ad ad

जीवनशैली


यसरी रोप्न र हुर्काउन सकिन्छ शुभकार्यमा प्रयोग हुने फूल जर्बेरा

यसरी रोप्न र हुर्काउन सकिन्छ शुभकार्यमा प्रयोग हुने फूल जर्बेरा

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १०:१, काठमाडौँ

विवाह होस् या अरु कुनै पनि शुभकार्य, मञ्चको सजावट गर्न तथा बुकेका रुपमा दिन फूलको प्रयोग हुने गर्छ। त्यसरी प्रयोग हुनेहरुमध्ये एउटा प्रमुख फूल हो जर्बेरा। गुलाबी, सुन्तला, पहेंलो, रातो र सेतो रङ हरूमा फुल्ने जर्बेरा चम्किलो र चित्ताकर्षक हुने गर्छ। जीवन्त रङहरुको पत्रैपत्रले घेरिएको, गोलाकार चक्का जस्तो स्वरुपमा फुल्ने यो फूल 'सिङ्गल' वा 'डबल' दुवै हुने गर्छ।

जर्बेरा फूललाई अफ्रिकी डेजी वा ट्रान्सभल डेजीको रूपमा पनि चिनिन्छ। यो फूल फुल्ने बिरुवाहरूको एक प्रजाति हो। मूलत: दक्षिण अमेरिका, अफ्रिका र एसिया उत्पत्ति थलो रहेको यो फूल Asteraceae परिवारसँग सम्बन्धित छ।

त्यसो त जर्बेरा फूल औषधीय उद्देश्यका लागि पनि प्रयोग गरिन्छ। यसमा एन्टि-इन्फ्लेमेटरी र एन्टी-माइक्रोबियल गुणहरू छन् भन्ने विश्वास गरिन्छ।

सामान्यत: जर्बेरा हुर्काउन र हेरचाह गर्न सजिलो बिरुवा मानिन्छ। यसले पानीको राम्रो निकास भएको माटो मनपराउँछ। यो बिरुवालाई पूरै घाम लाग्ने ठाउँदेखि आंशिक छाया पर्ने ठाउँसम्म हुर्काउन सकिन्छ। उपयुक्त वातावरण तयार पारिदिने हो भने यो बिरुवालाई घरभित्र र बाहिर दुवै ठाउँमा राम्ररी हुर्काउन तथा फूल फुलाउन सकिन्छ, उब्जाउन सकिन्छ, र तिनीहरूको लामो डाँठ र जीवन्त रंगहरूको कारण प्रायः काटिएको फूलको व्यवस्थामा प्रयोग गरिन्छ।

जर्बेराको लागि माटो तयार गर्ने तरिका
जर्बेरा हुर्काउन र फुलाउन सजिलो बिरुवा भए पनि यसको लागि रोप्ने माटोबारे विशेष ध्यान दिनु जरुरी छ। यो बिरुवा रोप्ने माटो सही भएन भने बिरुवामा ढुसी लाग्ने गर्छ र त्यही कारण बिरुवा मर्ने गर्छ। त्यसैले यस बिरुवा रोप्ने माटो तयार गर्दा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ

राम्रोसँग निकास हुने माटोको मिश्रण : जर्बेरा बिरुवाहरूले राम्रोसँग निकास हुने माटोलाई मन पराउँछ। त्यसैले यो बिरुवा रोप्नका लागि पानी नजम्ने, सजिलैसँग पानी पास हुने माटो चाहिन्छ। सबैभन्दा सजिलो चाहिँ बजारमा किन्न पाइने तयारी अवस्थाका बिरुवा रोप्ने माध्यम (पटिङमिक्स) प्रयोग गर्न सकिन्छ। अथवा घरमै पिटमोस, पर्लाइट र भर्मिक्युलाइट बराबरी मिसाएर जर्बेरा रोप्ने पटिङमिक्स पनि बनाउन सकिन्छ।

जैविक पदार्थ : अरु सबै बिरुवाहरुलाई जस्तै जर्बेरालाई पनि हुर्कन, बढ्न, स्वस्थ रहन र फूलहरु फुल्न उपयुक्त मात्रामा पोषक तत्त्वहरुको आवश्यकता पर्दछ। त्यसैले जर्बेराका लागि पटिङमिक्स बनाउँदा  बिरुवालाई पोषक तत्वहरू प्रदान गर्न माटो मिश्रणमा कम्पोस्ट, पुरानो मल वा पात मोल्ड हाल्नु राम्रो हुन्छ।

हरेक बिरुवाहरुले फरकफरक पीएच स्तर भएको माटो मन पराउँछ। जर्बेरा ५.५ देखि ६.५ अर्थात् थोरै अम्लीय पीएच स्तर भएको माटोमा राम्ररी हुर्कन्छ। त्यसैले जर्बेरा रोप्न तयार गरिएको माटोमा अलिकति कृषि चुन हालेर त्यसको अम्लीयपनलाई कम गर्न सकिन्छ।

माथि हामीले माटो तयार गर्दा पिट मोस, पर्लाइट र भर्मिक्युलाइट प्रयोग गर्ने कुरा गर्यौं। तर सबै ठाउँमा यी चिजहरु उपलब्ध नहुन पनि सक्छन्। उपलब्ध भइहाले पनि महंगो पर्न पनि सक्छ। यस्तो अवस्थामा पिट मोस, पर्लाइट र भर्मिक्युलाइटका विकल्पहरु पनि छन्। तीमध्ये केही यसप्रकार छन्–

नरिवलको जटा : आजभोलि बजारमा नरिवलको जटाको धुलो र छोक्राहरु पनि किन्न पाइन्छ, जसलाई कोकोपिट भन्ने गरिन्छ। ये कोकोपिट माटोको राम्रो विकल्प पनि ही। माटोभन्दा तौलमा निक्कै हलुका हुने, ढुसीलगायतका रोगको प्रकोप कम हुने भएकोले यसलाई माटोको विकल्पमा प्रयोग गर्ने प्रचलन बढेको छ। त्यसो त कोकोपिटले पानीलाई आफूमा संचित गर्ने तथा बढी भएका पानीलाई सहजै निकास गरिदिने काम पनि गर्छ। 

कतिपयले कोकोपिटको प्रयोग नगर्न सल्लाह दिने गर्छन्। उनीहरुको भनाइमा कोकोपिटले पानी सोसेर राख्ने गर्छ जसले गर्दा पानीको मात्रा बढी भई फङ्गल संक्रमण हुने सम्भावना बढ्छ। तर उचित मात्रामा कोकोपिटको प्रयोग गर्दा फरक पर्दैन। बरु त्यसले माटोलाई हल्का बनाइदिन्छ, चिस्यान कायम राख्न सहयोग गर्छ। मुख्य ख्याल गर्नुपर्ने कुरा चाहिँ जर्बेरा रोप्न तयार गरिएको माटोबाट सजिलै पानी पास हुनुपर्छ, पानी जम्नु हुँदैन। यो कुरा ख्याल गरियो भने निर्धक्क भएर जर्बेरा रोप्ने माटोमा कोकोपिटको प्रयोग गर्न सकिन्छ।

कम्पोस्ट : कम्पोस्ट जैविक पदार्थको समृद्ध स्रोत हो। यसको प्रयोग माटोको संरचना सुधार गर्न र बिरुवाहरूलाई पोषक तत्व प्रदान गर्न गरिन्छ।

बालुवा : जर्बेराका लागि सबैभन्दा ख्याल गर्नुपर्ने कुरा माटोमा पानी जम्नु हुँदैन। त्यसका लागि सबैभन्दा उत्तम उपाय बालुवाको प्रयोग हो। त्यसैले जर्बेराका लागि माटो तयार गर्दा त्यसमा  खस्रो खालको बालुवा मिसाउनुपर्छ।

धानको भुस : पर्लाइटको हल्का र दिगो विकल्पमा धानको भुस प्रयोग गर्न सकिन्छ। यसले पनि पर्लाइटले जस्तै माटोको मिश्रणबाट सजिलै पानी निकास गर्ने काम गर्छ।

सल्लाको बोक्रा : सल्लाको बोक्रा भर्मिक्युलाइटको राम्रो विकल्प हो। यसले पनि माटोमा राम्रो जल निकासीको लागि भूमिका खेल्छ।

यसरी तयार गरिएको माटोमा केही मात्रामा एन्टिफंगल पाउडर वा नीमको पिना मिसाउने गर्नुपर्छ। त्यसले बिरुवामा फंगल संक्रमण हुनबाट जोगाउँछ।

कति घाम चाहिन्छ?
जर्बेराको बिरुवा बढ्न र स्वस्थ फूलहरू उत्पादन गर्न प्रशस्त सूर्यको किरण चाहिन्छ। यस हिसाबले सामान्यत: जर्बेराको बिरुवालाई दिनहुँ करिब ६ घण्टासम्म प्रत्यक्ष घाम भेट्ने ठाउँमा राख्नु राम्रो हुन्छ। धेरै गर्मी हुने क्षेत्रमा घाम बढी भएर बिरुवा डढ्न वा ओइलाउन सक्छ। त्यस्तो स्थानमा बिरुवालाई आंशिक छायाँ पर्ने स्थानमा पनि हुर्काउन सकिन्छ। त्यसबाहेक बिरुवालाई डढ्न वा ओइलाउन नदिन धेरै घाम लाग्ने मौसममा ग्रिन नेटको प्रयोग गरी आंशिक छाया प्रदान गर्नु उत्तम हुन्छ।

जर्बेरा घरबाहिर मात्रै होइन, घरभित्रै पनि हुर्काउन र फुलाउन सकिने बिरुवा हो। घरभित्र जर्बेरा बिरुवाहरू हुर्काउनका लागि तिनलाई उज्ज्वल, अप्रत्यक्ष प्रकाश प्रदान गर्न आवश्यक हुन्छ। घरभित्र यो बिरुवा हुर्काउनका लागि दक्षिणतर्फको झ्यालको नजिक राख्नुपर्छ वा तिनलाई आवश्यक प्रकाश प्रदान गर्न बत्तीहरू प्रयोग गर्नुपर्छ।

नेपालको हावापानी विविधतायुक्त छ। यस्तो अवस्थामा त्यसलाई घामको आवश्यकता मौसमअनुसार फरक पर्न सक्छ। सामान्यत न्यानो र समशीतोष्ण र धेरै घाम लाग्ने स्थानमा जर्बेराका बिरुवाहरु राम्रोसँग बढ्छ।

गर्मी महिनाहरूमा (मेदेखि सेप्टेम्बर), लामो दिन र चर्को घाम लाग्ने गर्छ। यो मौसम जुन जर्बेरा बिरुवाहरूको लागि लाभदायक हुन सक्छ। तर बिरुवाहरूलाई कडा दिउँसो घामबाट जोगाउन धेरै गर्मी हुने स्थानमा बिरुवालाई छायाँभएको स्थानमा सारेर वा ग्रिन नेटको प्रयोग गरेर आंशिक छाया प्रदान गर्नुपर्छ।

जाडो महिनाहरूमा (डिसेम्बरदेखि फेब्रुअरी) मा दिन छोटो हुन्छ र घाम पनि कमजोर हुन्छ। यो मौसमले जर्बेरा बिरुवाहरूको वृद्धि र फूल फुल्नलाई असर गर्न सक्छ। यो समयमा जर्बेराका बिरुवालाई धेरै घाम लाग्ने ठाउँमा सार्ने वा उज्ज्वल, अप्रत्यक्ष प्रकाश उपलब्ध गराउन सकियो भने बिरुवा राम्ररी हुर्कन सक्छ।  

पानी हाल्ने तरिका
प्राय: हरेक बिरुवाहरु जस्तै जर्बेरा पनि बढी पानी भयो भनेर मर्न सक्छ। त्यसैले पानी हाल्दा विशेष ख्याल गर्नुपर्छ।

जर्बेराको लागि सबैभन्दा राम्रो सिंचाई विधि भनेको माटोलाई समान रूपमा चिसो राख्ने तर माटोमा पानी जम्न नदिनु नै हो। त्यसैले जर्बेराको बिरुवामा पानी दिँदा निम्न कुराहरुमा ध्यान दिनुपर्छ–

माटो जरासम्मै भिज्ने गरी पानी हाल्नुहोस्। भाँडोको तलबाट पानी निस्कन सुरु नभएसम्म बोटलाई पानी दिनुहोस्।

त्यसरी पानी हालिसकेपछि माटोमा पानी जमेको छ कि छैन सुनिश्चित गर्नोस्। याद गर्नोस्, जर्बेरा रोप्ने माटो ओसिलो त हुनुपर्छ तर त्यसमा पानी जम्नु हुँदैन। त्यसैले जर्बेरा रोपिएको भाँडोबाट राम्ररी पानी निकास भए–नभएको ख्याल गर्नुपर्छ।  

जर्बेरा बिरुवालाई पानी हाल्ने सबैभन्दा उत्तम समय बिहान हो। बिहान पानी दिनाले बिरुवाले दिनको समयमा पानी सोस्छ र रातमा माटोलाई आवश्यकताभन्दा बढी ओसिलो हुनबाट रोक्छ।

जर्बेरा बिरुवालाई पानी दिँदा धेरै चिसो वा तातो हुनुहुँदैन। सबैभन्दा राम्रो कोठाको तापक्रम बराबर तातो रहेको पानी प्रयोग गर्नुहोस्। धेरै चिसो वा तातोपानीले जराहरूमा तनाव परेर बिरुवालाई असर गर्न सक्छ।

बिरुवाले पर्याप्त पानी पाइरहेको छ भनी सुनिश्चित गर्न माटोको आर्द्रता अर्थात् चिस्यान रहे–नरहेको ख्याल गर्नुपर्छ। त्यसका लागि माटोमा एक इन्चजति भित्र औंला घुसाएर जाँच्न सकिन्छ। त्यसरी जाँच्दा सुख्खा भेटियो भने थाहा पाउनोस्, बिरुवालाई पानी हाल्नुपर्ने बेला भयो। तर माटोमा चिस्यान छ भने पानी हालिहाल्नु पर्दैन।

बिरुवालाई मौसमअनुसार फरक परिणाममा पानी चाहिन्छ। गर्मी मौसममा धेरैपटक पानी हाल्नुपर्छ भने जाडोमा कम। त्यसअनुसार पानी हाल्ने समयलाई घटबढ गर्नुपर्छ।

फंगल संक्रमणबाट कसरी बच्ने?
फंगल संक्रमण जर्बेरा बिरुवाहरूमा लाग्ने सबैभन्दा प्रमुख समस्या हो। यो समस्याले जर्बेराका बिरुवालाई मारिदिने गर्छ। त्यसैले जर्बेरा बिरुवालाई फंगल संक्रमण हुन नदिन चनाखो हुनुपर्छ।

जर्बेरामा फंगल संक्रमण हुन नदिन निम्न उपायहरु अपनाउन सकिन्छ:

जर्बेरा बिरुवा रोप्ने भाँडा तथा औजारहरु सफा हुनुपर्छ। त्यसैगरी, त्यो रोप्ने माटो पनि उचित खालको हुनुपर्छ। माथि उल्लेख गरिएको तरिकाले माटो तयार गर्ने हो भने फंगल संक्रमण हुने सम्भावना निकै कम हुन्छ।

बिरुवालाई राम्ररी हावा आवातजावत हुने स्थानमा राख्नु पर्छ। बिरुवामा हावाको राम्रो परिसंचरण भयो भने आर्द्रता कम भएर फंगल संक्रमण हुन पाउँदैन।

जर्बेरामा फंगल संक्रमण हुने एउटा प्रमुख कारण पानी हो। बिरुवामा माथिबाट पानी हाल्दा  पातहरू पनि भिज्ने गर्छ, जसले फंगल विकासको लागि अनुकूल अवस्था सिर्जना गर्न सक्छ। त्यसैले यो बिरुवामा पानी हाल्दा पात समेत भिज्ने गरी माथिबाट हाल्नुको सट्टा सोझै माटोको सतहको नजिक, बिरुवाको डाँठबाट पानी दिनुहोस्।

धेरै पानी भयो वा माटोमा पानी जम्यो भने पनि फंगल विकासको लागि अनुकूल अवस्था सिर्जना गर्न सक्छ। त्यसैले बिरुवालाई जरासम्म भिज्ने गरी तर नजम्ने हिसाबले पानी हाल्नोस्। दिनहुँ पानी नहाल्नोस्। माटोको माथिल्लो भाग १ इन्च जति सुकेपछि मात्रै पानी हाल्ने गर्नोस्।

बिरुवाका पातहरू पहेँलो हुने वा पातहरूमा दागहरू जस्ता फङ्गल संक्रमणको कुनै लक्षण देखियो भने त्यो फङ्गल संक्रमणको लक्षण हुन सक्छ। तिनले अरु स्वस्थ पातहरुलाई पनि खराब बनाउन सक्छ।  त्यसैले पूरै बिरुवामा फङ्गस फैलिनबाट रोक्नको लागि संक्रमित पातहरुलाई तुरुन्तै हटाइदिनुपर्छ।

फङ्गिसाइड प्रयोग गर्नुहोस् : बिरुवामा फंगल संक्रमण जारी रह्यो भने, फङ्गस नियन्त्रण गर्न फङ्गिसाइड प्रयोग गर्नुपर्ने हुन्छ। सामान्यत: बिरुवामा हरेक १५ दिनमा एक पटक फङ्गिसाइड स्प्रे गर्दा फङ्गस संक्रमणबाट बच्न सकिन्छ। रासायनिक फङ्गिसाइड प्रयोग नगर्ने हो भने हरेक १५ दिनमा एक पटक नीम तेल र पानी स्प्रे गर्न सकिन्छ। यसको लागि १ लिटर पानीमा २–३ मिलिलिटर नीम तेल हाल्ने र राम्ररी हल्लाएर घोल्नुपर्छ। त्यसरी तयार गरिएको घोललाई बिहान वा बेलुकी जर्बेराको पात भिज्ने गरेर नियमित रुपमा स्प्रे गरिदिने हो भने हत्तपत्त फङ्ल संक्रमण हुन पाउँदैन। रासायनिक फङ्गिसाइडको प्रयोग गर्दा त्यसका उत्पादन लेबलमा उल्लेख गरिएका निर्देशनहरू सावधानीपूर्वक पालना गर्नुपर्छ।

नयाँ बिरुवा तयार गर्ने तरिका
जर्बेरा बिरुवालाई विभाजन, अफसेट वा बिउबाट नयाँ बिरुवा तयार गर्न सकिन्छ।

विभाजन: जर्बेरा बिरुवाहरू प्रत्येक २–३ वर्षमा वसन्त वा शरद ऋतुमा विभाजित गर्न सकिन्छ। यो गर्नका लागि, राम्ररी हुर्केका बिरुवालाई त्यसको भाँडोबाट सावधानीपूर्वक निकाल्नुपर्छ। त्यसरी निकालिएको बिरुवाको आकार हेरेर त्यसका जरालाई दुई वा बढी खण्डहरूमा छुट्याउनुपर्छ। त्यसरी बिरुवालाई विभाजित गर्दा प्रत्येक खण्डमा केही स्वस्थ जरा र पातहरू हुनुपर्छ। त्यस्ता विभाजित बिरुवालाई रोपेर नयाँ बिरुवा तयार गर्न सकिन्छ।

अफसेट: अफसेट भन्नाले मुख्य बिरुवाका छेउछाउबाट उम्रने नयाँ बच्चा बिरुवाहरुलाई बुझ्नुपर्छ। जर्बेरा बिरुवाहरूले पनि अफसेटहरू उत्पादन गर्छन्। ती अफसेटहरूलाई मूल बिरुवाबाट अलग गर्नुअघि त्यसमा अघि धेरै पातहरू र जराहरू विकसित हुन दिनुपर्छ। राम्ररी विकसित भएका अफसेटलाई अभिभावक बिरुवाबाट सावधानीपूर्वक अलग गरी नयाँ गमला वा भाँडोमा रोपेर नयाँ बिरुवा तयार गर्न सकिन्छ।

बिउ: नयाँ जर्बेरा बिरुवा तयार गर्ने अर्को उपाय भनेको बिउबाट हो। राम्ररी छिप्पिएका फूलमा केही बिउहरु बनेका हुन्छन् वा बजारमा सोझै बिउ किन्न पनि पाइन्छ। त्यसलाई उमारेर पनि नयाँ बिरुवा तयार गर्न सकिन्छ।

जर्बेरा बिरुवाहरू बिउबाट उब्जाउन सकिन्छ, तर तिनीहरूलाई अंकुराउनको लागि विशेष सीपको खाँचो पर्छ। सामान्यत: यसको बिउलाई ओसिलो, राम्रोसँग पानी निकास हुने पटिङमिक्समा छर्नुपर्छ। त्यसपछि बिउलाई हल्का माटोले छोपेर हल्का पानीले भिजाइदिनुपर्छ। तत्पश्चात त्यसलाई माथिबाट प्लास्टिकले छोपेर न्यानो, उज्यालो स्थानमा राखिदिनुपर्छ। उचित वातावरण पायो भने यसरी छरेका बिउहरू 2-3 हप्तामा अंकुरित हुन्छ।

बिउ अंकुरित भइसकेपछि पनि माटोको चिस्यान कायम राख्नेबारे ख्याल गर्नुपर्छ। बिउबाट उम्रेका बिरुवाहरु अलि हुर्केपछि नयाँ भाँडोमा सार्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .