ad ad

जीवनशैली


ज्यान दिन लागेकालाई जोगाउन ११६६ नम्बर, गरे ७ हजारले कल

ज्यान दिन लागेकालाई जोगाउन ११६६ नम्बर, गरे ७ हजारले कल

समृद्धा केसी
फागुन ९, २०७९ मंगलबार ६:४५, काठमाडौँ

गत मंसिर ३ गते राति ११ बजेको थियो। लगनखेलस्थित मानसिक अस्पतालको राष्ट्रिय हेल्पलाइन ११६६ को घण्टी बज्यो। फोनमा एक महिलाको अत्तालिएको आवाज सुनियो– ‘मेरो छोरीले ‘ओभरडोज’ औषधि खाइन्। निकै गाह्रो भइरहेको छ। बिन्ती छ बचाइदिनुस्।’ 

मनोपरामर्शदाता सन्ध्या खतिवडाले फोन उठाएकी थिइन्। चुनावले गर्दा सबैतिर सेवा प्रभावित भइरहेको थियो। 

सन्ध्याले फोन गर्ने महिलाको सबै विवरण मागिन्। 

‘नआत्तिनुहोस्,एम्बुलेन्स आइहाल्छ,’ उनले सम्झाइन् र एम्बुलेन्स खोज्न थालिन्। 

तर, एम्बुलेन्स उपलब्ध भएन। ढिला गर्दा समस्या बढ्न सक्ने डरले सन्ध्याले नजिकको प्रहरी कार्यालयमा खबर गरिन्। 

सन्ध्याले दिएको ठेगानामा प्रहरी पुग्यो र ती महिलालाई उद्धार गरेर पाटन अस्पताल ल्यायो। 

आत्महत्याको प्रयास गरेकी ती किशोरी अस्पताल ल्याइपुर्याउँदासम्म अचेत भइसकेकी थिइन्। उनले यसअघि पनि आत्महत्याको प्रयास गरेकी रहिछन्। उनलाई मानसिक समस्या देखिएको सन्ध्या बताउँछिन्। 

अस्पतालमा केही दिनको उपचारपछि किशोरीलाई सन्चो भयो। लामो समयसम्म काउन्सिलिङ गरेपछि उनी मानसिक रुपमा पनि ठिक भइन्। अहिले उनी सामान्य जीवनमा फर्किसकेकी छन्।

धनगढीका एक किशोरले सो नम्बरमा फोन गरेर आफूलाई बारम्बार आत्महत्या गर्ने सोच मात्र आइरहेको बताए। केही दिनमै आत्महत्या गर्ने योजना पनि उनले सुनाए।

‘आफूले आत्महत्या गर्न लागेको कुरा उनले बताएका थिए। हामीले फोनमै काउन्सिलिङ गर्यौँ,’ उनले भनिन्, ‘ करिब आठ महिनाजति काउन्सिलिङ र औषधि खाएपछि उनी निको भए।’

मानसिक समस्या भएपछि पढाइ छाडेका ती किशोरले अहिले पढाइ फेरि सुरु गरेका छन्। 

यसरी नै दैनिक करिब ६० जनाले ११६६ मा फोन गर्छन्। आत्महत्या गर्न तयार भएका र मानसिक समस्यासँग जुधिरहेकालाई यो हेल्पलाइनले बाँच्न सिकाउँछ। 

११६६ के हो?
विश्वव्यापी रुपमा आत्महत्या चिन्ताको विषय बनेको छ। दिगो विकासका १७ लक्ष्यमध्ये एउटा सूचकका रुपमा आत्महत्याको दरलाई घटाउने भनिएको छ। तर, विश्वका थुप्रै मुलुक यो समस्यासँग जुधिरहेका छन्। 

१६ असार २०७७ मा संघीय संसदको महिला तथा सामाजिक समितिले आत्महत्या रोकथामका विषयमा केही निर्णय लियो। त्यसमध्ये आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन सञ्चालन गर्ने एउटा निर्णय हो।

सोही निर्णयअनुसार ८ जेठ २०७८ देखि आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन सञ्चालनमा ल्याइएको मानसिक अस्पतालका मनोरोग विशेषज्ञ डा. बासुदेव कार्कीले जानकारी दिए।

यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेलमा सञ्चालन गरिएको छ। २४ घण्टा नै यो हेल्पलाइनबाट निशुल्क मनोपरामर्श दिइन्छ।

कार्की भन्छन्, ‘मनमा गाह्रो महसुस हुँदा, तनाव हुँदा, आफैँलाई हानि पुर्याउन वा दुःख दिन मन लाग्नेबित्तिकै फोन गर्न सकिन्छ। फोन गर्ने व्यक्तिको सम्पूर्ण विवरण गोप्य राखिने भएकाले बिनासंकोच मनको बह फोख्दा हुन्छ।’

११६६ हेल्पलाइनका लागि तालिम प्राप्त पाँच जना मनोपरामर्शदाता राखिएको छ।  

कसरी दिइन्छ सेवा?
११६६ हेल्पलाइन मुख्य गरेर आत्महत्या रोकथामको लागि सञ्चालन गरिएको भए  पनि डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्याका निवारणका लागि पनि फोन आउने गरेको मनोपरामर्शदाता खतिवडाले बताइन्।

आत्महत्याको विषयलाई जोडेर फोन गर्नेहरुले भने आफूले पटक–पटक कोसिस गरेको र फेरि पनि त्यस्तै सोच आएको भन्दै फोन गर्ने गरेको उनले बताइन्। 

उनी भन्छिन्, ‘कतिपयले त कुन विधि अपनाएर आत्महत्या गर्न लागेको भन्ने समेत खुलाएर फोन गर्छन्। त्यस्तै बेलामा आत्महत्या रोकथामका लागि काउन्सिलिङ गर्ने विभिन्न तरिका अपनाइन्छ। धेरै जना त्यसमा कन्भिन्स हुन्छन्।’

आत्महत्या गर्न लागेका व्यक्तिहरु धेरै जटिल अवस्था पार गरेर त्यो निर्णयमा पुग्ने परामर्शदाताहरुको अनुभव छ। 

‘जीवन र मृत्युको बीचमा बसेकाहरुले नै हामीसँग सहयोग माग्ने हो। कल आउनेहरुको पुरै डिटेल मागेर परिवार र प्रहरीको सहयोग लिएर धेरैलाई हामीले बचाएका छौँ,’ उनले भनिन्। 

आत्महत्या वा मानसिक समस्या भएका सबैलाई लामो समयसम्म परार्मश गर्नु पर्ने भएकाले पायक पर्नेलाई अस्पतालमै बोलाइन्छ। आउन सक्नेहरुलाई नजिकैको परामर्श केन्द्रमा पठाइने गरेको पनि हेल्पलाइनले जानकारी दिएको छ। 

धेरै फोन आउने उमेर समुह भनेको १९ देखि ३५ वर्षका छन्। 

एक वर्षमै गरे ७ हजारले फोन
संसारमा ३५० देखि ५०० थरीका मानसिक रोगी रहेको डा. कार्की बताउँछन्। तीमध्ये एन्जाइटी, डिप्रेसन, सिजोफ्रेनिया, ओसीडी, बाइपोलार डिसअर्डरजस्ता समस्या धेरैमा देखिएको मनोरोग भएको डा. कार्कीले बताए।

हेल्पलाइन केन्द्रका अनुसार एक वर्षमा करिब सात हजारले फोन गरेका छन्। ती मध्ये १५ सयले भने आत्महत्या र मानसिक समस्याका लागि फोन गरेका छन्। 

दैनिक फोन गर्नेमध्ये १२ जना मानसिक समस्यामा परेका र १० जनाजति चाहिँ आत्महत्या सोच बनाएकाहरु रहेको तथ्यांक केन्द्रसँग छ। 

‘आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या हो। सामाजिक तथा व्यावहारिक कारणले यो सोच अझै बढ्न सक्छ। मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रूपमा निको हुन्छ। मनोपरामर्श फोनबाट पनि लिन सकिन्छ,’ कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .