साहित्य


कविता : लेनिनलाई गोली हान्ने कापलानलाई सम्झिँदा

कविता : लेनिनलाई गोली हान्ने कापलानलाई सम्झिँदा

विपिन आचार्य
कात्तिक १७, २०८२ सोमबार १७:३३, काठमाडौँ

फ्यानी कापलान
तिमीले लेनिनमाथि गोली चलायौ 
गोली लागी लेनिन बेहोस भए
केही क्षण केही समय

लेनिन गोलीले ढलेका थिए
तर विचार ढलेको थिएन
क्रान्तिको सपना ढलेको थिएन
टुटेको थिएन
झन् बढेको थियो
क्रान्तिको मसाल बलेको थियो

अरे कापलान
तिमीले चलाएको गोलीले
तिमीले चाहेको राज्य व्यवस्था नफर्किने निश्चित थियो
रोटी जमिन र शान्ति 
सामाजिक न्यायको व्यवस्था थियो
के भुइँका मानिसले राज्यमा अधिकार खोज्नु गलत थियो! 

अरे कापलान
तिमीले चलाएको त्यो गोलीले ढल्ने
त्यो कमजोर व्यवस्था थिएन
असमानता, अपमान तोड्दै उदाएको थियो
उत्पीडितहरु जागेको बेला थियो

अरे कापलान
यो व्यवस्था त्यति बेला मात्र ढल्नेछ
यसका व्यवस्थापकले क्रान्ति भुले भने
मार्क्स पढ्न छोडे भने
लेनिनले सुरु गरेको यात्रा छाडे भने
त्यसै दिन त्यहाँ ढल्नेछ
मात्र कुनै एक ठाउँमा

अरे कापलान
अनि तिम्रा शुभचिन्तकले भन्नेछन्
सबै खरानी बनाइयो 
संसारभरि हल्ला फैलाउने छन
अब इतिहासको अन्त्य भयो 
क्रान्तिकारीहरुले याद गर
इतिहास अन्त्य हुन्न

अरे कापलान
लेनिनले रोपेको क्रान्ति बीजले
पृथ्वीभरिका सचेत श्रमिक नागरिकमा
आफ्नो हक र अधिकारको पक्षमा संघर्ष गर्ने
साहस भरिदिएको छ
क्रान्तिको खाका कोरिदिएको छ
सामन्त विरुद्ध जेहादी ऐलान बिगुल बजिरहेको छ 
पुँजीवादको बर्खिलाप समाजवादको चेताना फैलिरहेको छ

अरे कापलान
पृथ्वीको कुनाकुनामा 
हँसियाहथौडाको रक्तरञ्जीत झण्डा 
श्रमजीवीहरुको मुक्तिको प्रतीक बनेकै छ
लेनिनका अनुयायीहरु सर्वत्र फैलिएकै छन
मार्क्स र लेनिनले बनाएको क्रान्तिको मार्ग
मानव जगतले सधैँ पछ्याई रहने छ

अरे कापलान
तिमी भावनामा बहकियौ 
समताबिनाको फगत स्वतन्त्रतामा अल्झियौ
बहुपहिचान बुझेनौ
महिला मुक्तिको महान यात्रा देखेनौ
बुर्जुवातन्त्र अनुकूल देख्यौ
इतिहास मोड्ने कुचेष्टा गर्‍यौ

अरे कापलान
जनताले बनाएको इतिहास अजर अमर हुन्छ
सिसाको महल जस्तो कमजोर हुँदैन
कयौँ झुट र षड्यन्त्रले भत्काउन सक्दैन
स्पात जस्तै बलियो हुन्छ
यो श्रमिक जनताले बनाएको व्यवस्था हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad