ad ad

जीवनशैली


भिटामिन डीले बचाउँछ बुढ्यौलीमा भुल्ने बिरामीबाट

भिटामिन डीले बचाउँछ बुढ्यौलीमा भुल्ने बिरामीबाट

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १८:४२, काठमाडौँ

धेरैजसो मानिसहरुलाई बुढेसकाल लाग्दै जाँदा बिर्सिने बिरामीले सताउन सक्छ। त्यसका साथसाथै राम्ररी सोच्न नसक्ने, निर्णयहरु लिन नसक्ने समस्या पनि देखिन सक्छ। यस्तो समस्याले मानिसको दैनिक जीवनलाई नै प्रभावित तुल्याइदिने गर्छ। यो समस्यालाई बोलीचालीको भाषामा भुल्ने बिरामी भनिन्छ। अंग्रेजीमा यसलाई डिमेन्सिया भनिन्छ। सामान्य अवस्थामा यस खालका समस्यालाई अल्जाइमर रोग पनि भन्ने गरिन्छ।

हालसालै प्रकाशित गरिएको एउटा बृहत् अध्ययनले यस खालको समस्याको सम्भावनालाई भिटामिन डीले कम गर्ने देखाएको छ।

त्यसो त यस समस्याबाट बचाउन वा समस्या कम गर्नका लागि भिटामिन डीले कसरी काम गर्छ भन्ने कुरा प्रष्ट हुन सकेको छैन। तर १२ हजार ३८८ जना स्वस्थ (डिमेन्सियाको समस्या नभएका) मानिसहरुमा गरिएको अध्ययनले त्यसबारेमा सकारात्मक नतिजा देखाएको थियो।

क्यानडाको युनिभर्सिटी अफ क्याल्गरिज हचकिस ब्रेन इन्स्टिच्युट र बेलायतको युनिभर्सिटी अफ एक्जेटरका अनुसन्धानकर्ताहरुले उक्त अध्ययन गरेका थिए। अध्ययनमा संलग्नहरुको औसत उमेर ७१ वर्ष थियो। तीमध्ये ४ हजार ६३७ जना (३७ प्रतिशत)लाई भिटामिन डीको सप्लिमेन्ट दिइएको थियो।

त्यसरी अध्ययनमा समावेश गरिएकाहरुमध्ये २,६९६ जनामा १० वर्षपछि डिमेन्सियाको समस्या देखापरेको थियो। तीमध्ये २,०१७ जना अर्थात् ७५ प्रतिशतले भिटामिन डीको सप्लिमेन्ट लिएका थिएनन्। डिमेन्सियाको समस्या देखापरेका बाँकी ६७९ जना अर्थात् २५ प्रतिशतले चाहिँ भिटामिन डीको सप्लिमेन्ट लिएका थिए।

अध्ययनबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरेपछि अनुसन्धानकर्ताहरु भिटामिन डीको सेवनले डिमेन्सियाको खतरालाई कम गर्ने निष्कर्षमा पुगेका हुन्। उनीहरुका अनुसार, डिमेन्सियाको खतरा कम गर्न भिटामिन डीले निर्वाह गर्ने भूमिका व्यक्तिको लिङ्ग, बौद्धिक अवस्था र तिनमा रहेको APOEe4 जिनमा भरपर्दछ। हेक्का रहोस्, APOEe4 जिन हुने मानिसमा अल्जाइमर हुने सम्भावना बढी हुन्छ।

युनिभर्सिटी अफ क्याल्गरी र युनिभर्सिटी अफएक्जेटरका प्रोफेसर जहिनुर इस्माइलको नेतृत्वमा गरिएको उक्त अध्ययन अल्जाइमर्स एन्ड डिमेन्सियाः डाइग्नोसिस, एसिसमेन्ट एन्ड डिजिज मनिटरिङमा प्रकाशित भएको थियो।

यसअघि युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाले गरेको अर्को छुट्टै अध्ययनमा पनि शरीरमा भिटामिन डीको कमी हुँदा डिमेन्सिया र हृदयघातको सम्भावना बढ्ने देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .