सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिताका लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (१७ भदौ) बिहान चीनको तियान्जिनबाट चुच्चे आकारको द्रुतगतिको रेल (हाइस्पिड ट्रेन) चढेर राजधानी बेइजिङ पुगे।
प्रधानमन्त्री ओलीले द्रुतगतिको रेल त यसअघि पनि चढेका थिए होलान्। तर, यसपटकको रेलयात्रा भने नेपाली प्रतिनिधिमण्डलका लागि थप रोमाञ्चक रह्यो। यसर्थ कि, एससीओ शिखर सम्मेलनमा सहभागी विभिन्न १८ मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू पनि ओलीजस्तै तियान्जिन–बेइजिङमार्गमा चल्ने चुच्चे रेल चढेर चीनको राजधानी पुगे।
ओलीले गरेको यो चुच्चे रेलयात्रा नेपालका प्रधानमन्त्रीले यो खण्डमा गरेको पहिलो यात्रा भने होइन। बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन चीन भ्रमण गरेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई चीन सरकारले विसं २०६५ (२००८) मा अन्य शीर्ष विदेशी पाहुनाका साथ बेइजिङ–तियान्जिन रेलमै यात्रा गराएको थियो।
चुच्चे रेल चढेर तियान्जिनबाट बेइजिङ पुग्नेछन् प्रधानमन्त्री ओली
तर, प्रचण्ड पनि बेइजिङ–तियान्जिन खण्डमा रेल चढ्ने पहिलो नेपाली उच्चपदस्थ अधिकारी थिएनन्। प्रचण्डभन्दा झण्डै एक सय वर्षअघि तत्कालीन चिनियाँ बादशाहलाई सौगात बुझाउन गएको काजी भैरवबहादुर गड्तौला नेतृत्वको ४५ जना सम्मिलित एक नेपाली प्रतिनिधिमण्डल पनि बेइजिङबाट रेल चढेर तियान्जिन पुगेको थियो।
एक सय १७ वर्षअघि काजी भैरवबहादुर गड्तौला नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको बेइजिङ–तियान्जिन रेलयात्राको पृष्ठभूमि खोतल्दै जाँदा विसं १८४९ (सन् १७९२) मा नेपालको तिब्बत–चीनसँगको युद्ध र पराजयपछि भएको बेत्रावती सन्धिसम्म पुगिन्छ।
पेकिङमा पाँच महिना, बादशाहसँग पाँच भेट
चीन नै तिब्बतलाई सहयोग गर्न अघि सरेपछि विसं १८४९ मा नेपालले तिब्बतमाथि गरेको आक्रमणमा पराजय बेहोर्नुपर्यो। नेपाली सेनालाई लघार्दै–लघार्दै चिनियाँ सेना रसुवा–नुवाकोटको सिमाना बेत्रावतीसम्मै आइपुग्यो। चिनियाँ सेना अझ तल झरे राजधानी काठमाडौँ नै कब्जा गर्न सक्थ्यो।
राजधानीको रक्षाका लागि पनि चीनसँग सम्झौता गर्न नेपाल बाध्य भयो। त्यसक्रममा भएको सम्झौतालाई नेपालको इतिहासमा ‘बेत्रावती सन्धि’ का नामले चिनिन्छ।
‘नेपालको कूटनीतिक इतिहास’ मा डा सुरेन्द्र केसीले उल्लेख गरेअनुसार विसं १८४९ मा भएको बेत्रावती सन्धिका ७ धारा थिए। त्यसको दोस्रो धारामा ‘नेपालले चिनियाँ बादशाहको सम्मानका लागि सौगात चढाउन प्रत्येक पाँच वर्षमा एउटा शिष्ट प्रतिनिधिमण्डल पेकिङ पठाउनुपर्ने’ उल्लेख थियो।
चिनियाँ बादशाहलाई पठाइने सौगात खासमा नेपाली राजाको तर्फबाट पठाइन्थ्यो। काजी (मन्त्री) स्तरका नेपाली प्रतिनिधि सौगात लिएर ल्हासा हुँदै पेकिङ पुग्थे। नेपाली सौगात प्रतिनिधिमण्डलका साथ चिनियाँ बादशाहले पनि नेपालका राजालाई सौगात पठाउँथे।
नेपाली राजाको सौगात बुझेपछि चिनियाँ बादशाहले आफ्नो दरबारमा छुट्टै विशेष कार्यक्रम आयोजना गरी चिनियाँ उच्च पदस्थ अधिकारीले लगाउने विशेष खालको पोशाक प्रदान गर्थे।
पेकिङबाट फर्केका प्रतिनिधिमण्डलका नेता (काजी) बालाजु आइपुगेपछि त्यही चिनियाँ पोशाक लगाएर चिनियाँ बादशाहको सौगात बुझाउन दरबार जान्थे।
पेकिङ जाने क्रममा चीन (तिब्बती) को भूमिमा प्रवेश गरेपछि उक्त प्रतिनिधिमण्डलको बसोबास, खाना र यातायातको सम्पूर्ण खर्च चिनियाँ सरकारले बेहोर्थ्यो। चिनियाँ पक्षले उनीहरूलाई भत्ता पनि उपलब्ध गराउँथ्यो।
चिनियाँ बादशाहलाई नेपाली प्रतिनिधिमण्डल गएर सौगात बुझाउने यो व्यवस्था खासमा युद्धमा भोग्नु परेको पराजयको उपज थियो।
बेत्रावती सन्धिको उपरोक्त प्रावधान अनुसार विसं १८४९ (सन् १९९२) देखि नेपाली राजाको उपहार लिएर नेपाली प्रतिनिधिमण्डल पेकिङ जान थाल्यो। १८४९ देखि सुरु भएको यो क्रम विसं १९६३–६६ सम्म अर्थात् झण्डै १ सय १५ वर्ष कायम रह्यो।

यस अवधिमा १८ वटा नेपाली सौगात प्रतिनिधिमण्डल काठमाडौँबाट पेकिङ पुगे। त्यसमध्ये पहिलो प्रतिनिधिमण्डल काजी देवीदत्त थापामगर र अन्तिम प्रतिनिधिमण्डल काजी भैरबबहादुर गड्तौलाको थियो। ४५ सदस्यीय सो प्रतिनिधिमण्डलका उपनेता सरदार केहरसिंह खड्का थिए।
काजी गड्तौला पेकिङ प्रस्थान गर्दा नेपालमा राजा पृथ्वीवीर विक्रम शाह थिए। उनी पृथ्वीवीर विक्रम शाहकै सौगात बोकेर पेकिङ पुगेका थिए। चीनमा छिङ वंशको शासन थियो। चीनमा ‘सम्राट गुवाङ्छु’ (वास्तविक नाम : आइसिन गिओरो जाइतियान) बादशाहका रूपमा थिए। पेकिङ पुगेपछि सम्राट ‘सम्राट गुवाङ्छु’ लाई नेपाली राजाको सौगात बुझाए।
इतिहासकार स्व. ज्ञानमणि नेपालले ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ पुस्तकमा चिनियाँ बादशाहलाई सौगातको रूपमा पठाएका सामग्रीहरूको विवरण दिएका छन्।
चिनियाँ बादशाहलाई सौगातका रूपमा बुझाइएका सामानहरूमा अर्जी (राजाको पत्र), दुई प्रकारका ३ वटा बन्दुक र एउटा गोली पार्ने (बनाउने) साँचो, सुनौलो रङका चार प्रकारका तरबार, बन्दुक राख्ने बाकस, मखमलको दापमा राखिएको–सुनौलो धातुले बेरिएको हात्तीको दाँतको बिँड भएको ४ वटा खुकुरी, २ वटा खुँडा, गैँडाको खाग दुई वटा, लामा–लामा हात्तीका दाँत, १ हजार १८ दाना जाइफल, ६ धार्नी ल्वाङ, ५ धार्नी दालचिनी, १०–१० धार्नी ‘दख्खिना’ सुपारी र ‘जहाजी’ सुपारी लगायत २० प्रकारका सामग्री थिए।

सौगात प्रतिनिधिमण्डल नेपालको सीमावर्ती केरुङ वा कुतीको बाटो हुँदै ल्हासा पुगेर पेकिङतर्फ लाग्थ्यो। यसमध्ये कुती जान दोलखा–सिन्धुपाल्चोक र केरुङ जान नुवाकोट–रसुवा हुँदै जानुपर्थ्यो। कुतीतर्फको बाटो नजिक पर्थ्यो, तर अलिक टाढा थियो। केरुङ हुँदै जाने बाटो सजिलो भए पनि घुमाउरो पर्थ्यो।
केरुङ हुँदै जाने बाटो बेत्रावती हुँदै जानुपर्थ्यो। त्यही बेत्रावती– जहाँ चिनियाँ बादशाहलाई नेपाली राजाले सौगात बुझाउने व्यवस्थासहितको सन्धि भएको थियो।
सम्भवतः काजी गड्तौला कुतीको बाटो हुँदै ल्हासा र त्यसपछि पेकिङ पुगेका थिए। किनकि त्यो बेला ल्हासा जान केरुङभन्दा कुतीकै बाटो बढी चल्तीमा थियो।
काठमाडौँबाट पेकिङको दूरी १ हजार २ सय ६३ कोस (झण्डै ४ हजार किलोमिटर) थियो। यो दूरी छिचोल्ने क्रममा १ सय ७५ बास पर्थ्यो। इतिहासकार नेपालले जंगबहादुरका पालामा तातोपानी (सिन्धुपाल्चोक) देखि बेइजिङसम्म पुग्न १ सय ८३ बास तय गरिएको उल्लेख गरेका छन्।
बाटामा तिब्बतका ठूला–ठूला पहाड, हिउँले ढाकेका पठारहरू पर्थे। यस्तो कठिन मार्ग छिचोल्दै ल्हासा पुग्नुपर्थ्यो। अप्ठेरो बाटो र प्रतिकूल मौसमका कारण नेपाली प्रतिनिधिमण्डललाई पेकिङ पुगेर फर्कन कम्तीमा १५ महिना लाग्थ्यो।
२६ साउन १९६३ मा काठमाडौँ छाडेको काजी गड्तौलाको प्रतिनिधिमण्डल भने ३ वर्ष ८ महिनापछि १८ चैत्र १९६६ मा काठमाडौँ पुगेको थियो।
अ डकुमेन्टरी हिस्ट्री अफ नेप्लिज क्विनक्विनियल मिसन टु चाइना : १७९२–१९०६ मा उपप्राध्यापक विजयकुमार मानन्धरले १९६३ को पुस–माघ (१९०८ जनवरी) मा काजी गड्तौलाको टोली ल्हासा पुगेको उल्लेख गरेका छन्।
ल्हासा बसाइका क्रममा प्रतिनिधिमण्डलका नेता गड्तौलाको चिनियाँ ‘अम्बान’ सँग पटक–पटक भेट भयो। ‘अम्बान’ तिब्बतमा चिनियाँ सरकारले खटाएका शक्तिशाली प्रतिनिधि थिए।
बाटोमा हिउँ पर्न थालेकाले यो प्रतिनिधिमण्डल केही महिना ल्हासामा बस्यो। हिउँद सकिएर हिमपात थामिएपछि पेकिङका लागि प्रस्थान गर्यो। जाँदै गर्दा ‘सिंगाफू’ भन्ने ठाउँमा काजी गड्तौलाले तिब्बती धर्मगुरु दलाई लामालाई समेत भेटे, जो कर्णेल योङहज्बेन्ड नेतृत्वको ब्रिटिस सैन्य दलले ४ वर्षअघि ल्हासा कब्जा गरेपछि प्रतिकूल अवस्थाका बीच पोताला दरबार छाडेर पेकिङतर्फ लागेका थिए।
नेपाली प्रतिनिधिमण्डल ४ वैशाख १९६५ मा पेकिङ पुग्यो। चिनियाँ बादशाह पेकिङको प्रसिद्ध इम्पेरियल प्यालेस (जसलाई आजकल ‘फरबिडन सिटी’ का नामले चिनिन्छ) मा बस्थे।
नेपाली प्रतिनिधिमण्डको बसोबासको प्रबन्ध त्यही दरबारको दक्षिणतर्फको छ्यामिन बजारमा गरियो।

पेकिङ बसाइका क्रममा काजी गड्तौलाले पाँच पटक चिनियाँ बादशाहलाई भेटे। पहिलो भेट १२ वैशाख (१९६५) मा भयो। यो भेटमा उनले राजा पृथ्वीविर विक्रमले पठाएको सौगात बादशाहलाई हस्तान्तरण गरे। १९ वैशाखको दोस्रो भेट गड्तौलासहितका नेपाली प्रतिनिधिमण्डललाई चिनियाँ पोसाकद्वारा सुशोभित गर्नका लागि थियो।
पेकिङबाट फर्कंदा चिनियाँ बादशाहले पठाएको सौगात नेपालका राजालाई चढाउने क्रममा त्यही चिनियाँ पोसाक लगाउनु पर्थ्यो।
तेस्रो भेट २१ वैशाखमा भएको थियो। यो भेटमा चिनियाँ बादशाह र काजी गड्तौलाबीच कुराकानी भएको थियो। बादशाहले राजा पृथ्वीवीर विक्रमको हालखबर मात्र सोधेनन्, ‘नेपालबाट पेकिङ पुग्न कति समय लाग्यो’ भन्ने पनि सोधे।
गड्तौलाले २० महिना लागेको जवाफ दिए, ‘ओ हो, कति लामो समय लागेछ’ भन्दै बादशाह मुस्कुराए।
तेस्रो भेट भोलिपल्टै, २२ वैशाखमा भयो। काजी गड्तौलालाई राजाको तर्फबाट कल्की सहितको पगरी लगाइदिने कार्यक्रमका सिलसिलामा यो भेट भएको थियो। काजीलाई कल्की लगाइदिने काम साँझपख भयो।
चौथो भेट ९ साउनमा भयो, जुन बादशाहको जन्मदिनको अवसरमा भएको थियो। जन्मोत्सव मनाउन बादशाह ‘इम्पेरियल प्यालेस’ उत्तरतर्फ डाँडोमा गर्मी मौसममा हावा खान निर्माण गरिएको दरबारमा थिए। बादशाहसँग अन्तिम भेट बिदाइका लागि १७ साउन (१९६५) मा भएको थियो।
बादशाहसँग बिदाइ भेट गरेपछि पनि नेपाली प्रतिनिधिमण्डल एक महिनाभन्दा बढी पेकिङमा रह्यो। ल्हासा हुँदै नेपाल फर्कन यो प्रतिनिधिमण्डलले २७ भदौमा मात्र पेकिङ छाड्यो।
खासमा २२ वैशाखको भेटपछि काजी गड्तौलाको बेइजिङ यात्राको प्रयोजन सकिएको थियो। तर, बेइजिङले उनलाई मोहनी नै लगाएको थियो। त्यहाँ जति बढी समय रह्यो, चिनियाँ सरकारले प्रदान गर्ने भत्ता–रकम पनि बढ्दै जान्थ्यो।
सायद यिनै दुई कारणले काजी गड्तौला आफ्नो पेकिङ बसाइ थप लम्ब्याउन चाहन्थे। तर, बसाइ लम्ब्याउन कुनै न कुनै बहाना चाहिन्थ्यो।
काजी गड्तौलाले त्यो बहाना बादशाहको जन्मोत्सव र तियान्जिन घुम्ने चाहनालाई बनाए। चिनियाँ अधिकारीहरूलाई ‘राजाको जन्मोत्सव मनाएर मात्र जान पाए हुन्थ्यो’ भन्ने सुनाए। आफूहरू तियान्जिन सहर घुम्न लालायित रहेको पनि बताए।
‘अब यहाँको काम सकिँदै आयो, हेर्ने कुरा पनि हेरियो, अब एकचोटि बिदा हुनुभन्दा पहिले तानचिन (तियान्जिन) हेर्न पाए हुने थियो,’ इतिहासकार नेपाल लेख्छन्, ‘औ बादशाहको जन्मोत्सवको रमिता पनि हेर्न पाए आनन्द लाग्ने थियो भनी (चिनियाँ) अधिकारीसमक्ष काजीहरूले लेखिपठाए।’

आफ्नो ‘जन्मोत्सवको रमिता’ हेर्ने काजी गड्तौलाको रहर बादशाहले पूरा गरिदिए। राजाको सम्मतिपछि नेपाली प्रतिनिधिमण्डल साउन दोस्रो सातासम्म पेकिङ बस्न पाउने भयो।
जहाँसम्म तियान्जिन भ्रमण गरेर पेकिङ आउने सन्दर्भ हो, त्यहाँ पुगेर फेरि पेकिङ फर्की नेपाल फर्कने तम्तयारीमा लाग्नुभन्दा एकैचाटि पेकिङबाट तियान्जिन पुगेर–घुमेर उतैबाट नेपाल फर्कन चिनियाँ अधिकारीहरूले सुझाव दिए।
साउन पहिलो साता बादशाहको जन्मोत्सव मनाएपछि पनि एक महिनाभन्दा अझै बढी समय नेपाली प्रतिनिधिमण्डल पेकिङमा रह्यो। काजी गड्तौला पाँच महिना (१ सय ५० दिन) पेकिङमा बिताएर २७ भदौ (१९६५) मा तियान्जिनतर्फ प्रस्थान गरे र त्यहाँबाट ल्हासा हुँदै नेपाल फर्के।
प्रचलनअनुसार नेपाली प्रतिनिधिमण्डमार्फत् चिनियाँ बादशाहले राजा पृथ्वीविर विक्रम शाहका लागि पनि २५ प्रकारका सौगात (उपहार) पठाएका थिए। तर, ती सौगात राजा पृथ्वीविरविक्रमलाई हस्तान्तरण गरिनसक्दै विसं १९६५ कार्तिक अन्तिमसाता ३७ वर्षको उमेरमा चिनियाँ बादशाहको निधन भयो।
तियान्जिन पुग्ने पहिलो नेपाली टोली
‘बोहाई सागर’– यो राजधानी बेइजिङ (पेकिङ) बाट सबैभन्दा नजिकको समुद्र हो, जसले बेइजिङबाट झण्डै डेढ सय किलोमिटर परको सुन्दर तियान्जिन सहरलाई आफ्नो काखमा राखेको छ।
समुद्री तटमा रहेको सुन्दर तियान्जिन सहरको भ्रमण गर्ने चाहना पूरा गर्दा भर्खर सञ्चानमा आएको पेकिङ–तियान्जिन रेल चढ्ने सपना पनि पूरा हुने थियो, काजी गड्तौला लगायत नेपाली प्रतिनिधिमण्डलको।
उपप्राध्यापक मानन्धरका अनुसार, काजी गड्तौलाका पिता मेजर–क्याप्टेन महावीर गड्तौला जङ्गबहादुरकालीन वीरयोद्धा थिए। सन् १८५७ को भारतीय सैनिक विद्रोहमा महावीरले नेपाली सेनाको तर्फबाट भाग लिएका थिए। पछि उनी ल्हासाका लागि नेपाली वकिल (राजदूत) पनि भए।

काठमाडौँस्थित बेलायती राजदूतावासको सुरक्षार्थ खटिने सैनिक टोलीको कमान्डरका रूपमा १३ वर्ष काम गरेकाले उनको अंग्रेजी निकै राम्रो थियो। ल्हासाको अनुभव, अंग्रेजीमा पोख्त र कूटनीतिक मामिलामा दख्खल राख्ने भएकाले श्री ३ चन्द्रले चीन जाने प्रतिनिधिमण्डलको नेतृत्व गड्तौलालाई सुम्पेका थिए।
चीन जाने भएपछि उनलाई काजी (मन्त्रीसरह) को उपाधि प्रदान गरिएको थियो।
कामको सिलसिलामा उनी ब्रिटिस–भारत गइरहन्थे, यात्राका क्रममा अवश्य रेल चढ्थे होलान्। रेलबारे तीव्र चासो अहिले पनि नेपालीहरूमा छँदैछ, त्यो बेला त झन् नहुने कुरै भएन। पेकिङ–तियान्जिनको रेलयात्रा गर्नुभन्दा पाँच महिनाअघि, पेकिङ जानेक्रममा उनले भर्खर सञ्चालनमा आएको चिनियाँ रेलको रमाइलो अनुभव पनि गरिसकेका थिए।
खासमा काजी गड्तौलाहरू चीनतर्फ प्रस्थान गर्दा पेकिङभन्दा धेरै वर ‘खोल्याम्फू’ भन्ने ठाउँमा रेल सञ्चालनमा आइसकेको थियो। जब काजी गड्तौलाहरू ‘खोल्याम्फू’ पुगे, नेपाली प्रतिनिधिमण्डललाई स्थानीय चिनियाँ अधिकारीहरूले ‘साबिक बाटोबाट हिँडेर जानुहुन्छ कि रेल चढेर जानुहुन्छ’ भन्ने जिज्ञासा राखे।
गड्तौलाहरूले रेल चढ्न चाहेनन्, सुरुमा पैदलमार्गबाटै पेकिङ पुग्न चाहे। साबिक बाटोबाट हिँडेर जाँदा ठाउँ–ठाउँमा स्वागत–सत्कार पाउँथे। रेल चढेर जाँदा त्यो नपाइन सक्थ्यो। त्यहीकारण पैदलमार्गबाटै उनीहरू पेकिङतर्फ अघि बढे।
‘खोल्याम्फू’ बाट हिँडेर ‘पाउचिनफू’ पुगेपछि भने उनीहरूको विचार बदलियो। त्यहाँ पनि रेल स्टेसन थियो। ‘पाउचिनफू’ पुगेपछि नेपाली प्रतिनिधिमण्डलले रेल चढ्ने निर्णय गर्यो। तर, स्थानीय चिनियाँ अधिकारीहरूले यो कुरा स्वीकार गरेनन्। उनीहरूले रेल चढ्ने हो भने पेकिङको आदेश चाहिने जवाफ दिए।
रेल चढेर जाने हो भने स्थानीयस्तरमा प्रदान गरिने झण्डा–बाजा–बिगुलसहितको स्वागत–सत्कार, सैनिकहरूको सुरक्षा प्राप्त नहुने जानकारी पनि उनीहरूले गराए।
नेपाली प्रतिनिधिमण्डलको जोड भने रेलमै जानेमा थियो। त्यसैले निर्णयका लागि यो विषय पेकिङ पुर्याइयो। बादशाहले नेपाली टोलीलाई परम्पराअनुसार नै स्वागत–सत्कारसहित रेलबाटै पेकिङ पठाउन आदेश दिए।
बादशाहको आदेशपछि उनीहरू रेल चढे। उनीहरूको सुरक्षाका लागि २ अधिकृतसहित २५ जना सैनिक डफ्फा रेलमा खटाइयो।
पैदलमार्गबाट जाँदाझैँ पेकिङ पुग्दा ठाउँ–ठाउँमा उनीहरूलाई झण्डा–बाजा–बिगुलसहितको स्वागत–सत्कार प्राप्त भयो।
उनीहरू पाँच महिना पेकिङमा रहे। १७ साउन (१९६५) मै उनीहरूले बादशाहसँग बिदाइ भेट गरिसकेका थिए। त्यसपछि पनि झण्डै डेढ महिना पेकिङमा रहेका उनीहरूलाई त्यहाँबाट अन्तिम बिदाइ १९६५ भदौ अन्तिम साता गरियो।
पेकिङबाट रेल चढेर तियान्जिन पुग्ने र काठमाडौँ फर्कनुअघि त्यहाँ केही दिन घुम्ने स्वीकृति उनीहरूले पहिल्यै बादशाहबाट पाइसकेका थिए। 
भदौ २७ (१९६५) का बिहान बेइजिङ छाडेर रेलबाट तियान्जिन प्रस्थान गर्नेबेला ‘इम्पेरियल प्यालेस’ अगाडि उनीहरूको भव्य बिदाइ गरिएको थियो। उनीहरू सैनिक सुरक्षासहितको बग्गीमा थिए। १२–१२ वटा बग्गी उनीहरूको अगाडि–पछाडि थिए।
‘सहरको मूल सडकबाट जाँदा तमासा हेर्ने जनताको ठूलो भीड लागेको थियो, स्टेसनमा २ अफिसर र १ सय जना जङ्गी पोसाक लगाएका सिपाही पंक्तिबद्ध खडा थिए,’ इतिहासकार नेपाल लेख्छन्, ‘अरु हिन्दुस्तानी शिखहरू पनि यस बिदाइमा उपस्थित थिए।’
दिउँसो दुई बजे उनीहरू सवार रेल पेकिङबाट छुट्यो। अहिले चुच्चे रेलबाट आधा घण्टामै बेइजिङ–तियान्जिनबीचको डेढ सय किलोमिटर दूरी छिचोलिन्छ। काजी गड्तौलाहरू सवार रेललाई यो दूरी छिचोल्न साढे तीन घण्टा लाग्यो। उनीहरू अपरान्ह साढे पाँच बजे तियान्जिन पुगे। तियान्जिन पुगेको भोलिपल्ट त्यहाँका प्रमुखसँग काजी गड्तौलाको भेटवार्ता भयो।
बादशाहका लागि सौगातबाहेक उनीहरूले नेपालबाट थुप्रै महत्त्वपूर्ण सामग्री लिएर गएका थिए। तियान्जिनका प्रमुखले त्यस्ता महत्त्वपूर्ण सामानहरू बाँकी छन् भने आफूले किनिदिने बताए। बाँकी रहेका सामानहरू त्यहीँ बिक्री गरियो।
काजी गड्तौला आफ्नो प्रतिनिधिमण्डलका साथ तीन दिन तियान्जिनमा रहे। त्यहाँका प्रमुखले उपलब्ध गराएको बग्गी चढेर उनीहरूले तियान्जिन सहरको कुनाकाप्चा छिचोले। ‘बोहाई सागर’ को छेउमा रहेको बन्दरगाह पनि पुगे। वरिपरिका डाँडा चढेर अलिक उचाइबाट सुन्दर तियान्जिन सहरलाई नियाले।
संयोगवश ‘एससीओ प्लस’ शिखर सम्मेलनमा भाग लिएका प्रधानमन्त्री ओलीले पनि तीन रात (१४–१६ भदौ) तियान्जिनमा बिताए। मंगलबार (१७ भदौ) तियान्जिनबाट रेल चढेर उनी बेइजिङ पुगिसकेका छन्।
गड्तौलाहरू भने तियान्जिनको तीनदिने घुमाइपछि १ असोज (१९६५) मा ल्हासा प्रस्थान गरे। त्यसका लागि पनि रेल नै प्रयोग गरे। तियान्जिनबाट रेल चढेका उनीहरू पहिले ‘ताँतेफु’ पुगे। त्यहाँबाट अर्काे रेल चढे, जसले उनीहरूलाई ‘कुनस्याँ’ भन्ने ठाउँमा पुर्यायो।
‘कुनस्याँबाट सांघाईतर्फ जाने र सिंघाफूतर्फ जाने लाइन छुट्टिन्थे, सिंघाफूतर्फको रेलमार्ग बनाइँदै थियो,’ इतिहासकार नेपालका भनाइमा, ‘रेलमार्ग तयार भइनसकेकाले नेपालीहरूले यहीँदेखि पैदलबाटो साबिकबमोजिम पक्रिए।’
उपप्राध्यापक मानन्धरले आफ्नो उपरोक्त पुस्तक अ डकुमेन्टरी हिस्ट्री अफ नेप्लिज क्विनक्विनियल मिसन्स टु चाइना : १७९२–१९०६ मा उल्लेख गरे अनुसार, काजी गड्तौलाको यो प्रतिनिधिमण्डल मात्रै यस्तो टोली थियो, जसले बेइजिङ पुग्दा र पेकिङबाट फर्कंदा रेल चढेको थियो।
एक सय १७ वर्षअघि चिनियाँ बादशाहलाई नेपालको राजाको तर्फबाट सौगात बुझाउन गएको नेपाली प्रतिनिधिमण्डल रेल चढेर पेकिङ र तियान्जिन पनि रेल चढेर पुगेको कथा यत्तिमै सकिँदैन।
रक्सौल–अमलेखगञ्ज खण्डमा रेलमार्ग निर्माणमा चन्द्र शमशेरलाई उत्प्रेरणा प्रदान गर्न काजी गड्तौलाको यो रेलयात्राको समेत भूमिका थियो।
काठमाडौँ फर्केपछि काजी गड्तौलाले प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरलाई चीनयात्राको वृत्तान्तसहितको प्रतिवेदन बुझाए।
प्रतिवेदनमा अन्य विषय त छँदै थिए, त्यसबाहेक आफूहरूको रेलयात्रा र नेपालमा रेलमार्ग निर्माणबारे ल्हासास्थित चिनियाँ अम्बानको सुझाव पनि संलग्न थियो।
पेकिङ जानुपूर्व पनि गड्तौलाको ल्हासामा चिनियाँ अम्बानसँग भेटवार्ता भएको थियो, बेइजिङबाट फर्केपछि पनि भयो। पेकिङ पुग्दाको सजिलो–अप्ठेरोबारे त काजी र अम्बानबीच कुराकानी भयो नै, तर त्यो भेटवार्ता मूलतः चीनमा भर्खर सञ्चालनमा आएको रेल र त्यसका लाभबारे केन्द्रित थियो।
‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ पुस्तकमा इतिहासकार नेपालले काजी गड्तौला र चिनियाँ अम्बानबीच ल्हासामा भएको कुराकानीको अंश उल्लेख गरेका छन्।
चिनियाँ अम्बान : यसपालि हाम्रो देशमा रेल चलेकाले रेलैमा (रेल चलेको बाटोमा) आउने–जाने गर्नुभयो होला। यस्तो रेल कहिल्यै देख्नु भएको थियो कि! गोर्खा राज्यमा त रेल छैन होला!
गड्तौला : गोरखा राज्य पहाडै–पहाड हुनाले रेल चल्दैन। तर हिन्दूस्तानमा रेल चलेको हुनाले उहाँ रेल चढेका छौँ।
अम्बान : रेल ज्यादै उपयोगी साधन हो। यसले पल्टन (सेना) यताउता गर्न साह्रै सजिलो हुन्छ। मानिसलाई आवतजावत गर्न र मालसामान ओसारपसार गर्न पनि यसले बहुतै सुविस्ता हुन्छ। अब चीनमा ठिन्दफुसम्म रेल आइपुग्छ। त्यसपछि तपाईंहरूलाई पनि चीन जान–आउन धेरै सजिलो हुन्छ।
तपाईंहरू गएर श्री ३ महाराजलाई चीनले गरेको उन्नति सबै बेलिविस्तार लगाउनु होला। तपाईंहरू पनि यस्तो उद्योग–धन्दा, कलकारखानाहरू खुलाउनु होला। यस्तो कलकारखाना वा रेल बनाउँदा बाहिरिया मानिसलाई भने भरसक नलगाउनू। आफ्नै देशका मानिसलाई बाहिर पठाई सिकाई सघाई तालिम गराई काम गराए बेस हुन्छ।
झण्डै डेढ सय वर्षअघि काजी गड्तौलाले रेलबाट गरेको पेकिङ–तियान्जिन यात्रा रक्सौल–अमलेखगञ्ज रेलमार्ग निर्माणको एक उत्प्रेरक थियो। त्यही मार्गमा नेपालका दुई–दुई प्रधानमन्त्रीले चुच्चे रेल चढेर यात्रा गरिसके, परिणाम चाहिँ अहिलेसम्म शून्य छ।
जबकि दुवै प्रधानमन्त्रीको दल (एमाले र माओवादी) २०७४ मा संयुक्त घोषणापत्रका साथ चुनाव लडेका थिए। र, चुनावको एक मुख्य नारा नेपाल–चीन रेलमार्ग निर्माण गर्ने थियो।
(नोट : काजी भैरवबहादुर गड्तौलाका तस्बिरहरू उपप्राध्यापक विजयकुमार मानन्धरको अ डकुमेन्टरी हिस्ट्री अफ नेप्लिज क्विनक्विनियल मिसन्स टु चाइना: १७९२–१९०६ बाट लिइएको हो। चीनका कतिपय स्थानको नयाँ नामाकरण भएकाले त्यसमा फरक पर्न सक्छ। यो स्टोरी तयार पार्न सूचनाका रूपमा प्रयोग गरिएका पुस्तकहरूमा एउटै घटनाको मिति फरक रहेकाले त्यसमा पनि तलमाथि भएको हुनसक्छ– लेखक)
Shares

प्रतिक्रिया