ad ad

जीवनशैली


बाँझोपन भएका ८० प्रतिशतको सामान्य उपचारपछि बच्चा हुन्छ : डा. अधिकारी

​कस्तो अवस्थामा गर्ने आईभीएफ?
बाँझोपन भएका ८० प्रतिशतको सामान्य उपचारपछि बच्चा हुन्छ : डा. अधिकारी

तस्बिर : सरोज बैजु/नेपालखबर


समृद्धा केसी
फागुन ६, २०७९ शनिबार ७:२०, काठमाडौँ

बाँझोपन बढ्दो समस्याका रुपमा देखिएको छ। यसको हामीले परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीसँग यो समस्याको उपचारका लागि कहाँ जाने, के गर्ने, कति खर्च लाग्छ, यसको उपचारका विधि के के छन्जस्ता जिज्ञासा राखेका छौँ :

बाँझोपन भन्नाले कस्तो अवस्थालाई बुझाउँछ?
श्रीमान् श्रीमती नियमित शरीरिक सम्पर्कमा बस्दा एक वर्षसम्म पनि बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ। नेपालजस्तो देशमा अहिले बाँझोपन बढ्दै गइरहेको छ। पहिले हाम्रोमा ८ देखि १० प्रतिशतमा बाझोपन देखिएको थियो र अहिले बदलिएको जीवनशैली खानापान, व्यायामको कमी, ढिलो विवाह र अन्य रोगका कारण नेपालको कुल जनसंख्याको २० प्रतिशतमा यो समस्या देखिएको छ। अफ्रिकामा भएको अनुसन्धानले पनि विश्वभर २५ प्रतिशत दम्पतीमा बाँझोपन रहेको देखाएको छ। 

बाँझोपनको समस्या लिएर परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा दैनिक कति दम्पती आउँछन्? 

यस अस्पतालमा बाँझोपन ओपीडी नै छुट्टै छ। त्यहाँ दैनिक ५० देखि ७० जना बिरामीहरु आउनु हुन्छ। गाइने ओपीडीमा पनि दैनिक ३० जना जति आउँछन् होला। समग्रमा भन्दा अस्पतालमा दैनिक सय जना बाँझोपनका समस्या लिएर महिला र पुरुष दुवै आउने गर्नु हुन्छ। 

के कारणले गर्दा बाँझोपन देखिन्छ? 
बाँझोपन हुने धेरै कारण हुन्छन्। महिलाहरुको कारण, पुरुषहरुको कारण र कुनै कारण थाहा नै नहुने पनि हुन्छन्। महिलामा धेरै देखिने कारण भनेको अण्डा नै नबन्ने समस्या हो। जसले गर्दा महिनावारी गडबडी हुने र भए लामो समयसम्म रगत बग्ने हुन्छ। 

त्यस्तै अर्को कारण भनेको पाठेघरको नली बन्द हुनु हो। जसलाई फैलोपियन ट्युब ब्लक भनिनछ। अर्का भनेको पाठेघरभित्र मासु पलाउनु, अण्डामा पनि ट्युमर देखिने हो। यी कारणले गर्दा बाँझोपनको समस्या आउँछ। जाँच गर्दा सबै ठिक छ तर आफ्नै शरीरभित्र केही भएको छ भने पनि बच्चा नबस्न सक्छ। जसलाई वंशाणुगत कारण भनिन्छ।

त्यस्तै, पुरुषमा पनि बाँझोपनको समस्या देखिन्छ। जीवनशैलीले गर्दा धेरै रक्सी खाने, धुमपान गर्ने पुरुषमा शुक्रकिटको संख्या घटेर जान्छ। उमेरले गर्दा पनि हुन्छ। 

खेतबारीमा काम गर्दा कीटनाशक औषधिको प्रयोग गर्दा त्यसले शुक्रकिट नास गर्छ।

साउदी, कतार गएका पुरुषहरु उच्च तामक्रममा लामो समय काम गर्छन्, जसले गर्दा शुक्रकिटमा निकै प्रभाव पार्छ। भित्री वस्त्र साँघुरो लगाउने पुरुषहरुमा पनि बाँझोपनको समस्या धेरै देखिन्छ। 

त्यस्तै मोटोपन, थाइराइड, मधुमेह भएका र सूर्तिजन्य पदार्थ खाने व्यक्तिहरुमा पनि बाँझोपन बढी देखिइरहेको छ। 

यस अस्पतालमा बाँझोपनको उपचार कसरी गरिन्छ? 
एकदुई वर्षसम्म पनि कोसिस गर्दा बच्चा नबसेका धेरै दम्पती अन्यत्र अस्पताल धाएर नभएपछि यहाँ आउनु हुन्छ। जिल्लाभरकै बिरामी सेवा लिन आउने भएकाले हामीले बाँझोपनका लागि उच्चस्तरीय उपचार मार्फत सेवा दिरहेका छौँ। 

अस्पताल आउँने बिरामीका सबै भन्दा पहिला बच्चा नहुनुको कारण के हो भनेर थाहा पाउँछौं। कारण पत्ता लगोपछि मात्र सामान्य उपचारबाट सुरु गर्छौं। 

बाँझोपन भएका ८०/९० प्रतिशतको सामान्य उपचारबाटै बच्चा हुन्छ। मोटोपन भएर बच्चा बसेको छैन भने तौल कम गर्ने, नली बन्द भएको छ भने खुलाउने औषधि दिने, मासु पलाएको छ भने अप्रेसन गरेर निकाल्ने। 

धेरैमा देखिने आम समस्या ४०/५० प्रतिशतमा भनेको अण्डा नबन्ने हो। त्यसका लागि अण्डा बन्ने सामान्य औषधि दिएपछि धेरैको अण्डा बन्छ। यति उपचार गर्दा पनि बच्चा बसेन भने थप कारण पत्ता लगाउनु पर्ने हुन्छ। 

त्यस्तै कतिको उमेर बढ्दै जाँदा अर्थात महिलाको उमेर ३५ वर्ष नाघेको छ भने अण्डाको क्षमता कम हँुदै जान्छ। त्यस्तो अवस्थामा औषधि र हर्मोन दिएर अण्डाको क्षमतालाई बढाउन सकिन्छ। 

त्यतिले निको भएन भने?
औषधिको माध्यमबाट उपचार गर्दा पनि बच्चा बसेन भने आईयूआई गर्नु पर्ने हुन्छ। आईयूआई भनेको श्रीमतीको अण्डा राम्रो बनाएर त्यलाई फुटाउनु पर्ने हुन्छ। जाँच गरेर यदि अण्डा फुटेको छ भने श्रीमानको शुक्रकिटलाई मेसिनमा सफा गरेर सक्रिय शुक्रकिटलाई पाठेघरमा राख्ने प्रविधिलाई आईयूआई भनिन्छ। 

आईयूआई महिनावारी भएको १४/१५ दिनमा गर्नु पर्ने हुन्छ। यस अस्पतालमा हरेक दिन चार, पाँच जनाको आईयूआई गरिन्छ। यो निकै सरल विधि हो। यसमा महिलालाई कुनै पनि किसिमको पीडा हुँदैन। आईयूआई गरेको आधा घण्टामै घर पठाइन्छ। आईयूआईको एउटा चक्रका लागि सबै गरेर पाँच देखि १० हजारसम्म खर्च लाग्न सक्छ। 

आईयूआई धेरैजसो महिलाको अण्डामा समस्या छ भने गरिन्छ। पाठेरघरको मुख टाइट छ र पुरुषको शुक्रकिट राम्रो छैन भने पनि आईयूआई गर्नु पर्छ। 

विश्वभर नै आईयूआईका माध्यमले बच्चा बस्ने सम्भावना २० देखि २५ प्रतिशत छ। कुनै पनि प्रविधिद्वारा बच्चा बनाउन खोजिएको छ भने त्यो कति सफल हुने भन्ने कुरा महिला र पुरुष दुवैको उमेरमा भर पर्छ। त्यसपछि मात्र अण्डा र कुन उपचार प्रविधि अपनाइएको छ भन्ने कुरामा भर पर्छ। 

बाँझोपन भएका दम्पती अस्पताल आए भने करिब ६ पटकसम्म आईयूआई गर्न मिल्छ। आईयूआई सफल भएन भने मात्र आईभीएफमा जाने हो। 

सरकारीमध्ये यस अस्पतालमा मात्र आईयूआई हुने हो। 

‘टेस्टट्युब बेबी’ भनेको के हो? कस्तो अवस्थामा ‘टेस्टट्युब बेबी’ गर्नु पर्छ? 
६ पटक आईयूआई गर्दा पनि सफल भएन, उमेर ३५ वर्षभन्दा माथि भइसक्यो, अण्डाको गुणस्तर पनि राम्रो भएन, श्रीमानको शुक्रकिटको क्षमता पनि घट्दै गइहरको छ भने ‘टेस्टट्युब बेबी’ गर्नु पर्छ। 

‘टेस्टट्युब बेबी’ को प्रक्रिया अलि लामो हुन्छ। एक महिना पहिलाबाट नै हर्मोन र औषधि दिएर तयारी गर्नु पर्छ। महिनावारी भएको दुई दिनमा महिलालाई बोलाएर सुइ लगाउनु पर्छ। 

१०/१२ दिनसम्म्म सुइ लगाएर अण्डाहरु बनाउनु पर्छ। आईयूआईमा एउटा मात्र अण्डा बनाए हुन्छ भने ‘टेस्टट्युब बेबी’ मा दुई वटा ओभरीमा २० वटासम्म अण्डा बनाउनु पर्ने हुन्छ।

अण्डाहरु परिपक्क भइसकेको छ भने महिलालाई एनेस्थेसिया लिएर लट्याइन्छ र सबै अण्डाहरु निकालेर ल्याबमा राखिन्छ। त्यसमा शुक्रकिट छोडिन्छ। त्यसपछि भ्रूण बन्नका लागि सबै तापक्रम मिलाएर इन्क्युबेटरमा राखिन्छ र त्यसको २४ वा ४८ घण्टामा सेल्ल डिभिजन हुँदै गएर भ्रूण बढ्दै जान्छ। 

२० वटा अण्डामध्ये १० वटा जति अण्डा भ्रूण बन्छ। यस अस्पतालमा त्यसरी राखिएको अण्डा र शुक्रकिट ४८ घण्टामा भ्रूण बन्छन् र तीन वटा जति भ्रूण पाठेघरमा राखिन्छ। 

भ्रूण राख्दा भने बेहोस बनाउनु पर्दैन। अण्डा निकाल्दा मात्र बेहोस बनाउनु पर्ने हो। भ्रूण राखिसकेपछि हर्मोनल औषधिहरु दिएर घर पठाइन्छ। र, १५ दिनपछि बच्चा बस्यो कि बसेन भनेर जाँच गर्न लगाइन्छ। 

विश्वव्यापी रुपमा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) को सफलता दर ३० देखि ३५ प्रतिशत मात्र छ। 

आईभीएफ सेवा दिने सरकारी अस्पताल यही होला। सेवा कसरी सञ्चालन गरिरहनुभएको छ?
नेपालमा पहिलो पटक नै सराकारी अस्पतालमा आईभीएफ सेवा दिने यो पहिलो अस्पताल नै होला। २०६९ सालदेखि यस अस्पतालमा सेवा सुरु गरिएको हो। तर भूकम्पले भवनहरु बिगारेपछि ल्याबमा समस्या देखियो। ढुसीले पनि उत्तिकै दुःख दिएपछि सेवा बन्द गरियो। 

पुनः २०७८ सालदेखि कुपन्डोलमा रहेको भवनबाट आईभीएफ सेवा दिइरहेको छ। एक वर्षमा नै हामीले २९ जनाको आईभीएफ गरेका छौँ। 

त्यस्तै, २०६९ सालमा भने एक सय ३६ जनाको आईभीएफ गरिएको थियो। आईभीएफ गरिएकामध्ये २५ प्रतिशतको सफल भएको छ। 

नेपाल सरकारले प्राविधिक सामग्रीहरु दिएर निकै सहयोग गरेको छ। डा. ज्वाला थापा र म डाक्टरका रुपमा कार्यरत छौं भने अरु नर्सहरु पनि हुनुहुन्छ। हाम्रो आईभीएफ ल्याब गुणस्तरीय ल्याब हो।

निजी क्षेत्रमा आईभीएफ निकै खर्चिलो हुन्छ भनिन्छ। यस सरकारी अस्पतालमा कति लाग्छ?
यस अस्पतालमा एउटा निम्न परिवारको व्यक्तिले पनि सेवा लिन सक्छ। हर्मोन र जनशक्तिमा अलि बढी खर्च हुने भएकाले केही महंगो हो कि भन्ने पनि लागेको छ। यसलाई मिलाउन सकियो भने अझै सस्तोमा गर्न सकिन्छ होला। 

यस अस्पतालमा आईभीएफ गर्दा सबै गरेर दुई लाखसम्म लाग्ने गर्छ। निजी अस्पतालमा चार देखि पाँच लाखसम्म लाग्ने सुनेका छौँ। 

दुई लाख पनि खर्च गर्न नसक्ने दम्पतीका लागि कसरी कम गर्न सकिन्छ भनेर हामी छलफल पनि गरिरहेका छौँ। 

आईभीएफ गरेपछि के कुरामा ध्यान दिने? 
आईभीएफ गर्नुभन्दा अगाडिबाट नै खानपिनमा ध्यान दिने, तौल कम गर्ने वा आफूमा कुनै समस्या छ भने पनि विशेष ध्यान दिनु पर्छ। त्यस्तै आईभीएफ गरिसकेपछि आराम गर्ने, डाक्टरले भनेको सबै औषधिहरु नियमित खानु पर्छ। 

पहिलो बच्चा आईभीएफ प्रविधिद्वारा जन्मियो भने दोस्रो पनि आईभीएफबाट जन्मिने हो?
कतिपय बिरामीले सुरुमै आईभीएफ वा टेस्टट्युब बेबी गरिदिनु भन्छन् तर सुरुमा प्राकृतिक रुपमै बच्चा बसाउन कोसिस गर्नु पर्छ। 

६ महिनासम्म औषधि दिँदा पनि बच्चा बसेन भनेपछि मात्र आईयूआई र आईभीएफमा जानु पर्छ। बाँझोपनका समस्या लिएर अस्पताल आएकामध्ये ५/१० प्रतिशतको मात्र आईभीएफमा जानु पर्छ। अरु सबैको सामान्य जीवनशैली परिवर्तन गरेर वा औषधि खायो भने बच्चा बस्छ। 

आईभीएफ प्रविधिदरा बच्चा जन्माउँदा किन जुम्ल्याहा, तिम्ल्याहा जन्मिन्छन्? 
महिनामा एउटा मात्र अण्डा बन्छ र त्यही अण्डा नबन्दा हामीमा समस्या हुने हो। तर आईभीएफ गर्दा धेरै वटा अण्डा बनाउँछौँ। र, हामीले पाठेघरमा तीन वटासम्म  भ्रूण राखिदिन्छौं। तीमध्ये सबै बाँच्न सके भने त तीन वटासम्म बच्चा हुन सक्छ। कहिलेकाहिँ धेरै बच्चा बस्यो भने पहिला नै हामीले त्यसलाई निकाल्छौँ पनि। 

अहिले पनि बच्चा नहुनुमा महिलालाई नै दोष दिइन्छ। यसमा के भन्न चाहनुहुन्छ? 
अहिले पनि हाम्रो समाजले हरेक कमजोरीमा महिलालाई नै दोष दिन्छ। र, यो पुरुषको समस्या होइन भनिन्छ। बाँझोपन हुनुमा ३३ प्रतिशत महिलाका कारण, ३३ प्रतिशत पुरुषका कारण र अन्य ३३ प्रतिशत कारण नै थाहा हुँदैन। त्यसैले महिला र पुरुष दुवै जनाको बराबरी भूमिका हुन्छ। 

बाँझोपनमा महिलापुरुष दुवै जनाको उत्तिकै भूमिका हुने भएकाले महिलालाई मात्र दोष दिने प्रवृत्तिबाट टाढा हुनुपर्छ। 

बाँझोपनको समस्यामा सरकारले ध्यान दिनुपर्ने कुरा के छ?
नेपाल सरकारले देशभर नै सरकारी स्तरमा चार वटा आईभीएफ सेन्टर र स्त्री रोग विशेषज्ञ भएका हरेक अस्पतालमा आईयूआई सेवा दिने योजना बनाएको छ। यो योजनाप्रति हामी निकै उत्साहित छौँ। सरकारले बनाएको यो योजना छिट्टै आउँछ भन्ने हामीले सोचेका छौं। 

बाँझोपनको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले यसमा ध्यान दिन निकै आवश्यक देखिन्छ। बाँझोपनलाई सरकारले नसर्ने रोग अन्तर्गत नै समावेश गर्न आवश्यक छ। 

सरकारले अन्य नसर्ने रोगलाई उपचार खर्च दिएजस्तै बाँझोपन भएकाका लागि आईभीएफ नै गर्नु पर्यो भने एक लाख दिने हो कि कति, त्यो दियो भने घरखेत नै बेचेर उपचार गराउन आएकाहरुका लागि अलिकति सहुलियत हुन्थ्यो।

बच्चा पाउने उपयुक्त उमेर कुन हो? 
बच्चा पाउने उपयुक्त उमेर भनेको २० देखि ३० वर्ष हो। यसभित्रमा बच्चा पाइसक्दा खासै समस्या आउँदैन। 

यससम्बन्धमा केही सुझाव दिन चाहनुहुन्छ?
श्रीमान्, श्रीमती एक वर्षसम्म सँगै बस्दा पनि बच्चा भएको छैन भने बाँझोपन भएको हुन सक्छ भने अस्पतालमा जाँच गराउन जानु पर्छ। बाँझोपन भएका धेरैलाई सामान्य उपचार गरेर नै बच्चा बसाउन सकिने भएकाले जथाभावी रुपमा आइैभीएफ गरेर पैसा सक्नु आवश्यक छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .