कोशी


कोसीमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी, उपधारा २ मा फर्काइँदै

कोसीमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी, उपधारा २ मा फर्काइँदै

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १९:१८, काठमाडौँ

कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ।

कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गर्न लागेका हुन्।

महान्यायाधिवक्ता पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई आधार मानी कानुनी राय दिइसकेका छन्। 
संविधानको धारा १८८ को उपाधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने महान्यायाधिवक्ताको रायबमोजिम सूचना जारी गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।

‘संसदले विकल्प दिने सामर्थ्य राख्दासम्म सदन विघटन हुँदैन भन्ने सर्वोच्च अदालतको व्याख्या छ। यो हाम्रो अदालतले २०५१ देखि नै अंगीकार गरेको सिद्धान्त हो,’ महान्यायाधिवक्तासँगको परामर्शपछि प्रदेश प्रमुख कार्यालयको निष्कर्षबारे स्रोतले भन्यो, ‘बहुमत गुमाएको सरकार राखिइरन पनि मिल्दैन। त्यसैले उपधारा २ अनुसार नै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान हुन्छ।’

कोसीमा अहिले संविधानको धारा १८८ उपधारा ५ बमोजिमको सरकार छ। उक्त उपधाराअनुसार प्रदेश सभाका सदस्यहरूमध्ये जोकोहीले बहुमतको आधार प्रस्तुत गरी मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्। यस धारामा दलको ह्वीप पनि नलाग्ने सर्वोच्चको व्याख्या छ।

उपधारा ५ बाट पुनः उपधारा २ मा फर्काउने तयारी भएको हो। उपधारा २ मा दुई वा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुपर्छ। 
हालका मुख्यमन्त्री केदार कार्कीले बहुमतको समर्थन गुमाएको महिना दिन बित्न लाग्दा पनि विश्वासको मत लिन प्रदेशसभालाई सूचना दिएका छैनन्।

कांग्रेसबाट निर्वाचित सांसद कार्की एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री चयन भएका हुन्। एमाले र माओवादीले समर्थन फिर्ता लिएको बुधबार राति १२ बजे ३० दिन पूरा हुँदै छ।

केन्द्रको सत्ता गठबन्धन एमाले र माओवादीले वैकल्पिक सरकार बनाउन आफूहरू तयार रहेको जनाउँदै प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन्। साथै, मुख्यमन्त्री कार्की राजनीतिक र संवैधानिक हैसियत गुमाई स्वतः पदमुक्त हुने भएकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादी संसदीय दलका नेताहरूले प्रदेश प्रमुख खापुङसमक्ष आजै ध्यानाकर्षणपत्र बुझाएका थिए।

प्रदेश प्रमुख खापुङले कानुनी परामर्शपछि उचित निर्णय लिने बताएका थिए।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण खनालले आफूहरू बहुमतसहित सरकार गठनको दाबी लिएर जान तयारी अवस्थामा रहेको नेपालखबरलाई जानकारी दिए।

९३ सदस्यीय कोसी प्रदेश सभामा एमाले र माओवादीको स्पष्ट बहुमत छ। ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गठबन्धनले गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .