कोशी


कोसी सरकारमा दाबी पेस गर्दै एमाले-माओवादी, मुख्यमन्त्रीमा फेरि हिक्मत कार्की

कोसी सरकारमा दाबी पेस गर्दै  एमाले-माओवादी, मुख्यमन्त्रीमा फेरि हिक्मत कार्की

हिक्मतकुमार कार्की


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १०:२९, काठमाडौँ

कोसी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज (बिहीबार) नयाँ सरकार गठनको दाबी गर्ने भएका छन्। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सांसदलाई मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन्।

सोअनुसार एमाले र माओवादीले सरकार गठनमा आज दाबी पेस गर्न लागेको  एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। 

एमालेले नयाँ मुख्यमन्त्रीका रूपमा पुनः हिक्मतकुमार कार्कीलाई अघि सार्ने भएको छ। यसअघि उनी दुईपटक मुख्यमन्त्री भइसकेका छन्। 

‘मुख्यमन्त्रीमा उहाँ नै हो’, भण्डारीले भने, ‘हामी आजै दाबी पेस गर्छाैं।’ शपथ ग्रहण पनि आजै हुने उनको दाबी छ।

९३ सदस्यीय प्रदेश सभामा एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसद उनीहरूसँग छ।

यसैबीच मुख्यमन्त्रीबाट हटाइएका केदार कार्की भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न आज काठमाडौँ आइपुगेका छन्।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यसअघि एमाले र माओवादी संसदीय दलका नेताहरुले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए

प्रदेश प्रमुख खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलसँग कानुनी परामर्श पनि लिएका थिए। 

पोखरेलसँगकाे परामर्शपछि उपधारा २ मा फर्किने र दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न आह्वान गर्ने तयारी भएको थियो।

तर अन्तिम समयमा उपधारा ५ बाटै दोस्रोपटक सरकार आह्वान गर्ने निष्कर्षमा प्रदेश प्रमुख पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .