ad ad

लुम्बिनी


ढल्ने अवस्थामा एमाले नेतृत्वको लुम्बिनी सरकार

लोसपा र नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिँदै, माओवादी भन्छ– केन्द्रसँग छलफल भइरा’छ
ढल्ने अवस्थामा एमाले नेतृत्वको लुम्बिनी सरकार

सुदीप भण्डारी
फागुन १७, २०७९ बुधबार ९:२८, बुटवल

राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने सम्भावना बढ्दै गएको छ। 

नेकपा एमालेले सरकारबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिनेबारे समर्थन गर्ने दलहरुमा छलफल भइरहेको छ। 

सरकारलाई समर्थन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टीले आजै समर्थन फिर्ता लिने तयारी गरेको छ। दिउँसो बस्ने प्रदेशसभाको बैठकमा समर्थन फिर्ता लिएको जानकारी गराउने लोसपाका सांसद सन्तोष पाण्डेले बताए। 

नागरिक उन्मुक्ति पार्टीले पनि आजै समर्थन फिर्ता लिने तयारी गरको थियो। तर राष्ट्रपति चुनावसम्म पर्खिने कि भन्ने कुरा पनि आएको दलका नेता धर्मबहादुर चौधरीले बताए। ‘हिजोसम्म समर्थन फिर्ता लिने ९० प्रतिशत सम्भावना थियो। आज ५०–५० प्रतिशत छ’ , उनले भने, ‘राष्ट्रपति निर्वाचनसम्म पर्खिने कि भन्ने पनि कुरा आएको छ । छलफल गरेर एकछिनमा निर्णय गर्छौं।’

लोसपा र नागरिक उन्मुक्ति प्रदेश सरकार गठनमा समर्थन गरे पनि सरकारमा सहभागी छैनन्। 

यस्तै सरकारलाई बलियो साथ दिएको नेकपा माओवादी केन्द्रले छलफलमै रहेको बताएको छ। केन्द्रमा आफ्नो पार्टी नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि माओवादी केन्द्रले लुम्बिनीमा एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो। ‘तर यसबारे निर्णयमा पुगिनसकेको माओवादी केन्द्रका दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महराले बताए। केन्द्रमा नेताहरुसँग छलफल चलिरहेको छ । अहिले केही निर्णयमा पुगेका छैनौं’, उनले भने। 

मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका माओवादी केन्द्र, नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत पार्टी कांग्रेससहितको गठबन्धनमा आएका छन्। 

यता राप्रपाले माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका ठाउँमा समर्थन फिर्ता लिए पनि एमालेको नेतृत्व भएका सरकारबाट तत्काल समर्थन फिर्ता नलिने बताएको छ। राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले प्रदेश सरकारबाट तत्काल नबाहिरिने बताए। 

अहिले साथ दिएका दलमध्ये राप्रपा मात्र एमालेसँग रहेपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार राष्ट्रपति चुनावसम्म अल्पमतमा पर्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .