ad ad

कोशी


पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन कोशी अस्पतालसँग सम्झौता

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन कोशी अस्पतालसँग सम्झौता

ध्रुव भट्टराई
फागुन १६, २०७९ मंगलबार १३:३८, विराटनगर

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी मंगलबार सम्झौता भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो।

कोशी अस्पताल संघ सरकार अन्तर्गत रहेको छ।

दुई साता अघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी  त्रिपक्षीय सम्झौता गरिएको उपकुलपति प्रा डा यादवराज कोइरालाले बताए।

‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ उपकुलपति कोइरालाले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्छौ।’

सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन्।

यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो।

सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो।

मन्त्रिपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रकृया अघि बढाइएको हो।

मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ। तर, पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन। सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो।

विद्यार्थीको पढाइ भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटाइएको थियो।

सोही समयमा नै मेडिकल कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको थियो।

२०६२ सालसम्ममा मेडिकल कलेज चलाउनका लागि ६० करोडको लगानीमा आवश्यक नौ वटा भवन निर्माण गरिएको थियो।

सोही समयमा पाँच करोड मूल्य बढीका उपकरण पनि खरिद गरेको थियो। चिकित्सक र ३५ जना स्टप नर्सलाई २०६६ सालमै नियुक्ति दिएर हालसम्म तलब खुवाउँदै आएको छ।

तर, मेडिकल कलेज सञ्चालनका निम्ति सोही साल संशोधित चिकित्सा शिक्षा ऐनले तोके अनुसारको मापदण्ड पियूले पुरा गर्न नसक्दा मेडिकल कलेज सञ्चालनको लागि खड्डा गरिएका भवन रेखदेख र संरक्षण अभावमा भवन लथालिङ्ग अवस्थामा पुगेका छन्।

उपकरणपनि सञ्चालन नआउँदै काम नलाग्ने अवस्थामा पुगेका छन भने विश्वविद्यालय घाँसे मैदानमा परिणत हुदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .