ad ad

जीवनशैली


किसमिस खानुका नौ फाइदा

किसमिस खानुका नौ फाइदा

नेपालखबर
फागुन २४, २०७९ बुधबार १९:५४, काठमाडौँ

किसमिस एक बहुगुणकारी खानेकुरा हो। किसमिस नचिन्ने मानिस कमै होलान्। यो सुकाइएका फलफूलहरुमध्ये सजिलै पाइने र सस्तोमै किन्न सकिने फलमध्येमा पर्दछ।

अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। मध्ययुगदेखि नै मानिसले यसलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्दै आइरहेका छन्। त्यसबेलामा किसमिसलाई खानेकुराहरुमा गुलियोपन बढाउनको लागि प्रयोग गर्ने गरिन्थ्यो। सो काममा यो फल महपछि सबैभन्दा बढी उपयोग हुने गर्थ्यो। प्राचीन रोममा किसमिसलाई मूल्यावान वस्तु मानिन्थ्यो। त्यतिबेला दुई जार किसमिसले एउटा दास किन्न पाइन्थ्यो।

किसमिस दुई तरिकाले बनाइन्छ। पहिलो तरिका हो अंगुरलाई घाममा सुकाउने। दोस्रो तरिका चाहिँ मेसिनमा सुकाउने। घाममा दुई हप्ता सुकाएपछि त्यसलाई आकारको आधारमा वर्गीकरण गरेर प्याक गर्ने गरिन्छ। राम्ररी सुकाएर बनाइएको किसमिस हत्तपत्त बिग्रँदैन।

अत्यन्तै पौष्टिक हुने तथा सन्तुलित आहारको रुपमा लिइने किसमिस खानुका केही फाइदाहरु निम्नानुसार छन्–

पोषक तत्वहरूले भरपुरः किसमिसमा प्रचुर मात्रामा पौष्टिक तत्त्वहरु पाइन्छन्। मूलतः यो फलाम, पोटासियम, म्याग्नेसियम र क्याल्सियम जस्ता भिटामिन र खनिजहरूको राम्रो स्रोत हो। त्यसबाहेक, यसमा पाचन स्वास्थ्यका लागि आवश्यक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ।

ऊर्जा बढाउँछः किसमिस कार्बोहाइड्रेटको पनि राम्रो स्रोत हो। सबैलाई थाहा भएकै कुरा हो कि कार्बोहाइड्रेट शरीरको लागि चाहिने उर्जाको प्राथमिक स्रोत हो। त्यसैले किसमिस खाँदा हाम्रो शरीरले उर्जा पनि प्राप्त गर्ने गर्छ।

पाचनमा सुधारः किसमिसमा फाइबर पाइन्छ। फलतः यसले हाम्रो पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्छ। कब्जियत भएका मानिसहरु त किसमिस खानु झनै फाइदाजनक कुरा हो। यसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ। त्यसबाहेक किसिमिसमा भएको फाइबरले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ।

इन्फ्लेमेसन’ कम गर्छः किसिमिसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्त्वहरु पाइन्छन्। यी तत्त्वहरुले हाम्रो शरीरमा बाह्य वा आन्तरिक रुपमा रहेका ‘इन्फ्लेमेसन’लाई कम गर्न वा निको पार्न मद्दत गर्छ। शरीरमा लामो समयसम्म ‘इन्फ्लेमेसन’ रहिरह्यो भने त्यसले हृदय रोग र क्यान्सर समेत गराउने सम्भावना रहन्छ। त्यसबाहेक, किसमिसमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले आँखाको ज्योति बढाउन समेत सहयोग गर्छ।

हड्डी बलियो बनाउँछः किसमिसमा क्याल्सियम र म्याग्नेसियम हुन्छ। यी दुई तत्त्वहरु हड्डी स्वस्थ राख्न आवश्यक खनिजहरू हुन्। नियमित रुपमा किसमिस खाने गर्नाले हड्डीलाई बलियो बनाउँछ, हड्डी खिइने समस्याबाट हामीलाई बचाउँछ। घुँडा तथा शरीरका हड्डीहरुको दुखाइको समस्या हुनेहरुले किसमिस खानु थप फाइदाजनक हुन्छ।

तौल बढ्न दिँदैनः किसमिसमा क्यालोरी र फ्याट कम भएको खानाको एउटा राम्रो विकल्प हो। थोरै किसमिस खाँदा पनि हामीलाई अघाएको अनुभूति हुन्छ। अर्थात् यसको सेवनले भोक लाग्न दिँदैन। त्यसैले किसमिसलाई तौल बढ्न नदिने खाद्यविकल्पको रुपमा लिइने गरिन्छ। मोटोपनले चिन्तित भएका तथा तौल घटाउन खोज्ने मानिसहरूको लागि यो एउटा राम्रो विकल्प हुन सक्छ।

प्रतिरक्षा बढाउँछः किसमिसमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ। यो भिटामिन शरीरको प्रतिरक्षा प्रणालीको लागि आवश्यक हुन्छ। त्यसैले नियमित रुपमा किसमिस खानाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने र संक्रमणको जोखिम कम हुने गर्छ।

यौन दुर्बलता हटाउँछः कतिपय परम्परागत उपचार पद्दतिमा किसमिसले यौन दुर्बलतालाई हटाउने विश्वास गरिन्छ। कामेच्छा कम हुने तथा यौन दुर्बलता भएकाहरुले नियमित रुपमा किसमिस खाँदा फाइदा गर्छ।

रगतको कमी हुन दिँदैनः किसमिसमा पर्याप्त मात्रामा फलाम र भिटामिन बी कम्प्लेक्स पाइन्छ। यी दुई तत्त्वहरु रगतको निर्माण आवश्यक मानिन्छ। फलतः रगतको कमीको समस्या हुनेहरुले नियमित रुपमा किसमिस खाने गर्दा फाइदा हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .