ad ad

म्यागेजिन


पर्दापछाडिकी सविता : जसको ६३ वर्ष लामो साथले रामचन्द्र शीतलनिवास पुगे

पर्दापछाडिकी सविता : जसको ६३ वर्ष लामो साथले रामचन्द्र शीतलनिवास पुगे

राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना दिन आएकाहरुको आतिथ्यसत्कारमा कमी नहोस् भन्नेमा सतर्क देखिन्थिन् श्रीमती सविता (तस्बिरः विशाल कार्की)


समृद्धा केसी
फागुन २९, २०७९ सोमबार १९:५६, काठमाडौँ

‘के छ यो झोलामा?’ 

गेटमा तैनाथ सुरक्षाकर्मीले तीन जना महिलालाई उनीहरुको झोलातर्फ इसारा गर्दै सोधे।

आइतबार, घडीले दुई बजाउनै लाग्दा काठमाडौं बोहराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा शुभकामना दिनेको घुइँचो थियो। तगारोदेखि भुइँतलासम्म हातमा माला र खादा बोकेर पर्खिरहेका थिए शुुभचिन्तकहरु।

‘एयरपोर्टबाट सोझै आएका। झोलामा कपडा र दाइलाई केही सगुन ल्याइदिएका थियौँ,’ एक महिलाले भनिन्।

‘भित्र लान पाइँदैन’ भन्दै सुरक्षाकर्मीले केरकार गरिरहेका बेला त्यहीँ आइपुगिन् राष्ट्रपति पत्नी सविता पौडेल। राष्ट्रपति निर्वाचन भएको चौथो दिनसम्म पनि घरमा उस्तै घुइँचो देखिन्थ्यो।

हर्षविभोर देखिएकी सवितालाई चटारो थियो। शुभकामना दिन आएकाहरुको आतिथ्यसत्कारमा कमी नहोस् भन्नेमा उनी सतर्क देखिन्थिन्। उसो त घरमा आउने पार्टीका कार्यकर्ता र अग्रजलाई उनले यसरी नै सेवा गरेको दशकौँ बितिसक्यो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बने। तर उमेरले देउवाभन्दा जेठा रामचन्द्र पौडेल सभामुख र पटकपटक मन्त्री बने पनि देशको प्रमुख कार्यकारी पदमा कहिल्यै पुग्न सकेनन्। न त उनले सभापति बनेर नेपाली कांग्रेसजस्तो पुरानो ठूलो पार्टीको बागडोर सम्हाल्न नै पाए। सुशील कोइरालापछि पार्टीको नेतृत्व लिन खोजेका बेला पौडेललाई देउवाले उछिने।

कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका पौडेल १७ पटकसम्म मतदान हुँदा पनि पराजित भएको भन्दै पछिल्लो समय निरन्तर ठट्टाका पात्र बनिरहे। 

२०६७ साउनमा १७ पटकको मतदानमा प्रधानमन्त्रीमा पराजित भएपछि उनी एकदमै हतास र निराश बनेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आइरहन्थे। 

कतिसम्म भने राजनीतिमा ६ दशकभन्दा बढी समय व्यतीत गरेका उनी त्यसबेला राजनीतिबाटै विमुख हुनेसम्मको सोचमा पुगेका थिए। सविताकै ओजिलो साथका कारण पौडेल निराशाको तलाउबाट त्यसबेला बाहिर निस्केको पनि भन्ने गरिन्छ।

‘१७ पटक हारेको भनिन्छ। तर उहाँले उम्मेदवारी दिएको एक पटक हो र हारेको पनि। कसले १७ पटक जित्यो र उहाँले १७ पटक हार्नुभयो?’ सविता प्रश्न गर्छिन्।

प्रधानमन्त्रीमा १७ पटक हारेको भनी चौतर्फी आलोचना र मजाक चलिरहँदा पनि त्यसबेला सविताले रामचन्द्रलाई यसै भनेर सान्तवना दिएकी थिइन्। त्यसैले त रामचन्द्र राजनीतिबाट विमुख भएनन्, बरु सशक्त रुपमा अघि आए।

उनी रामचन्द्रका सफलताभन्दा असफलतासँग अझ बढी परिचित छिन्। हुन पनि रामचन्द्रको राजनीतिक जीवनमा सफलताभन्दा असफलताको चाङ ठूलो छ। तर सविताले कहिल्यै ती असफलतामा रामचन्द्रको साथ छोडिनन्, बरु ती असफलतासँग जुध्न प्रेरित गरिरहिन्, हौसला दिइ नै रहिन्। 

हरेक राजनीतिक चोटपटकमा मल्हमपट्टी लगाइरहिन् र त्यही साथ र हौसलाका कारण आज रामचन्द्र मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा शीतलनिवास पुग्न सफल भएका छन्।

सविता बालसखाका रुपमा रामचन्द्रको जीवनमा प्रवेश गरेकी थिइन् भन्दा अनुपयुक्त नहोला। किनभने त्यसबेला उनी जम्मा ११ वर्षकी थिइन्, जब उनका आमाबुबाले रामचन्द्रसँग विवाह गरिदिए।

भिडिओ : विशाल कार्की

‘त्यसबेला छोरीलाई महिनावारी हुनुअघि नै अन्माइदिनुपर्छ भन्ने चलन  थियो,’ उनले नेपालखबरसँग भनिन्। 

हाँसखेल गर्ने उमेरमा बुहारी बनेर पौडेल परिवारमा पुगेपछि सुरुमा त उनलाई त्यहाँको रहनसहनमा घुलमिल हुन केही कठिन भयो। तर १५ वर्षका मात्रै भए पनि रामचन्द्र विद्यार्थी राजनीतिमा सक्रिय थिए, उनले सवितालाई साथीका रुपमा बुझिदिए, जसले उनलाई त्यहाँ घुलमिल हुन सहयोग भयो। 

६३ वर्षदेखि रामचन्द्रसँग सम्बन्धमा रहेकी सविताका सुरुवाती दिन त्यति सजिला भने थिएनन्। 

‘अब त ७० वर्ष पुगिसकेँ। त्यसबेला मात्रै ११ वर्षकी थिएँ, तर गुनासो केही छैन, सुखी नै छु,’ रामचन्द्रको उतारचढावपूर्ण जीवन र असफलताहरुको साक्षी रहेकी उनी भन्छिन्, ‘अरुले १४ वर्ष भने पनि उहाँ पटकपटक गरी १६ वर्ष जेल बस्नुभयो। त्यसबेला मैले पाँच छोराछोरीलाई एक्लै हुर्काएँ, बुबाको अभाव हुन दिइनँ।’ 

राजनीतिमा बिदा भन्ने शब्द नै नहुने अनुभव उनको छ। छुट्टीको दिनमा परिवार घुम्न जाने, रमाइलो गर्ने कहिल्यै भएन। बरु राजनीति गरेकै कारण कतिबेला के हुन्छ, कतिबेला प्रहरीले पक्राउ गर्छ भन्ने त्रासमै जवानी बितेको उनले सुनाइन्।

‘जेठी छोरी जन्मेको चार वर्षपछि मात्र उहाँले छोरीलाई देख्न पाउनु भएको हो,’ उनले भनिन्, ‘राजनीति गर्नेको परिवार अरुको जस्तो सरल रेखामा नचल्दो रहेछ, सजिलाभन्दा अप्ठ्यारा दिन जीवनमा धेरै रहे।’

श्रीमान् राष्ट्रपति निर्वाचित भएको सुखमा उज्यालिएको अनुहारमा विरहका रेखा ल्याउँदै सविताले भनिन्, ‘पुलिसले कुटेर टाउको फोडिदिएका दिन पनि मैले देखेकी छु, हात भाँचिदिएर बिरामी भएपछि अस्पतालमा कुरेर बसेका दिन पनि मेरा छन्।’ 

२०४५ सालमा पौडेलको बुबाको मृत्यु भएको थियो। पितृशोकमा रहेका उनलाई किरिया बसेकै बेला तनहुँबाट प्रहरीले पक्राउ गर्यो।

‘यस्तो दुःख परेको बेला बिरामी पनि हुनुहुन्छ उहाँ भाग्नु हुन्न, आज बस्न दिनुस्, उहाँ भाग्नुहुन्न बरु तपाईहरु पनि यहीँ बस्नु भन्दा पनि सीडीओले लिएर आउनु भन्नुभको छ, हिँड्न नसक्ने भए बोकेरै लिएर जान्छौं भन्दै लिएर गए,’ विगत सम्झँदा उनी केही भावुक देखिइन्।  

त्यो बेलामा पौडेललाई गिरफ्तार गर्दा सारा गाउँ नै रोएको उनी सम्झन्छिन्।  

सविताले बुझेका रामचन्द्र कहिल्यै आफ्नो दुःख अरुलाई देखाउँदैन थिए। भित्रभित्रै दुखेर बाहिर सधैँ हँसिला देखिन्थे। रामचन्द्रको हँसिलो अनुहारमा च्यापिएका पीडाका धर्का आफूले देख्ने गरेको उनी बताउँछिन्।

‘धेरै कुरा पनि हुन्थेन, उहाँ त देशका लागि हिँडेको मान्छे, थाकेर घर फर्किनुहुन्थ्यो, हामी पनि केही भन्थेनौँ,’ सँगै भएर पनि सँगै हुन नपाएका दिन सम्झिँदै उनले भनिन्, ‘हाम्रो त परिवारभित्र बात मार्ने चलन छैन। उहाँ पनि व्यस्त थाकेर आउने, हामी पनि केही बोल्थेनौँ।’

पौडेलसँग पार्टी नेतृत्वका लागि गरेको संघर्षको परिणाम पनि मिठासपूर्ण छैन। उनले १३ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गरेका थिए। तर दुवैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भयो। 

दोस्रो चरणमा देउवा सभापतिमा चुनिए। १४ औँ महाधिवेशनमा पनि देउवा र पौडेल गुट कायम नै रहे। तर १४ औँ महाधिवेशनको अन्तिममा पौडेल तटस्थ बसे। २०७४ सालको सातौँ आम निर्वाचनमा गोविन्दराज जोशीसँगको तिक्ततापूर्ण सम्बन्धका कारण उनी पराजित समेत भए। 

यसरी हार र असफलताको मझधारमा उभिएर यहाँसम्म आइपुगेका पौडेललाई सबैभन्दा नजिकबाट देखेकी छिन् सविताले। राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्रमा आफूले देखेको खुसीबाट नै आफू आनन्दित हुने उनी बताउँछिन्। 

‘यो उहाँकै संघर्ष हो। अन्तिमसम्म भए पनि यहाँसम्म आइपुग्नु भयो, उहाँको मनलाई शान्ति मिलेको छ र हामी यसैमा खुसी छौँ,’ उनले भनिन्।

राष्ट्रपतिमा पौडेलको कार्यकाल सफल र स्मरणयोग्य हुने विश्वास समेत उनको छ। पौडेलले अहिलेसम्म देशका लागि गरेका सबै काम सफल भएको बताउँदै उनी अब गर्ने काम पनि सफल हुने आशा व्यक्त गर्छिन्।

रामचन्द्र राष्ट्रपतिमा निर्वाचित भएपछि उनी सबैभन्दा बढी आभारी देउवाप्रति देखिन्थिन्। प्रधानमन्त्री देउवासँग पारिवारिक सम्बन्ध रहेको बताउँदै उनी सम्बन्धमा उतारचढाव आए पनि दुवैले एकअर्काको राजनीतिक जीवनमा महत्वपूर्ण सहयोग गरेको बताउँछिन्।

‘पहिलेबाट उहाँ दुवै जना सँगै जेल बसेको, सँगै पढेको साथी, पछि राजनीतिक उतारचढावले कहिले कता कहिले कता भइयो होला तर उहाँ राष्ट्रपति हुँदा सबैभन्दा खुसी सभापतिज्यू हुनुभएको छ,’ सविताले भनिन्। 

रामचन्द्र राष्ट्रपति निर्वाचित भएको क्षण कस्तो अनुभूति भएको थियो भन्ने प्रश्नमा उनको सटिक जवाफ थियो, ‘उहाँलाई खुसी देखेरै मैले जीवनका सबै पीडाहरु बर्सिएँ नि। म बयान गर्न सक्दिनँ त्यो दिन कति खुसी थिएँ भनेर।’

रामचन्द्र राष्ट्रपति निर्वाचित भएपछि संसदमा रमाइलो दृश्य देखिएको थियो। रामचन्द्र, देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर लिने क्रममा देउवाले त्यहाँ सवितालाई पनि छुटाउन चाहेनन्।

‘त्यो निकै खुसीको क्षण थियो। संसदमा सबैले फोटो खिच्ने भन्दा उहाँले मलाई पनि त्यहाँ समेट्नुभयो,’ उन्मुक्त हाँसोका साथ उनले सुनाइन्। 

रामचन्द्रलाई पर्दापछाडिबाट सधैँ सघाएकी उनी आफैँ भने कहिल्यै सक्रिय रुपमा राजनीतिमा लागिनन्। रामचन्द्रलाई अगाडि बढाउन खेलेको भूमिकाबाट नै खुसी भएको उनी बताउँछिन्। 

‘उहाँ राजनीतिमा सक्रिय भएपछि उहाँलाई नै अघि बढाउन पछिपछि सहयोग त गर्नैपर्यो, तर खै कहिल्यै आफू सक्रिय रुपमा राजनीति गर्न मन लागेन,’ उनले भनिन्, ‘हामीले कहिल्यै उहाँलाई रोकेनौँ, बरु असफलतामा पनि साथ दियौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .