स्रष्टाहरूले आफ्नो कृति लोकार्पण गर्दा राजधानीको प्रशिद्ध स्थान र विशिष्ट व्यक्तित्वलाई बोलाएर सार्वजनिक गर्ने गरेका छन्।
तर, सृजनशील अराजकताका अभियन्ता तथा चर्चित कवि तथा लेखक हाङयुग अज्ञातले आफ्नो आठौँ कृति पृथक ढङ्गले लोकार्पण गरेका छन्।
अज्ञातले गएको मङ्गलबार झापाको दमकस्थित ‘स्रस्टा अफसेट प्रेस’को प्राङ्गणमा त्यहाँ कार्यरत कामदारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरे।
श्रमिक र श्रमको सम्मानका लागि गर्ने आफूले आफ्नो नयाँ कृति प्रेसमै लोकार्पण गरेको कवि हाङयुग बताउँछन्।
लेखकले लेख्दैमा मात्र किताब पूर्ण रूपले तयार नहुने र यसमा प्रेसका सम्पूर्ण श्रमिकको भूमिका रहने भएकाले नयाँ ढंगबाट आफ्नो कृति लोकार्पण उनको भनाइ छ।
कार्यक्रममा बोल्दै स्रष्टा पब्लिकेसनका अध्यक्ष सुन्दर कुरुपले हाङयुग अज्ञात जस्तो चिन्तकहरूको पुस्तक दमकले छाप्न पाउनु आफ्नो अहोभाग्य भएको बताए।
कार्यक्रममा स्रष्टा पब्लिकेसनका महासचिव याम थुलुङले कार्यक्रम र कृतिलाई सुभकामना व्यक्त गरेका थिए भने पब्लिकेसनका सचिव राजकुमार सुब्बा अनिश्चितले कृतिभित्रको ‘उखु’ शीर्षकको कविता वाचन गरेर कार्यक्रमको प्रारम्भ गरेका थिए।

लोकार्पण कार्यक्रम स्रष्टा पब्लिकेसनका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भएको थियो।
‘आफ्नो सर्कलका सबै राजधानीमै छन्। निकै तामझामका साथ लोकार्पण गर्न सक्नुहुन्थ्यो। तर तपाईँ जस्तो चर्चित कविले मोफसल रोज्नु भो। के यो अराजकताको ह्याङओभर हो? वा अरू केही? फेरि इलाम नै पनि काफी थियो। लोकार्पणका लागि दमक नै किन रोज्नुभयो?’
नेपालखबरको प्रश्नमा कवि अज्ञातले भने, ‘हामीले पचासको दशकमा संघीयता विकेन्द्रीकरण भनेर आन्दोलन गरेका थियौँ। २०७२ सालमा अहिलेको संविधान आयो। यो संविधानले संघीयतालाई सिद्धान्तमा लेख्यो। तब मैले ठानेँ, अब संविधान अनुसार, हाम्रो आन्दोलन अनुसार, म गाउँ जानु पर्छ। गाउँमै बसेर देश बनाउनु पर्छ। यस्तो लाग्यो।
म गाउँमा आएँ, गाउँमा बसेँ। गाउँमै श्रम गरिरहेको छु र श्रमको सम्मानकै लागि मैले छापाखानाको प्राङ्गण रोजेँ। तपाईँले भनेजस्तै काठमाडौँमै भव्य कार्यक्रम गर्न सक्थेँ तर काठमाडौँ मेरो लक्ष्य होइन।’
अज्ञात अगाडि थप्छन्, ‘प्रत्येक मान्छे स्मृतिमा बाँचेको हुन्छ, त्यसैले एउटा कवि रुखमा अल्झिएको चङ्गा जस्तै हो।’
उनको नयाँ कविता सङ्ग्रह काठमाडौँका निम्ति दोबिल्ला किताबघर र फिनिक्स बुकस्टोरमा उपलब्ध छ। यस कृतिको प्रकाशक अमेरिका निवासी सगरमाथा आरोही जुनिता सुब्बा मिश्र हुन् जो आफैँमा कवि पनि हुन्।
Shares

प्रतिक्रिया