ad ad

म्यागेजिन


गान्धीसँगको त्यो भेट, जसका कारण शुक्रराज शास्त्री फाँसीको फन्दामा पुगे

सदर जेलबाट निस्कँदै गर्दा शास्त्रीले भने– महाराजले मेरो नाम अमर गराइदिनुभयो। म जान लागेँ।
गान्धीसँगको त्यो भेट, जसका कारण शुक्रराज शास्त्री फाँसीको फन्दामा पुगे

सीताराम बराल
माघ ११, २०७९ बुधबार १६:४३, काठमाडौँ

साँझ झमक्क परिसकेको थियो। नजिकिँदो औँसीका कारण काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार (सदर जेल) वरपर अन्धकारको राज थियो।   

चुक घोप्ट्याएजस्तो अन्धकारका बीच ९ माघ (१९९७) मा प्रौढ उमेरको एक बन्दीलाई सदर जेलबाट बाहिर निकालियो। त्यसदिन उसलाई जेलबाट यसरी चौथो पटक निकालिएको थियो। 

विसं १९८८ को ‘प्रचण्ड गोरखा’ काण्ड (बम विस्फोटद्वारा सबै राणाहरुलाई एक चिहान बनाएर प्रजातन्त्र स्थापना गर्ने योजना) मा आजीवन कारावासको सजाय पाएका खड्कमान सिंह पनि सदर जेलको गोलघरभित्र बन्दी जीवन बिताइरहेका थिए। 

त्यसदिन (९ माघ) जेलबाट निकालिएका ती प्रौढ बन्दी गोलघरमा थुनिएका सिंहलाई ‘गोलघरका काजी’ भनी सम्बोधन गर्दथे। 

‘गोलघरका काजी’ अर्थात् ज्युँदो सहिदका रुपमा चिनिने खड्कमान सिंहले ती बन्दी जेलबाट निस्कनुअघिको अन्तिम वाक्य आफ्नो आत्मकथा ‘जेलमा बीस वर्ष’ मा उल्लेख गरेका छन्। 

शुक्रराज शास्त्री 

‘महाराजले मेरो नाम अमर गराइदिनुभयो। म जान लागेँ,’ ती बन्दीको भनाइ उद्धृत गर्दै सिंहले आत्मकथामा लेखेका छन्, ‘गोलघरका काजीलाई ‘रामराम छ सुनाइदिनू’ भन्दै हर्षले गद्गद् हुँदै मातृभूमिको बलिवेदीमा आफूलाई समर्पण गर्न लम्केर गए।’ 

जेलबाट ‘मातृभूमिको बलिबेदीमा आफूलाई समर्पण गर्न’ निस्कनुअघि ‘महाराजले मेरो नाम अमर गराइदिनुभयो’ भन्दै कृतज्ञता प्रकट गर्ने व्यक्ति खासमा सहिद शुक्रराज शास्त्री थिए। शास्त्रीले ‘महाराज’ उल्लेख गरेका व्यक्ति तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेर थिए। 

त्यसैरात शास्त्रीलाई टेकुको पचलीस्थित खरीको रुपमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। जेलबाट निस्कनुअघि शास्त्रीले उल्लेख गरेझैँ त्यो गर्विलो सहादतका कारण उनी नेपालको इतिहासमा अमर छन्। 

जेलबाट निस्कँदा ‘महाराजले मेरो नाम अमर गराइदिनुभयो’ भन्ने शास्त्रीको भनाइ श्री ३ जुद्धप्रति व्यङ्ग्य पनि हुनसक्थ्यो, ‘कृतज्ञता’ पनि। किनभने, कुनै बेला शास्त्रीले श्री ३ जुद्ध शमशेरको प्रशंसा गर्दै कविता लेखेका थिए। जुद्धअघिका शासक श्री ३ भीम शमशेरको ‘प्रशस्ति’ पनि गाएका थिए। 

भीमको प्रशंसामा किताब, जुद्धको प्रशंसामा कविता
‘जस्तो सौम्यस्वरुप चन्द्रमाले आफ्ना उज्ज्वल चन्द्रज्योतिद्वारा संसारमा सर्वत्र स्वभाविकरुपले नै सुधाको वर्षागरी सबै जीवजन्तुहरुलाई आनन्दित गर्छ, त्यस्तै सरकारको राज्याभिषेक हुनासाथ नुन र कपासको लगान माफ रुप अमृत वर्षा गरी, न केवल नेपाली जनतालाई, किन्तु हिन्दुस्तानका समग्र जनतालाई पनि आनन्दित गरी आफ्ना अपूर्व उदार चारित्र्य प्रकाशिक गरीबक्स्यो, सरकारजस्तो महान उच्च आदर्श हुने महान् व्यक्तिको यो काम हो।’ 

धर्मकर्ममा विश्वास गर्ने नेपालीहरु पुस शुक्ल पूर्णिमादेखि माघशुक्लपूर्णिमाको अवधिमा स्वस्थानीमाताको व्रत लिन्छन्, साँझपख स्वस्थानीमाताको कथा श्रवण सुन्ने गर्छन्। त्यसैले, माथि उल्लेख गरिएको पंक्तिको भाषा–शैलीका आधारमा तपाईंहरुलाई लाग्न सक्छ, उपरोक्त पंक्ति पनि स्वस्थानी व्रतकथाको कुनै अंश हो।  

तर, यो सहिद शुक्रराज शास्त्रीले गरेको प्रधानमन्त्री श्री ३ भीम शमशेरको प्रशस्ति को अंश हो। श्री ३ भीमको राज्याभिषेकको अवसरमा चढाउन तयार पारेको पुस्तकमा उनले यस्तो प्रशंसा गरेका थिए। 

शुक्रराज शास्त्रीले श्री ३ भीमलाई समर्पण गरेको पुस्तक ‘स्वर्गको दरबार’   

चन्द्र शमशेरको निधनपछि ३० मंसिर १९८६ मा श्री ३ महाराज भएका भीम शमशेरको त्यसै वर्ष राज्याभिषेक (सिन्दुर जात्रा) भएको थियो। त्यो राज्याभिषेकमा श्री ३ भीमलाई चढाउन लेखिएको ‘स्वर्गको दरबार’ पुस्तकको सुरुवातमै उनले भीम शमशेरको यस्तो प्रशंसा गरेका थिए। 

साहित्यकार बालकृष्ण समले ‘मेरो कविताको आराधना’ मा भीम शमशेरको राज्याभिषेकका समयमा समको कृति ध्रुव (नाटक) सँगै आफ्नो (शास्त्री) कृति ‘स्वर्गको दरबार’ पनि शास्त्रीले श्री ३ भीमलाई समर्पण गरेको उल्लेख गरेका छन्।  

शास्त्रीले पुस्तकमा लेखेको भनाइ उद्धृत गर्दै समले लेखेका छन्, ‘त्यस पुस्तक (स्वर्गको दरबार) मा गोरखा साहित्यप्रेमी पाठक–पाठिकालाई सम्बोधन गरेर लेखेका थिए– गोरखा भाषामा ऐलेसम्म नियमित कोष नभएको हुनाले यो ग्रन्थ लेख्नमा मलाई धेरै असुविधा भयो।’  

खासमा श्री ३ भीम प्रधानमन्त्री छँदा शास्त्री नेपाल भाषा प्रकाशिनी समितिमा जागिरे थिए। तर, श्री ३ भीमको यो ‘प्रशस्ति’ जागिर भन्दा पनि उनको अन्तःस्करणको आवाज हुँदो हो। अघिल्ला शासक श्री ३ चन्द्रको तुलनामा श्री ३ भीम नरम प्रकृतिका शासक मानिने भएकाले प्रशस्तिमार्फत् श्री ३ भीमलाई अझ नरम र उदार बनाउने उनको ध्येय पनि हुँदो हो। 

श्री ३ भीमपछिका शासक श्री ३ जुद्धको प्रशस्तिमा त उनले कविता नै लेखे। तर, कविता आफ्ना लागि होइन, बहिनी चन्द्रकान्ता मल्लका लागि लेखिदिएका थिए। 

विसं १९९४ वैशाखमा काठमाडौँको भूगोलपार्कमा ‘उद्योग प्रदर्शनी’ आयोजना भएको थियो। नेपालमा पहिलो पटक हुन लागेको उद्योग प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले गर्ने कार्यक्रम थियो। उद्घाटन कार्यक्रममा श्री ३ जुद्धका लागि स्वागत गानको जिम्मा वसन्तपुरस्थित कन्या पाठशालालाई दिइएको थियो। 

त्यो पाठशालाको अध्यापिका थिइन् शास्त्रीकी बहिनी चन्द्रकान्ता। कन्याहरुका लागि छुट्टै पाठशाला स्थापनाको पहल चन्द्रकान्ताले श्री ३ चन्द्रको शासनकालदेखि गरेकी थिइन्। उनको प्रयासले श्री ३ जुद्ध प्रधानमन्त्री बन्नासाथ सफलता प्राप्त गरेको थियो। 

कन्या पाठशाला प्रदर्शनस्थलबाट नजिकै थियो। जुद्ध शमशेर प्रधानमन्त्री बन्नासाथ त्यसले स्वीकृति पाएको थियो। सम्भवतः यही कारणले ‘स्वागत गान’ को जिम्मा शासकहरुले चन्द्रकान्ता र कन्या पाठशालालाई नै दिन चाहे।   

‘श्री ३ का हजुरिया जनरलले उद्घाटनका अवसरमा स्कुलका कन्याहरुले स्वागत गान गर्नुपर्छ भन्ने निर्देशन दिए। हातका औँला गनेर भाचेँ, जम्मा–जम्मी आठ दिन मात्र बाँकी छ,’ चन्द्रकान्ता मल्लले ‘मेरो आत्मकथा’ मा लेखेकी छन्, ‘ए गाँठे, आठ दिनमा मेरा कन्याहरुले कसरी स्वागत गान तयार पार्न सक्लान्! म अत्तालिएँ।’ 

तर, उनको संकट दाजु शुक्रराज शास्त्रीले टारिदिए। उनले लेखेकी छन्, ‘स्वागत गान शास्त्री दाइले आफैँ लेखिदिए।’ 

‘स्वागत गान’ का रुपमा लेखिदिएको त्यो कवितामा श्री ३ जुद्धको प्रशस्ति थियोः

नेपाल देशको अवला कन्या हामी 
गर्दछौँ अभिवादनम् 
नेपाल भूषण प्रभु! श्री ३ जुद्ध होइबक्सने ईश्वरले 
गर्दछौँ अभिवादन्म्
जुद्ध ज्योतिको प्रकाश, स्वतन्त्र देशको विकास
फिज्न थाल्यो सूर्यभाष, रिक्त चिन्तक भारी 

नेपालको पहिलो औद्योगिक प्रदर्शनी उद्घाटन कार्यक्रम। (स्रोत : चन्द्रकान्ता देवी मल्लको ‘मेरो आत्मकथा’)

‘स्वागत गान’ भएकाले छात्राहरुले गाउँदा त्यसको रचनाकार को हुन्, त्यो उल्लेख गरेनन्। तर, रचनाकारबारे जानकारी नभए पनि श्री ३ जुद्धले त्यो स्वागत गान खुब मन पराए, जसको चर्चा चन्द्रकान्ताले ‘मेरो आत्मकथा’ मा गरेकी छन्।        

‘(श्री ३ जुद्धको) सवारी भयो समारोहको सान बढाउँदै, हामीले सबै कार्यक्रम सम्पन्न गर्यौँ गान बजान चढाउँदै,’ उनी लेख्छिन्, ‘गाना सकिने बित्तिकै म चाहिँ जुर्मुराउँदै बिन्ती गर्न पुगिहालिछु– महाराज सिर्फ आठ दिनभित्र तयार गर्नुपर्यो, त्यत्तिको राम्रो हुन सकेन।’ 

उनले यसो भनेपछि प्रतिक्रियामा खुसी हुँदै श्री ३ जुद्धले भनेका थिए, ‘पहिलो पहिलो छँदैमा त यति राम्ररी गायौ, पछिपछि त झन् राम्रो भएर गइहाल्छ नि!’ 

खासमा त्यो कविता शास्त्रीले आफ्नो जन्मदिनका दिन लेखेका थिए। उनले लेखेकी छन्, ‘त्यो कविता शुक्रराज दाइले क्वाति खाने (आफ्नो जन्म भएको) दिन लेखेका थिए।’ 

तर, आफ्नो जन्मदिनका दिन शास्त्रीले जुन शासकको प्रशस्तिमा कविता लेखे, त्यसको पाँच वर्ष नबित्दै उनलाई मृत्युदण्ड दिइयो, प्रशंसामा आफूले कविता लेखिदिएको शासककै शासनकालमा। 

टेकु पचलीमा झुण्ड्याइएका शुक्रराज शास्त्रीको चित्र   

त्यो पनि नेपाल प्रजापरिषदद्वारा सञ्चालित ‘पर्चा पर्व’ मा मुछेर, जसमा शास्त्रीको कुनै संलग्नता थिएन। 

गान्धी–शास्त्री भेट, श्री ३ जुद्धको आक्रोश 
स्थापनाको ४ वर्षपछि नेपाल प्रजा परिषद्ले राणा शासनविरुद्ध १९९७ मा ७ असार, ३० असार, १७ साउन र २४ भाद्र गरी चार पटक पर्चा छर्यो। आफ्नो शासनविरुद्ध व्यापक रुपमा पर्चा छरिएपछि श्री ३ जुद्ध प्रजापरिषदविरुद्ध कठोर रुपमा प्रस्तुत भए। १९९७ असोजदेखि पर्चा छर्नेहरुको व्यापक खोजी सुरु भयो। 

इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका’ मा उल्लेख गरे अनुसार पक्राउ पर्नेमा धर्मभक्त माथेमा प्रजापरिषदको पहिलो कार्यकर्ता थिए। उनलाई २ कात्तिक (१९९७) मा गिरफ्तार गरिएको थियो।

लगत्तै दशरथ चन्द, गंगालाल श्रेष्ठ, गणेशमान सिंह, पुुष्करनाथ उप्रेती, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, रामहरि शर्मा लगायत प्रजा परिषदका थुप्रै नेता–कार्यकर्ता पक्राउ परे। व्यापक धरपकडपछि सुरक्षित हुन पार्टीको सल्लाहमा अध्यक्ष टंकप्रसाद आचार्य भारततर्फ लागे। बाबुको नामबाट पत्र पठाएर उनलाई पनि नेपाली सरहदतर्फ बोलाएर गिरफ्तार गरियो। 

तर, शास्त्रीलाई प्रजा परिषदको यो ‘पर्चापर्व’ भन्दा दुई वर्षअघि पक्राउ गरिसकिएको थियो। 

‘नेपाल भाषा प्रकाशिनी समिति’ मा जागिरे छँदा शास्त्रीले ‘ब्रम्हसूत्रको शंकरभाष्य’ को हिन्दीबाट संस्कृतमा पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई पुस्तक अनुवाद गरेका थिए। पुस्तकको ‘पूर्वाद्र्ध’ भाग उनले १९९४ को त्यही औद्योगिक प्रदर्शनीमा श्री ३ जुद्धलाई समर्पण गरेका थिए। त्यसबापत खुसी भएर आफूले उनलाई १५ सय रुपियाँ बकस दिएको १९९५ मा शास्त्रीविरुद्ध फैसलाको क्रममा श्री ३ जुद्धले उल्लेख गरेका छन्। 

विसं १९९४ को हिउँदमा उनी उक्त पुस्तकको उत्तराद्र्ध भाग छपाउन कलकत्ता गए। नेपाल भाषा प्रकाशिनी समितिबाट श्री ३ जुद्धले नै उनको विदा स्वीकृत गरेका थिए। 

चन्द्रकान्ताका भनाइमा पुस्तक छपाउने क्रममा प्रेसले ढिला गरिदियो, जसका कारण शास्त्री नेपाल फर्कन ढिला भयो। स्वीकृत विदाभन्दा बढी समय कलकत्ता बसेको र फर्कन ढिला गरेको आरोप लगाउँदै श्री ३ जुद्धले नेपाल फर्केका शास्त्रीलाई जागिरबाट बर्खास्त गरिदिए।  

‘कलकत्ताबाट फर्कन ढिलाइ गरेको’ त देखावटी आरोप मात्र थियो। बर्खास्तीको खासकारण चाहिँ अंग्रेज शासनविरुद्ध संघर्ष गरिरहेका महात्मा गान्धीसँग शास्त्रीले गरेको भेट थियो।  

‘भारतीय स्वतन्त्रता आन्दोलन निकै अगाडि बढिसकेको थियो, महात्मा गान्धी सर्वमान्य नेता भइसकेका थिए,’ १९९७ को ‘पर्चा पर्व’ मा पक्राउ परी आजन्म कैदको सजाय पाएका गोविन्द्रप्रसाद उपाध्यायले ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ मा लेखेका छन्, ‘यसै अवसरमा शुक्रराज शास्त्रीले कलकत्तामा महात्मा गान्धी र सुभाषचन्द्र बोस आदिसँग भेटी नेपालमा राजनीतिक तथा सामाजिक सुधार हुनुपर्नेबारे कुरा गरेका थिए।’ 

पुस्तक छपाइकै क्रममा शास्त्री कलकत्तामा थिए। त्यसैबेला उनकी पत्नी मेनकादेवी, बाबु माधवराज जोशी, बहिनी चन्द्रकान्ता कलकत्ता पुगे। त्यसैक्रममा माधवराज काम विशेषले कालिम्पोङ गए। 

यता शुक्रराजले पाएको एक महिना विदा सकियो। कलकत्ताबाटै पत्र पठाएर शास्त्रीले पुस्तक छपाइमा ढिला भएको र परिवारहरु पनि कलकत्ता आइपुगेको जनाउँदै थप एक महिना विदा मागे। 

पहिलो एक महिनाका लागि उनले तलबसहितको छुट्टी पाएका थिए। श्री ३ जुद्धले दोस्रो महिनाको छुट्टी ‘बेतलबी’ हुने गरी स्वीकृत गरिदिए। 

थप एक महिना (बेतलबी) छुट्टी सकिन लाग्यो। त्यसैबेला बाबु माधवराजले आफू कालिम्पोङबाट फर्कन लागेको बेहोराको चिठी पठाए, जसमा थप केही समय उनीहरुलाई कलकत्ता रहन भनिएको थियो। बेतलबी विदा भएकाले अन्यथा नहुने विश्लेषणका साथ शास्त्री बाबु माधवराजको प्रतीक्षा गर्दै तेस्रो महिना पनि कलकत्तामा रहे। 

त्यसैक्रममा शास्त्रीको भारतीय स्वतन्त्रता आन्दोलनका शीर्ष व्यक्तित्वहरु महात्मा गान्धी र सुवाषचन्द्र बोससँग भेटघाट भएको थियो। चन्द्रकान्ताको भनाइमा गान्धी कलकत्ता पुगेको भोलिपल्टै पत्नी मेनकादेवी र बहिनी चन्द्रकान्ताका साथ शास्त्री गान्धी आश्रम पुगेका थिए।   

‘हामी पुगेको खबर तुरुन्त गान्धीकहाँ पुर्याइयो, त्यसबेला गान्धीजी तेलारी गरिरहेका थिए। हामीहरु पाँच मिनेटजति पर्खनु पर्यो। एकैछिनपछि हामीलाई बोलाए,’ चन्द्रकान्ता लेख्छिन्, ‘हामीले गान्धीको दर्शन गर्यौँ। शास्त्रीले गान्धीलाई आफूले लेखेको पुस्तक दिए। र, त्यसमा भूमिका लेखिदिन आग्रह गरे। 

गान्धीले आफू संस्कृतमा कमजोर रहेको बताए, त्यसैले भूमिकाका लागि पुस्तक छाडेर जान आग्रह गरे।  

कलकत्ता आएका गान्धीसँग भेटका लागि सुवाषचन्द्र बोस पनि त्यही बेला गान्धी आश्रम पुगे। दुई जनाबीच त्यहीँ चिनजान र कुराकानी भयो। बोस–शास्त्रीबीच भोलिपल्ट बिहान ९ बजे बोसको निवासमा भेटघाटको कार्यक्रम तय भयो। 

मेनकादेवी र चन्द्रकान्ता निवासबाट निस्कन ढिला गरेकाले भोलिपल्ट बोसलाई भेट्न शास्त्री एक्लै गए। 

गान्धी र बोस दुवै भारतीय स्वतन्त्रता आन्दोलनका शीर्ष नेता भएकाले गान्धी र बोसका हरेक गतिविधि भारतीय पत्रकारहरुले ‘फलो’ गरिरहेका हुन्थे। शास्त्रीको गान्धी र बोससँग कुराकानी हुँदा पनि पत्रकारहरु वरिपरि थिए। गान्धी र बोससँग भएको शास्त्रीको त्यो भेटघाट र कुराकानीले भारतीय सञ्चारमाध्यममा स्थान पायो।  

‘उहाँहरु दुईजना (बोस र शास्त्री) बीचमा नेपालमा समाज सुधार गर्ने विषयमा कुराकानी भएको थियो, प्रेस रिपोर्टरहरु चारैतिर उभिइरहेका थिए। लगत्तै अमृत बजार पत्रिकाका नेपालको समाजसुधारको विषयमा सोसलिस्ट नेता शुक्रराज शास्त्रीले सुवाषचन्द्र बोससँग वार्तालाप गरेको समाचार प्रकाशित भयो,’ चन्द्रकान्ता लेख्छिन्। 

गान्धीसँगको भेट र कुराकानी पनि कलकत्ताबाट प्रकाशित हुने पत्रपत्रिकाले प्रकाशित गरे। 

महात्मा गान्धी र सुवाषचन्द्र बोस

त्यो बेला ‘अमृत बजार’, ‘जनता’ लगायतका भारतीय पत्रिकाहरुले नेपालबारे प्राथमिकताका साथ समाचार प्रकाशित गर्थे। राणा शासकहरु यी अखबारका नियमित पाठक थिए। 

पुस्तक छपाउन थप छुट्टी लिएर कलकत्ता बसिरहेका शास्त्रीले अतिरिक्त समयमा गान्धी र बोससँग भेट गरेको जानकारी ‘अमृत बजार’ मार्फत् जानकारी पाएपछि श्री ३ जुद्ध रिसले आगो भए। यसबारे कलकत्तामा रहेका शुक्रराज र चन्द्रकान्ताले काठमाडौँबाट पठाइएको पत्रमार्फत् जानकारी पाए।  

‘यहाँ शुक्र दाइमाथि ठूलाठूला राणाजीहरुले ठूलोठूलो आँखाले हेरिरहेका छन्, श्री ३ महाराज पनि तपाईं (चन्द्रकान्ता) सँग रिसाएका छन्,’ भाइ रामजी (वाक्पतिराज) जोशीले कलकत्तामा रहेका शास्त्रीलाई चिठीमार्फत् सूचित गरे, ‘भारतको वागियान (विद्रोही) सित किन भेट्न गएको भन्दैछन्। अब तपाईं काठमाडौँ नफर्कनुस्।’ 

तर, ‘महात्माको दर्शन गरेर मैले केही बिगार गरेको छैन’ भन्दै शास्त्री निर्धक्क नेपाल फर्के। काठमाडौँ फर्कनासाथ श्री ३ जुद्धले सिंहदरबार बोलाए। 

आक्रोशित जुद्धले शास्त्रीलाई ‘आइन्दा नेपाल भाषा प्रकाशिनी समितिमा नजान’ र ‘चार भन्ज्याङबाहिर काटेर काठमाडौँ नछाड्न’ आदेश दिए। अर्थात् गान्धी र बोससँग भेटको अभियोगमा उनले जागिर मात्र गुमाएनन्, काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी ‘कैद’ पनि भए। 

तर, शास्त्री यत्तिकै निष्क्रिय बसेनन्। सामाजिक सुधार र जागरणको क्षेत्रमा सक्रिय भए। यसैक्रममा उनले ‘नागरिक अधिकार समिति’ गठन गरे, त्यसको अध्यक्ष आफैँ भए। 

समितिले सामाजिक जागरणको उदेश्यका साथ १९९५ को सुरुवातमा काठमाडौँको असनचोकमा पुराण–वाचन आयोजना गर्यो। धार्मिक कार्यक्रम राणाहरुले पनि अवरोध गरेनन्। यो कार्यक्रमले निकै लोकप्रियता हासिल गर्यो। त्यही पुराण वाचन कार्यक्रममा शासनविरुद्ध तात्तातो भाषण गरेपछि २२ वर्षे युवक गंगालाल श्रेष्ठ पनि काठमाडौँबासीबीच चर्चाको पात्र बने। 

डा. गौतमका भनाइमा पुराण वाचन कार्यक्रमको सफलतापछि शास्त्रीले १३ मंसिर (१९९५) मा इन्द्रचोकमा ‘प्रवचन कार्यक्रम’ राखे। कार्यक्रममा शास्त्रीका अलावा केदारमान व्यथित र गंगालाल श्रेष्ठले पनि सम्बोधन गरेका थिए। 

त्यो सभामा गंगागालले गरेको राणा शासनविरोधी भाषणका कारण काठमाडौँमा सनसनी मच्चियो। गंगालाल भूमिगत भए। शास्त्रीलाई भने भोलिपल्ट (१४ मंसिर १९९५) पक्राउ गरियो। उनलाई तीन वर्ष (३६ महिना) कैद सजाय तोकियो। 

उनी जेलमा रहेकै बेला पर्चा पर्व भयो। दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाका साथ शुक्रराज शास्त्रीलाई मृत्युदण्डको सजाय सुनाइयो। ब्राम्हण भएकाले टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा र गोविन्दप्रसाद उपाध्यायलाई चार पाटा मुडेर आजन्म कारावासको सजाय तोकियो। 

ब्राम्हण भएकाले मृत्युदण्डको साटो चार पाटा मुडी कैदको सजाय दिइएका बायाँतर्फ टंकप्रसाद आचार्य (बायाँ) र रामहरि शर्मा (दायाँ), दायाँतर्फ गोविन्दप्रसाद उपाध्याय र चुडाप्रसाद शर्मा। तस्बिर स्रोत : मनोज मनुज) 

‘२६ महिना सजाय भोगिसकेका शुक्रराज शास्त्रीलाई १० महिनापछि छाड्नुपर्नेमा ज्यान सजाय तोकियो,’ डा. गौतमले उपरोक्त पुस्तकमा प्रश्न गरेका छन्, ‘तीन वर्षको सजायलाई नपुग ठानी २६ महिनापछि ज्यान सजाय दिनु– योभन्दा बढी नृशंसता के हुन सक्छ?’ 

शास्त्रीलाई मृत्युदण्ड : गान्धीसँगको भेटको परिणाम 
शास्त्री १४ मंसिर (१९९५) मा पक्राउ परेका थिए। राणा शासन विरुद्ध १९९७ असार–भदौमा प्रजा परिषदले पर्चा छर्दा उनी जेलमै थिए। जेल पर्नुअघि पनि प्रजा परिषदसँग शास्त्रीको कुनै सम्बन्ध थिएन। तर उनको संलग्नता नरहेको त्यही पर्चा पर्वसँग जोडेर श्री ३ जुद्धले शास्त्रीलाई समेत मृत्युदण्डको सजाय दिए।  

‘पर्चा पर्व’ मा पक्राउ परी सर्वस्वसहित आजन्मकैदको सजाय पाएका लौहपुरुष गणेशमान सिंहका अनुसार पर्चा पर्वका अभियुक्तहरुलाई सजाय सुनाउन सिंहदरबारमा आयोजित भारदारी सभामा श्री ३ जुद्धले ‘पर्चा पर्व’ को मुख्य दोषी शास्त्री भएको आरोप लगाएका थिए। 

आफ्नो आत्मकथा ‘मेरो कथाका पानाहरु’ (खण्ड १) मा सिंहले भनेका छन्, ‘सिंहदरबारमा त्यसदिन (सजाय सुनाउन) ठूलो भारदारी सभा बसेको थियो, राणा शासनको इतिहासमा त्यसअघि त्यत्रो भारदारी सभा बसेको थिएन। भारदारीमा राणाका सबै भाइभतिजाका अतिरिक्त फौजतर्फका मेजरसम्म र सिभिलतिर मीरसुब्बासम्मका ओहोदावालहरुलाई उपस्थित गराइएको थियो। विशाल पटाङ्गिनीमा राणा भाइ भारदार र अरु भारदारसमेत रोल–दर्जा अनुसार पंक्तिबद्ध भएर बसेका थिए।’ 

‘भाइभारदारहरु हो! आज तिमीहरुलाई एउटा कुरा भन्न र तिमीहरुको त्यसमा राय के छ, त्यो सल्लाह लिन यहाँ भेला गराएका हौँ। हेर, मेरा सामुन्ने उभ्याइएका तिनीहरुलाई हेर। ती को हुन्, थाहा छ तिमीहरुलाई?’ भारदारी सभामा जुद्ध शमशेरले भनेका थिए, ‘यिनीहरु प्रजा परिषदका मानिसहरु हुन्। त्यो प्रजा परिषदको उदेश्य के रे भने हाम्रो शासन व्यवस्थालाई उल्टाएर आफ्नो हातमा शासन लिने, त्यो कसरी रे भने हिन्दुस्तानका निच जातका सोसलिस्टहरुसँग मिलेर, उनीहरुको सहयोग लिएर हाम्रो तख्ता पल्टाउने रे! यस्ता देशद्रोहीहरुलाई के गर्ने?’ 

सिंहका भनाइमा जुद्ध शमशेरले यति भनेपछि त्यहाँ स्तब्धता छायो, कोही बोलेनन्। यो निस्तब्धताका बीच जुद्ध शमशेर शुक्रराज शास्त्रीविरुद्ध केन्द्रित भए, ‘यी सबको बीउ छर्ने चाहिँ ऊ त्यो शुक्रराज भन्ने ज्यापु हो। त्यसले कसरी बीउ छर्यो भन्ने थाहा छ तिमीहरुलाई? हिन्दुस्तानको गान्धी भन्ने एकजना छ नि! हो, त्यसैको लहैलहैमा लागेर, त्यसैसँग सल्लाह–साउती गरेर यहाँ त्यसको बीउ छर्ने त्यही ज्यापु हो।’ 

गान्धी–शास्त्रीबीच भेटका कारण श्री ३ जुद्ध आक्रोशित छँदै थिए। त्यसबाहेक भारतीय पत्रिका ‘जनता’ मा राणा शासनविरुद्ध नियमित रुपमा समाचार प्रकाशित हुन थाले। पर्चापर्वसँगै राणा शासकहरुविरुद्ध समाचार प्रकाशित हुन थालेका थिए, जसले श्री ३ जुद्धलाई थप आक्रोशित बनायो। 

प्रजा परिषदको इतिहाससम्बन्धी उपरोक्त पुस्तकमा डा. गौतमले उल्लेख गरेअनुसार डगमगाएका श्री ३ जुद्धले आफ्नाविरुद्ध समाचार प्रकाशित हुन नदिन अनेक स्रोत परिचालन गरे। छोरा बहादुर शमशेरमार्फत् ‘जनता’ का सम्पादक रामवृक्ष बेनीपुरीलाई ५० हजार रुपैयाँ घुससमेत दिन खोजे, ताकि आफूविरुद्धका समाचार रोक्न सकियोस् र समाचार दिनेको पहिचान पनि गर्न सकियोस्। 

भाइभारदारहरुका साथ जुद्ध शमशेर (स्रोत : ‘भिन्टेज नेपाल’ को ट्विटर ह्यान्डल)

तर, सम्पादक बेनीपुरीले पत्रकारिताको धर्म त्यागेनन्। बेनीपुरीलाई किन्ने जुद्ध शमशेरको प्रयास असफल भयो। 

त्यसबाट जुद्ध शमशेर झन् रिसाए। त्यसपछि आफ्ना विरुद्ध समाचार प्रकाशित हुनुको दोष पनि उनले जेलमा रहेका शास्त्रीलाई नै दिए। जबकि कालकोठरी सरहको जेलमा रहेका शास्त्रीले त्यसरी भारतमा समाचार पठाउनु असम्भवप्राय थियो। 

शासकको बोली नै कानुन बन्ने समय थियो त्यो। राणा शासकको बोलीविरुद्ध कसैले प्रश्न उठाउन सक्दैनथ्यो। यही स्थितिको फाइदा उठाउँदै ‘पर्चा पर्व’ मा मुख्य भूमिका शास्त्रीको रहेको ठहर भारदारी सभामा श्री ३ जुद्धले गरे।  

‘शुक्रराजले जेलमा बसी विदेशी अखबारमा सरकारको बदनामी हुने खबर छपाउन लगाउने र सिधासादा दुनिञालाई भड्काई राजा रैयतमा असन्तोष फैलाउने आन्दोलन मचाउन लागेकाले यसै अवस्थामा निज शुक्रराजको संगति ली नेपालका नवयुवकहरुले राजद्रोही लेखहरु छपाउने, बेनामी लेख टाँसने, प्रजा परिषद एवं रक्तपात कमिटीको नामबाट गुप्त संस्था खडा गरी प्राइमिनिस्टर लगायत राणावंशीहरुको द्वेष गरी जथाभावी लेख चिठ्ठीपत्रहरु पठाउने र पर्चा समेत छर्ने इत्यादि उपद्रव गर्न लागेकोले...जम्मा भएका सबैले अ‍ैन बमोजिम नै सजाय हुनुपर्छ भनी मिटिङ पास भएकोले अपराधीहरुलाई अपराध अनुसार अ‍ैन बमोजिम सजाय भयो।’ (सिद्धिचरण श्रेष्ठको ‘जेल संस्मरण’ बाट) 

मृत्युदण्डको सजायअघिको भाषणमा जुद्धले आफूबाट शास्त्रीले १५ सय रुपैयाँ बकस पाएको दाबी पनि गरेका थिए। उनका भनाइमा १९९४ मा भएको औद्योगिक प्रदर्शनीमा शास्त्रीले ‘ब्रम्हासूत्र शाङ्कर भाष्य’ पुस्तक (पूर्वाद्र्ध भाग) आफूलाई चढाएपछि उनलाई सो रकम बकस दिएका थिए। सो पुस्तकको उत्तराद्र्ध भाग छाप्न आफूबाट खर्च लिई २–३ महिनाको विदा लिई शास्त्री कलकत्ता गएको उनको भनाइ थियो।  

पुस्तक छाप्न भनेर रकम लिई कलकत्ता गएका शास्त्रीको गान्धीसँग भएको भेटप्रति कति आक्रोशित रहेछन् भन्ने कुरा श्री ३ जुद्धले सो भारदारी सभामा खोलेका थिए। 

‘त्यो खर्चले किताब नछपाई पैल्हा छापियाको पूर्वाद्र्ध किताबहरु ली महात्मा गान्धीसँग भेट गर्न जाँदा उन्ले जसतसलाई भेट नदिने हुनाले सो किताब चढाउने भान पारी ‘नेपालको शास्त्री हुँ भनी भेट गर्न गएको...महात्माजीको अनुग्रह भए यो किताब असल छ भन्ने सर्टिफिकेट पाया किताब धेरै बिक्री हुँदो हो, धेरैले पढ्दा हुन्’ भनी जोर गर्दा (गान्धीले) ‘मैले संस्कृत जानेको छैन, नजानेको कुरा यो यस्तो हो भनी सर्टिफिकेट दिन हुँदैन’ भनी जवाफ दियेपछि– नेपाल विषयको असल कुरा एक नगरी केवल बदखुवायी मात्र गरी ‘प्रजालाई हरएक कुराबाट दुख छ’ भन्ने अनेक कुरा देखाई बहुत जोर दि कुरा गर्दा महात्माजीले ‘यो (नेपाल) हिन्दुराज्य हो, तेस्मा हामीले हात हाल्नु हुँदैन, त्यहाँका प्रजालाई दुख र यहाँ (भारत) का प्रजालाई सुख हुनै नसक्ने कुरा हो’ भन्दा पनि ‘प्रजालाई दुखै छ’ भनी जीकिर गरेको, सो जीकिरमा केही जवाफ नदी महात्मा गान्धीले ‘अ‍ैले जाउ’ भनी जवाफ दिएको।’ 

गान्धीले आफ्ना सेक्रेटरी महादेव देसाइमार्फत समेत शास्त्रीलाई नकरात्मक जवाफ दिएका थिए। त्यसपछि शास्त्रीले जवाहरलाल नेहरुलाई भेट्न खोजेका, तर नेहरुले समेत शास्त्रीलाई भेट नदिएको आफ्नो त्यसदिनको भारदारी सभामा श्री ३ जुद्धले उल्लेख गरेका थिए। 

त्यसपछि निराश भएर फेरि नोकरी गर्न शास्त्री काठमाडौँ फर्केको दाबी पनि उनको थियो। 

‘यसतालाई खाली जागिर मात्र खोसेको थिञे, पछि मुखत्यार प्रधानमन्त्रीले गर्न नसक्ने काम नेपालमा इन्द्रचोकमा मानिस जम्बा गरी मानिसलाई भड्काउने स्पीच गर्यो र ३ वर्षको जेल (सजाय) दिञे, यो पनी नरमै सजाय दिएको हुँ’ उनले भनेका थिए, ‘यो जेल गयेपछि छापामा ‘पैल्हे गीता सुनाउनेलाई कैद गरे’ भन्ने छापियो, तहाँदेखी अनेकन् तिमीहरुलाई थाहा छँदैछ। अब यस्तालाई नरम सजाय दि राखनको हाम्रो मनसाय भएन।’ 

यही सम्बोधनका साथ दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। चार जनाले पाएको त्यो मृत्युदण्ड सजायको कार्यान्वयन शास्त्रीबाट सुरु भयो, १० माघ १९९७ मा। 

यसरी गान्धीसँगको त्यो भेटले शास्त्रीलाई मृत्युको मुखमा पुर्यायो।

सहिदको थप कथा अर्काइभबाट : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .