नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरबाट धनीभन्दा गरिब बढी प्रभावित हुने गरेका छन्।
एक्सन नेपाल र स्वास्थ्य अनुसन्धान परिषद् सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको उपचार सेवा लिन आउने सेवाग्रहीहरुको आर्थिक भारसम्बन्धी अनुसन्धान नतिजा सार्वजानिक गरेको हो।
उक्त अनुसन्धानमा झन्डै ४६ प्रतिशत निरक्षरमा सूर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर देखिएको हो।
उच्च शिक्षा हासिल गरेका जम्मा १ देशमलव ९ प्रतिशत मात्रै भेटिएको एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जानकारी दिए।
अनुसन्धानमा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर रोगको पहिचान र निदानका लागि प्रति व्यति ९ लाख ८१ हजार ३७० रूपैयाँ खर्च लाग्ने देखिएको छ।
एक्सन नेपालले सार्वजनिक गरेको विवरणअनुसार ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च, १३ प्रतिशत प्रत्यक्ष नन मेडिकल लागत र बिरामीका कारण एक वर्षमा २ लाख ७९ हजार ४ सय ८२ (२७ प्रतिशत) ज्याला र आम्दानीमा हानी हुने अध्ययनले देखाएको छ।
प्रत्यक्ष मेडिकलअन्तर्गत सबैभन्दा बढी केमोथेरापीमा २८प्रतिशत खर्च लाग्ने गरेको देखाएको छ।
अध्ययनमा १८ देखि ६५ उमेर का ब्यक्ति एक सय तीन जना सहभागी थिए। ति मध्ये १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको देखाएको छ।
२७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिइ खर्च बेहोर्ने गरेका छन्।
क्यान्सरको उपचारका लागि आम्दानीको प्रमुख स्रोत कृषि ४२.७ प्रतिशत, व्यापार २२.३ प्रतिशत, दैनिक ज्याला मजदुरी ११.७ प्रतिशत, सरकारी सेवा ८.७ प्रतिशत र वैदेशिक रोजगार ८.७ प्रतिशत रहेको अनुसन्धानमा देखाएको छ ।
बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै ४ गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको छ।
अध्ययनका अनुसार सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सरका बिरामीको औषत उमेर ५३.५ वर्ष रहेको छ।
क्यान्सरका बिरामीमध्ये झण्डै ४६ प्रतिशत बिरामीहरु निरक्षर र १.९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेको अध्ययनले देखाएको छ।
उक्त अध्ययन उद्देश्यपुर्ण विधिमार्फत नेपालका ४८ प्रतिशत सरकारी तथा ५२ प्रतिशत निजी अस्पतालमा गरिएको हो।
अध्ययनका लागि बिरामीको चापका आधारमा बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरबाट ४९ जना, भक्तपुर क्यान्सर अस्पतालबाट २८ जना र नेपाल क्यान्सर अस्पतालबाट हरिशिद्धिबाट २६ जना छनोट गरिएको थियो।
अध्ययनमा ओठ, जिब्रो, गिजा, मुख, श्वरयन्त्र, श्वास नली, पिसाब थैलीलगायतको क्यान्सर भएका र तेस्रो तथा चौथो चरणमा पुगेका बिरामी सहभागी थिए।
सरकारले क्यान्सर उपचारका लागि जम्मा एक लाख रुपैयाँ दिने गरेको छ। जुन जम्मा प्रत्यक्ष मेडिकल खर्चको एक चौथाइ भन्दा पनि कम रहेको अध्यक्ष चन्दले बताए।
प्रतिक्रिया