ललितपुरको झाँक्रीडाँडा त्यतिबेला दुर्गम थियो। बा–आमा खेती गर्थे। परिवार सम्पन्न थिए। खानलाउनै संघर्ष गर्नु पर्थ्यो। घरकी जेठी छोरी सीताले पनि बा–आमाको दुःख र संघर्षको सानैबाट सारथी बन्नु पर्यो। उनका ४ भाइबहिनी थिए, सबै भाइबहिनीको जिम्मेवारी उनकै काँधमा थियो। घरमा भाइ हेर्ने मान्छे नहुँदा सीताले समयमा स्कुल जान समेत पाइनन्। पहिलो पटक स्कुल जाँदा उनको पिठ्युँमा भाइ र हातमा किताबकापी थियो।
श्री महाकालीदेवी माविबाट स्कुले शिक्षा प्रारम्भ गरेकी सीता पढाइमा अब्बल थिइन्। कक्षा १ बाट २ मा जाँदा तृतीय भएकी उनी त्यसपछि ५ कक्षासम्म प्रथम भइन्। सीता भन्छिन् ‘कक्षा २ पछि सधैं प्रथम हुनुको पनि कारण छ।’ उनले अन्य केटाकेटीले झैं बेलामा स्कुल भर्ना हुन पाइनन्। कक्षा १ मा भर्ना हुँदा उनको उमेर ८/९ वर्ष भैसकेको थियो। उनीभन्दा माथिल्लो कक्षामा पढ्ने साथीहरुले एकदिन स्कुलबाट फर्किंदै गरेकी सीतालाई भने, ‘हामीमध्ये सबैभन्दा छिटो विवाह तेरो हुन्छ। तैले धेरै पढ्न पाउँदिनस्, राम्रो पढ्न पनि सक्दिनस्।’ सीताको मनमा साथीको कुरा खिल बनेर गड्यो।
त्यो दिन उनी घरमा भाइलाई छोडेर घाँस काट्न गइन्। स्कुलबाट फर्किएपछि एक भारी घाँस उनको नियमित कर्ममा पथ्र्यो। तर त्यो दिन उनका हात राम्ररी लागेनन्। रुँदैरुँदै घाँस काटिन्। उनको दिमागमा म पनि पढ्न सक्छु भन्ने कुरा मात्रै खेल्यो। उनले त्यही दिन अठोट गरिन्, ‘म कुनै पनि हालतमा एसएलसी पास नगरी बिहे गर्दिनँ।’
‘किन साथीको वचन त्यसरी बिझ्यो मलाई थाहा छैन। तर त्यही कुराले थुप्रै दिन रोएकी छु,’ उनले भनिन्।
त्यही इख मनमा लिएर पढेकी सीता ५ सम्म प्रथम भइन्।
पहिलो पटक उनलाई माग्न उनको घरमा कुटुम्ब आउँदा उनी ६ कक्षामा पढ्थिन्। उनका बुबाले त्यसबेला भनिदिए, ‘मेरी छोरीले एसएलसी नगरी बिहे गरिदिन्नँ।’ त्यसपछि पनि उनको हात माग्न आउने कुटुम्ब टुटेनन्। समय नै त्यस्तै थियो। त्यतिबेला घरखेतका काम गर्ने केटी कुटुम्बका आँखामा पर्थे। त्यसैले घर धानेर बसेकी सीताका घरमा कुटुम्ब धेरै आउनु स्वाभाविकै थियो।
बिहेपछि फुटपाथको व्यापार
एसएलसी पास गरेकै वर्ष अहिलेका नाम चलेका कलाकार केदार घिमिरे उनको हात माग्न आइपुगे। त्यतिबेला केदारले कलाकारिता सुरु गरेकै थिएनन्। ललितपुरकी सीता मकवानपुरकी बुहारी बनिन्। सीता मकवानपुरको हात्तीसुँडेमा ७ दिन बसिन्। त्यसपछि काठमाडौं आएकी उनी यतै छिन्।
बिहेताका केदारको कोठा बाफलमा थियो। कोठामा दुइटा ओछ्यान, एउटा स्टिलको दराज, एउटा कुकुर, कराइ र केही थाल बटुका थिए। त्यसबेलाका अरु सामान कता पुगे थाहा छैन, त्यो स्टिलको दराज भने सीताले अहिले पनि जतनले राखेकी छिन्। भन्छिन्, ‘आवश्यकताले हैन मायाले राखेकी हुँ।’
त्यतिबेला केदार काठमाडौँमा ट्याम्पु चलाउँथे। आफ्नै ट्याम्पु थियो। बिहेपछि केदारले भनेका थिए, ‘सीता तिमी क्याम्पस पढ, म पढाउँछु।’ श्रीमान आर्थिक हिसाबले सम्पन्न हुन्थे भने सीताको पनि पढ्ने सपना थियो। तर श्रीमानले ट्याम्पु चलाएर कमाएको पैसाले क्याम्पस पढ्न मन लागेन। भन्छिन्, ‘बिहे गरेपछि माया लाग्दो रहेछ। अब मैले पनि आर्थिक उपार्जन हुने केही काम गर्नु पर्यो भन्ने लाग्यो।’
त्यसपछि सीता एउटा फाइनान्स कम्पनीकी कर्मचारी भइन्। तर लामो समय त्यहाँ काम गर्न सकिनन्। भन्छिन्, ‘मन रमाएन भने काम मात्रै ठूलो कुरा नहुने रहेछ।’ त्यसपछि सीताले सिलाइ सिकिन्। त्यो सीप पनि उपयुक्त लागेन। सीताको मनमा केही गर्नुपर्छ भन्ने हुटहुटी र छट्पटी झन धेरै बढेर गयो। कलंकीको पुटपाथमा बसेर नक्कली सुनका औँठी, सिक्री तथा टपको व्यापार गर्न थालिन्। यो व्यवसाय सीतालाई फाप्यो। ठिकै कमाइ भयो।
आर्थिक अवस्था थोरै सुधारिएपछि सीतालाई केदारको माया झन् धेरै लाग्यो। ट्याम्पु भाडामा लगाइदिइन्। दिनको २ सय ५० रुपैयाँ भाडा आउँथ्यो। सीताले त्यसपछि फुटपाथमै क्यासेट प्लेयर, रेडियो, क्यासेट र क्यामराको व्यापार गरिन्। यहाँका सुख दुःखको लामो फेहरिस्त छ तर जीवन यापन भने निक्कै सहज भयो। अलि पैसा कमाएपछि सटर लिएर व्यापार थालिन्। केदारले पनि सीतालाई सघाए।
दुई वर्षपछि आमा
फुटपाथबाट सीताको पसल सटरमा सरेको थियो। सीता र केदारले दोस्रो वैवाहिक वर्षगाँठ पुरा गरे। आफन्तले अब बच्चा चाहिन्छ भन्न थालेका थिए। सीतालाई भने आर्थिक रुपमा अझै मजबुत भएपछि मात्रै बच्चा जन्माउने चाहना थियो। उनले केदारलाई पनि भनेकी थिइन््।
‘कमजोर आर्थिक अवस्थामा जन्मिएर हुर्केका बच्चाले कति दुःख गर्नु पर्छ भन्ने कुरा हामी दुवै जनालाई थाहा थियो। मैले थुप्रै रहर मार्नु पर्यो। मेरा छोराछोरी भएपछि रहरसँग उनीहरुले सम्झौता गर्नु नपरोस् भन्ने लाग्थ्यो,’ सीताले सुनाइन्।
सटर व्यवसाय थाल्दा सीता आर्थिक हिसावले केही मजबुत त भैसकेकी थिइन्। तर त्यही बेला सासू बिरामी परिन्। लामो समय अस्पताल राख्नु पर्यो। जम्मा गरेको पैसा अस्पतालमै सकियो। त्यसैले आमा बनिहाल्ने सोच थिएन। तर सोचेको जस्तो भएन। उनी दुई जिउकी भइन्। सीतालाई दुःख लाग्यो। उनको दिमागमा थुप्रै कुराहरु दौडिए। निकै दिन उनलाई गाह्रो भयो।
बच्चा पेटमा आएपछि पनि सीताले आराम गरिन्न्। उनलाई व्यवसाय धान्नु थियो। पैसा कमाउनु थियो। सीताले गर्भावस्थाको बेला खान मन लागेका थुप्रै कुरा खाइनन्। उनलाई त्यो समय आफ्नो ज्यानको भन्दा धेरै पैसाको माया लाग्थ्यो। अहिले सम्झँदा उनलाई ‘म कति मूर्ख रहेछु’ भन्ने लाग्छ। भन्छिन्, ‘त्यो समय आफूलाई भएको गाह्रो अप्ठ्यारो सुनाउन पनि कहाँ सकिन्थ्यो र!’
सीता झण्डै दुई महिनाकी गर्भवती थिइन्। पिसाब पोल्ने समस्या देखियो। त्यही पीडाले सीतालाई कसैसँग बोल्न, केही खान मन लाग्दैनथ्यो। दसैँमा मकवानपुर जाँदै गर्दा फुर्केचउरमा गाडी बिग्रियो। हिँडेर यात्रा गर्नु पर्ने भयो। यात्रामा पिसाब फेर्ने सहज ठाउँ थिएन। उनलाई घरीघरी पिसाबले च्याप्थ्यो, पिसाब फेर्न बसेको ठाउँमा एकपटक भुतुक्क हुन्थिन र उठ्थिन्। रात छिप्पिँदै गएको थियो। यात्रामा थिए केदार, उनका भाइ र सीता। बाटोका सबै पसल बन्द भैसकेका थिए। सबै भोकाएका थिए। बल्ल भेटिएको पसलमा दुई प्लेट माछा रहेछ। अरु खाने कुरा केही थिएन। सीतालाई माछा खान मन लागेन। देवर र श्रीमानले उनले नखाइ नखाने भने। त्यसपछि उनीहरुले दुई प्लेट माछालाई ३ भाग लगाए। सीता हिजोआज पनि त्यही स्वादको माछा खोज्छिन् तर भेटेकी छैनन्। त्यसदिन उनलाई माछाले धित मरेन। अरु खान्छु भन्न सकिनन्। भन्छिन्, ‘त्यतिबेला नमरेको धित कहिले मर्दैन रहेछ जिन्दगीमा।’
सीता आफूलाई जब्बर मान्छे बताउँछिन्। उनले धेरै कुरा नभनेरै सहिन्। कतिपय अप्ठ्यारा श्रीमानलाई भन्थिन्। केदार सहयोग गर्न खोज्थे तर मेसो पाउँदैनथे। सीता भन्छिन्, ‘माया त गर्ने के गर्नी, के गर्नी!’ पहिलो पटक गर्भवती हुँदा केदार उनलाई लिएर कहिल्यै अस्पताल गएनन्। नियत होइन, तर जानु पर्छ भन्ने उनलाई लागेन। यस्तै गरेर सीताले गर्भावस्था गुजारिन्।
बच्चालाई नयाँ कपडा किन्ने, बच्चाकै लागि भनेर डस्ना, सिरक पनि बनाउने चलन थिएन। फुर्सदको समयमा उनले पुराना थाङ्ना राखेर लपेटा सिलाइन। ओड्ने ओछ्याउने बनाइन्।
बच्चा जन्मने अघिल्लो दिन सीताले दिनभरी लुगा धोइन्। बच्चा जन्माएपछि एक महिना लुगा धुन सक्दिनँ भन्ने लागेर सबै लुगा बोकेर खोलामा गएकी सीताले खेतको गह्रामा उभिएर खेतको आलिमा कपडाको बाटा राखेर साबुन लगाइन्।
त्यो दिन बिहानैबाट उनलाई अब मेरो बच्चा हुने बेला भयो भन्ने लागेको थियो। बिहानै केदारलाई भनेकी थिइन्, ‘आज मलाई गाह्रो हुन्छजस्तो छ, तपाईं कतै नजानु।’ त्यो साँझ उनलाई नमज्जाले पेट दुख्यो। उनले खाना बनाउन पनि सकिनन्। उनलाई ढिडो खान मन लागेको थियो। केदारले तोरीको साग र ढिँडो पकाएर पस्किदिए। सीता रिसाइन्, ‘मान्छे मर्ने बेला भएको छ, एक रास खाना कसलाई पस्केको?’ केदार डराए, खाना आधा पारिदिए। त्यो दिन पनि उनलाई माछा खाएको दिन जस्तै भयो। उनको आँत भरिएन। फेरि मागेर खान लाज लाग्यो। किन फर्काएँ भन्ने पछुतो भयो।
रातभरि उनलाई गाह्रो भयो। वल्लोपल्लो कोठाका दिदीबहिनी जम्मा भएर उनलाई सेकेर बसे। उज्यालो भएपछि केदारले पाटन अस्पताल लिएर गए। आमा बन्ने तयारीमा रहेका अरु महिला च्चियाउँथे। सीताले पीडा दारा किटेर सहिन्। नर्सहरुले भन्थे, ‘तपाईंको त सुरसारै छैन त।’ उनी बोल्दैनथिन्। अरु चिच्याउँदा पनि उनलाई लाज लाग्थ्यो। सीता अस्पताल भर्ना भएपछि उनकी काकीसासू अस्पताल आइन्। भित्र आउँदै गरेको थाहा पाएकी सीताले लाजले कपडाले मुख छोपेर बसिन्। काकीले बाहिर गएर छोरालाई भनिन्, ‘केदार मैले त बुहारीलाई भेटिनँ।’
पाठेघरको मुख चाहिने जति खुलेन। मुख खोल्न काट्नु पर्यो। पाटन अस्पतालमा उनले पहिलो पटक छोरालाई जन्म दिइन्। नर्सहरुले उनको छातीमा छोरा राखिदिए। त्यो स्पर्शको न्यायोपन अहिले पनि सीता बेलाबेला महसुस गरिरहन्छिन्। ‘छोरा कस्तो छ भनेर हेरिरहन मन लाग्ने, कसैलै साटिदेला कि भनेर डर लाग्ने। छोराको औँला, नङ, कपाल, उसको के कस्तो छ भनेर सबै विचार गर्न मन लाग्ने,’ सीताले पहिलो पटक आमा बन्दाको अनु्भूति सुनाइन्।
हेर्न नजानेर दुःख
सुत्केरी भएको भोलिपल्ट सीता र केदार घर फर्किए। सासू अस्पतालमा थिइन्। सिकाउने अरु कोही थिएन। सीताको दूध आएन। आफैँले खानेकुरा मिलाएर खान जानिनन्। छोराले पेटभरि दूद खान पाएन। केही दिनमै सासू बितिन्। त्यसपछि सुत्केरी अवस्था झन् जटिल बन्यो। उनको मृत्युमा सीता निकै रोइन्। निकै दिन खान सकिनन्। बच्चालाई पनि स्याहार पुगेन।
सीताले सुत्केरी बेलामा आरा मगर्न पाइनन्। आराम गर्नु पर्छ भन्ने ज्ञान पनि भएन। छोराको न्वारानपछि सबै घरको काम आफैंले गरिन्। त्यतिबेला उनको पसल फुटपाथमा पनि थियो, सटरमा पनि। छोरो काँधमा बोकेर कहिले फुटपाथको पसल, कहिले सटरको पसल गर्थिन्। सीताको सुत्केरी ज्यान बिग्रियो। बेलाबेला हातखुट्टा सुनिन्थे। काम गर्न गाह्रो हुन्थ्यो। स्याहार गर्न नजानेर छोरा पनि बिरामी भैरहन्थे।
छोरो ५ महिनाको भएपछि केदारलाई एचबीसी एफएमबाट कामका लागि प्रस्ताव आयो। उनले सीतालाई सोधे, ‘अहिले त खास कमाइ हुँदैन, पछि राम्रो हुने रहेछ, के गरौँ बुढी?’ सीताले जान भनिन्। रेडियो हुँदै केदारले कलाकारिता सुरु गरे। त्यो समय अहिलेको जस्तो थिएन। रहर पुरा गर्नका लागि काम गर्ने अवस्था थियो। ‘जिरे खुर्सानी’, हिजोआजका कुरा’ मा केदारले काम गरे। तर कमाइ थिएन। यही बीचमा सीताका ससुराले अर्को बिहे गरेर गाउँ फर्किए। छोरा र पसलको जिम्मेवारी सीताको एक्लो काँधमा पर्यो। आर्थिक अवस्था झन् खस्किँदै गयो। सीताले छोरा हेर्ने मान्छे खोजिन् र पसललाई समय दिन थालिन्। उनलाई थाहा थियो, ‘बच्चा जति हुर्किन्छ, त्यति नै आर्थिक रुपमा सबल हुनु जरुरी छ।’
आफ्नो होइन, छोराको रहर मारेका कतिपय घटनाले अहिले पनि बेला–बेला सीताको छाती पोलिरहन्छ। भन्छिन्, ‘अरुका बच्चाले जिद्दी गरेर यस्तो चाहियो भनेर बाटोमा रोएको देख्थेँ। मेरो बच्चालाई बाहिर लिएर जाने बेला पहिला नै भन्थेँ, बाबु तिमीले भनेको कुरा तिमीले एकपटक भन्नेबित्तिकै किनिदिन्छु, तिमीले भनेको कुरा किनिदिइनँ भने ममीसँग पैसा छैन भनेर बुझ्नु, मसँग झगडा नगर्नु।’ उनका छोराले पनि आमाको कुरा बुझे या डराए थाहा छैन। एकपटक भन्दा नकिन्दिएको चिज अर्को पटक मलाई चाहियो भनेर कहिल्यै दोहोर्याएनन्। त्यतिबेला उनको जीवन सहज त भयो तर मनको भित्री कुनामा हिजोआज पनि पीडा हुन्छ।
अनि छोरी
केदार कलाकारिताका माध्यमबाट चिनिन थालेका थिए। उनीहरुको आर्थिक अवस्था पनि बिस्तारै सुधार हुँदै गैरहेकै थियो। छोरा ४ वर्षका भए। सीता दम्पती अर्को बच्चा जन्माउने नजन्माउने भन्ने दोधारमा थिए। केदार भन्थे, ‘तिम्रो शरीर बिग्रियो, अर्को बच्चा नजन्माऊ।’ उनीहरुले एलआरआई स्कुलमा छोरालाई भर्ना गरेका थिए। त्यो बेला यो स्कुल मंहगोमध्येमा पथ्र्यो। सीताकी घरबेटीले त्यतिबेला उनलाई भनेकी थिइन्, ‘यति दुःख गरेर जम्मा गरेको पैसा सबै स्कुलमा खन्याउँछौँ?’
फेरि घरबेटी नै दोस्रो बच्चा चाहिन्छ, बेलैमा जन्माउनु पर्छ भनिरन्थिन्। ‘उहाँले भन्दा भन्दा गरेपछि मलाई पनि अर्को बच्चा जन्माउनु पर्छ भन्ने भयो। मैलै दोस्रो पटक आमा बन्ने निर्णय गरेँ,’ उनले भनिन्।
तर केदार भने दोस्रो बच्चा चाहिँदैन भन्थे। एक त आर्थिक अवस्था सबल थिएन। अर्को, पहिलो बच्चा जन्मिँदा राम्रो स्याहार गर्न नजानेका कारण सीताको शरीर बलियो थिएन। त्यसैले केदारले अर्को बच्चा नजन्माउने भनेका थिए। सीताले मानिनन्। आजित भएपछि केदारले भने, ‘दुःख पाउने तिमीले हो क्यार, जेसुकै गर।’ त्यसपछि सीता दोस्रो पटक गर्भवती भइन्।
सीतालाई त्यसबेला लागेको थियो बुढाले मलाई ख्याल नगर्लान्, मैले मेरो जिद्दीले बच्चा जन्माउन लागेको छु। तर यसपटक केदार पनि परिपक्व भैसकेका थिए। उनले आफूले सकेको र जानेको ख्याल गरे। नियमित चेकअपमा पनि एक्लै जान दिएनन्। सँगै लिएर गए। उनी सीतालाई सम्झाइरहन्थे, ‘आफ्नो ख्याल गर। सुत्केरोमा बिग्रेको ज्यान सुत्केरोमै बनाउनु पर्छ।’
दोस्रो पटक सहज भएन। यसपटक सीताको गर्भमा बच्चा उल्टो बसेको थियो। डाक्टरले अप्रेसन गर्नु पर्छ भनिदिए। उनी निकै डराउँथिन्। कार्तिक १० गते भएको थियो। अस्पताल गएकी उनलाई डाक्टरले भर्ना हुन भनेका थिए। त्यो दिन उनलाई कुखुराको मासु खान मन लागेको थियो। गाह्रो भए आइहाल्ने सर्तमा घर गइन्। कुखुराको मासु भुटेर पेटभरि खाइन्।
डाक्टरले बोलाएको मितिमा पनि उनी गइनन्। केही दिनपछि केदारले बाइकपछाडि बाँधेर लैजान्छु भनेपछि मात्र उनी अस्पताल जान तयार भइन्।
अस्पताल पुग्दा भिड थियो। लाइन बस्दैमा छोरालाई स्कुलबाट लिन जाने बेला भयो। उनले केदारलाई पठाइन्। आफू पनि जँचाएर घर जाउँला भन्ने सोचेकी थिइन्। तर, जाँचेर डाक्टरले उनलाई अपर्झट अप्रेसन थिएटरमा लैजान ठिक पारे। त्यसपछि सीताको सातो गयो।
उनीसँग मोबाइल थिएन। अस्पतालमै भेटिएका बिरामी कुरुवाको मोबाइल मागेर श्रीमानलाई फोन गरिन्। अप्रेसन थिएटरमा पस्ने बेला उनले केदारलाई देख्न पाइनन्। आफूसँग भएको पैसा र कानको झुम्का अप्रेसन गरेर भर्खर निकालेको बिरामीको आफन्तलाई दिएर भनिन् ‘मेरी बास्सैमा खेल्ने फलानो कलाकार यहाँ आउँछ, यो सामान उसलाई दिनु।’
सीतालाई लागेको थियो, ‘अब बाँचेर फर्किएर श्रीमानसँग भेट हुन्छ हुँदैन होला!’ डाक्टरको कुदाकुद हेरेर सीता निकै डराइन्। भन्छिन्, ‘मलाई त बच्चालाई के भैसकेछ भन्ने भयो। गटट कामेँ। कसैले मलाई भेटाउँदैन भन्ने भयो।’
उनको अप्रेसन सफल भयो। डाक्टरले अप्रेसन गरेर छोरी निकाले। त्यसपछि केदारलाई भेट्दा सीताका आँखा थामिएनन्। उनी डाँको छोडेर रोइन्। अँध्यारो मुख लाएर रुन्चे स्वरमा केदारले भने, ‘अब ठिक भैसक्यो, किन रोएको?’
भन्छिन् ‘अब म बाँचे, मलाई मेरै मान्छेले भेट्टाउनु भयो भन्ने भयो। त्यो क्षण कहिले बिर्सन्नँ।’
अप्रेसन गरेको चार दिनमा छोरीमा जन्डिस देखियो। सीताले केही दिन अस्पताल बस्नु पर्ने भयो। केदारले आमा भेटाउन छोरालाई अस्पताल नै ल्याए। उनका छोराले पर बसेर आमालाई हेरिरहे। सीतालाई छोरो काखमा आइदिए हुन्थ्यो भन्ने लागिरह्यो। उनले बोलाइन् पनि। तर छोरा काखमा आउन मानेनन्। त्यतिबेला छोराको अनुहार अँध्यारो थियो। सीताको मन नमज्जाले दुख्यो। छोरो घर पठाएर उनी रोइन्। भन्छिन्, ‘म बाट मेरो छोरो अब टाढा भयो भन्ने भयो। भर्खर जन्मिएको भन्दा पहिलाको बच्चाको धेरै माया लाग्यो।’
छोरीलाई जन्डिस भएको थियो। डाक्टरले छोरीलाई नाङ्गै बनाएर एनआईसीयूमा राखेका थिए। सीतालाई छोरीलाई पाइपले दुख्यो होला, नाङ्गै छ जाडो भयो होला भन्ने मात्रै हुन्थ्यो। उनको मनमा लागिरह्यो– आकाशबेलीको रस खान पाए छोरीलाई निको हुन्थ्यो। केदारले लुकाएर ल्याइदिए। सीताले अस्पतालमै आकाशबेलीको रस खाइन्। छोरीमा जन्डिसको मात्रा निकै कम भएपछि उनी छोरी लिएर घर गइन्। धेरै दिनसम्म पनि छोरा उनको नजिकै आउन डराए। सीताले पीडा मनमा गाँठो पारेर राखिन्। अहिले पनि त्यो क्षण सम्झिँदै गर्दा सीताका आँखा भरिन्छन्। पछि छोराले बैनीका औँला चलाउने, माया गर्ने, काखमा बोक्न खोज्ने गर्न थाले। सीताले शान्तिको सास फेरिन्।
छोरी जन्मिएको लामो समय सीताले पसल खोल्न पाइनन्। दोस्रो पटक भने सीताले पनि बच्चालाई स्याहार गर्न जानिन्। केदार पनि परिपक्व भए। केदारले मेरी बास्सै खेल्न थालेपछि पैसा कमाउन पनि थालेका थिए। अनुभव र आर्थिक अवस्था ठिकै भएका कारण छोरीको पालामा सीतालाई त्यति गाह्रो भएन। केदारले भने, ‘तिमीले तिम्रो ज्यान बलियो बनाउनु पर्छ। म कमाएर तिर्छु, तिमी आराम गर।’ सीताले पसल ४८ महिना बन्द गरिन्। छोरीको हुर्काइमा सीताले त्यति सास्ती बेहोर्नु परेन।
अनि कलाकारितामा
पछि विभिन्न कारणले पसलले गति लिन सकेन। यहीबीचमा उनीहरुले थोरै ऋण, थोरै कमाइ जोडेर इमाडोलमा एकतलाको घर जोडेका थिए। सीतालाई पनि कलाकारितामा मोह जाग्दै गयो। केदारले पनि रहर छ भने गर भने। सीताले सन २०१० मा छोरीलाई नर्सरीमा छोडेर कला यात्रा सुरु गरिन्। सीताको कला यात्रा त्यति सहज थिएन। उनका लागि यो रहरको मात्रै क्षेत्र थियो। जानेको बुझेको थिएन। सिकेको थिएन।
सुटिङ नै नदेखेकी सीता एक दिन असिस्टेङ डाइरेक्टर भएर तीनपिप्ले पुगिन्। केदारले ‘एक्सन भन’ भने। सीता डराइन्। नभन्दा पनि भएको थिएन। भन्न आँट आएन। सीताले आँट गरेर भन्दा पनि उनको स्वर भित्रै दबेको थियो। उनलाई लयमा एक्सन, कट भन्न झण्डै १ घण्टा लागेको थियो। त्यहाँबाट सुरु भएको सीताको कला यात्राले आज थोरै भए पनि आफ्नै पहिचान बनाएको छ। ‘खासखुस’ भन्ने सिरियलमा ‘बट्टारेको आमा’को भूमिका निर्वाह गरेपछि उनलाई केही दर्शकले चिने। ‘सक्किगो नि’ मा चन्द्रमुखी बनेर अभिनय गरेपछि भने उनलाई धेरै दर्शकले चिने। यो बीचमा उनले अभिनय कक्षा लिइन्। धेरै सिकिन्। अझै सिक्दै थिइन्।
जिन्दगी ठिकठाकसँग चलेकै थियो। २०७२ सालको भूकम्पपछि केदार बिरामी परे। उनलाई डिप्रेसन भएको थियो। गहिरो डिप्रेसनमा परेका केदारलाई लामो समय खाना, पानी खुवाउनै मुस्किल हुन्थ्यो। उनी दिउँसो बाहिर निस्कनै मान्दैनथे। सीता राति सबै सुतेपछि श्रीमानलाई लिएर बाहिर निस्कन्थिन्। छोरा त्यो समय होस्टलमा थिए। छोरीले बुबाको निकै ख्याल गर्थिन्। केदार आफन्तलाई भन्थे, ‘अब म मरिहाल्छु मेरा बच्चा र श्रीमतीलाई हेरिदिनू।’ सीता निकै रुन्थिन्।
एकदिन नर्भिक अस्पताल जँचाउन आए। त्यही दिन नक्कली प्रमाणपत्र काण्डमा अस्पतालका केही डाक्टर समातिएका थिए। आवेगमा डाक्टरले भने, ‘यस्तो छ देश, चोर फटाहाहरुलाई छोड्छ। आफ्नो काम गरेर खाइरहेकाहरुलाई समात्यो।’ डाक्टरको बोली केदारको मनमा बिझ्यो। उनी झन् धेरै बिरामी परे। केदारका हातखुट्टा फुस्रा हुँदै गएका थिए। डाक्टरले दुई हप्तामा अस्पताल आउनु, इन्डोस्कोपी गरेर हेर्नु पर्छ भनेका थिए। केदारलाई झन् धेरै गाह्रो भयो। सीतालाई श्रीमानका फुस्रा हातखुट्टाले पिरोल्थ्यो। एक हप्तामा उनले केदारलाई लिएर अस्पताल गइन्। अस्पताल गएपछि दोस्रो पटक पनि डाक्टरले ‘तपाईंहरु दिनै नपुगी किन आउनु भएको?’ भनेर छुद्र बोली बोले। त्यसपछि केदारलाई झन् धेरै गाह्रो भयो। अस्पताल लान सीताले सकिनन्।
त्यसपछि सीताले काका ससुरा गुहारिन्। काका ससुराले पनि अस्पताल लैजान खोजे। उनले पनि सकेनन्। त्यही बेला केदारले काकालाई भने, ‘अंकल मेरो आमा पनि पेटको बिरामीले मर्नु भयो। सानीमा पनि पेटकै बिमार लागेर मर्नु भो। मलाई पनि पेटको बिमार लाग्यो। अब म पनि मर्छु। मेरा श्रीमती र छोराछोरीलाई हेरिदिनु।’
सीताले श्रीमानलाई सम्झाउँदै भनिन् ‘अहिले पहिलाको जस्तो समय छैन। उपचार हुन्छ। हामी दुःख गरेर आएको मान्छे हो। भएको पैसाले भएन भने घर बेचेर उपचार गर्नु पर्छ। हामी दुवै जना स्वस्थ भइयो भने सम्पत्ति त फेरि पनि कमाउन सकिन्छ।’ केदार अलि शान्त देखिए। त्यसपछि सीताले श्रीमानलाई भारत लगेर उपचार गर्ने तयारी गरिन्।
जाने तयारी गर्दै गर्दा बसुन्धरा भुसालले डा.आइल आचार्यकहाँ लिएर जान प्रस्ताव गरिन्। त्यसपछि सीताले केदारलाई त्रिपुरेश्वरको काठमाडौं अस्पताल लिएर गइन। त्यसबेला उनीहरुसँगै जितु नेपाल, दीपाश्री निरौला पनि गएका थिए। केदारलाई हेरेर डा. आचार्यले भने, ‘तपाईंलाई केही भएको छैन। तपाईंलाई म निको पार्छु।’
उनले एक हप्ताको औषधि दिएर पठाए। त्यो एक हप्तामै केदारको छाला बिस्तारै परिवर्तन हुँदै आयो। खाना खान थाले। सीताले श्रीमानको अनुहार फेरिएको देखिन्। उनको खुसी फर्किन थाल्ल्यो। डा. आचार्यले मोहन लाखे डाक्टरलाई रिफर गरिदिए। मोहनले चलाएको औषधिले केदार ठिक भए। सीता भन्छिन्, ‘त्यो समय शब्दमा भनेको जति सजिलो थिएन। कति कुरा अभिव्यक्त गर्नै सकिँदैन। जति अप्ठ्यारो समयमा पनि बच्चा सम्झिएर बाँच्न चाहिँ सहज हुँदो रहेछ। छोराछोरी थिएनन् भने म पनि एकोहोरिन्थेँ होला। छोराछोरी थिए र उनीहरुको जिम्मेवारी त मैले उठाउनु पर्छ भन्ने भयो।’
अहिले केदार पुरानै लयमा फर्किसके। हिजोआज केदार आफूलाई खुब माया गर्छन्। आफ्नालाई झन् धेरै माया गर्ने भएका छन्। सीतालाई हिजोआज लाग्छ, ‘कुनै पनि दुर्घटनाबाट निस्कन सक्यो भने त्यो बाँकी जिन्दगीका लागि ठूलो पाठ हुँदो रहेछ।’
सीता कलाकारितामा संघर्षरत छिन्। छोराछोरीका आफ्नै सपना छन्। उनका छोराले बीआईटी गरे। अहिले अभिनय सिक्दैछन्। छोरीले कलेज पढ्न सुरु गरेकी छिन्। छोरी दाजुलाई भन्छिन्, ‘समय समयमा सपना परिवर्तन गरिरहनु भन्दा बेलैमा आफ्ना सपनाका बारेमा गम्भिर भएर सोच्नु पर्छ कि!’ सीतालाई छोरीको कुरा सुनेर लाग्छ ‘छोरी मान्छे सानैबाट जिम्मेवार हुने रहेछन्।’
प्रतिक्रिया