संघीय सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश १ सरकार अनिश्चित बनेको छ। एमालेको नेतृत्वमा रहेको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जसपाले समर्थन गरेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै कुनै पनि समय ती दलले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने भएकाले एमाले संसदीय दलका नेता समेत रहेका हिक्मत कार्की नेतृत्वको सरकारको आयु अनिश्चित बनेको हो।
यद्यपी अहिलेसम्म भने एमालेले प्रदेश सरकारको नेतृत्व गरिरहेकाले अन्य सत्ता साझेदार दलले समर्थन फिर्ता नलिएका कारण सरकारले केही समय भने निरन्तरता पाउने भएको छ।
एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार हाल अल्पमतमा परेको छ।
तर प्रदेश १ मा भने एमालेको नेतृत्वमा सरकार भएकाले तत्कालका लागि प्रदेश सरकार जोगिएको छ।
नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश १ मा सरकारको नेतृत्व एमालेले गरेकाले केन्द्रको परिस्थिति जे भएपनि सरकारमा सामेल अन्य घटक माओवादी, राप्रपा र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म यही सरकारले निरन्तरता पाउने बताए।
‘एमालेकै नेतृत्वमा सरकार छ। मुख्यमन्त्रीले पदबाट राजीनामा दिने कुरा सोचिसकेको अवस्था छैन’,भण्डारीले भने, ‘सरकारमा सामेल अन्य घटकले समर्थन फिर्ता लिएपछि संवैधानिक ब्यवस्था अनुसार अघि बढ्छौँ। अहिलेको अवस्थामा हामीले सरकार चलाइरहेका छौँ, चलाई रहन्छौँ।’
माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङम्वोले प्रदेश सरकारको सत्ता समीकरण र फेरबदलको बारेमा अहिलेनै कुनै निष्कर्षमा पुगिनसकेको र यो सरकालाई माओवादीको समर्थन रहेको बताए।
‘माओवादी केन्द्र लगायतका अन्य दुई घटक सम्मिलित एमालेको नेतृत्व अहिलेकै अवस्थामा निरन्तरता पाउँछ’,आङ्बोले भने, ‘अब राष्ट्रिय राजनीतिमा आउने फेरबदल र नयाँ विकसित राजनीतिक घटना क्रमसँगै आगामी दिनमा आवश्यक निर्णय लिन्छौँ।’
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थन छ।
कार्कीको नेतृत्वमा हाल माओवादीबाट २, एमालेबाट २, राप्रपाबाट १ र जसपाबाट १ जना रहेको ७ सदस्यीय मन्त्रिमण्डल रहेको छ।
राप्रपाले अन्य ६ प्रदेशमा समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिइसक्दा पनि प्रदेश १ मा भने राप्रपाले तत्काल सरकारबाट नबाहिरिने जनाइसकेको छ।
प्रतिक्रिया