रूपन्देहीका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बेहोस भएर ढले। भाषण गर्दागर्दै उनको बोली लरबरियो। ‘अतः यो कारणले...’ भन्दै गर्दा वाक्य पूरा गर्न नपाई उनी ढले।
अचानक ढलेका गौतमलाई उपचारको लागि बुटवलको क्रिमसन अस्पताल पुर्याइएको थियो। ढलेको १५ मिनेटमै अस्पताल पुर्याएको भए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकले उनलाई कार्डियाक अरेस्ट अर्थात मुटु बन्द भएको बताए।
केही समयमा उपाध्यक्ष गौतमलाई चिकित्सकले मृत घोषणा गरे। मधुमेहको औषधि खाइरहेका गौतम ६३ वर्षका थिए।
के हो कार्डियाक अरेस्ट?
मुटुरोग विशेषज्ञ डा सहदेव ढुंगानाका अनुसार कार्डियाक अरेस्ट भनेको अकस्मात रूपमा मुटुको चाल बन्द हुनु हो। यसरी मुटुको काम बन्द भएपछि केही सेकेन्डमै मान्छे ढल्छ।
डा ढुंगाना भन्छन्, ‘कार्डियाक अरेस्ट भनेको आपतकालीन अवस्था हो। यो अवस्थामा मुटुले काम गर्न छाडेपछि शरीरमा अक्सिजन र रक्तसञ्चार हुन पाउँदैन र व्यक्ति बेहास वा अर्धचेत हुन्छ।’
तत्काल उपचार नभए केही समयमै मृत्यु हुनसक्ने भन्दै उनले बेहोस भएर ढलेको १ घण्टाभित्र मृत्यु हुने हुँदा यसलाई ‘सडन कार्डियाक अरेस्ट’ पनि भनिने उनले बताए।
उनका अनुसार अचानक मुटुको चाल बन्द हुनुमा मुटुका अनेक समस्या कारक हुनसक्छन्। एउटा प्रमुख कारक हृदयाघात हो।
‘हृदयाघात हुने बित्तिकै मुटुको चाल बिग्रिन्छ। चाल बिग्रिएपछि मुटुले काम गर्न छाड्छ। जसकारण व्यक्तिको मृत्यु हुन्छ। मुटुको चाल बिग्रनुलाई चिकित्सकीय भाषामा भेन्ट्रिकुलर टाकाइकार्डिया (भीटी) र भेन्ट्रिकुलर फाइब्रेलिएसन (भीएफ) भनिन्छ।’
‘हाम्रो मस्तिष्कले पर्याप्त मात्रामा रगत पाउँदैन। जसका कारण व्यक्तिको तत्काल मृत्यु हुन्छ। बेहोस भएको ४ देखि ५ मिनेटमा नै मस्तिष्कमा रक्तसञ्चार नभएर मस्तिष्क मृत्यु हुन सक्छ,’ डा ढुंगानाले भने।
‘मुटुको मांसपेशीमा रगत सञ्चालन गर्ने नसा अवरुद्ध भए मांसपेशीले रगत पाउँदैन, जसका कारण मुटुको चाल अत्यधिक बढ्छ,’ डा ढुंगाना थप्छन्, ‘मुटुले काम गर्न पाउँदैन। मुटुको चाल तीन सयदेखि चार सय पुग्छ। मुटुले काम गर्न पाउँदैन। मुटुले काम नगरेपछि मान्छे बेहोस भएर ढल्छन्।’
तत्काल उपचार पाएन र रक्तसञ्चार हुन पाएन भने मृत्यु हुन्छ।
उनका अनुसार कार्डियाक अरेस्ट हुने अन्य कारणमा मुटुको मांसपेशी कमजोर हुनु, मुटुको भल्वको समस्या, मुटुको वरिपरि धेरै पानी जम्नु, अचानक खुट्टामा जमेको रगत मुटुमा पुग्नु, जन्मजात मुटुरोग हुनु, मुटुको चालसम्बन्धी वशांणुगत समस्या, आदि हुन्।
विश्वव्यापी रूपमा धेरै व्यक्ति प्रभावित बनाएको कार्डियाक अरेस्ट जुनसुकै उमेर समूहमा हुने गरेको उनी बताउँछन्।
केही व्यक्ति जिम गर्दा, बोल्दा बोल्दै, बेलुका सुतिरहेको अवस्थामा मृत्यु हुनुमा धेरैले यस्ता हृदयाघातलाई कारण मान्ने गरेको डा ढुंगाना बताउँछन्। तर, उपचार पनि गर्न नपाई केही समयमै मृत्यु हुनुको कारण हृदयाघातका नभई कार्डियाक अरेस्ट हुनसक्ने उनको भनाइ छ।
जीवनशैली र खानपानका कारण बढ्न थालेको मुटुको समस्या युवा अवस्थादेखि नै लाग्न थालेको डा ढुंगाना बताउँछन्।
‘लक्षणबिना नै व्यक्ति लड्न सक्छन्। केही व्यक्तिको मुटुको चाल सेकेन्डभित्र बढेर लड्छन्। केहीलाई हिँड्दा छाती दुख्ने, तौल बढ्ने जस्ता लक्षण देखिन सक्छ। धूमपान, मद्यपान सेवन गर्ने मधुमेह, उच्च रक्तचाप भएका व्यक्ति बढी जोखिममा हुन्छन्,’ उनले भने।
सीपीआरले बचाउँछ ज्यान
जिफन्ट उपाध्यक्ष गौतम ढलेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कतिपय चिकित्सकले सीपीआर दिएको भए उनको ज्यान बच्न सक्थ्यो कि भन्ने टिप्पणी गरेका छन्।
आकस्मिक सेवा विशेषज्ञ डा रामु खरेल पनि कार्डियाक अरेस्ट हुने बित्तिकै तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएर बिरामीलाई बचाउन सकिने बताउँछन्।
उनले सीपीआर कसरी दिने भन्ने विद्यालय तहदेखि नै सिकाउने हो भने धेरै व्यक्तिको ज्यान जोगाउन सकिने बनाए।
डा खरेल भन्छन्, ‘विकसित देशहरूमा एयरपोर्टमा काम गर्नेदेखि शिक्षकलाई समेत सीपीआरको तालिम दिइएको हुन्छ। तर नेपालमा भने त्यो प्रावधान छैन। नेपालमा सीपीआर के हो भन्ने धेरै व्यक्तिलाई जानकारी छैन, जसका कारण धेरै जनाको मृत्यु हुने गरेको छ।’
धेरै अस्पतालमा स्वास्थ्यकर्मीले समेत सीपीआर गर्ने तालिम पाएका हुँदैनन्। त्यसकारण उपचारमा ढिलाइ भई धेरैको ज्यान जाने सम्भावना उच्च रहेको उनले बताए।
‘कार्डियाक अरेस्ट जुनसुकै समय र स्थानमा हुनसक्ने भएकाले यसबाट हुनसक्ने मृत्युको जोखिम घटाउन सरकारले ग्रामीण भेगदेखि सहरी क्षेत्रमा पनि युवाहरूलाई सीपीआरको तालिम दिनुपर्छ।
‘सीपीआर दिँदा छातीको बीच भागमा ३० पटक दुवै हातले थिच्नुपपर्छ। यो जसले पनि गर्न सक्ने सामान्य सीपीआर हो,’ डा खरेल भन्छन्, ‘सीपीआर तालिम विद्यालय तहदेखि सिकाउन सकिने तालिम हो।’
शिक्षामन्त्री महावीर पुनलाई भेटेर विद्यालय तहको पाठ्यक्रममा सीपीआर तालिमबारे राख्न मागपत्र बुझाएको भन्दै डा खरेलले विद्यार्थी र नेपाल प्रहरीलाई पनि तालिम दिनु पर्ने बताउँछन्।
मुटुरोग विशेषज्ञ डा सहदेव ढुंगानाले भने, ‘सीपीआर दिन सकियो भने रक्त सञ्चार सञ्चालित गर्न सकिन्छ। रक्त सञ्चालन गरेर तुरुन्त अस्पताल गएको भए बाँच्ने सम्भावना बढी हुन्छ। लड्ने बित्तिकै सुताएर सीपीआर दिएर अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो।’
कार्डियाक अरेस्टमा समय निकै महत्त्वपूर्ण हुने भन्दै उनले अस्पताल बाहिर बेहोस भएर लडेका एक सय जनामध्ये सीपीआर मार्फत १०० मा ८ जनालाई बचाउन सकिने बताए।
डा ढुंगानाले अस्पताल आएका पनि २० देखि २५ प्रतिशतलाई मात्र बचाउन सकिने उनको भनाइ छ।
‘मस्तिष्कले रगत नपाएर मस्तिष्कका नसाहरू मर्न थाल्छन्। लड्ने बित्तिकै सीपीआर दिन सके रक्तसञ्चार सञ्चालन गर्न सकिन्छ। सो समय अस्पताल पुर्याएर थप उपचार सुरु गर्न सकिन्छ।’
सीपीआर तालिम जनमानसमा पुर्याउने पहल गर्न उनले सरकारलाई आग्रह गरे।
Shares

प्रतिक्रिया