पहिले पार्टीमा उसलाई ‘भाइ’ भनेर सम्बोधन गर्नेहरू धेरै थिए, अब ‘काका’ भन्नेहरू धेरै छन्।
ऊसँगै पार्टीको सदस्यता लिएकामध्ये कतिपय यस बीचमा पार्टी नेतृत्वमा स्थापित भए, कतिले नेताको किचकिचले गर्दा पार्टी फुटाए, कतिले अन्तर्घात गरे, कति बागी बनेर उठे। केहीको मृत्यु भयो। कतिपय जीएम बन्न गए, केही विदेशिए।
केही ठेकेदारीमा लागे, कतिपयले पार्टी फेरे, कतिपयले आत्महत्या गरे, कति एनजीओमा छिरे। कतिलाई पार्टीले कारबाही गर्यो, कतिलाई अख्तियारले मुद्धा चलायो, कतिले राजनीति नै छाडे।
उसले छाडेन। ऊ, अर्थात् अमन– इमानदारी र सज्जनताको प्रतिमूर्ति।
अघिल्लो चुनावमा अमनले टिकट पाउने खुब हल्ला थियो तर पाएन। बरु उसको नेतृत्वमा घरदैलो कार्यक्रम चल्यो। उसले दिलोज्यान दिएर पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्यो। उसको पार्टीको उम्मेदवारले चुनाव जित्यो पनि।
यसपटक फेरि टिकट वितरणको कुरा आयो। पार्टीको स्थानीय कमिटीको बैठक बस्यो।
बैठकमा माथि/केन्द्रबाट आएको नेताले भन्यो— ‘अमन काकाको पार्टीमा ठूलो योगदान छ। उहाँ हाम्रो पार्टीको अभिभावक नै हुनुहुन्छ। उहाँको नेतृत्वमा आजसम्म हाम्रो पार्टीले चुनाव हार्नु परेको छैन। म आदरणीय अमन काकालाई यसपटकका लागि हाम्रो पार्टीको उम्मेदवार कसलाई बनाउन न्यायोचित हुन्छ भन्ने बारेमा बोल्न आग्रह गर्दछु।’
अमन बसेको ठाउँबाट उठ्यो, यताउता हेर्यो, अकमकियो। कोही केही बोलेन। उसले यसपटक पनि ‘हाम्रो पार्टीबाट यसपटक यहाँको उम्मेदवार म आफै हुन्छु’ भन्न सकेन।
यसपटक टिकट रोशनले फुत्कायो। ऊ हिजो बजारमा केन्द्रको नेतासँगै सुमोबाट ओर्लिंदै गरेको देखिएको थियो।
पहिले जस्तै अमनले यसपटक पनि पार्टीमा स्वाभाविक रूपमा अभिभावकत्व ग्रहण गर्यो र यसपटक पनि अमनकै नेतृत्वमा पार्टीको ‘चुनाव प्रचारप्रसार कमिटी’ गठन भयो।
Shares

प्रतिक्रिया