ad ad

कोशी


प्रदेश १ को संसद् बस्दै, प्रदेशको नामकरण गर्ने प्रस्ताव पेस हुने

‘कोसी’ राख्ने सम्भावना
प्रदेश १ को संसद् बस्दै, प्रदेशको नामकरण गर्ने प्रस्ताव पेस हुने

फाइल।


ध्रुव भट्टराई
फागुन १७, २०७९ बुधबार ९:४७, विराटनगर

लामो समयदेखि थाँती रहेको प्रदेश १ को नामकरणको विषयले आज प्रदेशसभामा प्रवेश पाउने भएको छ। 

प्रदेश १ सरकारले आज बस्ने प्रदेशसभा बैठकमा नामकरणको प्रस्ताव पेस गर्ने तयारी गरेको हो। तर यो विषयलाई सरकारले गुपचुप राखेको छ।

प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्ति सिटाैलाले सरकारकारले नामकरणको विषयलाई पहिलो प्राथमिक्तामा राखेकाले सरकारका तर्फबाट प्रदेशसभामा नामकरण लैजाने विषयमा सरकारको मूल काम भएको बताए। तर उनले नामकरणको बारेमा सरकारमा छलफल भए पनि प्रदेशसभामा प्रस्ताव लानेबारे भने आफूलाई केही जानकारी नभएको बताए। तर परिस्थिति बिग्रन सक्ने भन्दै दलहरूले यो विषयलाई गोप्य राखेका छन्। 

पहिलो कार्यकालमा प्रदेशको नामको विषयमा दलहरुबीच सहमति नहुँदा नामकरणको विषय थाँती रहेको थियो। पहिलोपटक सरकारले औपचारिक रुपमै प्रदेशसभामा नामकरणको विषयलाई प्रस्तावका रुपमा लैजान लागेको हो।

केही समयदेखिको निरन्तर दलका नेताबीच भएको गोप्य छलफलपछि आज संसद्‌मा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ। बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ। 

विश्वस्त स्रोतले दिएको जानकारीअनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्वीकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए। 

यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो। चुनावको मुखमा नामकरण टुंग्याउँदा दलहरुले आफ्नो भोटमा असर पर्छ भन्दै त्यसबेला नामकरणको विषयलाई प्रदेशसभामा प्रवेश गराएका थिएनन्। प्रदेशको राजधानी र नामकरण एकैपटक टुंग्याउने तत्कालीन मुख्यमन्त्री शेरधन राईको प्रयास पनि सफल भएको थिएन। अहिले दलहरु प्रदेशसभाको सुरुमै नाम टुंग्याउँदा सजिलो हुने महसुस गरेपछि यसमा सहमत भएका हुन्। 

‘नाम नदीको नामबाट हुने भएको छ,’ सत्तारुढ पार्टीका एक नेताले भने, ‘कोशीमा दलहरुबीच सहमति भइसकेको छ। एकैपटक प्रस्ताव राख्ने, उक्त नाममा सबै दलका तर्फबाट समर्थन गर्ने अनि एकै दिनमा पारित गर्ने हाम्रो कोसिस हुनेछ।’

नामकरणको विषयले प्रदेशसभामा प्रवेश पाउनेबारेमा दलहरुले गुपचुप राखे पनि सत्तारुढ दलका सांसद एव नेकपा माओवादीका प्रदेश सांसद गणेश उप्रेतीले प्रदेशले आज नामले प्रवेश पाउने बताएका छन्। ६ वटा प्रदेशले नामकरण गर्दा नाम राख्न नसकेको प्रदेश १ ले नामकरणको विषयमा आलोचना खेप्दै आएको थियो। 

उप्रेतीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रदेशसभाले आज नाम पाउने बताएका हुन्। उनले लेखेका छन्, ‘अघिल्लो प्रदेशसभाले गर्न बाँकी राखेको एउटा महत्त्वपूर्ण कार्य आजको प्रदेश सभाले फाइनल गर्छ। यो प्रदेशले आज नाम पाउँछ।’

प्रदेशको नमकरणको विषय टुंग्याउन केही समयदेखि दलहरु निरन्तर छलफलमा थिए। सबैको राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ। 

अघिल्लो संसदमा प्रदेशको नामकरणको विषयमा टुंगो लगाउन दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .