ad ad

साहित्य


‘निस्फिक्री’ कवि प्रकट पंगेनी, जसले सिर्जनामार्फत प्रेम बाँडे

‘निस्फिक्री’ कवि प्रकट पंगेनी, जसले सिर्जनामार्फत प्रेम बाँडे

वाशुदेव मिश्र
बैशाख ५, २०८१ बुधबार १७:५६, पोखरा

मसानले मौनता साँध्छ र मान्छेलाई वैराग्यको पाठ पढाउँछ। बुधबार सेती किनारको मसानघाटले पनि त्यही कृत्य दोहोर्‍यायो। एउटा पार्थिव शरीरलाई खरानीको रुपमा चुपचाप स्वीकार्‍यो। र, त्यो पार्थिव शरीर थियो– गीत/गजल/कलाकार प्रकट पंगेनी ‘शिव’को। 

तर, मलामीहरुले भने त्यो मृत्यु स्वीकारेनन्। पार्थिव शरीरमा श्रद्धाका फूल चढाउँदै गर्दा धेरैले देहमुक्त बनिसकेका ‘प्रकट’सँग बिताएका पलहरु सम्झे। आनीबानी र उनका कमजोरीहरु केलाए अनि ‘प्रकट’ सिर्जनाका माध्यमले सधैँ प्रकट भइरहने विश्वास जताए।  

हो, गीतकार प्रकट पंगेनी ‘शिव’ रहेनन्। सबैका प्रिय ‘प्रकट दाइ’ ६८ वर्षको उमेरमै भगवानका पनि प्रिय बने। प्रकट जति बाँचे, खुसीले बाँचे, आफ्नो लागि बाँचे र मनोमौजी बनेरै बाँचे। उनी जति राम्रा सिर्जना गर्थे, त्यति नै मनमौजी र निस्फिक्री थिए। भोलि के होला? उनलाई मतलब हुँदैनथ्यो। आज के भोग्दैछु? त्यसको पनि पर्वाह गर्दैनथे। 

उनीसँग लामो संगत गरेका पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष जीवनसागर भण्डारीका अनुसार प्रकट ‘बेफिक्री’ थिए। 

‘दाइको स्वभाव चाहिँ कस्तो हो भने अग्लो घर बनाउन पाए हुन्थ्यो भन्ने मोह कहिल्यै भएन। दाइलाई मैले एकदिन ‘के हो दाइ, यसरी हिँड्ने?’ भनेर सम्झाउँदा ‘आज खान पाइएन भने हिजो खाएको कुरा सम्झने हो क्या भाइ, आज भोकै छु भनेर सम्झ्यो भने त झन् तनाव हुन्छ। हिजो टन्न खाएका परिकार सम्झने हो,’ जीवनसागरले त्यो वार्तालाप सम्झँदै भने, ‘जसरी चलेको छु, ठीक छ, यसरी नै चल्छ भन्ने हो। उहाँको रमाउने खालको स्वभाव थियो। खल्तीमा भएको चिज रह्यो कि सकियो भन्ने पनि बिर्सने बानी थियो।’

‘प्रकट दाइ’ असाध्यै राम्रा कवि र गीतकार हुन्। तर, पछिल्लो पुस्ताले भने उनलाई ‘वासनासहितको प्रेम’ का पुजारीको रुपमा चिने। त्यसो हुनुको कारण यस्तो छ– प्रकट ५० को दशकको अन्त्यतिर गजलतिर तानिए। गजलमा उनले बिम्बसहित वासनाको भोक मिसाए। कुनैबेलाका नाटकका नायक प्रकटसँग वाचनको अद्भूत कला थियो। उनी प्रणय भाव बोकेका गजलहरु यसरी सुनाउँथे कि श्रोताहरु मन्त्रमुग्ध हुन्थे।

ती गजल यस्ता थिए –

१. तप्प–तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्निग्ध कञ्चन कोमल अहा! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग–अङ्ग छुवाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ! रूपसी
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ

 

२. किन अहिल्यै हतारिन्छौ? बसौँला नि भरे राति
दुवै ज्यानले दुवैलाई कसौँला नि भरे राति 

साँझपख पिउने बेला, आयौ एक्लै एकान्तमा
यी ओठले ती ओठलाई डसौँला नि भरे राति

पहिलो चरण स्वागतमा औँलाहरू चुम्न देऊ
दोस्रो चरण अँगालोमा कसौँला नि भरे राति

अहिले मलाई पिउन देऊ मस्त मस्त नशालु भै
जे जे घस्नुपर्छ चिल्लो घसौँला नि भरे राति

बाहिर जुनको जुनेलीमा बसौँ एकछिन बात मार्दै
पखपख पसौँला नि, कोठाभित्र भरे राति।

 

३. हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो, भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो।

यी र यस्ता गजल सुनाउँदै उनी देश दौडाहा पनि निस्के। हरेक भ्यालेन्टाइनमा उनलाई भ्याइनभ्याइ हुनथाल्यो। कतिले त उनलाई साहित्यमार्फत् तल्लो दर्जाको यौन पस्केको आरोप पनि लगाए। ‘प्रणयवेदका ऋचाहरु’ नामक गजल संग्रह घरका केटाकेटीबाट लुकाएर राख्नुपर्छ भन्नेसम्मका कुराहरु पनि आए। तर, प्रकट रोकिएनन्। माहौल गर्माएको बेला, साँझ मदमस्त बनेको बेला उनलाई सुन्न चाहनेहरु घटेनन्। 

उनीसँग संगत गरेका अर्का कवि ईश्वरमणि अधिकारी भने प्रकट दाइको व्यक्तित्वको अर्को पाटोको कम चर्चा भएको र प्रणय बोल्ने गजलकारको रुपमा बढी चर्चित बनाइएको बताउँछन्। 

मधुपर्कमा छापिएको प्रकटका ‘घर छाड्नुअघि, घर छाडेपछि’ मात्र नभएर भोकजस्ता कविता पढेका अधिकारीका अनुसार लालित्य र सरलता उनका कविताका विशेषता हुन्। र, प्रकट मूलतः कवि र गीतकार नै हुन्।  

‘उहाँका कविताहरुको कम्ती चर्चा भयो। श्रृंगारिक गजलको बढी चर्चा भयो। जीवन यौनमा जोडिएको हुन्छ भन्छन्। उहाँ मूलतः कवि हो, गीतकार हो। उहाँको गीतकार व्यक्तित्व त्यसको कम र श्रृंगारिक गजलहरुको बढी चर्चा भयो,’ अधिकारीले भने, ‘उहाँका गजलहरुलाई अश्लीलताको रुपमा पनि व्याख्या गरियो। तर, उहाँ त्यसलाई स्वीकार्नु हुँदैनथ्यो। यौनबिनाको जीवन शून्य हुन्छ भन्ने उहाँको मान्यता थियो। उहाँलाई त्यसरी मात्र हेरियो भने अन्याय हुन्छ।’ 

अधिकारीका अनुसार लालित्य र सरलता प्रकटका रचनाका विशेषता हुन्। ‘उहाँले जस्तो जीवन बाँच्नुभयो, त्यही खालको लेखन भेटिन्छ। कुनै पनि शब्द बिझाउँदैनन्, जसरी बोली  र व्यवहारले कसैलाई बिझाउनु भएन,’ उनले भने, ‘उहाँको लेखनमा पनि त्यही खालको लालित्य र सरलता पाइन्छ। शब्द–शब्दमा संगीत भरेर गीत लेख्ने गीतकार हो।’

साँच्चै प्रकट राम्रा गीतकार हुन्। यो मन कतै अल्झेछ भन्ने गीति संग्रहको भूमिका क्षेत्रप्रताप अधिकारीले लेखेका छन्। क्षेत्रप्रतापले भूमिकामा भनेका छन्, ‘यो संंग्रहमा भएका गीतहरुको रचनाकार माधव घिमिरे, कालीप्रसाद रिजाल वा क्षेत्रप्रताप नै भएको भए सबै रेकर्ड भइसक्थे।’ 
हो, उनले उत्कृष्ट गीत लेखेका छन्। 

१. चैतको मासजस्तै उराठै नभए यो मन।
 कसैको सानो कुराले छुँदा नदुखे हुन्थ्यो मन।।

२. कोही माग्न आए पनि सक्दिनँ म आँसु दिन। 
 बेलामौका काम आउँछ, एकान्तमा एक्लै रुन।। 

३. मझेरीसम्म नआउनु आयौ, तर्सेर नभाग।
मसँग दिने जुनकीरी छैन, जुनतारा नमाग।।

४. बिहानीपख टौवामा बसी कालो काग करायो।
जुन तस्बिरर हेरी बुझाउँथे मन, त्यै तस्वीर हरायो।। 

५. बाँड्दै जाँदा तिम्रो भागमा म परेँ कि अर्कै।
 म परे त हर्षै लाग्थ्यो नपरे त मर्कै...।।’

१४ हरफे कविता र गीतमा विशेष दख्खल राख्ने प्रकटले सिर्जना गरेका केही उत्कृष्ट गीतका ‘स्थायी’हरु अहिले पनि कवि जीवनसागरलाई कण्ठै छ।  

सञ्जीव सिंहले गाएको ‘चुलेसीमा...’ र नेपथ्यका अमृत गुरुङले भूकम्पको बेला गाएका ‘नराम्रो सपना देखेँथेँ...’ का सर्जकको रुपमा पनि उनलाई धेरैले चिन्छन्। 

भएछ कस्तो भने, चर्चित संगीतकार सुनिल बर्देवाले प्रकटको गीतिसंग्रहमा चुलेसी गीत भेटेछन्। उनले त्यो गीत कम्पोज गरे। आफ्ना चेला सञ्जीव सिंहलाई गाउन दिए। गीत एकाएक चर्चित भयो। तर, प्रकट चाहिँ शास्त्रीय संगीतका पारखी। पप भर्सनमा गाइएको गीत सुरुमा उनलाई मन परेनछ। पछि सुन्दै जाँदा चाहिँ उनलाई पनि मन पर्‍यो रे। यो पंक्तिकारसँगको भेटमा उनले भनेका थिए। 

नेपथ्यले गाएको गीत चाहिँ यस्तो छ–

नराम्रो सपना देखेँथेँ 
राति केही भो कि तिमीलाई 
म भित्र भित्रै पग्लेको थिएँ 
जलाई आफूलाई, जलाई आफूलाई 
नराम्रो सपना देखेँथेँ... 

सुनिन्न छिट्टै टाढाको खबर 
पहाडले छेक्दछ 
बुझिन्न भाका बतासको पनि 
झन् अत्यास लाग्दछ 
नजिकै भए आएर छेउ 
केही सोध्न मिल्दथ्यो 
आँखामा होला आँसुका धारा 
पुछ्न मिल्दथ्यो 
नराम्रो सपना देखेथेँ... 

ओइलिन नदेऊ मनको फूल 
ओइलिए पाप लाग्छ 
बर्सिन नदेऊ आँखाका मोती 
बर्सिए श्राप लाग्छ 
बालेर राख सडकमा दीयो 
कुनै दिन आँउला म 
साँचेर राख मुटुको धड्कन 
जिन्दगी दिउँला म। 

बिन्दास जीवन बाँच्ने प्रकटसँगका आत्मीय पलका सम्झना गर्नेमा गीतकार दीपक समीपको पनि नाम आउँछ। उनका अनुसार प्रकटलाई बुढो भनेको मन पर्दैनथ्यो। ‘प्रकट दाइको नाति पुस्ताले पनि दाइ नै भन्यो। दाइलाई बुढो भनेको मन पर्दैनथ्यो। उस्तै तरिकाले अंगालो हालेर हिँड्नसक्ने अद्भूत थियो,’ उनले भने, ‘एकपटक दाइकी प्रेमिका अन्नालाई भेट्न सँगै गयौँ। काँडे गएको पनि मलाई याद छ।’ 

धेरै रुमानी साँझमा प्रकटका प्रिय भाइ बनेर चियर्स गरेका समीपका अनुसार ‘अब लास्ट पेग भन्ने तर त्यो भन्न नछाड्ने’ प्रकटको स्वभाव थियो। अरु कवि–कलाकारको जस्तै प्रकटसँग पनि यस्ता अनेकौँ किस्साहरु जोडिएका छन्। मनमौजी प्रकटको जीवन झण्डै एकाङ्की थियो। पछिल्लो समय भने उनी आफ्नो जन्मथलो रुपा गाउँपालिकाको देउरालीमा एक्लै बस्दै आएका थिए। त्यहाँ यशस्वी कटेज सञ्चालन गरिरहेका थिए। कुखुरा, बाख्रा पालेका थिए। भेट्न जानेहरुलाई उनी आफैले खाना बनाएर खुवाउँथे। त्यो एक किसिमको होमस्टे नै थियो। उनका यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह तथा प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) प्रकाशित छन्। 

उनले कयौँ नाटकमा उत्कृष्ट अभिनय पनि गरेका थिए।  श्रृंगारिक रसका गजलहरुका यी सर्जकले केही समय लुम्ले कृृषि केन्द्रमा जागिरे जीवन पनि बिताएका थिए। कुशल कलाकारसमेत रहेका उनले जीवन धान्ने क्रममा साइनबोर्ड आर्टको व्यवसाय पनि गरेका थिए। त्यसका अलावा शिक्षणमा पनि उनले केही समय बिताए।

पछिल्लो समय उनी निकट कलाकार कृष्ण मर्सानीका अनुसार प्रकट उपन्यास लेख्दै थिए।

‘होमस्टे प्रवर्द्धन गर्ने उद्देश्यसहित एउटा प्रेम उपन्यास लेख्दै हुनुहुन्थ्यो। त्यसको प्रकाशनमा सघाउन हामीले प्रदेश सरकारलाई गुहारेका थियौँ तर उहाँ अस्ताउनुभयो,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .