ad ad

मधेस


थमन विक हत्याकाण्डमा तानिन सक्छन् एमाले सांसद महतो!

पक्राउ परिने डरले जितको प्रमाणपत्र पनि वारेसमार्फत नै लिए
थमन विक हत्याकाण्डमा तानिन सक्छन् एमाले सांसद महतो!

वारेसमार्फत चुनाव जितेकाे प्रमाणपत्र लिएका एमाले नेता लक्ष्मी महतो।


जनार्दन पोखरेल
मंसिर १९, २०७९ सोमबार ११:३५, सर्लाही

महोत्तरी क्षेत्र नम्बर १ मा वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका एमाले नेता लक्ष्मी महतो कोइरीले चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै लिए। 

निर्वाचनमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई हराएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुँदासमेत उनी प्रमाणपत्र लिन जान नसक्नाको कारण हो -  ज्यान मुद्दा।

मधेश आन्दोलनका क्रममा २५ भदौ ०७२ मा महोत्तरीको सदरमुकाम जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या भएको थियो। जुन हत्याको मुद्दा महतोसहित २८ जनालाई लागेको छ। तीमध्ये केही व्यक्ति जेल सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरारको सूचीमा छन्। फरारमध्येका एकजना नवनिर्वाचित सांसद लक्ष्मी महतो कोइरी पनि हुन्। 

असई विकको हत्या अभियोग लागेका कोइरी ७ वर्षदेखि प्रहरीको फरार सूचीमा छन्। उनीविरुद्धको मुद्दा अहिले पनि उच्च अदालत जनकपुरमा विचाराधीन छ।

त्यतिबेला आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर लैजाने क्रममा महोत्तरीकै सोनउखरा भन्ने ठाउँमा एम्बुलेन्सबाट थुतेर धानखेतमा खेदीखेदी हत्या गरिएको थियो। आन्दोलनकारीको नेतृत्व कोइरीसहितका व्यक्तिले गरेका थिए।

विक सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत थिए।

कोइरी नेतृत्वका आन्दोलनकारीले विकलाई एम्बुलेसन्सबाट थुतेर हत्या गरेको मुद्दा छ।

मनोनयनको अघिल्लो रात जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका महतोलाई अझै पनि विक हत्या अभियोगमा पक्राउ परिने डरले भने छाडेको छैन। जसका कारण उनी निर्वाचन जितेर पनि खुलेर हिँड्न सकिरहेका छैनन्।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा गएपछि जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ। त्यसयता कानुनको नजरमा कोइरी फरार छन्।

फरार अवस्थामै उनी निर्वाचनमा उम्मेदवार बनेर विजयीसमेत बनिसकेका छन्। निर्वाचनमा कोइरीले पोखरेललाई एक हजार ३० मतान्तरले हराएका हुन्। कोइरीले २३ हजार ४०२ मत पाउँदा पोखरेलले २२ हजार ३७२ मत मात्रै पाए। 

पक्राउ पर्ने डरकै कारण कोइरीले निर्वाचनअघि चुनाव प्रचार पनि खुलेर गरेनन्। धेरै ठाउँमा घरदैलो अभियानमा समेत गएनन्।

मंसिर ११ गते बिहान माओवादी नेता पोखरेललाई हराएर महोत्तरी १ को मतगणनास्थल बर्दिबासको कभर्ड हलमा आफू विजयी भएको घोषणा हुँदा पनि महतो त्यहाँ उपस्थित हुन सकेनन्। 

त्यहाँ महोत्तरी १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले वारेस मिथिलेश यादवमार्फत महतोलाई विजेताको प्रमाणपत्र प्रदान गरेका थिए।

०७४ को निर्वाचनमा पनि कोइरीले गिरिराजमणि पोखरेलसँग महोत्तरी १ मा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उपेन्द्र यादव नेतृत्वको पार्टीबाट उम्मेदवार बनेका उनी पोखरेलसँग हारेका थिए। 

यसपटक भने जसपाबाट निर्वाचन जित्न नसकिने देखेर मनोनयनको अघिल्लो रात उनी एमाले प्रवेश गरेका हुन्। ५८ वर्षीय कोइरी एमाले नेता रघुवीर महासेठ निकट मानिन्छन्। महासेठमार्फत नै उनी एमाले प्रवेश गरेका हुन्।

कक्षा १० सम्म मात्रै अध्ययन गरेका कोइरी ०५४ सालको स्थानीय निकायको निर्वाचनमा स्वतन्त्रबाट महोत्तरीको तत्कालीन निगौल गाविसको अध्यक्ष पदमा विजयी भएका थिए। त्याे गाविस हाल गौशाला नगरपालिकामा समेटिएको छ।

गएको स्थानीय तह निर्वाचनमा कोइरीका छोरा दीपेन्द्र महतो माओवादी उम्मेदवारलाई हराएर गौशाला नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। आफ्नै छोरा मेयर भएका कारण उनलाई महोत्तरी १ बाट निर्वाचन जित्न यसपटक सहज भएको स्थानीयको बुझाइ छ।

महतोले इँटाभट्टासहित विभिन्न व्यवसायमा लगानी पनि गरेका छन्। उनको राजनीतिक पृष्ठभूमि भने कांग्रेस हो। कक्षा १० मै पढ्दा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका थिए।

२०५४ सालको निर्वाचनमा उनले निगौल गाविस अध्यक्षमा कांग्रेसबाट टिकटको अपेक्षा राखेका थिए। तर, त्यतिबेला पार्टीले टिकट नदिँदा स्वतन्त्रबाट उम्मेदवार बनेर उनी निगौल गाविसको अध्यक्षमा विजयी बनेका थिए।

सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका अर्का अभियुक्त लोसपाका नेता अभिराम शर्मा पनि महोत्तरी ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। यसअघि उनी मधेश प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री पनि भएका थिए।

असई विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदलातले त्यतिबेला कोइरी र शर्मासहित जलेश्वर नगरपालिकाका मेयर रामाशंकर मिश्र, राजपाका रामाशंकर मिश्र, कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहलाई दोषी ठहर गरेको थियो।

तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही अझै फरार छन्। तीमध्ये एक महतो हुन्। उनलाई पक्राउको डर हुँदाहुँदै पनि प्रहरी/प्रशासन भने पछि हट्नुले कानुनी राज्यको खिल्ली उडाएको छ।

क्षमायाचना : यसै समाचारमा असावधानीवश अर्कै व्यक्तिको फोटो प्रयोग हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .