक आसपासमा जग्गा खरिद तथा उद्योग सञ्चालन गर्दै आएको पनि पीडितको दाबी छ। सहकारीले काठमाडौँको गोठाटारमा गोर्खा टी एण्ड कफी उद्योग प्रालि स्थापना गरेको छ।

उक्त उद्योगले नेपालमै उत्पादित चिया तथा कफीलाई प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेको छ। यस उद्योगले नेपाली चिया बजारको ३० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै आएको थियो।

यस्तै, गोर्खा वेभरेज प्रालि नामक उद्योग पनि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाकै अर्को उद्योग हो। यस उद्योगबाट मास्टर अक्वा, रि भोरा, गेटअप जस्ता ब्रान्डका शुद्ध पिउने पानीले राजधानीको २० प्रतिशत हिस्सा ओगटेको दाबी छ।

यस्तै, शिखर फ्रुट एण्ड स्पाइसेज प्रालि पनि यही सहकारीको अर्को उद्योग हो। यस उद्योगको कार्यालय नेपालगन्जमा रहेको छ। उक्त उद्योगले नेपाली माउथफ्रेसनर ‘फ्रुट मजा’ बजारमा ल्याएको छ। यस्तै, टोमाटो केचअप, सस तथा अन्य विभिन्न किसिमका मसलाहरूलाई पनि यसले उत्पादन गर्दै आएको छ।

यस्तै, भक्तपुरको मध्यपुर ठिमीमा शिखर दीप बचत तथा ऋण सहकारी संस्था पनि यही सहकारीसँग सम्बद्ध छ। उक्त सहकारीले उपत्यकाका २० हजार सदस्यसँग कारोबार गर्दै आएको जनाइएको छ। शिव शिखर कृषि सहकारी संस्था पनि तुलसी बहुउद्देश्यीय सहकारीसँगै आबद्ध छ।

यो सहकारीले उन्नत जातका बिउ, बिजन, रासायनिक मल, कृषि औजार तथा कृषि उद्योगसँग सम्बन्धित अन्य सामाग्री विक्री गर्दै आएको छ। सहकारीले भारतबाट उच्चस्तरको चामल आयात गरी प्याकेजिङ पश्चात बजारमा विक्री वितरण गर्दै आएको छ।

उपकार जिरा मसिनो, उपकार जिरा मसिनो स्टिम रानी महल लंग ग्रेन, वेलकम तथा उपकार बासमती ब्रान्डका चामलहरु यसका उत्पादन हुन्।

सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय छ। सबैतिर सहकारीको बचत १ अर्ब ४५ करोड बराबर रहेको बताइन्छ। सहकारीले ४८ करोड ऋण लगानी गरेको छ भने शेयर पूँजी १० करोड रहेको छ।

२०७१ सालमा स्थापना भएको तुलसी बहुमुखी सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए। सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .