चिटिक्क परेको सहर धरान। सिंगो गाउँ नै परिवारजस्तो लाग्ने समय। खेतीकिसानीसँगै सानोतिनो व्यापार गर्ने बाबु, घरगृहस्थीमै व्यस्त आमा। विमान परिचारिका प्रजिता कार्कीको बाल्यकाल निक्कै सुन्दर तरिकाले बितेको हो।
सञ्चारमाध्यमका रुपमा हरेक घरमा रेडियो मात्रै थियो। टेलिभिजन कसैकसैका घरमा मात्रै हुन्थ्यो। साँझ ७ बजेको समाचार प्रजिताका बुबाहरु ध्यान दिएर सुन्थे।
प्रजिता अहिले सम्झिन्छिन्, ‘त्यो बेला मानिसहरु खुसी थिए।’
स्कुल जीवनमा प्रजिता मध्यमस्तरको विद्यार्थी थिइन्। उनको सपना सानैबाट समाज सेवा गर्ने थियो। भन्थिन्, ‘म ठूलो भएपछि सोसल वर्कर हुन्छु।’
उनकी आमा प्रश्न गर्थिन्, ‘छोरी सोसल वर्कर भनेको के हो?’
प्रजिताको जवाफ हुन्थ्यो, ‘सबैलाई हेल्प गर्ने हो क्या आमा!’
मदर टेरेसाबाट प्रभावित प्रजितालाई लाग्थ्यो, ‘अरुको सेवा गर्न त नर्स हुनु पर्ने रहेछ।
प्लस टुपछि विमान परिचारिका
प्रजिताले प्लस टुसम्मको पढाइ धरानबाटै सकिन्। त्यतिबेला काठमाडौँबाहिरका अधिकांश मान्छेको सपना हुन्थ्यो, काठमाडौं आएर पढ्ने। प्रजिता पनि बीए पढ्न काठमाडौं आइन्। त्यही समय नेपाल एयरलाइन्सले विमान परिचारिकाका लागि विज्ञापन खुलायो। प्रजिताले आवेदन दिइन्। उनको नाम छनौट भयो। त्यसपछि सुरु भयो प्रजिताको उडान यात्रा।
धरानबाट रात्री बस चढेर आएकी प्रजिता विमान परिचारिका भएपछि पहिलो पटक जहाज चढिन्। उनको पहिलो जहाज यात्रा काठमाडौंदेखि विराटनगरसम्मको थियो। विमानले भुइँ छाडेपछि बल्ल उनलाई लाग्यो, म त काम गर्न थालेछु।
प्रजिताले एयरहोस्टेसको काम सुरु गर्दा उनका बुबा खुसी थिएनन्। बुबाले भनेका थिए, ‘आफ्नो पढाइ अगाडि बढाऊ। काम त पछि पनि पाइन्छ।’
त्यतिबेला एयरहोस्टेसको पेसालाई त्यति राम्रो मानिँदैनथ्यो।
६ महिनापछि उनले अन्तर्राष्ट्रिय उडानका लागि तालिम लिइन्। त्यसपछि सुरु भयो उनको अन्तर्राष्ट्रिय उडान। हरेक साताको फरकफरक देशको उडान मार्फत विभिन्न देशमा पुगेकी प्रजिताको मन यसैमा रमायो।
भन्छिन्, ‘भर्खरै सपना देख्ने उमेरमा एकै छिनमा जापान पुगेको छ। केही दिनमै हङकङ पुगेको छ। सातापन्ध्र दिनमा देश फेरीफेरी घुम्न पाएको छ। त्यो जेनेरेसनको मान्छेका लागि अर्को सपना नै नहुने रहेछ। मैले पनि अर्को सपना बनाउनै सकिनँ। उडानमै अलमलिएँ।’
अनि बिहे
नेपाल एयरलाइन्समा काम गर्दागर्दै प्रजिताको भेट चितवनका प्रकाश ज्ञवालीसँग भयो। त्यतिबेला उनी बंगलादेशमा एमडी गर्दै थिए। प्रजिता र प्रकाशको भेट साथीमार्फत भएको थियो। यो भेटपछि उनीहरु प्रेममा परे। प्रजिता विभिन्न देशको यात्रामा हुन्थिन्। उनका प्रेमी बंगलादेशमा थिए। त्यतिबेला नेपाल एयरलायन्सको उडान बंगलादेशमा थिएन।
उनलाई लाग्थ्यो, ‘आकाशमा उड्दै गरेको बेला जहाजमा केही भएर एकैछिन बंगलादेशमा रोके पनि हुन्थ्यो नि!’
४ वर्षपछि प्रकाश पढाइ सकेर नेपाल फर्किए।
प्रकाश बाहुन, प्रजिता क्षेत्रीकी छोरी। यही जात उनीहरुको प्रेममा तगारो बन्ने देखियो। जब उनीहरुले आफ्नो प्रेमका बारेमा घरमा भने, तब कुरा जातमा अल्झियो। अहिले फर्किएर हेर्दा प्रजितालाई लाग्छ, ‘हाम्रो समाज त समस्या नै नभएको कुरालाई समस्या मानेर अल्झिरहेको रहेछ।’
प्रेम गरेको मान्छेसँग विवाह गर्न नपाउने अवस्था आएपछि प्रजिता कामबाट बिदा लिएर अमेरिका गइन्। उनी अमेरिका गएको केही समयमै प्रेमीसँगै विवाह गर्दिने सर्तमा घरबाट बोलाए। प्रजिता नेपाल फर्किन्। त्यसपछि उनीहरुले ४ वर्षको प्रेमलाई विवाहमा परिणत गरे।
प्रजिताका श्रीमान् डाक्टर, प्रजिता विमान परिचारिका, घरका अन्य सदस्य पनि निकै समझदार। विवाहपछि पनि प्रजिताको दैनिकी खासै परिवर्तन भएन। आफूले गर्नुपर्ने कर्तव्य हरेकले आफ्नै तरिकाबाट पुरा गर्थे। प्रकाशलाई त प्रजिताको काम असाध्यै मन पथ्र्यो। त्यसैले पछि त्यो बेलाका धेरै छोरीहरुले झैँ प्रजिताले विवाहपछि पेसाबाट पलायन हुन परेन।
बिहे गरेको २ वर्षमा आमा
प्रकाश पढाइ सकेर भर्खर स्वदेश फर्किएका। विवाहको केही समयसम्म यो जोडीले आ–आफ्नो करिअरलाई नै समय दिने निर्णय गर्यो। बिहे गरेको केही समयमै आफन्तले बच्चा जन्माउन सुझाउन थालिसकेका थिए। विमानमा धेरै उडिरहनेको बच्चा हुँदैन भन्ने कथन पनि थियो। तर प्रजिताले हतार गरिनन्।
प्रजिता भन्छिन्, ‘आमा बन्ने भनेको सानो कुरा होइन। मानसिक तथा शारीरिक दुवै हिसाबले तयार हुनु पर्यो। मलाई आमा बन्छु भनेर आफूलाई तयार पार्न २ वर्ष लाग्यो।’
गर्भवती भएपछि प्रजिता बिदामा बसिन्। आफन्त सबै भेट्न आउँथे। खान मन लागेको कुरा सोध्थे। उनलाई आफू निकै महत्वपूर्ण रहेछु भन्ने महसुस हुन्थ्यो। कामबाट पनि बिदा लिएकाले प्रजिताले सम्पूर्ण समय आफ्ना लागि खर्च गरिन्। कामको व्यस्तताले जान नपाएको आफन्तको घरमा पुगिन्। नभेटेका नातेदार भेटिन्। केही समय निकै सुन्दर तरिकाले बित्यो।
समय बित्दैजाँदा प्रजिताको मन कमलो हुँदै गयो। चिटिक्क परेको शरीर मोटो र भद्दा हुँदै गयो। हर्मोनमा गडबडी हुन थालेपछि सुरु भयो उनको पट्यार लाग्दो दिन। उनी सानै कुरामा रुन्थिन्। मान्छेका अगाडि जान अप्ठ्यारो मान्न थालिन्।
भन्छिन्, ‘गर्भावस्थाको एक बिन्दुमा म निकै डिप्रेस्ड भएको थिएँ।’
त्यो समय उनले काउन्सिलिङ पनि गराइन्। डाक्टरले उनलाई भन्थे, ‘गर्भावस्थामा तपाईंलाई मात्रै होइन, सबैलाई यस्तै हुन्छ। यही त हो नि रमाइलो। यसमा त तपाईंले इन्जोय पो गर्नु पर्छ।’
डाक्टरकै सल्लाहमा प्रजिताले आफ्नो गर्भावस्थाको तस्बिर खिचिन्। त्यसैमा रमाउन थालिन। उनी बिस्तारै बानी पर्दै गइन्।
यो बेला उनलाई श्रीमानले भावनात्मक रुपमा बलियो साथ दिए। उनी रुँदा सम्झाए। डराउँदै यस्तै हो, केही हुँदैन भनेर आँट दिए। उनको मुड अनुसारको कुरा गरिदिए। रिसमा झिजो मानिदिएनन्। प्रजितालाई अहिले फर्किएर हेर्दा लाग्छ, ‘म भाग्यमानी श्रीमती हुँ।’ सासूले पनि राम्रो साथ र हेरचाह दिइन्। मलाई यस्तो गाह्रो भएको छ ममी भन्दा उनकी सासू आफ्नो समयको उदाहरण दिएर सम्झाउँथिन्।
प्रजितालाई छोरीको रहर थियो। उनी सपना पनि छोरीकै देख्थिन्। उनले आफ्नी छोरी जन्मियोस् भनेर कामना नै गरेकी थिइन्। त्यहीबेला प्रहरी कार्यालयभित्रै महिला प्रहरी बलात्कृत भएको खबर सार्वजनिक भयो। प्रजितालाई निकै गाह्रो भयो।
भन्छिन्, ‘छोरी हुनु त राम्रो होइन रहेछ। मेरो छोरी जन्मियो भने के गर्ने भन्ने लागेर एक हप्तासम्म रोएँ।’
त्यही घटनाले प्रजिताको छोरीको रहर सकियो। उनी छोराको कामना गर्न थालिन्।
समय नपुगी अप्रेसन
गर्भावस्थाको समयमा प्रजिताले थुप्रै पटक अस्पताल बस्नु पर्यो। उनले डा. चन्दा कार्कीसँग नियमित चेकअप गराएकी थिइन्। डाक्टरले दिएको डेलिभरी डेट आउनुभन्दा अघि नै प्रजितालाई एन्जाइटी भयो। उनी डराउन थालिन्। सास फेर्न गाह्रो हुन थाल्यो। उनको सास अड्किन्थ्यो। बच्चाको पनि सास अड्कियो भनेर रुन्थिन्। डराउँथिन्। त्यसपछि डाक्टरको सल्लाहमा ३६ हप्तामै अप्रेसन गरेर उनको छोरा निकालियो।
प्रजितालाई सानैबाट सबैले काली भनेर बोलाउँथे। उनलाई आफ्नो कालो रङसँग नमिठो अनुभव थियो। अप्रेसनपछि प्रजिताको आधा होस आएको थियो। उनका श्रीमानले नजिकै आएर भने, ‘बच्चा हेर्छौ? हाम्रो छोरा छ।’
प्रजिताले बेहोसीमै प्रश्न गरिन्, ‘कालो छ कि गोरो छ?’
उनका श्रीमान् पछिसम्म उनलाई यही कुरालाई लिएर जिस्काइरहन्थे।
बच्चा भएपछि सबैको ध्यान बच्चामा गयो। सबैले बच्चालाई महत्व दिन्थे। पहिलापहिला अफिसबाट आएपछि उनलाई खोज्ने श्रीमान् छोरा खोज्न, बोल्न थाले। प्रजिताले आफू फाल्तु हुन थालेको महसुस गरिन्। यही कुरामा उनी रुन्थिन्। उनका श्रीमान सम्झाउँथे, ‘तिमी आफ्नो बच्चासँग पनि यस्तो गर्छौ!’
पुराना दिन सम्झँदै प्रजिता भन्छिन्, ‘बच्चा जन्मिएपछि आमाहरुको अर्कै कथा सुरु हुने रहेछ। मेरो बच्चा विशेष हो भन्ने थाहा हुँदाहुँदै पनि त्यो समय मन नै त्यस्तै बनेको हुने रहेछ। मन भारी हुने, गाह्रो महसुस हुने रहेछ।’
सुत्केरी भएपछि पनि मोटोपन घटेको थिएन। उनलाई बाहिर निस्कन मन लाग्थ्यो। श्रीमानलाई बाहिर लिएर जानु भन्थिन्। उनका श्रीमान घरमै बसेर आराम गर्न भन्थे। यही कुरामा प्रजिताको मन दुख्थ्यो।
उनी भन्थिन्, ‘म मोटो भएर, म नराम्री भएर सँगै नहिँड्नु भएको।’
उनका श्रीमान सम्झाउँथे। बिस्तारै छोरो हाँस्ने, हातखुट्टा चलाउने हुँदै गएपछि प्रजिताको यो समस्या पनि समाधान हुँदै गयो।
६ महिनाको छोरो छोडेर काममा
प्रजिता छोरो ६ महिनाको भएपछि काममा फर्किन्। दिल्ली लगायतका छोटा उडान गर्ने र साँझ घर फर्किने क्रम सुरु भयो। काममा फर्किएको निकै समय प्रजितालाई गाह्रो भयो।
भन्छिन्, ‘दुधे बच्चा घरमा छोडेर काममा निस्कँदा मन र शरीर दुवै आत्तिने रहेछ। दूध खुवाउँदै गरेको आमालाई बच्चालाई दूध चुसाउन नपाउँदाको पीडा अर्कै हुन्छ। मलाई लाग्छ यो दुखाई हरेक आमाको उस्तै हो।’
घरमा छोरो बोतलको दूध खान्थ्यो। प्रजिता उसको खाना मसँग छ भनेर रुन्थिन्। छाती चस्किएर दुख्थ्यो। त्यो पीडा व्यक्त गर्ने शब्द उनीसँग छैन। समय बित्दै गएपछि प्रजिताको उडानको दुरी पनि बढ्न थाल्यो। घरबाट निस्कदा आ... मात्रै उच्चारण गर्ने छोरा फर्किएर आउँदा आमा भनिसक्थे। छोराले पुरै आमा उच्चारण गर्न गरेको संघर्ष, पहिलो पटक आमा भन्दाको खुसी सबै प्रजिताले हेर्न पाइनन्।
कहिलेकाहीँ उनका छोरा काखमा निदाइरहेका हुन्थे। एयरलायन्सको गाडी आउँथ्यो। छोरो श्रीमानको काखमा दिएर काममा निस्कन्थिन्। कहिले बिरामी भएको हुन्थ्यो। त्यो बेला प्रजितालाई लाग्थ्यो, ‘कस्तो निष्ठुरी, दह्रो मन भएको मान्छे होला म?’
बिस्तारै छोरा हुर्कंदै गए। बोल्न थाले। दौडन थाले। प्रजिताले पनि उडानको पुरानै गति समातिन्।
नेपालको आकाश आज मात्रै होइन हिजो पनि सुरक्षित थिएन। साना ठूला विमान दुर्घटना भैरहन्थे। छोरो जन्मिनुअघि विमान दुर्घटनाका खबरले दुःख लाग्थ्यो, सकिन्थ्यो। छोरो जन्मिएपछि भने उनले त्यो ठाउँमा आफूलाई राखेर हेर्न थालिन्। छोरो सम्झिन थालिन्। मलाई पनि केही भयो भने मेरोलाई के होला भन्ने पीरले सताउँथ्यो।
उनको छोरो ९ महिनाको भएका थिए। बैंककबाट नेपाल फर्किँदै गरेको विमान एकाएक काठमाडौंको अध्यारो आकाशमा हरायो। घाम देखिएन। विमानमा रहेका यात्रु, चालक दलका सदस्य सबै रुन थाले। प्रजिता एउटा कुनामा बसेर छोराको फोटो छातीमा टाँसेर रोइन्। त्यतिबेला विमानमा भएका अधिकांश महिला आफ्ना बच्चा सम्झिरहेका थिए। प्रजितालाई लाग्यो, ‘सामान्य मान्छे हुनु र आमा हुनु कत्ति फरक रहेछ!’
तर त्यो दिन कुनै घटना भएन। यो बाहेक आफैँ उडेको विमानमा यो खालको अप्ठेरो प्रजिताले भोग्नु परेको छैन।
प्रजिताले बच्चालाई धेरै समय दिन पाइनन्। तर घर र माइती दुवैतिर आमा थिए। दुवै जनाले नातिको विशेष ख्याल राख्थे। प्रजितालाई छोरा हुर्काउन गाह्रो भएन। तर छोरो हुर्कंदा छुटेका थुप्रै क्षणहरुले भने कताकता नमिठो लाग्छ। अब त उनका छोरा १२ वर्षका भए। स्कुल पढ्छन्। संयुक्त परिवारमा हुर्किएकाले पनि उनी सबैसँग घुलमिल हुन्छन्। प्रजितालाई आफ्नो छोरा यही बनोस् भन्ने छैन। तर उसले जीवन बुझोस्, पाएका कुरामा गर्व गरेर बाँचोस् भन्ने लाग्छ।
हिजोआज प्रजिताको दैनिकी फेरिएको छ। कोरोनाकालमा गरेको मर्दी हिमालको ट्रेकले उनको जीवनको सूत्र नै परिवर्तन गरिदिएको छ। मर्दी हिमालको ट्रेकका क्रममा प्रजिताले देखेको आफ्नो देश अरु छोरीहरुलाई पनि देखाउनु पर्छ भन्ने महसुस गरिन्। त्यसपछि उनले ४० जना फरकफरक क्षेत्रका महिलालाई लिएर कालापत्थरसम्मको यात्रा गरिन्। यो यात्रालाई हरेक वर्ष निरन्तरता दिने उनको योजना छ। यो यात्रामा, देखियो जलवायु परिवर्तनले पारेको असर। प्रजिताले साथसाथै नामको संस्था सुरु गरिन्। संस्था मार्फत यो यात्रालाई अभियानकै रुपमा अगाडि बढाएकी प्रजिता विमान परिचारिकाबाट अभियन्ताका रुपमा स्थापित भैसकेकी छिन्।
जलवायु परिवर्तनले महिलाको जीवनमा पारेको असरका बारेमा जनचेतना फैलाउन विभिन्न अभियान उनले चलाइरहेकी छन्। हरेक प्रदेशमा पुगेर उनी आफ्नो संस्थामार्फत महिलाहरुलाई जलवायु परिवर्तनको असर बुझाउने कोसिस गरिरहेकी छन्। कार्यक्रमहरुमा समय मिलेसम्म उनी छोरालाई लिएर जान्छिन्। यसबाट उनको छोरा पनि खुसी हुन्छन्।
प्रतिक्रिया