ad ad

मधेस


पर्सा राष्ट्रिय निकुञ्जको खोरमा ५ महिनामै मरे ३ वटा बाघ

मरेका सबै बाघ घाइते थिए, उपचार गर्दा पनि बाँचेनन् : निकुञ्ज प्रमुख
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा ५ महिनामै मरे ३ वटा बाघ

नेपालखबर
चैत १९, २०८० सोमबार ११:०, काठमाडौँ

पाँच महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बयस्क बाघ मरेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याएको करिब ८ वर्षको वयस्क भाले बाघ यही चैत १६ गते मरेको छ। 

त्यसअघि पाँच वर्षभन्दा माथिका दुईवटा पोथी बाघ पनि खोरमै मरेका थिए। निकुञ्जको खोरमा लगातार बाघ मर्न थालेपछि निकुञ्ज प्रशासनको आलोचना सुरु भएको छ। 

तर, निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले पाँच महिनायता मरेका तीनवटै बाघ गम्भीर घाइते भएकाले उपचार गर्दा पनि नबाँचेका बताए।

‘घाइते बाघ मर्नु ठूलो विषय होइन,’ खतिवडाले नेपालखबरसँग भने, ‘ती सबै बाघ बाँच्न नसक्ने घाइते अवस्थामा थिए। उपचार गर्दा पनि बाँचेनन्। यसलाई निकुञ्जको लापरबाही भन्न मिल्दैन।’

तीन दिनअघि मरेको बाघ गएको असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाइते अवस्थामा फेला परेको थियो। त्यो बाघ चितवनमा राख्ने ठाउँ नभएपछि पर्सा राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेर राखिएको थियो। 

तीनवटै बाघ मरेपछि पर्सा निकुञ्जको खोर रित्तो भएको छ। 

‘मरेका तीनवटै बाघ आफैँ सिकार खोज्न नसक्ने अवस्थामा थिए। हामीले बाहिरबाट भेटेनरी डाक्टर ल्याएर पनि औषधि उपचार गर्यौ, तर बाँचेनन्,’ खतिवडाले भने, ‘पर्सा निकुञ्जमा बन्यजन्तुको उपचार गर्ने अस्पताल छैन। घाइते बन्यजन्तुको उपचार गर्ने अस्पताल चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ। फेरि घाइते सबै बन्यजन्तु उपचारपछि बाँच्छन् भन्ने पनि हुँदैन।’

निकुञ्ज प्रमुख खतिवडाले नरभक्षी र घाइते अवस्थाका बाघलाई मात्रै केही समय खोरमा राखिने बताए। उनले पर्सा राष्ट्रिय निकुन्जमा बन्यजन्तु अस्पतालको खाँचो देखिएको बताए। 

उनले निकुञ्जको खोर होल्डिङ सेन्टर मात्रै भएको बताए। ‘अस्ती मरेको बाघ समात्दैखेरी नबाँच्ने अवस्थामा थियो। यसअघि मरेका दुईमध्ये एउटाको टाउकोमा गहिरो चोट थियो। त्यसले आँखा पनि देख्दैनथ्यो। त्यो ढिलो चाँडो मर्नै नै थियो, मर्यो।’

उनले निकुञ्जको खोरलाई चिडिया खाना जस्तो सम्झिनु नहुने बताए।

‘खोर भनेको बाघलाई उद्धार गरेर केही समयका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो। लामो समयसम्म खोरमा बाघ राख्नु हुँदैन। उपचारपछि ठिक भएका बाघलाई कि त प्राकृतिक वासस्थानमा छाड्नुपर्छ, कि त चिडिया खानाले लैजानुपर्छ,’ उनले भने। 

उनले मरेका तीनवटै बाघ प्राकृतिक बासस्थानमा छाड्ने अथवा चिडियाखानामा लगेर राख्ने अवस्थामा नरहेकाले खोरमा राखिएको जानकारी दिए। ‘लामो समयसम्म खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘हामीले यो जानकारी सम्बन्धित माथिल्लो निकायलाई गराएका पनि थियौँ।’

दुई साताअघि निकुञ्जले एक वर्षको घाइते बाघको उद्धार गरेको थियो। ‘त्यो बाघलाई हामीले ७२ घण्टा खोरमा राखेर ठिक भएपछि चितवन राष्ट्रिय निुकञ्जमा लगेर प्राकृतिक बासस्थानमा छाडेका छौँ,’ उनले भने।

निकुञ्ज प्रमुख खतिवडाले नरभक्षी र घाइते अवस्थाका बाघलाई मात्रै केही समय खोरमा राखिने बताए। 

उनले पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्जमा पनि बाघ र मानवबीचको द्वन्द्व बढेको पनि जानकारी दिए। 

‘बाघ कि त आफूआफू जुधेर घाइते हुन्छन्, कि त मानवीय कारणले,’ उनले भने, ‘यहाँ केही बाघ सिकारीको कारणले पनि घाइते भएका छन्।’  

यही चैत ६ गते बाराको तामागढी साझेदारी वनमा तस्करले गोली हानेर मारेको अवस्थामा करिब ३ वर्षको पोथी बाघ मृत भेटिएको थियो। सो बाघको पुच्छर काटिएको, दाँत, जुँगा र आँखा समेत निकालिएको पाइएको निकुञ्ज प्रशासनले जनाएको छ।

गएको फागुनमा बाराको कछडिया सामुदायिक वनमा पनि वयस्क पोथी बाघ मृत भेटिएको थियो। त्यो बाघलाई मान्छेले विष खुवाएर मारेको आशंका निकुञ्ज प्रशासनले गरेको छ।  

फागुनमै पर्साको सखुवाप्रसौनी गाउँपालिका १ र २ मा चार दिनको अन्तरालमा २ वटा बाघ मृत भेटिएका थिए।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या ४१ छ। ‘ती वयस्क बाघका डमरुहरुको संख्या पनि धेरै छ,’ कार्यालय प्रमुख खतिवडाले भने, ‘कतिपय डमरु ठूला भइसकेका छन्। तिनले अब अभिभावक छाडेर आफ्नो एरिया खोज्ने बेला भएको छ।’

निकुञ्ज क्षेत्रका सडक बन्यजन्तु मैत्री नहुँदा पनि बाघसहितका बन्यजन्तु बाटो क्रस गर्ने क्रममा घाइते हुने गरेका जानकारी उनले दिए। ‘सडक वारपार गर्दा धेरै बन्यजन्तु घाइते भएका छन्,’ उनले भने।

दुई साताअघि निकुञ्जले एक वर्षको घाइते बाघको उद्धार गरेको थियो। ‘त्यो बाघ हामीले ७२ घण्टा खोरमा राखेर ठिक भएपछि चितवन राष्ट्रिय निुकञ्जमा लगेर प्राकृतिक बासस्थानमा छाडेका छौँ,’ खतिवडाले भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .