ad ad

जीवनशैली


सुत्केरीपछिको उदासीपन बेवास्ता गर्दा हुनसक्छ डिप्रेसन, परिवारको साथ महत्त्वपूर्ण

सुत्केरीपछिको उदासीपन बेवास्ता गर्दा हुनसक्छ डिप्रेसन, परिवारको साथ महत्त्वपूर्ण

समृद्धा केसी
फागुन १८, २०७९ बिहिबार १०:१९, काठमाडौँ

बिहे भएको साढे दुई वर्षपछि आमा बन्ने खबरले सञ्चारकर्मी तथा कलाकार कृति भट्टराई निकै खुसी थिइन्। 

गर्भावस्थामा देखिने शारीरिक समस्याहरुबाट भने उनी केही सचेत बनेकै थिइन्। सुरुवाती महिनाहरुमा उनलाई केही समस्या नदेखिए पनि पाँच/छ महिनापछि भने एन्जाइटीजस्ता मानसिक समस्या देखिन थाल्छ। 

मानसिक समस्या राम्रोसँग बुझेकी उनले आफूसँगै पेटमा रहेको बच्चाका लागि उनी जतिसक्दो सम्हालिइन्। 

सामान्य अवस्थाबाटै सुत्केरी हुने महिनामा प्रवेश गरेकी कृतिले डाक्टरले दिएको डेटभन्दा २० दिनअघि नै शारीरिक समस्या देखिएपछि शल्यक्रिया मार्फत छोरीलाई जन्म दिइन्। 

पाँच दिनको अस्पताल बसाइपछि कृति नयाँ संसारका साथ घर जान्छिन्। छोरीलाई जति हेरे पनि उनी थाक्दिनन्। दिनरात उनी छोरीको मोहमा आफूलाई व्यस्त राख्दै जान्छिन्। तर, कृतिको खुसी लामो समय टिक्दैन।

सुत्केरी भएको हप्ता दिन नकट्दै उनी एक्लो महसुस गर्न थाल्छिन्। साथमा छोरी, घरपरिवार सबै हुँदा पनि उनी एक्लै हुन थाल्छिन्। उनले आमा–बुबालाई निकै सम्झिन थाल्छिन्। 

बिस्तारै रोइरहने र रिसाइ रहने मात्र गर्न थालिन्। त्यो बेला आफूलाई उनले निकै फरक पाइन्। राति सुत्न पनि नसक्ने हुन्छिन्। 

त्यही बीचमा उनको स्वास्थ्यमा अन्य समस्या पनि आउँछ, जसले उनको मानसिक स्वास्थ्यलाई थप कमजोर बनाउँदै लैजान्छ। उनी छिनमै केही भएको छैन भन्ने सोच्थिन भने छिनमै केही भइहाल्यो भने बच्चालाई कस्ले हेर्छ होला भन्ने सोचेर रुन्थिन्।

यति हुँदा पनि कृतिले आफ्नो समस्या न त श्रीमानलाई नै सुनाइन्, न त परिवारका कुनै सदस्यलाई नै सुनाइन्। 

उनी भन्छिन्, ‘बच्चा भएपछि घरमा थप खुसी आएको थियो। पहिलो पटक आमा बनेको थिएँ। त्यो अनुभूति म शब्दमा व्याख्या गर्न सक्दिनँ तर म लामो समय खुसी हुन सकिनँ। मभित्र निराशाले डेरा जमायो। म एक्लै निकै रुन्थेँ तर आफूले भोगेको समस्या कसैलाई पनि सेयर गर्न मनै लाग्थेन।’

आमा बनेपछि आफूमा आएको शारीरिक र मानसिक दुवै समस्याको उपचार खोज्दै उनी अस्पताल धाउँछिन् तर सही उपचार नपाएको उनले बताइन्। 

फेरि अर्को अस्पताल गएर आफूमा देखिएको सबै मानसिक समस्या सुनाउँछिन्। डाक्टरले सुत्केरी अवस्थामा देखिने मानसिक समस्या (पोस्टपार्टम डिप्रेसन) भएको र केही महिनामा ठीक भइहाल्ने बताएको उनले सुनाइन्।

‘डाक्टरले काउन्सिलिङ गर्नुभयो, यस्तो थुप्रैलाई देखिन्छ भन्नुभयो’, उनले भनिन्, ‘यदि एन्जाइटी बढ्यो भने तुरुन्त अस्पताल आइहाल्नु भन्नुभयो।’

पोस्टपार्टम डिप्रेसनले सुत्केरी भएको डेढ महिनासम्म भने निकै गाह्रो बनाएको उनले बताइन्। 

‘तीनवटा जति सेसन काउन्सिलिङ लिएपछि भने निकै आनन्द महसुस गर्दै गएँ’, उनले भनिन्, ‘अहिले सुत्केरी भएको पनि तीन महिना भयो। अहिले पनि फलोअपका लागि गइरहेको छु।’

***

कृतिले जस्तै काठमाडौँ, बानेश्वरकी २९ वर्षीया सलिना सेन्चुरीले पनि सुत्केरी अवस्थामा समस्या भोग्नुपर्‍यो। 

सलिनाले एक वर्षअघि पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीबाट छोरीलाई जन्म दिएकी सलिनालाई अस्पतालले भोलिपल्ट नै डिस्चार्ज दिने भनेको थियो तर छोरीको रगतमा संक्रमण देखिएपछि सात दिनसम्म अस्पतालमै राख्ने भनियो। 

सुत्केरी भएको दुई दिनपछि उनलाई निद्रा नलाग्ने राति हिँड्ने, सास फेर्न गाह्रो हुने, परिवार सबै भए पनि एक्लो महसुस हुने भयो। 

जति बेला पनि श्रीमान् साथमै भए हुने जस्तो हुन्थ्यो। श्रीमान् एकछिन पसल जाँदा पनि नगए हुने। एकछिन पनि नछुट्न पाए हुने जस्तो हुँदै गयो। राति सपना पनि नराम्रो देख्ने। बेडमा सुत्न छाडेर उनी भुइँमा सुत्न थालिन्। जसले गर्दा शरीर सुन्निँदै गयो। सास फेर्न नै गाह्रो भयो।

त्यति मात्र होइन, बसिरहेको क्याबिनको झ्यालबाट हाम्फालेर मर्न पाए नि हुने भन्ने सोच एकदुई पटक आएको उनी बताउँछिन्। 

त्यसपछि भने उनले अत्तालिँदै डाक्टरलाई गुहारिन्, ‘मलाई धेरै गाह्रो भइसकेको छ, मलाई हेल्प गर्नुस्।’

डाक्टरले सुनेपछि नआत्तिन भन्दै एन्जाइटीको दबाइ दिएको उनले बताइन्।

‘त्यसपछि भने श्रीमान्‌लाई पनि आफ्नो समस्या सुनाएँ,’ उनको भनाइ छ। 

उनी भन्छिन्, ‘त्यो समस्यामा निकै गाह्रो भएको थियो। मलाई सधैँ यस्तै भइरहन्छ जस्तो लागेको थियो तर छोरीको न्वारनपछि भने हल्का भयो। अहिले म स्वस्थ छु।’

***

सुनसरीकी २२ वर्षीया सोनु यादव (नाम परिवर्तन) एक महिनाकी सुत्केरी हुन्। पहिलोपटक आमा बनेकी उनी निकै खुसी थिइन्। 

बच्चा जन्मिएपछि के के गर्ने भनेर सयौँ योजना बनाएकी सोनु अहिले आफूलाई सम्हाल्न नसक्ने स्थितिमा छिन्। 

एक महिनापहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएकी उनीसँग अहिले कुनै जोसजाँगर नै छैन। उनी बच्चालाई हुर्काउनै सक्दिनँ भन्ने अवस्थामा पुगिसकेकी छन्। 

सोनु न बच्चालाई दूध खुवाउँछिन् न त बच्चालाई समाउँछिन् नै। भाइसँग काउन्सिलिङका लागि पाटन अस्पताल आइरहेकी उनले बच्चा हुर्काउन नसक्ने अवस्थामा पुगेकाले अरुलाई दिँदा पनि हुन्छ भन्न थालेको उनका भाइले बताए। 

भन्छिन्, ‘आमा बन्दै छु भन्ने खबरले खुसी भएको थिएँ। बच्चा जन्मेको पनि एक महिना भयो तर म अहिले बेखुसी छु। मलाई यो बच्चा हुर्काउन सक्छु जस्तो लाग्दैन। डाक्टरले सल्लाह दिएअनुसार सबै गरिरहेकै छु। तर म आफूलाई सम्हाल्नै सकिरहेको छैन।’

सुत्केरी भएयता सोनुले खाना पनि राम्रोसँग खाएकी छैनन्। नसुतेको पनि कैयौँ दिन भएको उनी बताउँछिन्।

‘सबै कुराबाट रुचि हराएको छ। बाँच्न मन छैन,’ उनले भनिन्। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मनोचिकित्सक प्रा. डा. रवि शाक्य भन्छन्, ‘सुत्केरी अवस्थामा अस्वाभाविक रुपमा मन उदास हुने, खुसी हुन नसक्ने बच्चालाई छुन डराउने, बच्चाको ख्याल पो गर्न नसक्ने हो कि जस्ता सोच आउनुलाई सुत्केरीपछिको मानसिक समस्या (पोस्टपार्टम डिप्रेसन) भनिन्छ। र, यो पनि तीन प्रकारको हुन्छ।’ 

डा. रवि शाक्य

‘पोस्टपार्टम ब्लुज’
उनका अनुसार पहिलो ‘पोस्टपार्टम ब्लुज’ हो। यो समस्या पहिलोपटक आमा बन्ने महिलालाई बढी हुन्छ।

यसलाई रोगभन्दा पनि पहिलो पटक आमा बनेका महिलाहरु अत्तालिएर वा बच्चालाई कसरी हुर्काउने भन्ने सोचले उत्पन्न हुने एउटा समस्या भएको डा. शाक्यले बताए। यो समस्या पहिलो पटक आमा बनेका ६० देखि ७० प्रतिशतमा बच्चा जन्मिएको १५ दिनसम्म रहन्छ।

‘यसलाई सामान्य अवस्था नै मानिन्छ। यो अवस्थामा परिवारले हामी छौँ नअत्तालियौँ भनेर साथ दियो भने हप्ता दिनमा आफैँ ठिक भएर जान्छ। ‘पोस्टपार्टम ब्लुज’ मा उपचार गर्नु पर्दैन। अन्य आमाहरु र घरपरिवारले सम्झाइबुझाइ गरेपछि आफैँ निको हुन्छ,’ उनले भने।

‘पोस्टपार्टम डिप्रेसन’
दोस्रो हो, ‘पोस्टपार्टम डिप्रेसन।’ सय जना सुत्केरीमध्ये १५ जनालाई यो हुन्छ। यो समस्या मात्र नभएर एउटा रोग नै हो। 

‘पोस्टपार्टम डिप्रेसन’ सुत्केरी भएदेखि ६ महिनासम्म देखिनसक्छ। यस्तो बेला अस्वाभाविक रुपले उदासी बढ्ने उनले बताए। यसलाई सम्झाइबुझाइ गरेर हुँदैन, उपचार गर्नैपर्छ। 

‘पोस्टपार्टम डिप्रेसन’ हुँदा सुरुवाती चरणमा सुत्केरी केही कुरामा खुसी हुन नसक्ने, हाँस्नै नसक्ने अर्थात् दिमागको खुसी हुने एप नै बिग्रिएको जस्तो हुने, सानो कुरामा रुने, जोस जाँगर पनि नचल्ने, कुनै कुरामा पनि रुचि नहुने, आफ्नो र बच्चाको माया नै नलाग्नेजस्ता लक्षण देखिने उनले बताए।

‘सुत्केरी आमामा यस्ता लक्षण १४ दिनभन्दा बढी भयो भने ‘पोस्टपार्टम डिप्रेसन’ भनिन्छ। यो निको हुनलाई ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ,’ उनले भने।
 
‘पोस्टपार्टम डिप्रेसन’ बढ्दै जाँदा शारीरिक र मानसिक दुवैखाले समस्या देखिन्छन्। बिरामी सुत्न नसक्ने, खाना नखाने, एकोहोरो हुने, थकान महसुस हुने, बच्चालाई वास्तै नगर्ने, आफ्नो बच्चालाई पनि आफ्नो नभन्ने, बच्चा अरुलाई दिन खोज्ने र आत्महत्याको कोसिस गर्ने जस्तो जटिलता आउने उनले बताए। 

‘हामी सुन्छौँ, आमाले दूधे बच्चालाई लिएर आत्महत्या गरे भनेर वा सुत्केरीले आत्महत्या गरे भनेर। यो सबै पोस्टपार्टम डिप्रेसन भएरै गर्ने हो। यो निकै खतरनाक हुन्छ। यस्तो बेला आफू र बच्चा दुवै मार्न सक्ने सम्भावना हुन्छ। त्यसैले कतिपय अवस्थामा पोस्टपार्टम डिप्रेसन भएका महिलालाई बच्चासँगै राखिँदैन,’ उनले भने। 

‘पोस्टपार्टम डिप्रेसन साइकोसिस’
‘पोस्टपार्टम डिप्रेसन साइकोसिस’ पनि डिप्रेसन नै हो। तर, त्यो झन् बढी खतरनाक हुने डा. श्रेष्ठले बताए।

‘यसमा सुत्केरीमा अनौठो अनौठो भ्रम रहन्छ। उनीहरु विक्षिप्त नै हुन्छ। बच्चालाई आफ्नो मान्नै नसक्ने हुन्छन्,’ उनी भन्छन्। 

मातृ मृत्युदरमध्ये १७ प्रतिशत आत्महत्या
पाटन अस्पतालमा दैनिक १५ देखि २० जना सुत्केरी हुन्छन्। तीमध्ये एक/दुई जनामा ‘पोस्टपार्टम डिप्रेसन’ देखिन्छ। 

औषधि वा काउन्सिलिङ गरेर सञ्चो नभएपछि कतिलाई अस्पतालमै भर्ना गरेर सुई दिनुपर्ने अवस्था पनि आउने उनले बताए।

नेपालको मातृमृत्युको तथ्याङ्कमा १७ प्रतिशत मृत्यु आत्महत्याका कारण हुने गरेको छ।

सय जना नवसुत्केरी आमाको मृत्यु हुन्छ भने तीमध्ये १७ जना पोस्टपार्टम डिप्रेसनजस्ता रोगका कारण आत्महत्या गर्ने गरेको डा. शाक्यले बताए।

‘यो सन् २००४ तिरको भएको तथ्याङ्क हो। अहिले त यो बढिसकेको होला। यसले विकराल रुप लिइरहेको छ,’ उनले भने, ‘यो डेटा नेपालका लागि निकै ठूलो हो। त्यसैले हामी यो डिप्रेसनलाई हल्का रुपमा लिँदैनौँ र फटाफट उपचार गर्नतिर लाग्छौँ। पोस्टपार्टम ब्लुजबाहेक अरुलाई उपचार गर्नै पर्ने हुन्छ। ‘पोस्टपार्टम डिप्रेसन’ र ‘साइकोसिस’मा पुगेर भर्ना गरिएका केहीले बेडमा राखिएका सबै औषधि खाएर आफूलाई क्षति पुर्‍याउन खोज्छन्।’

कारण
कतिपयले ‘पोस्टपार्टम डिप्रेसन’ का कारण गर्भावस्थामा हर्मोनमा आउने परिर्वतनलाई मान्छन्। तर, त्यो मात्र कारण नभएको डा. शाक्य बताउँछन्। 

उनी भन्छन्, ‘गर्भावस्थामा सतप्रतिशत महिलाको हर्मोन परिर्वतन हुन्छ। तर सबैलाई ‘पोस्टपार्टम डिप्रेसन’ हुँदैन। त्यसैले हर्मोनलाई जोखिमको थोरै कारण माने पनि मुख्य कारण भनेको वंशाणु नै हो।’

‘पोस्टपार्टम डिप्रेसन’ वा ‘पोस्टपार्टम डिप्रेसन साइकोसिस’ आमालाई भएको छ भने छोरी र दिदिबहिनी सबैमा देखिने भएकाले पनि यो वंशाणुगत कारण नै मानिएको उनले बताए। 

त्यस्तै, पहिलो बच्चा जन्माउँदा यी रोग लागेको छ भने शतप्रतिशत नै दोस्रो बच्चा जन्माउँदा पनि हुने उनी बताउँछन्। 

‘वंशाणुमै ‘पोस्टपार्टम डिप्रेसन’ को बिउ लिएर आएको छ भने त्यो हरेक पटक सुत्केरी हुँदा देखिन्छ,’ उनले भने, ‘त्यसैले सम्बन्धित निकायले यसमा ध्यान दिन जरुरी हुन्छ।’

डा. श्रीप्रसाद अधिकारी

महत्वपूर्ण हुन्छ परिवारको साथ
‘पोस्टपार्टम डिप्रेसन’ हुने मुख्य कारण वशांणुगत भएकाले यसबाट बच्ने त्यस्तो कुनै उपाय नभएको डा. शाक्यले बताए। तर समस्या देखिहाल्यो भने परिवारको साथ र सहयोग निकै चाहिने कुरामा उनले जोड दिए।

‘पोस्टपार्टम डिप्रेसन’ भइहाल्यो भने परिवारको साथ र सहयोग भएन भने बिरामीलाई अझ बढी गाह्रो हुने उनको भनाइ छ।

‘परिवारले जति राम्रो वातावरण दिँदा पनि ‘पोस्टपार्टम डिप्रेसन’ हुनेलाई भइहाल्छ,’ उनी भन्छन् ‘रानी महारानीहरुलाई पनि यो रोग लागेको देख्न सकिन्छ। हामीले कति सुनेका छौँ।’

कृति पनि यस्तो अवस्थामा परिवारको निकै सहयोग चाहिने बताउँछिन्।

‘गर्भावस्था र सुत्केरीमा नजिकको मान्छे चाहिने रहेछ। जसलाई विश्वास गरेर सबै कुरा भन्न सकियोस्। आफ्ना पीडा जति सबै सुनिदेओस्,’ उनले भनिन्। 

परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रसूतिरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीले गर्भावस्थादेखि नै आमा र बच्चाको स्वास्थ्यका लागि परिवारको साथ महत्त्वपूर्ण हुने बताए। 

‘पोस्टपार्टम डिप्रेसन हुँदा समयमा बिरामीले उपचार नगरे बच्चा र आमाको ज्यानै जोखिममा हुन्छ,’ उनले भने। 

प्रसूति अस्पतालमा पनि धेरै आमाहरुमा यस्तो समस्या देखरिहेको उनले सुनाए। 

‘प्रसूति अस्पतालमा हरेक समय राउन्डमा जाँदा सुत्केरी भएका हरेक आमाहरुको बोल्ने तरिका र उनीहरुको क्रियाकलाप हेरिन्छ। त्यसमा कुनै शंका लाग्यो भने काउन्सिल गर्छौं। हामीले गर्न सक्ने जति गर्छौं र नसक्ने जस्तो भए हामी अन्यत्र रिफर गर्छौ,’ उनले भने।

गर्भावस्थामै २५ प्रतिशतलाई आउँछ आत्महत्याको सोच
पाटन अस्पतालमा करिब एक दशकअघि एक महिलाले सुत्केरी भएको दुई दिनमै चार तला माथिबाट हामफालेर आत्महत्या गरेको एक घटना सम्झँदै डा. शाक्य भन्छन्, ‘उनी गर्भवती भएदेखि नै मानसिक समस्याबाट गुज्रिएको थिइन्। त्यसैले आत्महत्याको बाटो रोजेकी हुन् कि भन्ने हाम्रो आकलन छ।’

त्यसैले अहिले अस्पताल निकै सचेत भएर सुत्केरी आमाको हाउभाउ बुझ्ने गरेको उनी बताउँछन्। 

डा. शाक्यसहित प्रतिष्ठानमा एमडी गर्दै गरेका डाक्टरहरुले गर्भवती भएका सय जनामा गरेको एक अध्ययनमा २५ प्रतिशतले आत्महत्या गर्ने सोच आउने बताएका छन्। 

डा. शाक्य भन्छन्, ‘सुत्केरी भएपछि मात्र नभएर गर्भावस्थाबाटै डिप्रेसनमा जान्छन् जसलाई ‘प्रि–पार्टम डिप्रेसन’ भनिन्छ। अस्पतालले गर्भावस्थाबाटै महिलामा चिन्ता रोग छ वा छैन भनेर ख्याल गर्ने र निवारण पनि गर्ने गरेको छ।’

गर्भावस्था र सुत्केरी अवस्थामा देखिने मानसिक समस्यामा सबैले ध्यान दिन निकै आवश्यक रहेको उनी बताउँछन्। 

‘गर्भवती चिन्तित वा निराश बन्दा बच्चामा निकै नराम्रो असर गरिहको हुन्छ। यसका प्रमाणहरु पनि धेरै छन्,’ उनले भने।

‘गर्भावस्था र सुत्केरी अवस्थालाई विशेष अवस्था भनिएकाले निकै ख्याल गर्नु पर्छ। कुनै पनि समस्या देखियो भने झारफुक गराएर बस्नु हुँदैन समयमै अस्पताल जानु पर्छ,’ उनले भने। 

(नोट : आत्महत्या रोकथाम, आफ्नो मनमा भएका तनावको बारेमा कुरा गरेर मन हल्का बनाउन सहयोगी सञ्जाल पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको बारेमा थाहा पाउन पाटनस्थित मानसिक अस्पतालमा रहेको राष्ट्रिय हेल्पलाइन ११६६ र अन्य नम्बरहरु ९८०१५७१०३२, १६६००१२२३२२ मा २४ सै घण्टा निशुल्क फोन गर्न सकिन्छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .