लुम्बिनी


दाङको कृत्रिम जलाशयमा डुंगा सञ्चालन

दाङको कृत्रिम जलाशयमा डुंगा  सञ्चालन

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १४:५३, तुलसीपुर (दाङ)

दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुंगा सञ्चालनमा ल्याइएको छ। सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुंगा सञ्चालनमा ल्याइएको हो। 

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुंगा सञ्चालनमा ल्याइएको बताए। ‘खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो’, उनले भने, ‘तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुंगा पनि सञ्चालनमा ल्याएका छौँ।’ यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उनको भनाइ छ। 

नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुंगा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताए। ‘नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुंगा पनि सयर गर्न पाउछन्’, उनले भने, ‘त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ।उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुंगा उपलब्ध गराएको हो।  

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गरे। यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उनले बताए।

ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताए। ‘ड्याम नहुँदा सिँचाइमा समस्या थियो’, उनले भने, ‘ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ भने डुंगा सञ्चालनले आयाआर्जन बढाउने अपेक्षा गरिएको छ।’

यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्‍याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताए। ‘यहाँ पहिला सानो पानीको मुहान थियो। त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो। यसले पर्यावरणलाई पनि सहयोग पुर्‍याएको छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad