ललितपुरकी एक ५५ वर्षीया महिलाको जीवन सोचेजस्तै चल्दै थियो। उनका दुई छोरी र एक छोरा थिए।
अचानक उनका ३० वर्षीय छोरा बिरामी पर्छन्। अस्पताल लागिन्छ तर उनलाई बचाउन सकिँदैन। छोराको मृत्युले उनी विचलित बन्छिन्।
उनी दिन रात छोराको वियोगमा तड्पिन्छिन्। दम्पती नै छोराको फोटो अगाडि राखेर रोइबस्छन्।
दुई छोरीले जति सम्झाइबुझाइ गर्दा पनि तीन वर्षसम्म उनीहरु सम्हालिन सक्दैनन्। कान्छी छोरी आफैँ नर्स भएकाले आमाको दुःखमा मलम लगाउने कोसिस गर्छिन् तर उनको हरप्रयास असफल हुन्छ।
छोरीहरु कसैगरी आमाबुबाकोे मन भुलाउन असफल हुन्छन्। छोरीले एक दिन टिकटक हेर्दै जाँदा नर्भिक अस्पतालमा ‘नर्भिक आईभिएफ सेन्टर’मा कार्यरत वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माको भिडिओ भेट्छिन्।
भिडिओमा ‘आमा बन्न उमेरले छेक्दैन’ भन्ने सन्देश दिइएको थियो। त्यसपछि उनले आमालाई टेस्टट्यु बेबी विशेषज्ञसमेत रहेकी डा. शर्माकहाँ लैजान्छिन्।
ललितपुर ५५ का श्रीमान् पनि ६८ वर्षका भइसकेका थिए। डा. शर्माले सोधिन्– साँच्चिकै तपाईं फेरि आमा बन्न चाहनुहुन्छ? पटक–पटक सोध्दा पनि उनले बच्चा जन्माउने नै हो भनिन्।
ललितपुर ५५ को शरीरको सबै जाँच गरिन्छ। सबै रिपोर्ट राम्रो। त्यसपछि उनलाई आमा बनाउन हर्मोन थेरापी गरिन्छ। अस्पताल आएको करिब एक वर्षपछि आईभीएफ गरिन्छ।
आईभीएफ गरेको पहिलो पटकमै उनी गर्भवती हुन्छिन्।
उनले गत ६ मंसिरमा छोरालाई जन्म दिइन्। ललितपुर ५५ तीन वर्षपहिला बितेका छोरा फेरि पाएको भन्दै रुन्छिन्।
ललितपुर ५५ दम्पती अहिले खुसी छन्। मानसिक समस्याबाट पनि छुटकारा पाइसकेका छन्। बच्चा पनि स्वस्थ छ।
ललितपुर ५५ जस्तै आठ वर्षअगाडि काठमाडौँकी ५४ वर्षीयाले पनि आईभीएफद्वारा नै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्।
उनले विवाह नै ढिलो गरेकि थिइन्। बच्चा जन्माउने धेरै कोसिस सफल भएन। बच्चाको चाहना राख्दाराख्दै उनको महिनावारी सुकिसकेको थियो। महिनावारी सुकेको चार वर्षसम्म पनि उनले हिम्मत भने हारेकी थिइनन्।
उनलाई पनि डा. शर्माले आईभीएफद्वारा आमा बन्न सघाइन्।
भिडिओ: सरोज बैजु/नेपालखबर
कसरी सम्भव भयो?
प्राकृतिकरुपमा उमेर ढल्किँदै गएपछि गर्भवती हुन कठिनाइ भए पनि आईभीएफ प्रविधिद्वारा भने ५७ वर्षसम्मका महिला पनि गर्भवती भएको डा. शर्माले बताइन्।
डा. शर्माका अनुसार ललितपुर ५५ र काठमाडौं ५४ को पनि महिनावारी सुकिसकेको थियो। उनीहरुलाई हर्मोन दिएर महिनावारी गराएर पाघेठरमा बच्चा बस्न सक्ने बनाइएको हो।
बढ्दो उमेरमा गर्भाधारण गरी बच्चा जन्माउनु जोखिमपूर्ण मानिए पनि आईभीएफले त्यो जोखिमलाई कम गरिदिएको र धेरै आमालाई खुसी दिन सफल भएको उनी बताउँछिन्।
‘सामान्यतया ४७ वर्षपछि महिनावारी सुक्छ र अण्डा बन्न छोड्छ र प्राकृतिकरुपमा महिला आमा बन्न असक्षम हुन्छिन्,’ उनले भनिन्, ‘तर आईभीएफ प्रविधिद्वारा नेपालमा पनि धेरै महिलाले बच्चा जन्माएका छन्।’
त्यस्तो अवस्थामा सबैभन्दा पहिले महिलाको पाठेघर स्वस्थ छ वा छैन र शरीरमा अन्य कुनै रोग छ कि छैन भनेर जाँच गरिन्छ। सबै रिपोर्ट राम्रो आयो भने चाहिँ आईभीएफ गर्न सकिने उनी बताउँछिन्।
‘यदि सबै रिपोर्ट राम्रो आयो भने हर्मोन दिएर उनलाई महिनावारी गराइन्छ। र, अर्को युवा अवस्थाको महिलाको अण्डा र श्रीमानको शुक्रकीट लिइन्छ। त्यसलाई भ्रूण बनाउनका लागि तीनदेखि पाँच दिन इन्क्युबेटरमा राखिन्छ,’ उनले भनिन्।
उनी भन्छिन्, ‘जुन महिलाको अण्डा हुँदैन वा महिनावारी सुकिसकेको हुन्छ, त्यस्तो अवस्थामा अरु महिलाको अण्डा लिइन्छ। कहिलेकाहीँ श्रीमानको शुक्रकीट पनि राम्रो हुँदैन, जसले गर्दा अरुको वीर्य लिएर पनि आईभीएफ गरिन्छ।’
४० वर्षपछि आमा बन्न नसकिने पुरानो समस्या यसरी समाधान भएको उनले बताइन्।
तर, मिर्गौला र मुटुसम्बन्धी समस्या भएका महिलालई भने आईभीएफ गर्न नमिल्ने उनको भनाइ छ।
किन महिलालाई उमेरमै बच्चा जन्माउन भनिन्छ?
‘पहिले आमा बन्नका लागि केटी मान्छेको उमेर मात्र बाधक बन्छ भनिन्छ। त्यो किनभने केटी मान्छे जन्मिने बेलामै निश्चत अण्डा लिएर आउँछन्। त्यो अण्डा कसैको कम हुन्छ, कसैको बढी हुन्छ। त्यो हरेक महिनावारीसँगै घट्दै जान्छ। त्यसैले उमेरमै सन्तान पाउन भनिन्छ,’ उनले भनिन्।
तर विभिन्न कारणले गर्दा अहिले उमेरमै बच्चा जन्माउने महिलाको संख्या घट्दै गएको डा. शर्माले बताइन्।
‘२२ वर्षदेखि ३० वर्षसम्ममा अण्डा धेरै नै हुन्छ। ३० वर्षपछि बिस्तारै घट्दै जान्छ। ४० वर्षमा त निकै कम मात्र अण्डा रहन्छ। त्यसैले महिलाका लागि आमा बन्न उमेर निकै महत्वपूर्ण मानिन्छ। तर अहिले प्रविधिको विकास भएसँगै महिला स्वस्थ्य हुनुपर्छ आमा बन्न जुनसुकै उमेरमा पनि सकिन्छ।’
प्रतिक्रिया