ad ad

जीवनशैली


हृदयाघात भएको १२ घण्टाभित्र अस्पताल पुगे मृत्युको जोखिम कम गर्न सकिन्छ : डा. अधिकारी (भिडिओ)

हृदयाघात भएको १२ घण्टाभित्र अस्पताल पुगे मृत्युको जोखिम कम गर्न सकिन्छ : डा. अधिकारी (भिडिओ)

(भिडिओ तथा फोटो सरोज बैजु)


समृद्धा केसी
फागुन २०, २०७९ शनिबार ६:३०, काठमाडौँ

विश्वमै मृत्युको सबैभन्दा मुख्य कारण मुटुरोग मानिन्छ। नेपालमा सबैभन्दा बढी मुटुका बिरामी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जान्छन्। केन्द्रले कस्तो रोगको उपचार कसरी गरिरहेको छ त? यस विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसँग कुराकानी गरेका छौँ :

गंगालाल राष्ट्रिय हृदय केन्द्र कसरी सञ्चालन भइरहेको छ? 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐनद्वारा बनाइएको स्वायित्वयुक्त संस्था हो। यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहन्छ। केन्द्रको तलब वा सञ्चालन खर्च चाहिँ केन्द्र आफैँले कमाएर चल्नु पर्छ। नेपाल सरकारले केन्द्रको पूर्वाधार विकास, मेसिनरी खरिद गरिदिन्छ। 

सरकारले नेपाली जनतालाई उपलब्ध गराएका बीमा र निशुल्क कार्यक्रमको उपचार लिएबापत स्रोत भर्ना गर्ने काम नेपाल सरकारले गर्दछ। 

यस केन्द्रको क्षमता कति हो र स्वास्थ्यकर्मी कति छन्?
केन्द्रमा ३४ बेडको आकस्मिक कक्ष छ। र सबै गरेर बेड संख्या २७० छ। स्वास्थ्यकर्मी चाहिँ सात सय भन्दा बढी छन्। 

यहाँ ७७ जिल्लाकै मुटु रोगका बिरामी आइपुग्नु हुन्छ। त्यस्तै भारतको केही जिल्लाका बिरामी पनि आइपुग्नु हुन्छ। कहिलेकाहीँ नेपाल घुम्न आएका विदेशी नागरिकहरुको मुटुमा समस्या देखिँदा पनि उपचारका लागि यहीँ आइपुग्नु हुन्छ। 

नेपालमा पछिल्लो समय मुटु रोगको अवस्था कस्तो छ? 
नेपालमा पछिल्लो समय विभिन्न कारणले गर्दा मुटु रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको छ। पहिलेपहिले बाथ मुटु रोगी बढी देखिन्थे भने अहिले मुटुरोगका बिरामी बढी देखिन्छ। त्यो मात्र होइन कि युवा अवस्थामै हृदयाघातका बिरामी बढिरहेको देखिन्छ। संसारमा जुन हिसाबले मुटु रोग बढिरहेको छ, नेपालमा पनि त्यस्तै देखिन आउँछ। 

यस केन्द्रले सन् २०१८ मा गरेको अध्ययनमा हृदयाघात भएर आएका बिरामीको संख्या चाहिँ एक वर्षमा १५ सय थियो। प्रत्येक महिना धेरै बिरामीहरु हृदयाघात भएर आउने भएकाले हामीले २४ घण्टा नै हृदयाघात भएका बिरामीलाई गरिने ‘प्राइमरी एन्जिओप्लास्टी’ (मुटुको नसा खोल्ने प्रविधि) उपलब्ध गराएका छौँ। 

मुटुको समस्या लिएर केन्द्रमा आइपुग्ने बिरामी कति छन्? 
सन् २०२२ को तथ्याङ्क हेर्ने हो भने प्रत्येक महिना आकस्मिक कक्षमा आउने बिरामीको संख्या १५ देखि १८ सय थियो। ओपीडीमा १२ देखि १५ हजार थियो। औसतमा प्रत्येक दिन आकस्मिक कक्षमा ५० देखि ६० को बीचमा बिरामी आउँछन् भने ओपीडीमा ६ सय देखि आठ सयका हाराहारीमा बिरामी आउँछन्। 

यस केन्द्रमा आउने बिरामीको संख्या हेर्दा मुटु रोगीको संख्या बढिरहेको छ भनेर संकेत गर्छ। 

भिडिओ :

विपन्नहरुलाई यस केन्द्रले कसरी सेवा दिएको छ?
विपन्न अन्तर्गत नेपाल सरकारले उपलब्ध गराएको सेवासुविधा यहाँ दिन्छौं। १५ वर्षमुनिको बच्चाको भर्ना गरिसकेपछि लाग्ने सबै निशुल्क गराउँछौं। ७५ वर्ष माथिकालाई पनि यसरी नै मुटुमा देखिका विभिन्न समस्याका लागि सरकारले दिएको एक लाख रुँपैया बराबरको शुल्क मिनाहाको व्यवस्था गरेको छौं। 

त्यो बाहेक मुटुको भल्भ साँघुरो (पीटीएमसी) भए खोल्ने भल्भ सर्जरी पनि निशुल्क उपलब्ध छ। गरिब तथा विपन्नका लागि केन्द्रले आन्तिरिक स्रोतबाट पनि प्रत्येक महिना एकदेखि डेढ करोडसम्मको उपचार सेवा दिइरहेको छ। 

यस केन्द्रमा उपचार मात्र नभएर अध्ययन अनुसन्धानका लागि र रोग निवारणका लागि, पुनर्स्थापनका सबै कुराहरु समेटिने भएकाले यो अस्पताल नभएर केन्द्रका रुपमा विकास भएको हो। 

विश्वमा मुटु रोग उपचारका लागि धेरै प्रविधिहरु विकास भइसकेका छन्। यहाँको स्थिति के छ?
आजको स्थितिमा भन्नु पर्दा संसारमा हुने मुटु रोगसँग सम्बन्धित जति पनि उपचार छन्, यहीँ गर्न सकिन्छ, प्रत्यारोपणबाहेक। त्यसको लागि विदेश गइरहनु पर्दैन। 

मुटु प्रत्यारोपण गर्नु पर्ने बिरामीहरु त छन् तर अहिलेसम्म नेपालमा त्यो सम्भव भएको छैन्।  मुटु प्रत्यारोपणका लागि मुख्य गरेर कानुनी प्रक्रिया निकै अप्ठेरो छ। प्राविधिक रुपमा गर्न सकिए पनि कानुनी रुपमा भने अलि गाह्रै पर्छ। किनभने यसका लागि मानिसको मृत्यु नै हुनु पर्यो त्यसपछि कानुनी जटिलताले गाह्रो बनाउन सक्छ। 

तर अहिले गाह्रो भए पनि निकट भविष्यमा नेपालमै मुटु प्रत्यारोपण गर्न सकिन्छ। 

हृदयाघातभन्दा अरु कुन समस्या लिएर बिरामी आउँछन्? 
आकस्मिक कक्षमा आउने धेरै बिरामी भनेको छाती दुखेर अथवा हृदयाघातको शंका लागेर हो। त्यसपछि सास फेर्न गाह्रो भएर, उच्च रक्तचाप भएर, मुटु बढी ढुकढुक हुनेजस्ता समस्या लिएर बिरामी आउँछन्। 

अहिले सानै उमेरमा पनि हृदयाघात हुन्छ भनिन्छ, खासमा के हो? 
पहिलेपहिले उमेर पुगेकालाई मात्र हृदयाघात हुन्छ भनिन्थ्यो तर आजभोलि युवा अवस्थामै पनि हृदयाघात भइरहेका बिरामी अस्पताल आउँछन्। ४५ वर्षमुनिकालाई हामी युवा अवस्थामा हृदयाघात भन्छौँ। अहिलेसम्म हामीले देखेको वा यस केन्द्रमा आएको सबैभन्दा कम उमेरको १९ वर्षको हृदयाघात भएर हामीले उपचार गरेका छौं। 

हृदयाघातका मुख्य कारणहरु के हुन्? 
विशेष गरेर हृदयाघात हुने कारणमध्ये उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, सुर्ती र चुरोटको सेवनजस्ता कारणतत्व भएका बिरामी धेरै आउने गर्छन्। 

हृदयाघात भएर केन्द्रमा पुग्ने बिरामीमध्ये ७० प्रतिशत चुराट सेवन गर्ने हुन्छन्। त्यस्तै बोसोयुक्त खानकुरा बढी खाने, चिन्ता र निष्क्रिय जीवनशैलीका कारण पनि हृदयाघात बढी भइरहेको छ। काठमाडौंजस्ता प्रदुषित क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु हृदयाघातको उच्च जोखिममा छन्। प्रदुषित वातावरणले मुटु लगायत फोक्सोलाई निकै असर पुर्याउँछ। 

हृदयाघात हुँदा कस्ता–कस्ता लक्षण देखिन्छन्? 
हृदयाघात हुँदा देखिने प्रमुख लक्षण भनेको छातीको अग्रभागमा असह्य भएर दुख्ने हो। पसिना आउने, चक्कर लाग्ने, बान्ता हुने, बेहोस हुने हुन्छ। दुखाइ छातीसँगै कसैको देब्रे वा दाहिने हाततिर पनि सर्ने गर्छ। 

संसारमा भएको अध्ययनले हृदायाघात भएका लगभग २५ प्रतिशत बिरामी अस्पताल आइपुग्दैनन्। र, हृदयाघात भएर अस्पताल आएका सातदेखि दस प्रतिशतलाई घर पठाउन सकिँदैन। उनीहरुको अस्पतालमै मृत्यु हुन्छ। 

बिरामी अस्पताल आउँदा कस्तो अवस्थामा आउँछन् र उनीहरु मुटु रोगबारे कत्तिको सचेत भएको पाउनु हुन्छ? 
हामीले एक अध्ययन गरेका थियौँ, जसमा नेपालमा मुटु रोगको जनचेतना निकै कम रहेको पायौँ। हृदयाघात हुँदा छाती दुख्ने प्रमुख लक्षण हो तर बिरामीले त्यसलाई अरु नै रोग भनेर घरमै बस्ने गर्नु हुन्छ। अस्पताल आइहाल्यो भने पनि ढिलो आउनु हुन्छ। 

हृदयाघात भएको १२ घण्टाभित्रमा बिरामी अस्पताल आए भने ‘प्राइमरी एन्जिओप्लास्टी’ द्वारा उपचार गरेर बिरामीलाई ठिक पार्न सकिन्छ। तर छाती दुखेको १२ घण्टा भित्रमा अस्पताल आउने बिरामीको संख्या जम्मा ४० प्रतिशत मात्र छ। ती ४० प्रतिशतले मात्र उत्कृष्ट उपचार पाउँछन्। बाँकीले त्यो उपचार पाउँदैनन्।

हृदयाघात भइसकेपछि मुटुको एउटा नसा बन्द भइसकेको हुन्छ। त्यो बन्द भएको नसालाई जति चाँडो खोल्यो उति नै मृत्युलाई घटाउन सकिन्छ। र भविष्यमा आउने अन्य जटिलतालाई पनि कम गर्न सकिन्छ। 

बिरामी जति ढिलो अस्पताल गयो, मृत्युको सम्भावना उति नै बढ्दै जान्छ। र, त्यसले मुटुलाई पनि त्यति नै असर गर्छ। त्यसैले हामीले हृदयाघात भएको १२ घण्टासम्म अस्पताल पुग्नु पर्छ भन्छौँ। सकेसम्म अस्पताल चाँडो पुगेको राम्रो हो। तर अज्ञानता र अशिक्षाका कारण बिरामी अस्पताल ढिलो पुग्छन्। 

के हृदयाघात भएर अस्पताल नपुग्ने सबैको मृत्यु नै हुन्छ? 
हृदयाघात तीन प्रकारको हुन्छ। कुनै हृदयाघातले बिरामीको तत्कालै मृत्यु गराउँछ। तर सबै हृदयाघातले मानिसको तत्कालै मृत्यु नै गराउँछ भन्ने हुँदैन।

मुटु एउटा पम्प गर्ने अंग हो। यसलाई चलाउन रगतको आवश्यकता पर्छ। र, रगत प्रवाह गर्न नसाहरु ठिक हुनु पर्छ। तर, हृदयाघात हुँदा बिरामीको तत्कालै नसा बन्द हुन्छ। र नसाको मासुहरु मर्न थाल्छ र छाती दुख्छ। 

हृदयाघात भएको १२ घण्टाभित्रमा बिरामी अस्पतालमा पुगेन भने केहीको तत्कालै मृत्यु हुन्छ भने केहीको भने जीवनशैलीमा नै असर पर्छ। बिस्तारै बिरामीको मत्यु समेत हुने गर्छ। 

त्यसैले हृदयाघात भएको वा छाती दुखेमा जतिसक्यो चाँडो नजिकैको स्वास्थ्य चौकीमा गएर पनि जाँच गर्न सकिन्छ। 

मुटु रोगलाई नेपाल सरकारको प्राथमिकतामा राखेको छ वा छैन? 
नेपालमा भएका केही अध्ययन र अन्तर्राष्ट्रिय रुपमा भएका केही अध्ययनहरुले चाहिँ संसारमा मान्छेको मृत्युको नम्बर एक कारण मुटुको रोग हो भनेको छ। त्यसैले पनि नेपाल सरकारले मुटु रोगलाई प्रथामिकतामा राखेको छ। हृदयाघातका विषयमा सरकारले विभिन कार्यक्रमहरु गरिहेको छ। 

तर नेपालमा स्वास्थ्यका विषयमा अज्ञानता छ, अशिक्षा छ। मान्छेहरु चिकित्साबारे खासै सचेत छैनन् जसका कारण पनि सरकारीस्तरबाट खासै काम नभएको जस्तो देखिरहेको छ। 

कुनै पनि रोगको रोकथामका लागि गरिएका कामको नतिजा ढिलो नै आउँछ। जनचेतनाको पनि काम त भइ नै रहेको छ तर अहिले हामी धेरै उपचारमा फोकस छौं। 

मान्छेहरु नै यसबारे सचेत बन्नुपर्‍यो, जानकारी राख्नु पर्‍यो र लक्षण देखिहाल्यो भने पनि समयमै अस्पताल जानु पर्‍यो। खानपिनमा विशेष ध्यान दिनु पर्‍यो। 

हृदयाघातको उपचार कसरी गरिन्छ?
छाती दुखेको १२ घण्टाभित्र कोही आयो भने ईसीजी मार्फत कुन किसिमको हृदयाघात भएको छ, छुट्याइन्छ।

त्यो बेला मुटुको नसा शतप्रतिशत बन्द भएका हुन्छ र तुरुन्त हातको नसाबाट पसिनो पाइप पसाएर ‘प्राइमरी एन्जिओग्राम’ गरिन्छ र जहाँनेर असर गरेको छ, त्यहाँनेर बेलुनले फुलाइदिन्छौं वा ‘प्राइमरी एन्जिओप्लास्टी’ गर्छौं। जुन संसारकै उत्कृष्ट उपचार विधि हो।

तर नेपालको भौगोलिक कठिनाइ र अस्पतालहरुको स्रोत, साधनको कमीले गर्दा ‘प्राइमरी पीसीआई’ को ठाउँमा रगत पातलो गर्ने औषधि दिए र पनि उपचार गर्नु पर्छ। जुन जिल्ला अस्पतालतिर दिइन्छ। 

यस केन्द्रमा छाती नचिरी मुटुको भल्भ प्रत्यारोपण पनि गरिन्छ होइन?
हो। त्यो हामीले एक वर्षअघि सुरु गरेको सेवा हो। छाती नचिरी गरिने शल्यक्रियालाई ‘ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन’ (टीएभीआई) भनिन्छ। 

उमेर बढ्दै जाँदा मुटुको मुख्य भल्भ मानिने एओर्टिक साँघुरो हुँदै जान्छ। जसमा छाती नचिरेर एउटा डिभाइसको माध्यमबाट त्यहाँ भल्भ राखिन्छ। 

साधारणतया छाती चिरेर शल्यक्रिया गरेर भल्भ राख्नु पर्ने हुन्छ तर संसारमा गरेका अध्ययनले विभिन्न कारणले गर्दा शल्यक्रिया गर्दा निकै जोखिम हुने हुँदा अथवा शल्यक्रिया गर्नै नमिल्ने खाल्का मान्छेहरुका लागि छाती नै नचिरेर र बेहोस नै नबनाएर एउटा तारको माध्यमले साँघुरो भएको भल्भमा अर्को भल्भ प्रत्यारोपण गरिन्छ। जसलाई टीएभीआई भन्छौँ। 

यस केन्द्रमा एक वर्षमा आठ वटाको भल्भ प्रत्यारोपण सफलताका साथ गरेका छौं। यो गर्न त सकिन्छ तर अलि बढी खर्चिलो भएकाले सबैले उपचार लिन सक्नु हुन्न। 

हामीले यो भल्भ उमेर बढी भएका बिरामीलाई राखेका छौं। यो भल्भ राखेपछि साधारणतया आठ/दस वर्षसम्म काम गर्छ। 

नेपाल मुटु रोग उपचारमा अब्बल बन्यो भन्न मिल्छ? 
नेपाल केहीकेही विषयमा अरु भन्दा राम्रो नै छ। जस्तो भल्भको शल्यक्रिया यहाँ अरुको तुलनामा धेरै गरिन्छ। त्यसैले त्यो काममा हामी राम्रो छौं भन्न सकिन्छ। तर कतिपय कुरा यही टीएभीआईमा पनि भर्खर घस्रिँदै छौँ।

कुनैमा हामी अब्बल नै छौँ। कम केस गरेकोमा हामी सिक्दै छौं भन्छौं। समग्रमा भन्दा पहिलेको तुलनामा उपचार गर्ने विधि र तरिकामा विकास भएकै छ। 

बालबालिकामा देखिने मुटु रोगको अवस्था कस्तो छ? 
बालबालिकामा देखिने मुटु रोग जन्मजात मुटु रोग भन्छौं। यो भनेको चाहिँ मुटुमा प्वाल पर्ने, मुटुको नसाहरु जहाँबाट उत्पत्ति हुनु पर्ने हो त्यो भन्दा अर्को ठाउँबाट उत्पत्ति हुने जस्ता रोग बढिरहेको छ। 

अहिले स्वास्थ्य संस्थाहरुको पहुँच पुगेसँगै बालबालिकामा देखिने मुटु रोगको समयमै पहिचान हुने र उपचारमा आउने बिरामीको संख्या बढिरहेको छ। 

आमाको पेटमा नै जब बच्चाको मुटुको विकास हुन्छ, त्यो समयमा कुनै त्रुटि हुँदा चाहिँ यो जन्मजात मुटुको रोग लाग्छ। बालबालिकामा देखिने मुटु रोगको कतिको लक्षण देखिन्छ भने कतिको जाँच गर्दा मात्र थाहा हुन्छ। 

मुटुरोगबाट बच्न के सल्लाह दिनुहुन्छ?
विशेष गरेर हृदयाघात तथा मुटुका रोग लाग्न नदिनका लागि नुन कम खाने, चिल्लो, बोसो भएको खाने कुरा कम खानु पर्‍यो। सागसब्जी, फलफूलको मात्रा बढाउनु पर्‍यो। नियमित व्यायाम गर्ने र जाँडरक्सी, सूर्ती, चुरोट सेवन गर्नु भएन। कुनै पनि रोग लागेको हो कि भनेर शंका लागेमा समयमै जाँच गर्नु पर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .