ad ad

म्यागेजिन


काठमाडौंबाटै गोप्य रूपमा बेइजिङ जान चाहन्थे हेनरी किसिन्जर, राजा महेन्द्रले दिएनन् स्वीकृति

काठमाडौंबाटै गोप्य रूपमा बेइजिङ जान चाहन्थे हेनरी किसिन्जर, राजा महेन्द्रले दिएनन् स्वीकृति

चितवनको टाइगर टप्स होटलमा अहमेत एर्तेगान (बायाँ), अमेरिकी राजदूत (पछिल्तिर) र परराष्ट्र मन्त्रालयका लियाजो (दायाँ) का साथ हेनरी किसिन्जर (फोटोः लिसा चोग्याल)


सीताराम बराल
जेठ १४, २०८० आइतबार ६:११, काठमाडौँ

अमेरिकी पूर्व विदेशमन्त्री नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जरको मृत्यु भएको छ। १०० वर्षीय किसिन्जरको अमेरिकाको कनेक्टिकटस्थित अफ्नै घरमा ३० नोभेम्बर २०२३ मा निधन भएको हो। अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका किसिन्जर अमेरिका–चीन सम्बन्ध सुधार गरेर शीतयुद्ध अन्त्य गर्ने कुटनीतिक पहलकर्ता थिए। हेनरी किसिन्जरको सम्झनामा उनको नेपाल नाता जोडिने यो स्टोरी नेपालखबरको अर्काइभबाट :

***
४ माघ २०४०। स्थान : शंकर होटल, लाजिम्पाट। कार्यक्रमस्थल : होटलको सभाकक्ष।

कार्यक्रम सुरु हुनुभन्दा एक–दुई घण्टाअघि नै सभाकक्षका कुर्सी सहभागीहरुले भरिइसकेका थिए। कुर्सी नभएको खाली ठाउँ पनि टनाटन भइसकेको थियो।

सभाकक्षबाहिर होटल परिसरको दृश्य उस्तै थियो– जताततै मानिस नै मानिस।

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषदका केही सदस्यहरु कार्यक्रमका प्रमुख वक्ताको सम्बोधन सुन्न शंकर होटल पुगेका थिए। ललितपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य केशरबहादुर विष्ट (पछि शिक्षामन्त्री) त त्यो भाषण रेकर्ड गर्न टेपरेकर्डर र क्यामरा बोकेर त्यहाँ पुगेका थिए।

‘अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा चासो राख्ने राजनीतिज्ञ, विश्वविद्यालयका प्राध्यापक, विदेशी नियोगका कूटनीतिज्ञ र बौद्धिकहरुले त्यो दिन शंकर होटल खचाखच थियो,’ पूर्वमन्त्री विष्टले सम्झे, ‘किनभने कार्यक्रमका वक्ता चानचुने व्यक्तित्व थिएनन्, डा. हेनरी किसिन्जर थिए।’  

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार, निक्सन दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि सेक्रेटरी अफ स्टेट अर्थात् अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाएका डा. किसिन्जरले राष्ट्रपति जेराल्ड फोर्डको कार्यकाल (सन् १९७३–७७) मा पनि विदेशमन्त्रीको जिम्मेवारी प्राप्त गरे।   

भियतनाम युद्ध अन्त्य गर्न निर्णायक भूमिका निर्वाह गरेबापत डा. किसिन्जरले सन् १९७३ मा नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए। वर्षाैंदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका चीन र अमेरिकाबीच सम्बन्ध स्थापना गर्न किसिन्जरको निर्णायक भूमिका थियो। 

विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हार्वर्ड युनिभर्सिटीका प्राध्यापक जेम्स के. सेवेनियस, हाल चीनका लागि अमेरिकी राजदूत आर निकोलस बर्न (जसले गत महिना नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँगै राष्ट्रपति सी चिनफिङसमक्ष ओहोदाको प्रमाण पेस गरे) र हार्वर्डकै ‘ल स्कुल’ का प्राध्यापक रोबर्ट एच. नुकिमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘किसिन्जर : द नेगोसिएटर’ (२०१८) मा उल्लेख भए अनुसार विश्व राजनीतिमा डा. किसिन्जरले पाँच महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका छन्।   

एक, स्ट्राटेजिक आर्म्स लिमिटेसन ट्रिटी– १ (साल्ट १ सन्धि) : शीतयुद्धकालका चिर प्रतिद्वन्द्वी महाशक्ति अमेरिका र सोभियत संघले लामो समयदेखि एकअर्काविरुद्ध प्रयोग गर्न विश्वभर करिब ३७ हजार आणविक हतियार तयारी हालतमा राखेका थिए। जुनसुकै बेला विश्वयुद्ध भड्किन सक्ने खतरा थियो। विश्वयुद्ध सुरु हुँदा ती आणविक हतियार प्रयोग हुन सक्थे, आणविक हतियार प्रयोगले विश्व ध्वस्त हुनसक्थ्यो। 

विश्वशान्तिका लागि खतराको रुपमा रहेका ती हतियारको संख्या कटौती गर्दै जाने योजना अनुसार सन् १९७३ मा साल्ट–१ सन्धि भयो, जसले आणविक हतियार निर्माणको होड र प्रयोगलाई निषेध गर्यो। सो सन्धि गराउन किसिन्जरकै निर्णायक भूमिका थियो।

दुई, मध्यपूर्वमा भड्किएको युद्ध अन्त्य : स्वेज नहरसम्बन्धी विवादका कारण अक्टोबर १९७३ मा इजिप्टले इजरायलमाथि आक्रमण गर्यो। मध्यपूर्वका मुस्लिम मुलुकहरुले घेरिएको इजरायलमाथिको आक्रमणमा अन्य अरब मुलुकहरुले पनि साथ दिए। आक्रमणका कारण यहुदी बहुल इजरायलको अस्तित्व नामेट हुने स्थितिमा पुग्यो। अमेरिकाले तत्काल इजरायललाई सहयोग गरी उसको अस्तित्व नामेट हुन त जोगायो। तर, अरब मुलुकहरुलाई सहयोग गर्न सोभियत संघ तत्पर देखियो। 

अमेरिकाले इजरायललाई सहयोग गरिसकेको स्थितिमा सोभियत संघ अरब मुलुकहरुलाई सहयोग गर्न अगाडि आउने भएपछि फेरि विश्वयुद्धको खतरा मडारियो। परिस्थितिको गम्भीरता मध्यनजर गर्दै किसिन्जरले मध्यपूर्वमा युद्धविरामका लागि भूमिका खेले। युद्धविराम भयो। र, विश्व फेरि एकपटक सम्भावित विश्वयुद्धबाट जोगिन पुग्यो। 

तीन, रोडेसियामा सत्ता हस्तान्तरण : जिम्बाब्बे र जाम्बिया सन् १९७७ को दशकसम्म ‘रोडेसिया’ भन्ने छुट्टै मुलुकको रुपमा चिनिन्थे। त्यहाँका बहुसंख्यक जनता काला जातिका भए पनि शासन भने अल्पसंख्यक गोराहरुको थियो, जसलाई रोडेसियामा उपनिवेश कायम गरेको बेलायको भरथेख थियो। अल्पसंख्यक गोराहरुको शासनविरुद्ध रोडेसियाभित्र चलिरहेको आन्दोलनलाई सोभियत संघले साथ दिन थालेको थियो। 

अल्पसंख्यक गोराहरु बहुसंख्यक कालाहरुलाई शासन हस्तान्तरण गर्ने पक्षमा थिएनन्। यसले गर्दा त्यहाँ पनि सोभियत संघ र अमेरिका–बेलायतबीच टकरावको प्रबल सम्भावना थियो।   

किसिन्जरले परिस्थितिको संवेदनशीलता बुझे र घनिभूत वार्ता सुरु गरे। शासनमा रहेका अल्पसंख्यक गोराहरुलाई उनले परिस्थितिको संवेदनशीलता अवगत मात्र गराएनन्, रोडेसियाको स्वतन्त्र र बहुसंख्यकहरुलाई शासनसत्ता सुम्पिन सहमत गराए। किसिन्जरको बुद्धिमतापूर्ण भूमिकाका कारण रोडेसियाले स्वतन्त्रता पनि प्राप्त गर्यो, त्यहाँका बहुसंख्यक काला जातिहरुले स्वशासन पनि स्थापना गर्न सके। 

चार, भियतनाम युद्धको अन्त्य : सन् १९७५ को मध्य दशकसम्म भियतनाम उत्तरी र दक्षिण गरी दुई मुलुकमा विभाजित थियो। यो विभाजनको कारण पनि शीतयुद्ध थियो। उत्तरी भियतनाममा चीन–सोभियत संघ समर्थित सरकार थियो भने दक्षिण भियतनाममा अमेरिका समर्थित सत्ता। उत्तरी पक्ष भियतनाम एकताको पक्षमा थियो। एकता हुँदा भियतनाममा कम्युनिस्ट सत्ता स्थापना हुने भयका कारण अमेरिका आफैँ भियतनामको गृहयुद्धमा सामेल भएको थियो। 

तर, महाशक्तिहरुको संग्लनताका कारण भियतनाममा युद्ध टुंगिने छाँटकाँट थिएन। हजारौँ अमेरिकी सैनिकहरुले भियतनाम युद्धमा ज्यान गुमाएका थिए। यसले गर्दा अमेरिकामा जताततै निराशा र आक्रोश व्याप्त थियो। अमेरिका सम्मानजनक रुपमा भियतनाम युद्धबाट पछि हट्ने पक्षमा थियो। किसिन्जर नै थिए, जसले भियतनाम युद्ध अन्त्यका लागि निर्णायक भूमिका खेले। यही योगदानस्वरुप उनले सन् १९७३ को नोबेल पुरस्कार समेत प्राप्त गरे। 

पाँच, चीन–अमेरिका सम्बन्ध स्थापना : चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न (सन् १९४९) भए पनि चीन–अमेरिका सम्बन्धविच्छेद भयो। एकातिर सोभियत संघ र चीन दुवै विचारधारात्मक रुपमा कम्युनिस्ट मुलुक, अर्काेतिर चीन–अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध। यसले गर्दा विश्व राजनीतिमा अमेरिकाको हात तल पर्ने सम्भावना थियो। 

अर्काेतिर, भियतनाम युद्धमा चीनले उत्तर भियतनामलाई सहयोग गरेको थियो। चीनलाई विश्वासमा नलिइकन भियतनाम युद्धबाट अमेरिका सम्मानजनक रुपमा बाहिर निस्कनसक्ने स्थिति थिएन। 

यो स्थितिमा किसिन्जरले चीन–अमेरिका सम्बन्धको आवश्यकता देखे, राष्ट्रपति निक्सनलाई यसमा सहमत गराए। र, सम्बन्ध स्थापनाका लागि गोप्य रुपमा बेइजिङको भ्रमणसमेत गरे। उनको प्रयासले सफलता प्राप्त गर्यो। दुई दशकदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका चीन–अमेरिकाबीच मैत्री सम्बन्ध स्थापना भयो। र, यही भूमिकाले किसिन्जरलाई बीसौँ शताब्दीका महान् कूटनीतिज्ञको दर्जा दिलायो। 

तिनै किसिन्जरको प्रवचन सुन्न त्यसदिन काठमाडौँको बौद्धिक जमात लाजिम्पाटस्थित शंकर होटलमा ओइरिएको थियो।  

बीसौँ शताब्दीका तिनै महान् कूटनीतिज्ञ डा. किसिन्जरले शनिबार (१४ जेठ) आफ्नो जीवनको सय वर्ष पार गरेका छन्। अर्थात् शनिबार देखि उनी ‘शताब्दी पुरुष’ मा रुपान्तरित भएका छन्। 

तत्कालीन महाशक्ति राष्ट्रमध्येको एक युरोपेली मुलुक जर्मनीमा २७ मे १९२३ (१३ जेठ) मा किसिन्जरको जन्म भएको थियो। जर्मन शासक एडोल्फ हिटलरको विश्व विजेता बन्ने महत्वाकांक्षाका बीच जब युरोपेली आकाशमा फेरि युद्धको बादल मडारिन थाल्यो, त्यही बेला सुरक्षित गन्तव्यको खोजीमा किसिन्जरका बाबु–आमा सन् १९३८ मा अमेरिका बसाइँ सरेका थिए। 

जन्मभूमि जर्मनी भएकाले अमेरिकी कानुन अनुसार किसिन्जरले अमेरिकी राष्ट्रपति बन्ने अवसर पाएनन्। तर, शीतयुद्धकालमा अमेरिकाको श्रीवृद्धिमा किसिन्जरको भूमिका कुनै अमेरिकी राष्ट्रपतिको भन्दा कम रहेन। विश्व राजनीतिमा डा. किसिन्जरको सबैभन्दा बढी स्मरण चीन–अमेरिका सम्बन्ध स्थापनामा खेलेको अद्वितीय भूमिकाका कारण गरिँदै आएको छ, जसका लागि उनी बेइजिङ पुगेका थिए।    

वाङ यीका साथ किसिन्जर

त्यो गोप्य चीन भ्रमण
सन् १९६८ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका रिचर्ड निक्सन अर्काे महाशक्ति सोभियत संघको दाँजोमा अमेरिकालाई विश्व राजनीतिमा शक्तिशाली बनाउन चाहन्थे। उनको अर्काे उदेश्य अमेरिकाको टाउको दुखाइ बनिरहेको भियतनाम युद्धबाट आफ्नो मुलुकलाई पार लगाउने पनि थियो। यी दुई उदेश्यमा उनी त्यतिबेला मात्र सफल हुन सक्थे, जब चीन–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न सकिन्थ्यो। त्यसो हुँदा सोभियत संघ कम्युनिस्ट धुरीबाटै पनि एक्लो पर्न सक्थ्यो।  

चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट क्रान्तिमार्फत् सन् १९४९ मा नयाँ जनवादी गणतन्त्रात्मक मुलुक बनेसँगै चीनसँग अमेरिकाको सम्बन्धविच्छेद भएको थियो। माओ नेतृत्वमा भएको क्रान्तिलाई दमन गर्न मात्र अमेरिकाले तत्कालीन कोमिन्ताङ सरकारलाई सहयोग र समर्थन गरेन, कोमिन्ताङ नेता च्याङ काइ सेकलाई ताइवानलाई छुट्टै मुलुक घोषणा गर्नसमेत उत्प्रेरित गर्यो। 

अमेरिकी समर्थनमा च्याङ काइ सेक नेतृत्वको ताइवानले ‘गणतन्त्र चीन’ को मान्यता समेत प्राप्त गर्यो। यस हिसाबले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एकका रुपमा सन् १९७२ सम्म ताइवानले नै प्रतिनिधित्व गरिरहेको थियो। 

किसिन्जरको भूमिकाका कारण चीन–अमेरिकाबीच सम्बन्ध स्थापित भयो। त्यसपछि मात्र चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्यमा आफ्नो स्थान सुरक्षित गर्न सक्यो। 

जानकारहरुका भनाइमा विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हार्वर्डमा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिका प्राध्यापक हेनरी किसिन्जरमा विश्व राजनीतिमा भित्रभित्रै भइरहेका घटनाक्रमहरु सुँघ्न सक्ने शक्ति, विश्लेषण गर्नसक्ने खुबी र समय अनुसार पाइला चाल्न सक्ने अद्वितीय खुबी थियो। 

सन् १९६९ मा जब किसिन्जरले अमेरिकी राष्ट्रपति निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी प्राप्त गरे, उनले सोभियत संघ र चीनबीचको सम्बन्धलाई अझ सूक्ष्म रुपमा नियाल्न थाले। त्यसक्रममा उनले जानकारी पाए– सोभियत संघ र चीन कम्युनिस्ट मुलुक भए पनि उनीहरुबीचको सम्बन्ध शत्रुताको हदसम्म विकसित भइसकेको छ। 

नभन्दै सन् १९६९ को हिउँदमा यी दुई कम्युनिस्ट मुलुकको सीमा उसुरी नदी क्षेत्रमा सैन्य झडप नै भयो। यो झडपका बीच सोभियत संघले चीनमाथि आणविक आक्रमणको तयारी समेत गर्यो।

डा. किसिन्जरले यही मौकाको उपयोग गरे। अत्यन्त नाटकीय तथा गोप्य बेइजिङ भ्रमण गरेर उनले कम्युनिस्ट चीनसँग सम्बन्ध स्थापना गर्ने वातावरण निर्माण गरे। 

चीन–अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतामा परिणत गर्न किसिन्जर सन् १९७१ को जुलाई (असार, २०२८) मा गोप्य रुपमा बेइजिङ पुगेका थिए। नेपालको भूराजनीतिमा प्रभाव पार्ने चीन र अमेरिकाजस्ता सर्वाधिक महत्वपूर्ण मुलुकबीच सम्बन्ध सुधारमा निर्णायक बनेको किसिन्जरको त्यो गोप्य बेइजिङ भ्रमणको ढोका इस्लामावाद (पाकिस्तान) बन्यो। जानकारहरुका भनाइमा डा. किसिन्जरले गोप्यरुपमा बेइजिङ जाने वैकल्पिक मार्गको रुपमा काठमाडौँलाई पनि राखेका थिए।

त्यो किनपनि भने चीनको सीमा जोडिएका १४ मुलुकमध्ये नेपाल र पाकिस्तान मात्र यस्ता छिमेकी थिए, जसलाई चीन र अमेरिका दुवैले सहजरुपमा विश्वास गर्न सक्थे। 

चिरप्रतिद्वन्द्वी मुलुक सोभियत संघलाई एक्ल्याउनु र भियतनाम युद्धको सुरक्षित अवतरण नै अमेरिकाको चीनसँग सम्बन्ध स्थापनाको उदेश्य थियो। त्यसैले डा. किसिन्जर सोभियत संघ वा उसँग निकट मंगोलियाबाट चीन जाने सम्भावना थिएन। 

भियतनाम युद्धका कारण दक्षिण–पूर्वी एसिया अशान्त थियो। यस्तो स्थितिमा दक्षिण–पूर्वी एसियामा पर्ने कुनै मुलुकबाट बेइजिङ जानु पनि बुद्धिमानी हुँदैनथ्यो।   

चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चिनियाँ प्रम चाउ एन लाइसँग 

गोप्यरुपमा बेइजिङ पुग्ने सुरक्षित मार्ग दक्षिण एसिया हुनसक्थ्यो। तर, चीनको सीमा जोडिएका दक्षिण एसियाली मुलुकमध्ये भारतसँग चीनको सम्बन्ध सुमधुर थिएन। अमेरिका–भारतबीचको सम्बन्ध नराम्रो नभए पनि विश्वासपूर्ण पनि थिएन।  

अमेरिका र चीन दुबैले बराबर भरोसा गर्नसक्ने दक्षिण एसियाली मुलुक नेपाल र पाकिस्तान मात्रै थिए। विविध कारणले छनोटमा पाकिस्तान पर्यो, किसिन्जर पाकिस्तानी हवाई मार्ग प्रयोग गरेर गोप्य तबरमा बेइजिङ पुगे। 

किसिन्जरको त्यो गोप्य र सनसनीपूर्ण बेइजिङ भ्रमणको कहानी पाकिस्तानको रावलपिण्डीस्थित चक्लला अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ, जसलाई आजकल बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलका नामले चिनिन्छ। 

पाकिस्तानको तत्कालीन राजधानी रावलपिण्डीमा कार्यरत एक ब्रिटिस पत्रकारकी आमा ८ जुलाई १९७१ (२४ असार २०२८) को मध्यरात लण्डन फर्कंदै थिइन्। आमाको विदाईका लागि ती पत्रकार चक्लला अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यसैक्रममा उनले विमानस्थलमा पाकिस्तानी सुरक्षाकर्मीहरुको अत्याधिक सुरक्षा सतर्कता र दौडधुप देखे। 

‘किन यस्तो?’ ती ब्रिटिस पत्रकारले पाकिस्तानी सुरक्षाकर्मीहरुसँग सोधे। 

जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध स्थापनाबारे बहुचर्चित पुस्तक ‘निक्सन एन्ड माओ : द विक द्याट चेन्ज्ड द वल्र्ड’ मा लेखिका मार्गरेट म्याकमिलानले उल्लेख गरेअनुसार सुरक्षाकर्मीले ती ब्रिटिस पत्रकारलाई सोझो उत्तर दिए, ‘हेनरी किसिन्जर बेइजिङ जाँदैछन्। त्यही कारण सुरक्षाका लागि हामी यहाँ आइपुगेका हौँ।’   

ती पत्रकार हतार–हतार निवास फर्के। लण्डनस्थित आफ्ना सम्पादकलाई फोन गरेर उनले डा. किसिन्जर गोप्य रुपमा बेइजिङ जान लागेको जानकारी गराए। 

तर, आफ्ना सम्पादकबाट पत्रकारले यस्तो सनसनीपूर्ण समाचारलाई ‘फलो’ गर्न उत्प्रेरणा पाएनन्। बरु हप्काइ भेट्टाए।    

‘अहिलेसम्म रक्सीको ह्याङओभर गएको रहेनछ नि!’ सम्पादकले व्यङ्ग्य गरे, ‘हिजो साँझ कति रक्सी पिएका थियौ?’

पत्रकारले रावलपिण्डीबाट गरेको फोनलाई लन्डनस्थित सम्पादकले ‘रक्सीको ताल’ भन्दै हप्काउनु अस्वाभाविक थिएन। किनकि, भियतनाम युद्ध र भारत–पाकिस्तानबीचको द्वन्द्वले आक्रान्त दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाको स्थितिबारे ‘फ्याक्ट फाइन्डिङ’ (वास्तविक तथ्य संकलन) टोलीको नेतृत्व गरेर आएका डा. किसिन्जर २४ असार (२०२८) मा नयाँदिल्लीबाट रावलपिण्डी पुगेपछि बिमारी भएका कारण केही दिन त्यतै रोकिने समाचार सार्वजनिक भइसकेको थियो।  

नयाँदिल्ली हुँदै रावलपिण्डी पुग्नुअघि डा. किसिन्जरले साइगन (भियतनाम), ब्याङ्कक (थाइल्यान्ड) को भ्रमण गरेका थिए। नयाँदिल्ली पुगेपछि डा. किसिन्जरको स्वागतमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले दिवाभोज आयोजना गरिन्। डा. किसिन्जर र प्रधानमन्त्री गान्धीबीच  दक्षिण एसियाको राजनीति (खासगरी भारत–पाकिस्तान द्वन्द्व) बारे कुराकानी भयो। त्यसपछि उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार पाकिस्तानका लागि प्रस्थान गरे।    

रावलपिण्डी पुग्नासाथ डा. किसिन्जरको पेटमा ‘गडबड’ सुरु भयो। डा. किसिन्जर बिरामी परेको खुलासा पाकिस्तानी राष्ट्रपति याह्या खानले गरेका थिए। 

‘पेटको गडबडीका कारण किसिन्जर बिरामी पर्नुभयो,’ उनले भनेका थिए, ‘निको नहोउन्जेल उहाँ अमेरिका फर्कनु हुने छैन।’  

रावलपिण्डीबाट करिब ८५ किलोमिटर टाढाको मुरी नामक स्थानमा राष्ट्रपति खानको आफ्नै बंगला थियो। ब्रिटिसकालमा रावलपिण्डीको गर्मी छल्न अंग्रेजहरुले ‘हिल स्टेसन’ का रुपमा विकसित गरेको सुरम्य बस्ती मुरीस्थित आफ्नो बंगलामा केही दिन शान्तपूर्वक आराम गर्न र निको भएपछि मात्र अमेरिका फर्कन राष्ट्रपति खानले सार्वजनिक रुपमा किसिन्जरलाई आग्रह गरे।

अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार बिमारी भएको र राष्ट्रपति खानले डा. किसिन्जरलाई आफ्नो बंगलामा आराम गर्न प्रस्ताव गरेको सनसनीपूर्ण समाचार सार्वजनिक भयो।  

पाकिस्तानी राष्ट्रपति याह्या खानका साथ डा. किसिन्जर  

डा. किसिन्जर बिरामी भएको खबर यसकारण पनि चर्चित भयो कि भारतीय प्रधानमन्त्रीसँग खाएको ‘लञ्च’ ले उनको पेटमा गडबडी सिर्जना गरेको थियो। र, त्यसको घोषणा पाकिस्तानी राष्ट्रपतिसँग ‘डिनर’ खाँदै गर्दा गरिएको थियो।  

त्यहीकारण कतिपय सञ्चारमाध्यमले ‘गसिप’ बनाए, ‘खराबी डा. किसिन्जरको पेटका कारण होइन, नयाँदिल्लीमा प्रधानमन्त्री गान्धीको खानाका कारण सिर्जना भएको हो।’ 

कूटनीतिक जगतमा ठट्टास्वरुप अहिले पनि ‘दिल्ली बेली’ वा ‘दिल्ली भाइरस’ भन्ने शब्दावली प्रचलित छ। खासमा यो शब्दावली डा. किसिन्जरको नयाँदिल्ली–रावलपिण्डी भ्रमणपछि चर्चित भएको हो। 

डा. किसिन्जर मुरीस्थित राष्ट्रपति खानको बंगला पुगेको समाचार पनि सार्वजनिक भइसकेको थियो। यस्तोमा तिनै किसिन्जर गोप्यरुपमा बेइजिङ उड्दैछन् भन्दै रावलपिण्डीबाट रिपोर्टरले पठाएको सूचनालाई लन्डनस्थित सम्पादकले विश्वास गरेनन्। 

बेइजिङमा डा. किसिन्जर चार दिन रहे। तर, उनी त्यहाँ गएका होलान् भन्ने अनुमान रावलपिण्डीस्थित विदेशी कूटनीतिज्ञ, खुफिया एजेन्सी र पत्रकारहरुले समेत गर्न सकेनन्। सेन्स अफ ह्युमरमा माहिर पाकिस्तानका लागि अमेरिकी राजदूत जोसेफ फार्ल्यान्डले गर्ने ठट्टाले पनि यसमा महत्वपूर्ण भूमिका खेल्यो।   

‘खासमा किसिन्जर गम्भीर व्यक्ति होइनन्। तर, उनी साँच्चिकै मूर्ख रहेछन् भन्ने कुरा यतिबेला महसुस गर्दैछु,’ रावलपिण्डीमा बसेर राजदूत फार्ल्यान्ड भन्ने गर्थे, ‘यस्तो बिमारीका बेला राष्ट्रपतिको बंगलामा आराम गर्नुसाटो बजारमा निस्केर सामान किन्न बार्गेनिङ गरिरहेका छन्। यो मूर्खताको हद होइन त!’

राजदूत  फार्ल्यान्डले चार दिनसम्म किसिन्जरबारे यस्तै–यस्तै ठट्टा गरेर त्यहाँस्थित विदेशी कूटनीतिज्ञ, गुप्तचर एजेन्सी र सञ्चारकर्मीहरुलाई उल्लु बनाइरहे।

चिनियाँ नेता माओत्सेतुङका अंग्रेजी अनुवादक ची चाओचुको आत्मकथा ‘द म्यान अन माओज् राइट’ मा उल्लेख भए अनुसार रावलपिण्डी पुगेको अर्काे दिन उज्यालो नहुँदै किसिन्जर सैनिक गाडीमा चढेर चक्लला विमानस्थल पुगे, जहाँ उनलाई बेइजिङ पुर्याउन पाकिस्तानी बोइङ ७०७ तयारी अवस्थामा राखिएको थियो। किसिन्जरलाई विमानभित्रै स्वागत गरेर बेइजिङ ल्याउन माओले आफ्नी अर्की अनुवादक नान्सी ताङलाई त्यही पाकिस्तानी विमानमा रावलपिण्डी पठाएका थिए। 

बेइजिङमा चार दिनको बसाइका क्रममा डा. किसिन्जरको चिनियाँ प्रधानमन्त्री चाउ एनलाइसँग पटक–पटक भेटवार्ता भयो। अमेरिकी टोली र चिनियाँ टोलीबीच चीन–अमेरिका सम्बन्ध स्थापना र दुवै पक्षका सरोकारका विषयमा कुराकानी भएका थिए।  

पटक–पटकको वार्ताबाट जनवादी गणतन्त्र चीनलाई अमेरिकाले मान्यता दिने सहमति भयो। यो सहमति अनुसार ‘ताइवान चीनको अभिन्न भूभाग हो’ भन्ने तथ्यलाई अमेरिकाले पनि स्वीकार गर्यो। भियतनाम युद्धमा फसिरहेको अमेरिकालाई त्यहाँबाट सम्मानजनक रुपमा बाहिर निस्कन चीनले सहयोग गर्ने भयो। 

यी अनौपचारिक सहमतिलाई अन्तिम रुप दिन राष्ट्रपति निक्सनले छिट्टै चीन भ्रमण गर्ने सहमति भयो। 

चाउ एनलाइ र डा. हेनरी किसिन्जर  

चीनबाट १२ जुलाई (२८ असार २०२८) मा रावलपिण्डी फर्केका किसिन्जर त्यसपछि अमेरिकातर्फ उडे। त्यतिन्जेलसम्म पनि रावलपिण्डीको जमात राजदूत फार्ल्यान्डले डा. किसिन्जरबारे गरेका ठट्टालाई सत्य मान्दै मुरीबाट रावलपिण्डी झरेर किसिन्जर कहिले अमेरिका उड्लान् भन्ने कुराको प्रतीक्षामा बसिरह्यो।  

खासमा गोप्य रुपमा बेइजिङ भ्रमणका लागि त्यति ठूलो नाटक रचिएको रहेछ भन्ने कुरा सारा विश्वले त्यतिबेला मात्र जानकारी पायो, जब १५ जुलाई (३१ असार २०२८) मा राष्ट्रपति निक्सनले विशेष टेलिभिजन सम्बोधनमार्फत् किसिन्जरको बेइजिङ भ्रमणको खुलासा गर्दै आफू छिट्टै चीन भ्रमणमा जाने घोषणा गरे।    

नेपालले गुमाएको अवसर
दक्षिण एसियामा नेपाल र पाकिस्तान नै यस्ता मुलुक थिए, जसको चीन र अमेरिका दुवैसँग सुमधुर सम्बन्ध थियो। नेपालसँगको सुमधुर सम्बन्धकै कारण टंकप्रसाद आचार्य र बीपी कोइराला प्रधानमन्त्री छँदा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ क्रमशः विसं २०१३ र २०१७ मा दुई पटक नेपाल भ्रमणमा आएको कुरा यहाँनेर स्मरणीय छ।  

दुई पटक नेपाल भ्रमण गरेका चिनियाँ प्रधानमन्त्री चाउ किसिन्जरको गोप्य चीन भ्रमणताका समेत नेपाललाई निकै महत्व दिइरहन्थे। यसको प्रमाण बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको एउटा कार्यक्रममा उनले उपस्थिति जनाएबाट प्रष्ट हुन्छ। 

चीनको फिजिकल कल्चर एन्ड स्पोट्र्स कमिसनको निमन्त्रणामा तत्कालीन अधिराजकुमारी शारदा र उनका पति कुमार खड्गविक्रम शाहले २ जेठ २०२८ देखि चीनको भ्रमण गरेका थिए। शाही पाहुनाहरुको सम्मानमा ५ जेठमा नेपाली राजदूतावासमा चीनका लागि नेपाली राजदूत रणधीर सुब्बाले रात्रिभोज आयोजना गरे। 

सो रात्रिभोजमा प्रधानमन्त्री चाउ एनलाइ आफैँ उपस्थित थिए। प्रधानमन्त्री चाउका साथमा उपप्रधानमन्त्री ली सी नियन पनि उपस्थित थिए, जो पछि चीनका राष्ट्रपति बने।  

प्रधानमन्त्री चाउ एनलाइ अन्य सानातिना अवसरमा पनि बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रमहरुमा उपस्थित भइरहन्थे। अमेरिकासँग सम्बन्ध स्थापना गर्न चनियाँ पक्षले नेपालसँगको यो हार्दिक सम्बन्धलाई खासगरी ‘पिङपङ डिप्लोमेसी’ (टेबुलटेनिस कूटनीति) का सन्दर्भमा प्रयोग गर्यो। 

अमेरिकासँगको दुई दशक लामो दुश्मनीलाई एकैचोटि मित्रतामा बदल्नु चीनलाई सहज थिएन। सबैभन्दा पहिले अमेरिकासँग सम्बन्ध स्थापना गर्न चीन इच्छुक छ भन्ने सन्देश दिनु जरुरी थियो। यसका लागि चिनियाँ पक्षले टेबुलटेनिस (पिङपङ) खेललाई प्रयोग गर्ने योजना बनायो।  

त्यही योजना अनुसार विसं २०२७ को १५–२५ चैतमा जापानको नागोया सहरमा भएको ३१ औँ विश्व टेबुलटेनिस च्याम्पियनसिपमा भाग लिन गएको चिनियाँ टोलीले अमेरिकी टेबुलटेनिस टोलीलाई चीन भ्रमणको निम्तो दियो।  

अमेरिका पनि चीनसँग सम्बन्ध स्थापित गर्न इच्छुक थियो। नागोयामा आफ्नो मुलुकको टोलीलाई चिनियाँ टेबुलटेनिस टोलीले बेइजिङमा मैत्रीपूर्ण प्रतिस्पर्धाको निम्तो दिएपछि अमेरिकाले बुझिहाल्यो, ‘चीन पनि सम्बन्ध स्थापित गर्न इच्छुक रहेछ।’ 

चिनियाँ टोलीको निम्तोको अमेरिकाले पनि तत्काल ‘रेस्पोन्स’ गर्यो। २०२८ वैशाखको सुरुवातमै अमेरिकी टोली बेइजिङ पुग्यो। अमेरिकी टेबुलटेनिस टोली ६ वैशाख (२०२८) मा स्वदेश फर्केको थियो। 

अमेरिकी टोली माओत्सेतुङ र चीनसँग यति प्रभावित थियो कि, अमेरिकी टेबुलटेनिस टोलीका कप्तान ज्याक होवार्ड अमेरिकी विमानस्थलमा ओर्लंदा माओको उक्ति समेटिएको रातो किताब (रेडबुक) हातमा राखेर झरेका थिए।

‘के तपाईंहरुले माओको रेडबुक पढ्नु भएको छ? रेडबुकको राम्रोसँग अध्ययन नगरी चीन र माओबारे टिप्पणी गर्नु सम्भव छैन,’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कप्तान होवार्डले भनेका थिए, ‘विश्वका मुलुकहरुबीच नकारात्मक ध्रुवीकरण नगर्ने, विश्वका जनताबीच एकता हुनुपर्ने, नाफाखोरहरुलाई समाप्त गर्नेजस्ता रेडबुकमा उल्लेखित माओका महान् वाणीहरु अमेरिकाले पनि कार्यान्वयन गर्न सके परिणाम सकारात्मक हुनेछ।’ 

खेलाडी दलका अर्का अमेरिकी सदस्य उरोल रेसेक पनि माओको ब्याच छातीमा लगाएर अमेरिका फर्केका थिए। 

चीन र माओसँग यस्तै प्रभावित थिए, १६ वर्षीय अमेरिकी खेलाडी जोन ट्यानहिल, जसले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘हुन त मैले चीनको प्रशंसा गरेकोमा मेरो बुबाले ‘अपरिपक्व बालकले भनेको कुरामा विश्वास नगर्नु’ भन्नुभएको छ। यसमा म दुखी पनि छैन। तर साँचो कुरा के हो भने म चिनियाँ जनताको राजनीतिक विचारधाराप्रति पूर्णतः सहमत छु र बाँकी जीवन म गणतन्त्र चीनमा नै बिताउन चाहन्छु।’  

अमेरिकी टेबुलटेनिस टोली चीन भ्रमण सकेर फर्केलगत्तै चिनियाँ भ्रमण टोलीले पनि अमेरिका भ्रमण गर्यो। टेबुलटेनिस दलका सदस्यहरुको यही पारस्परिक भ्रमणले चीन–अमेरिकाबीच विश्वासको वातावरण सिर्जना भयो। त्यसपछि नै आपसी सरोकार र संवेदनशीलता बुझ्न–बुझाउन तथा दुई मुलुकबीच सम्बन्ध स्थापित गर्ने वातावरण निर्माणका लागि राजनीतिक नेतृत्वका रुपमा डा. किसिन्जर गोप्य रुपमा बेइजिङ पुगेका थिए। 

टेबुलटेनिस (पिङपङ) प्रतिस्पर्धा त बहानामात्र थियो। यसको भित्री उदेश्य चीन–अमेरिका सम्बन्ध स्थापना गर्नु थियो। यही कारण चीन–अमेरिका सम्बन्ध स्थापनामा टेबुलटेनिस टोलीहरुको आपसी भ्रमणलाई पनि डा. किसिन्जरको गोप्य भ्रमणजस्तै महत्वपूर्ण मान्ने गरिन्छ। विश्व राजनीतिमा ‘पिङपङ डिप्लोमेसी’ को प्रचलन त्यसपछि नै भएको हो।

र, मैत्रीपूर्ण टेबुलटेनिस प्रतिस्पर्धामार्फत् अमेरिकासँग सम्बन्ध स्थापनाको प्रयास गरेको चीनले ‘पिङपङ डिप्लोमेसी’ को ‘रिहर्सल’ नेपालबाट गरेको थियो। 

सन् १९६१ मा चीनको बेइजिङ, १९६३ मा चेकोस्लाभियाको प्राग र १९६५ मा युगोस्लाभियाको लुबियानामा भएका तीन विश्व च्याम्पियनसिपमा विजय हासिल गरी दुर्लभ रेकर्ड कायम गरेको चिनियाँ टेबुलटेनिस टोली सन् १९६७ मा स्विडेनको स्टकहोम र सन् १९६९ मा पश्चिम जर्मनीको म्युनिखमा भएको विश्व टेबुलटेनिस प्रतियोगितामा भने सहभागी भएन।  

चीनमा सन् १९६६ मा सुरु भएको सांस्कृतिक क्रान्तिले मुलुकभित्र सिर्जना गरेको अशान्त हलचल यसको कारण थियो। 

तर, अमेरिकासँग सम्बन्ध स्थापना गर्ने योजना जब चिनियाँ नेतृत्वले समेत बनायो, त्यसपछि उसले तीन वटा च्याम्पियनसिपको विश्वविजेता पिङपङ टोलीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रिहर्सलका लागि नेपाल पठायो। किनकि नागोयामा हुने ३१ औँ संस्करणको विश्व च्याम्पियनसिपमा चिनियाँ टोलीले आफैँ आफ्नो परीक्षण गर्नु थियो। विदेशी खेलाडीहरुसँग कसरी प्रस्तुत हुने– त्यसबारे चिनियाँ पिङपङ टोलीले व्यावहारिक ज्ञान लिनु थियो। 

३० असार २०२८ मा राजा महेन्द्र ५० वर्ष पूरा गरी ५१ औँ वर्षमा प्रवेश गर्दै थिए। उनको जन्मोत्सवको अवसर पारेर तत्कालीन नेपाल राष्ट्रिय खेलकुद परिषद् र नेपाल युवक संगठनले विभिन्न खेलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरे। त्यसै अन्तर्गत टेबुलटेनिस प्रतियोगिता पनि आयोजना गरियो। नेपालले चिनियाँ टोलीलाई सो प्रतिस्पर्धामा भाग लिन निम्तो दियो। नेपालको निम्तो अनुसार चिनियाँ टेबुलटेनिस टोली २६ जेठ (२०२७) मा काठमाडौँ आइपुग्यो।

चिनियाँ पिङपङ टोलीलाई पुरस्कार वितरण गर्दै नेपाल–चीन मैत्री संघका अध्यक्ष पूर्णबहादुर एमए

चिनियाँ टेबुलटेनिस टोली एकसेएक विश्वस्तरका खेलाडीहरुले भरिपूर्ण थियो। १९६१, १९६३ र १९६५ मा तीन–तीन पटक चीनलाई विश्वकप दिलाएर तहल्का मच्चाएका चाङ त्से तुङ चिनियाँ खेलाडी टोलीका नेता थिए। 

सांस्कृतिक क्रान्तिका दौरान कतिपय होनाहार चिनियाँ नेता र अन्य प्रतिभाहरु मारिएका थिए। कतिपय प्रतिभाहरुको अवस्था अज्ञात थियो। तीन पटक टेबुलटेनिसका विश्वविजेता चाङ त्से तुङ समेत मारिएको हल्ला चलेको थियो। 

यस्तो स्थितिमा चाङ त्से तुङ चिनियाँ खेलाडी टोलीको नेतृत्व गर्दै नेपाल आउने भए। त्यसपछि जीवितै रहेको कुरा विश्वले जानकारी पायो। चाङ त्से तुङसहितको चिनियाँ टेबुलटेनिस टोली नेपाल आउने समाचारले विश्वको ध्यान आकर्षित गर्यो।  

चीनमा सांस्कृतिक क्रान्ति सुरु भएको पाँच वर्षपछि चिनियाँ टेबुलटेनिस टोली पहिलो पटक देशबाहिर जान लागेकाले पनि विश्वभरका सञ्चार माध्यमका लागि यो समाचारको विषय बन्यो।

‘सन् १९६६ मा अशान्तिपूर्ण सांस्कृतिक क्रान्तिको अवधिमा धेरै चिनियाँ अधिकारी र मुख्य खेलाडीहरुलाई बेपत्ता पारिएको थियो,’ अमेरिकाको अग्रणी दैनिक द न्युयोर्क टाइम्सले १४ जुन १९७० को अंकमा लेख्यो, ‘सांस्कृतिक क्रान्तिको सुरुवातपछि चिनियाँ खेलकुद टोलीले देशबाहिर प्रतिस्पर्धा गर्न लागेको यो पहिलो घटना हो।’ 

सांस्कृतिक क्रान्तिको सुरुवातपछि पहिलो पटक विश्वप्रसिद्ध चिनियाँ खेलाडीहरु देशबाहिर (नेपाल) को प्रतियोगितमा भाग लिएको घटना आफैँमा सनसनीपूर्ण छँदै थियो, त्यसमाथि त्यो टोलीसँग नेपाली टोलीले गरेको एउटा मैत्रीपूर्ण प्रतिस्पर्धाको नतिजाले विश्वभर अर्काे तहल्का मच्चायो।  

त्यो प्रतिस्पर्धा चिनियाँ सहयोगमा भर्खर निर्माण सम्पन्न भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको थियो। त्यहाँ भएको सुरुवाती प्रतिस्पर्धाको सेटमा नेपालका किशोर खेलाडी कल्याणराज पाण्डेले चिनियाँ महारथी चाङ त्से तुङलाई पराजित गरेका थिए।  

धेरैको अनुमान अनुसार, सांस्कृतिक क्रान्तिपछि देशबाहिर जान पाउने गरी प्रतिस्पर्धा आयोजना गरिदिएकोमा नेपालप्रति आभार प्रकट गर्न चाङ त्से तुङ जानाजान पाण्डेसँग पराजित भइदिएका थिए। 

पाण्डे भने यो कुरा स्वीकार गर्न तयार छैनन्। उनको भनाइमा आत्मविश्वासका साथ प्रतिस्पर्धामा भाग लिएकाले उनी चिनियाँ महारथीमाथि हाबी हुन सकेका थिए।  

प्रतिस्पर्धापछि टेबुलटेनिसका महारथी चाङ त्से तुङ, नेपाल खेलकुद परिषदका बालकृष्ण सुवाल र जुनियर खेलाडी कल्याणराज पाण्डे

अन्य सबै प्रतिस्पर्धामा भने चिनियाँ टोली र महारथी चाङ त्से तुङ हाबी भए। टेबुलटेनिस प्रतियोगिताका अधिकांश पदक चिनियाँ टोलीले नै हात पार्यो। 

नेपाल आएको त्यही चिनियाँ टोली २०२७ चैतमा जापानको नागोयामा विश्व टेबुलटेनिस च्याम्पियनसिप (प्रतिस्पर्धा) को ३१ औँ संस्करणमा सहभागी भयो। र, त्यहीँबाट अमेरिकी टेबुलटेनिस टोलीलाई चीन भ्रमणको निम्तो दियो।  

माथि नै हामीले भनिसक्यौँ– त्यतिञ्जेल चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध समेत थिएन। अमेरिकीहरुलाई चीन भ्रमण बर्जित थियो। 

पिङपङले जब यी दुई मुलुकलाई नजिक बनायो, त्यसपछि किसिन्जरले बेइजिङको गोप्य भ्रमण गरे। र, त्यसैको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति निक्सनको एक सप्ताह लामो चीन भ्रमण (९–१६ फागुन २०२८) भयो। 

चीन–अमेरिका सम्बन्ध सुधारको असर विश्व र दक्षिण एसियाको राजनीतिमा त पर्ने नै भयो, त्यसको सकारात्मक असर नेपालको आन्तरिक मामिलामा पनि पर्यो। नेपालले मुस्ताङमा अड्डा जमाएर बसेका खम्पा लडाकुहरुलाई निशस्त्रीकरण गरेको त्यसपछि नै हो। खासमा अमेरिकी खुफिया संस्था ‘सीआईए’ को आर्थिक–भौतिक सहयोगमा खम्पा लडाकुहरु विसं २०२० को दशकदेखि मुस्ताङमा अड्डा जमाएर बसेका थिए।   

यहाँनिर प्रश्न उठछ, बेइजिङको गोप्य भ्रमणका लागि किसिन्जरले किन नेपालको मार्ग प्रयोग गरेनन्, किन उनको छनोटमा पाकिस्तान पर्यो?  

‘नेपाल हुँदै बेइजिङ जान अमेरिकाले नेपालसँग पनि कुराकानी गरेको हल्ला त्यतिबेला चलेको थियो,’ चीन मामिलाका जानकार एवं चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम भन्छन्, ‘तर, राजा महेन्द्रले स्वीकृति दिएनन् रे! त्यहीकारण किसिन्जर पाकिस्तानी मार्ग प्रयोग गर्न बाध्य भएका हुन् भनिन्थ्यो।’  

डा. किसिन्जरको बेइजिङ भ्रमणका लागि नेपाली मार्ग प्रयोगमा राजा महेन्द्रबाट स्वीकृति नपाएको कुरा सत्य हुन पनि सक्छ। त्यो किनभने, डा. किसिन्जरजस्ता शीर्ष अमेरिकी अधिकारी नेपाल हुँदै चीन प्रस्थान गरेको जानकारी पाएमा सोभियत संघ र भारत दुवै राजा महेन्द्रसँग सशंकित हुनसक्थे।

सोभियत संघ र भारतजस्ता शक्तिशाली मुलुक नेपालप्रति सशंकित हुँदा नेपाल फेरि भूराजनीतिक भुमरीमा पर्न सक्थ्यो। राजा महेन्द्र त्यस्तो जोखिम बेहोर्ने पक्षमा सायद थिएनन्।

चितवनको टाइगर टप्स होटलमा हेनरी किसिन्जर (फोटो सौजन्य : लिसा चोग्याल) 

गोप्य बेइजिङ भ्रमणका लागि किसिन्जरले नेपाल–मार्ग प्रयोगमा स्वीकृति पाएनन्। तर उनी नेपालप्रति कहिल्यै नकरात्मक भएनन्। बरु चीन र भारतजस्ता ठूला छिमेकीको बीचमा रहे पनि स्वतन्त्रताको रक्षा गर्न सकेकोमा नेपालले अपनाउँदै आएको सन्तुलित कूटनीतिको सदैव प्रशंसा गरे। 

नेपालको प्रशंसा उनले लेखेर पनि गरे, बोलेर पनि। अमेरिकाको राजधानी वास्ङिटन डीसीबाट पनि गरे, काठमाडौँ आएर पनि।  

शान्तिक्षेत्रका पक्षपाती
अमेरिका–चीन सम्बन्ध सुधारसँगै नेपालमा क्याम्प निर्माण गरी राखिएका खम्पाहरुलाई निशस्त्रीकरण गर्ने बाटो खुल्यो। खम्पा निशस्त्रीकरणपछि आफ्नो राज्याभिषेकको अवसर पारेर राजा वीरेन्द्रले १३ फागुन (२०३१) मा ‘नेपाललाई शान्तिक्षेत्र बनाइयोस्’ भन्ने प्रस्ताव राखे। शक्तिराष्ट्रहरु प्रतिस्पर्धा गर्ने खेल मैदान नेपाललाई नबनाइयोस् भन्ने उदेश्यका साथ राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राखेका थिए।

तर, शान्तिक्षेत्रको प्रस्तावप्रति अमेरिकी समर्थन प्राप्त गर्न नेपालले थप ९ वर्ष प्रतीक्षा गर्नुपर्यो। राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमण (१९–२४ मंसिर २०४०) क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन (रिपब्लिकन पार्टी) ले नेपालले राखेको शान्तिक्षेत्रको प्रस्तावमा सतर्कतापूर्वक समर्थन गरेका थिए। राजा वीरेन्द्रसँगको भेटवार्तामा उनले भनेका थिए, ‘शान्तिक्षेत्रको प्रस्तावलाई वास्तविकतामा परिणत गर्न नेपालले छरछिमेकसँग मिलेर काम गर्नु राम्रो हुन्छ।’ 

राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमण हुँदा डा. किसिन्जरले विदेशमन्त्रीबाट अवकाश प्राप्त गरेको ६ वर्षभन्दा बढी भइसकेको थियो। तर किसिन्जरको नेपालप्रतिको सकरात्मक भावका कारण वीरेन्द्रले वासिङ्टन डीसीस्थित आफू रहेको होटल म्याडिसनमा निम्तो दिएर २३ मंसिर (२०४०) मा डा. किसिन्जरसँग भेटवार्ता गरे।   

त्यो सिर्फ नेपालमा राजा र भूतपूर्व अमेरिकी विदेशमन्त्रीबीचको भेट मात्र थिएन। बरु, हार्वर्ड विश्वविद्यालयका दुई ‘गुरु–चेला’ बीचको भेट पनि थियो। सन् १९६७–६८ मा युवराज वीरेन्द्र हार्वर्ड विश्वविद्यालयको विद्यार्थी हुँदा किसिन्जर त्यही विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका प्राध्यापक थिए। 

राजा वीरेन्द्रसँगको भेटमा डा. किसिन्जरले ‘नेपालका श्री ५ महाराजधिराजले अपनाएको कूटनीति अत्यन्त कुशल तथा विचारपूर्ण भएको उल्लेख गरेका थिए। ‘दुई महान शक्तिहरुद्वारा घेरिएको, दुई हात्तीका बीचमा अवस्थित सानो मुलुकलाई शान्तिक्षेत्र घोषणा गरिनु महत्वपूर्ण काम हो,’ किसिन्जरले भनेका थिए, ‘श्री ५ बाट बडो कुशल र बुद्धिमतापूर्ण चालिबक्सेको कदम प्रसंशनीय छ’ (गोर्खापत्र, २५ मंसिर २०४०)।  

परराष्ट्र मामिलामा राजा वीरेन्द्रका दाहिने हात मानिने दरबारका सचिव (पछि प्रमुख संवादसचिव) चिरनशमशेर थापाले पनि डा. किसिन्जरसँग त्यो बेला भेट गरेका थिए। थापा त्यो बेला प्राज्ञिक अध्ययनको सिलसिलामा अमेरिकामा नै थिए। 

‘त्यो भेटमा डा. किसिन्जरले नेपालले अपनाउँदै आएको सन्तुलित कूटनीतिको प्रशंसा गर्नुभयो,’ ८० वर्षीय थापाले सम्झे, ‘सन्तुलित कूटनीतिलाई   निरन्तरता दिने हो भने नेपाल सधैँ स्वतन्त्र राष्ट्रका रुपमा रहनसक्छ भन्ने उहाँको विश्लेषण थियो।’   

डा. किसिन्जरसँगको भेटमा राजा वीरेन्द्रले नेपाल भ्रमणको निम्तो पनि दिए। थापाका भनाइमा विश्व राजनीतिमा प्रभाव पार्न सक्ने महत्वपूर्ण विदेशी नेताहरुलाई नेपाल भ्रमणमा बोलाउने र नेपालको दृष्टिकोण सुनाउने राजा वीरेन्द्रको नीति अनुसार डा. किसिन्जरलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो।

म्याडिसन होटलमा २३ मंसिरमै भएको भेटघाटमा राजा वीरेन्द्रले पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्बिग्निएव ब्रेजेन्स्कीलाई समेत नेपाल भ्रमणको निम्तो दिएका थिए। ब्रेजेन्स्कीले १७–२४ पुस (२०४०) सम्म नेपालको भ्रमण गरे।  

ब्रेजेन्स्की अमेरिका फर्केको अर्काे हप्ता १ माघमा (२०४०) मा डा. किसिन्जर पनि काठमाडौँ आइपुगे। किसिन्जरको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालका लागि तत्कालीन अमेरिकी राजदूत लियोन जे. बिलले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘किसिन्जरको यो भ्रमण श्री ५ महाराजधिराज तथा श्री ५ बडामहारानी सरकारको संयुक्त राज्य अमेरिकाको अति सफल भ्रमणको परिणामस्वरुप भएको हो।’ 

किसिन्जर आफ्नी पत्नी न्यान्सी किसिन्जरका साथमा थिए। काठमाडौँ ओर्लेको भोलिपल्ट (२ माघ) उनी चितवनतर्फ लागे। शाही चितवन राष्ट्रिय निकुन्जभित्र रहेको विश्वविख्यात टाइगर टप्स होटल त्यसदिन किसिन्जर दम्पतीको मुकाम थियो। 

प्रसिद्ध लेखिका र नेपालको दिगो पर्यटन विकास मामिलाविज्ञ लिसा चोग्याल त्यो बेला टाइगर टप्स होटलमा कार्यरत थिइन्। चोग्यालका भनाइमा किसिन्जर दम्पतीका साथमा एटलान्टिक रेकर्ड्सका अहमेत एर्तेगान र उनकी पत्नी एर्तेगान पनि थिए। किसिन्जर दम्पतीको सम्मान र सहयोगका लागि परराष्ट्र मन्त्रालयले सम्पर्क अधिकारीहरु खटाएको थियो।   

चितवनपछि पोखरा जाने किसिन्जरको कार्यक्रम थियो, जहाँ उनको स्वागतका लागि राजा वीरेन्द्र र रानी ऐश्वर्यका प्रतीक्षारत थिए। पोखरा प्रस्थान गर्नुअघि किसिन्जरको टोलीका अन्य सदस्यले हात्तीमा चढेर जंगल सफारी गरे। किसिन्जर आफैँ भने हात्तीमा चढेनन्।

‘उहाँलाई ‘एक्रोफोबिया’ रहेछ, अलिक अग्लो ठाउँ चढ्दा डराउनु हुँदो रहेछ’ चोग्यालले सम्झिन्, ‘त्यसैले, उहाँले हात्ती चढ्नु भएन। आफ्ना लागि तयार पारिएको हात्ती अगाडि बसेर फोटो चाहिँ खिचाउनु भयो। उहाँको फोटो खिच्ने अवसर मैले प्राप्त गरेँ।’ 

आफ्ना लागि तयार पारिएको हात्तीअगाडि डा. किसिन्जर चितवन राष्ट्रिय निकुन्जमा 

३ माघमा पोखरा पुगेका किसिन्जरले फेवा किनारमा रहेको रत्न मन्दिरमा त्यसैदिन राजा वीरेन्द्रसँग भेटवार्ता गरे। भेटवार्तापछि उनले भनेका थिए, ‘श्री ५ महाराजधिराजको अमेरिका भ्रमणको क्रममा भएको दर्शनभेट मेरा लागि चिरस्मरणीय छ, त्यसप्रति मैले गौरव महसुस गरेको छु।’ 

छोटो पोखरा बसाइका क्रममा किसिन्जर सिमलचौर पनि पुगेका थिए। उदेश्य थियो– त्यहाँस्थित विन्द्यवासिनी ढाका कपडा उद्योगको निरीक्षण गर्नु। तानसेन (पाल्पा) का कपडा व्यवसायी शक्तिमान महर्जनले विसं २०३२ मा १२ वटा तानबाट यो उद्योग सुरु गरेका थिए।   

पाल्पाली ढाका कपडा उत्पादनमा तहल्का मच्चाएको यो उद्योगका उत्पादन अमेरिकासम्म पुग्थ्यो। हाते तानबाट कपडा बुन्दै गरेको दृश्य किसिन्जरले निकै अभिरुचिपूर्वक हेरेका थिए। उद्योगमा किसिन्जरको भ्रमणबारे गोर्खापत्रको ४ माघ (२०४०) को अंकमा प्रकाशित समाचार अनुसार उद्योगका मालिक शक्तिमानले डा. किसिन्जरलाई ढाकाको टोपी र किसिन्जर पत्नी न्यान्सीलाई पछ्यौरा ओढाएर स्वागत गरेका थिए। 

डा. किसिन्जरको नेपाल भ्रमणताका नेपाल विश्व सम्बन्ध परिषदको अध्यक्ष रहेका पूर्वराजदूत प्रा.डा. मोहन लोहनीको भनाइमा किसिन्जर र ब्रेजेन्स्की दुवैलाई नेपाल भ्रमणको औपचारिक निम्तो भने पूर्वपरराष्ट्रसचिव सरदार प्रा. यदुनाथ खनालले दिएका थिए, जो त्यो बेला मन्त्री सरह परराष्ट्र मन्त्रालयको सल्लाहकारको जिम्मेवारीमा थिए। 

नेपाल विश्व सम्बन्ध परिषदद्वारा आयोजित प्रवचनमा सहभागी हुने गरी उनीहरुलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो।  

योजना अनुसार डा. किसिन्जर ४ माघमा शंकर होटलमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भए।

‘प्रवचन कार्यक्रममा किसिन्जरले झण्डै डेढ घण्टा समय दिनुभएको थियो,’ लोहनीले भने, ‘प्रा. खनालले मलाई बताउनु भए अनुसार अन्य मुलुकका यस्ता कार्यक्रममा सम्बोधन गर्दा किसिन्जरले २०–३० हजार डलरसम्म लिनुहुन्थ्यो रे। तर, हामीसँग उहाँले एक पैसा पनि लिनु भएन।’ 

डा. लोहनीका भनाइमा परिषदको अध्यक्षको नाताले कार्यक्रममा उनैले स्वागत भाषण गरेका थिए। त्यसक्रममा उनले अमेरिकाले बंगलादेशलाई प्रतिवर्ष १३४ मिलियन अमेरिकी डलर दिने गरे पनि नेपाललाई १५–१६ मिलियन मात्र दिने गरेकाले सहयोग रकम वृद्धिका लागि अनुरोध गरेका थिए। प्रा. लोहनीको अनुरोधबारे डा. किसिन्जरको सुझाव रोचक थियो। 

पोखरामा राजा वीरेन्द्र र डा. किसिन्जरको भेटवार्ताबारे ४ माघ २०४० को गोर्खापत्रको समाचार

डा. किसिन्जरको जवाफ (सुझाव) थियो, ‘आफ्नो पक्षमा लबिङ नगर्ने हो भने अमेरिकामा कुनै काम सफल हुँदैन। हाम्रो देशमा लबिङका लागि विभिन्न खालका समूह हुन्छन्। तपाईंहरुले पनि यस्तै खालका समूहमार्फत् लबिङ गर्नुस्। त्यसपछि अमेरिकाले सहयोग रकम बढाउन सक्छ।’

त्यो कार्यक्रममा किसिन्जरले चीन–अमेरिका सम्बन्ध र नेपालको शान्तिक्षेत्रको प्रस्तावको महत्वबारे पनि बोलेका थिए।

‘चीन र अमेरिकाबीचको सम्बन्धले विश्व शान्तिका पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ,’ उनले भनेका थिए, ‘विकसित चीन र छिमेकीहरुबाट सुरक्षित चीन अमेरिकाको हितमा छ। यस्तो नभएको अवस्थामा एसियामा ज्यादै गोलमाल सिर्जना हुनेछ।’

‘नेपालले राखेको शान्तिक्षेत्रको प्रस्ताव पनि उत्तिकै महत्वपूर्ण छ,’ नेपालको प्रस्तावबारे डा. किसिन्जरको भनाइ थियो, ‘शान्तिक्षेत्रको प्रस्ताव दक्षिण एसियाको हितका लागि पनि उपयोगी हुनसक्छ।’

कार्यक्रमका सहभागीमध्ये कसैले शान्तिक्षेत्रको प्रस्तावलाई भारतले अझै समर्थन नगरेको जानकारी गरायो। डा. किसिन्जरले जवाफ दिए, ‘म यहाँबाट नयाँदिल्ली जाँदैछु। त्यसक्रममा भारतले अहिलेसम्म शान्तिक्षेत्रको प्रस्तावको किन समर्थन नगरेको हो, यसबारे भारतीय अधिकारीहरुसँग सोध्नेछु।’

किसिन्जर त्यसैदिन बिहान रेडियो नेपालका अंग्रेजी समाचारवाचक हरिश (माइकल) चन्दसँगको अन्तर्वार्तामा थिए। दरबारका अधिकारीहरुले नै डा. किसिन्जरसँग चन्दको अन्तर्वार्ताको प्रबन्ध गरिदिएका थिए।

डा. किसिन्जरसामु पुगेर चन्दले आफू रेडियो नेपालका लागि अन्तर्वार्ता लिन आएको जानकारी गराए। डा. किसिन्जरले चन्दसँग सोधे, ‘नेपालमा टेलिभिजन च्यानल छैनन्?’

‘उहाँको चाहना टेलिभिजनमा अन्तर्वार्ता दिने रहेछ,’ चन्दले सम्झे, ‘तर नेपाल टेलिभिजनको स्थापना भइसकेको थिएन।’

डा. किसिन्जरसँग चन्दले सोल्टी होटलमा ४ माघको बिहान लिएको अन्तर्वार्ता रेडियो नेपालले ६ माघमा प्रशारण गर्यो। चन्दका भनाइमा किसिन्जरसँग उनले ‘अमेरिकी विदेशनीतिको सेटब्याक के हो’ भन्ने प्रश्न पनि सोधेका थिए।

‘भियतनाममा शान्ति कायम गर्न अमेरिकाले सक्दो प्रयास गर्यो। युद्धबाट पछि हट्यो। तर, हामीले सोचेजसरी त्यहाँ शान्ति प्रयास सफल भएन।’ किसिन्जरको उत्तर थियो, ‘कम्युनिस्ट प्रभाव रहेको उत्तर भियतनाम त्यहाँ हाबी भयो। यो नै अमेरिकी विदेशनीतिको सबैभन्दा ठूलो सेटब्याक हो।’

‘मेरो अंग्रेजी राम्रो थियो, त्यो बेला म जल्दोबल्दो पत्रकारका रुपमा चिनिन्थेँ। त्यही कारण डा. किसिन्जरसँग अन्तर्वार्ताका लागि मेरो नाम दरबारले छनोट गरेको होला,’ चन्दले सम्झे, ‘अन्तर्वार्ता हिट भयो। माइकलले गजबको अन्तर्वार्ता लिएछ भनेर दरबारबाट पनि मेरो प्रशंसा भयो।’

डा. किसिन्जरसँगको अन्तर्वार्ता अहिले उनको रेकर्डमा छैन। रेडियो नेपाल गएर खोजे, भेट्टाउन सकेनन्। त्यति महत्वपूर्ण अन्तर्वार्ता संरक्षण गर्न नसकेकोमा उनलाई थकथकी छ। तर, त्यो अन्तर्वार्तालाई गोर्खापत्रले समाचार बनाएर प्रकाशित गरेको थियो।

‘विश्वमा अहिले जुन तनावको अवस्था छ, त्यसमा नेपालको सम्बन्ध (भूमिका) छैन। बरु नेपालले आर्थिक विकास र शान्तिपूर्ण सम्बन्धलाई सर्वाेत्तम मान्ने मुलुकका रुपमा विश्वका बहुसंख्यक जनताबाट मान्यता प्राप्त गरेको छ,’ शान्ति क्षेत्रको प्रस्तावको प्रशंसा गर्दै डा. किसिन्जरले भनेका थिए, ‘नेपाल जस्तो सामरिक स्थितिमा छ र उसले जस्तो शान्तिपूर्ण नीति अख्तियार गरेको छ, त्यसको आधारमा उसले विश्वमा देखिएको तनावको होडबाजीलाई घटाउन सक्छ। यही कारण अमेरिकाले नेपालको शान्तिक्षेत्रको प्रस्तावको समर्थन गरेको हो।’

सिङ्गापुरमा विसं २०४९–५० ताका हेनरी किसिन्जरलाई उपहारस्वरुप भादगाउँले टोपी र खुकुरी प्रदान गर्दै चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य

नेपालप्रति डा. किसिन्जर सकरात्मक छन् भन्ने कुराको अनुभव चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यसँग पनि छ। आचार्यका भनाइमा विसं २०४९–५० ताका सिङ्गापुरमा आयोजित एउटा कार्यक्रममा सहभागी हुँदा उनले किसिन्जरको नेपालप्रतिको सकारात्मक भाव महसुस गर्न पाए।   

‘किसिन्जर त्यो कार्यक्रममा अतिथिका रुपमा सहभागी हुने कुरा त्यहाँ पुगेपछि मात्र मैले जानकारी पाएँ । कार्यक्रममा उहाँलाई देखेपछि मैले आयोजकहरुसँग किसिन्जरसँग भेट गर्न सकिएला भनेर अनुरोध गरेँ,’ आचार्यले भने, ‘डा. किसिन्जरसँग भेटको अवसर मिल्ला भन्ने आशा भने कमै थियो।’  

आयोजकले यो कार्यक्रममा सहभागी ‘नेपालका एकजना व्यक्तिले तपाईंलाई भेट्न चाहेका छन्’ भन्ने जानकारी डा. किसिन्जरलाई गराए। किसिन्जरले भेटका लागि तत्काल आचार्यलाई बोलाए।  

‘कार्यक्रमका सहभागीहरुलाई नेपालको उपहारको रुपमा प्रदान गर्न खुकुरी र भादगाउँले कालो टोपी लिएर गएको थिएँ,’ आचार्यले भने, ‘मैले आफूसँग रहेको त्यही टोपी लगाइदिएँ। खुकुरी उपहार दिएँ। नेपाली टोपी र खुकुरी उपहार पाउँदा उहाँ खुसी हुनुभयो।’ 

आचार्यका अनुसार छोटो कुराकानीका क्रममा डा. किसिन्जरले आफू नेपालबारे जानकार रहेको उल्लेख गरेका थिए। ‘मैले नेपाल भ्रमणको सौभाग्य प्राप्त गरिसकेको छु, त्यसैले नेपाल र नेपालीबारे मलाई जानकारी छ,’ उनले भनेका थिए, ‘तपाईंका यी उपहारहरु नेपाल र नेपालप्रतिको मेरो सम्मानका कारणले दिनुभएको होला भन्ने मलाई लागेको छ। म पनि नेपाल र नेपालीप्रति सम्मान गर्छु।’

आफ्ना रचनाहरुमार्फत् पनि नेपालको स्वतन्त्रता र स्वतन्त्रता कायम राख्न अपनाएको कूटनीतिक कौशलको किसिन्जरले प्रशंसा गर्ने गरेका छन्। सन् २०१४ मा प्रकाशित उनको बहुचर्चित पुस्तक ‘वर्ल्ड अर्डर’ बाट यो कुराको जानकारी प्राप्त गर्न सकिन्छ। सो पुस्तकमा किसिन्जरले लेखेका छन्, ‘दुई ठूला छिमेकीबीचको सानो मुलुक नेपालले निपुण कूटनीतिक सम्बन्धमार्फत् आफ्नो स्वतन्त्रताको रक्षा गर्न सक्षम भएको छ।’  

‘डा. किसिन्जरका धेरै पुस्तकमध्ये ‘वर्ल्ड अर्डर’ निकै महत्वपूर्ण पुस्तक हो, यो पुस्तकमा उहाँले नेपाली कूटनीतिको चर्चा गरिदिनु प्रशंसनीय छ,’  नेपाल–चीन अध्ययन केन्द्रका महासचिव गौतम भन्छन्, ‘यसबाट उहाँ नेपालप्रति कति सकारात्मक हुनुहुँदो रहेछ भन्ने प्रष्ट हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .